युएस बंगला दुर्घटनामा मृतकका आफन्तले कति पाउँछन् बीमा?

थाइ एयरवेज दुर्घटनामा एक नेपालीले साढे ७ करोड पाएका थिए


 

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको युएस बंगला एयरलाइन्सको जहाज फगुन २८ गते अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो।

दुर्घटनामा परी २२ जना नेपालीले पनि ज्यान गुमाए। मृतका आफन्तले विमा रकम दाबी कसरी गर्ने? कति रकम पाउछन्? सरकारी अधिकारी र कानून व्यवसायीको मत बाझिएको छ।

नेपालको कानुनी व्यवस्थाअनुसार ज्यान गुमाएका आफन्तले २० हजार अमेरिकी डलर विमा र २ हजार डलर किरिया खर्च पाउँछन्। सबैले बुझेको पनि यही हो।

नेपाल वार्सा अभिसन्धीको सदस्य राष्ट्र भएको र युस–बंगला एयरलाइन्सले पनि त्यही सन्धीको अधिनमा रहेको भनेर टिकटमा उल्लेख गरेकोले सिमित दायित्वमा त्यति नै बिमा पाउने सबैको विश्वास छ।

सरकारी अधिकारी पनि नेपालको कानुनी व्यवस्थाले वार्सा अभिसन्धी अन्तर्गत २० हजार डलर अनिवार्य गरेकोले त्यो भन्दा बढी दाबी गर्न नसकिने बताउँछन्।

तर कानून व्यवसयीका अनुसार मृतकका आफन्त अन्य देशका अदालतमा जान सक्ने बताउँछन्।

वार्सा र मोटिरियल अभिसन्धीअनुसार मुद्दा लाग्ने क्षेत्राधिकार अन्य देशका अदालत पनि भएकाले उपयुक्त देश र न्यायलयमा जाँदा बढी रकम पाउने उनीहरुको धारणा छ।

उड्डयान कानुनका जानकार वरिष्ठ अधिवक्ता प्रभाकर अधिकारीअनुसार युस बंगला दुर्घटनामा निधन भएका आफन्तले असिमित दायित्व माग गर्दै अमेरिकाको अदालतमा मुद्दा दिनसक्ने बताउँछन्।

‘यसअघि सन् १९९२ मा थाइ एयरको विमान दुर्घटना हुँदा पनि एक नेपालीले अमेरिकामा मुद्दा दिँदा असिमित दायित्वमा विमा रकम पाएका थिए’, उनले भने, ‘त्यसैगरी अहिले पनि जान सकिन्छ।’

एयरलाइन्सले दिने विमा रकमभन्दा बढी माग दाबी गर्नसक्ने सरकारसँग आधार छैन। दाबीकर्ता आफ्नै पहलमा अदालती प्रक्रियामा जानसक्ने उनको भनाइ छ।

यो कुरामा नागरिक उड्डयान प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल पनि सहमत छन्।

‘हामीले कुनै पनि विदेशी एयरलाइन्सलाई नेपालमा उडान अनुमति दिँदा २० हजार डलर प्रति यात्रु विमा गर्नुपर्ने व्यवस्था गरेका छौ,’ पोखरेलले भने।

हवाई सेवाप्रदायकको दायित्व सम्बन्धिको अन्तर्राष्ट्रिय अभिसन्धी हो वार्सा जसले कुनै पनि सेवाप्रदायकले यात्रुको निधन वा क्षति भएमा २० हजार अमेरिकी डलर विमा रकम उपलब्ध गरानुपर्ने सिमित दायित्व निर्धारण गरेको छ। नेपाल र बंगलादेश अहिलेसम्म यही अभिसन्धीको सदस्य छन्।

उक्त सन्धीमा सिमित दायित्व कम भएको भन्दै अमेरिका र क्यानाडाको प्रयासमा आएको अर्को सन्धी हो मोट्रियल। जसले सुरूमा ७५ हजार अमेरिकी डलर सिमित दायित्वको व्यवस्था गरेको थियो भने अहिले त्यो बढेर १ लाख १३ हजार अमेरिकी डलर पुगिसकेको छ। नेपालले यो अभिसन्धी अनुमोदन गरेको छैन।

नेपाल सरकारले अनुमोदन नगरे पनि यात्रुका आफन्तले यही अभिसन्धी अन्तर्गत विमा दावी गर्न भने कुनै रोकछेक नभएको अधिकारीको तर्क छ।

अमेरिका वा अन्यत्र कसरी मुद्दा लाग्छ?

