ठूलो परिमाणमा नक्कली स्टीकरसहित पाँच जना पक्राउ


रुपन्देही प्रहरीले अवैध रूपले लैजान लागेको ठूलो परिमाणमा आन्तरिक राजस्व विभागको होलोग्राम स्टीकर र त्यसमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीले गैरकानूनी ढंगबाट लुकाई छिपाई लैजान लागेको ४ लाख थान नक्कली स्टीकर बरामद गरेको हो।

प्रहरीले उक्त स्टीकरसँगै स्टीकर लैजान लागेका भैरहवाका बिनोद सिंह र भारतीय नागरिक मोहम्मद गद्दी मुसलमान तथा समसुद्धिनलाई नियन्त्रणमा लिएको थियो। उक्त स्टीकर भारतबाट छपाई गरी धनुषाको मिथला नगरपालिका वडा नम्बर ८ जमुनीवासामा रहेको साँग्रिला डिष्टिलरीमा लैजान लागेका थिए।

भारतीय नम्बर प्लेटको यूपी ४३ एई १६८२ टाटा इन्डिका कारमा ५० यूपी १८० एमएल आन्तरिक राजस्व विभाग LIQUOR लेखिएको स्टीकर सहित उनीहरूलाई रुपन्देहीको धकधईबाट सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूले प्रहरीलाई ठूलो आर्थिक प्रलोभन दिएपनि प्रहरीले स्वीकार नगरेपछि उनीहरू फन्दामा परेको बताइएको छ।

पक्राउ परेका सिंह र भारतीय नागरिक मोहम्मद गद्दी मुसलमानको बयानका आधारमा प्रहरीले उक्त नक्कली स्टीकर प्रयोग गर्ने कार्यमा सम्लग्न डिष्टिलरीका व्यवस्थापक भवानी सुवेदी र कामेश्वर महतोलाई धनुषाबाट नियन्त्रणमा लिएको छ। त्यस्तै, उद्योगी कुशेश्वर शाह भने फरार छन्।

आन्तरिक राजस्व कार्यालयका एक अधिकृतका अनुसार सबैभन्दा कम राजस्व तिर्नुपर्ने मदिरामा उक्त स्टीकर प्रयोग गरेपनि १ करोड २० लाख रुपैया बराबरको राजस्व गुम्ने देखिन्छ।

आन्तरिक राजस्व कार्यालयको स्टीकर बिना मदिराजन्य कुनैपनि पदार्थ विक्री गर्न नपाइने तथा डिष्टिलरीबाट मदिरा बजारमा पठाउँदा नै स्टीकर लगाउनु पर्ने हुन्छ। आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूसँगको मिलोमतोमा यस्ता स्टीकरहरू प्रयोग गरी राजस्व छली हुँदै आएको छ।

मदिरा उत्पादकले सबैभन्दा कम मूल्यको मदिरामा उक्त स्टीकर प्रयोग गर्दा पनि राज्यले प्रति बोतल ७० रुपैयाँ प्राप्त गर्ने आन्तरिक राजस्व कार्यालयले बताएको छ।

यता रुपन्देहीको सुनसारी डिष्टिलरीमा आन्तरीक राजस्व कार्यालय भैरहवाले राजस्व छली गरेको भन्दै शिल गरिदिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.