प्रगती बुझ्न एडिबी टोली गौतमबुद्ध विमानस्थलमा


निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको प्रगति विवरण प्रत्यक्ष बुझ्न र हेर्न एसियाली विकास बैंकको टोली भैरहवा आएको छ ।

यसअघि सन्तोषजनक काम नभएको भन्दै जनवरीदेखि एडिबीले आफ्नो ऋण र अनुदान रोकेको छ।

भैरहवा आएका एडिबीका प्रतिनिधिले विमानस्थलको प्रगति बिवरण र अनुगमन गर्ने काम गरेका छन्। ऋण र अनुदानको पुनः मुल्यांकन गर्न बिहिबार एडिबीका नेपालका लागि निर्देशक मुख्तार खामुदखानोभ पनि भैरहवा आउँदै छन्।

निर्देशक खामुदखानोभले बिमानस्थलको अवलोकन र प्रगति बिवरण हेरेपछि मात्र पुनः मुल्यांकन हुने नहुने थाहा हुने बिमानस्थल आयोजनाले जनाएको छ ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुनेगरी विमानस्थलको तीन वर्ष अघि काम सुरु भएको थियो । मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प जस्ता कारणले लक्ष्य अनुसार काम गर्न नसकेको बहाना बनाउँदै ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको थियो ।

बिमानस्थलको अहिले ३५ प्रतिशत मात्र काम सकिएको छ। विमानस्थल निर्माण आयोजनाले अनुसार बिमानस्थलको निर्माण जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले अहिले कामलाई द्रूत गतिमा अघि बढाएको जनाएको छ ।

आयोजना प्रमुख ओम शर्माले गएको भदौ यता काममा सुधार आएको बताए। उनले चिनियाँ ठेकेदार कम्पनीले व्यवस्थापक फेरेपछि कामले केही गति लिएको र असार भित्र परीक्षण उडान गराउने लक्ष्यसहित काम अघि बढाएको बताए ।

कुल ६ अर्ब २२ करोड रूपैया लागतमा निर्माण भईरहेको बिमानस्थल आउँदो असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

लागतमध्ये एडिबीको ५४ करोड अनुदान रहेको छ भने चार अर्ब २० करोड रूपैया ऋण रहेको छ । अहिले प्रशासकिय भवन, कन्ट्रोल टावर, धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम भईरहेको विमानस्थल आयोजनाले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.