मोन्टरियल अभिसन्धी नेपाल र बंगलादेशले अनुमोदन नगरेको भए पनि यही सन्धी र कार्यक्षेत्रअनुसार अमेरिकामा मुद्दा लाग्ने अधिकारीको भनाइ छ।

‘युएस बंगला जोइन्ट भेन्चर कम्पनी हो र त्यो भेन्चर अमेरिकाको कम्पनी पनि हो त्यसैले प्रिन्सीपल अफ बिजनेस क्षेत्राधिकारको कारणले अ‍ेमेरिकामा उक्त मुद्दा लाग्छ’, उनले भने, ‘यही कारण नेपालीहरुले पनि अमेरिकामा मुद्दा हाल्न पाउँछन्।’

वार्सा र मोन्टरियल सन्धीअनुसार यो क्षेत्राधिकार आकर्षित हुने अधिकारीको तर्क छ। सन् १९९२ मा थाइ एयरवेजको विमान दुर्घटना हुँदा अमेरिका वार्साको पक्ष राष्ट्र नहुँदा पनि मुद्दा लागेको र नेपालीले जितेको उनको भनाइ छ। तर नेपालमा दावी गर्ने र मुद्दा हालेमा भने वार्सा सन्धीको सिमित दायित्व मात्र हो।

मुद्दा हाल्दा उपयुक्त क्षेत्राधिकार छनोट गर्नुपर्ने र त्यसको लागि कानूनव्यवसायीसँग परामर्श लिनुपर्ने उनले जानकारी दिए।

‘थाइ दुर्घटना हुँदा एक जनाले अमेरिका जाँदा साढे ७ लाख डलर पाउनुभयो र बैंककमा मुद्दा हालेकाले १ लाख मात्र पाउनुभयो’ ‍उनले भने।

साढे सात लाख अमेरिकी डलर आजको मूल्यमा ७ करोड ५० लाख बढी हो।

विदेशमा मुद्दा हाल्दा कति पाइन्छ रकम?

विमा दावी दुई प्रकार हुन्छन्। सिमित र असिमित। सिमित दायित्व भनेको न्यूनतम हो। दुर्घटनामा परेका सबैका आफन्तले त्यस्तो रकम पाउँछन्।

युएस–बंगला दुर्घटनामा निधन भएका आफन्तले अमेरिकी अदालतमा गएर असिमित दायित्व माग गर्नसक्ने अधिवक्ता अधिकारीको भनाइ छ।

असिमित दायित्व माग गर्दा सिमित दायित्वमा पनि १ लाख ५० हजार डलर अनिवार्य पाउँछन्। तर युस–बंगला दुर्घटनामा यात्रुका आफन्तले असिमित दायित्व पाउने अधिकारीको भनाइ छ।

‘प्राइमाफेसी (प्रथम दृष्य) रूपमा युएस बंगालाको दुर्घटनामा पाइलटको कमजोरी सोझै देखिन्छ, उसले जहाँबाट अवतरण गराउनुपर्ने थियो त्यहाँबाट गरेन, नगर्नुपर्ने ठाउँबाट गरेको छ’, उनले भने, ‘त्यसैले यसमा सोझै असिमित दायित्व आकर्षित हुन्छ र कम्तिमा पनि ५ लाख डलर पाइन्छ।’ दायित्व हेरेर रकम धेरै हुनसक्ने उनको भनाइ छ।

हवाई दुर्घटना म्यानिफ्याक्चर एरर, मेकानिकल फेलर, पाइलट एरर, एटिसी फल्ट, प्यासेन्जर फल्ट, चरा र चट्याङका कारणले हुन्छ।

मोटिरियल सन्धीअनुसार मुद्दा हालेपछि क्यारियरले सबै सावधानी अपनाउँदा अपनाउँदै दुर्घटना भएको हो भनेर प्रमाणित गर्नुपर्छ। यदि एयरलाइन्सले गर्न नसकेमा सबै यात्रुले असिमित दायित्व पाउने अधिकारीले जानकारी दिए। यसरी असिमित दायित्व नपाएपछि सिमित दायित्वको १ लाख १३ हजार डलर सबैले पाउँछन्।

सन् १९९२ मै नेपालीले पाएका थिए साढे ७ लाख अमेरिकी डलर बिमा

नेपालमा विदेशी एयरलाइन्स दुर्घटना हुँदा नेपालीले २० हजार डलरभन्दा बढी बिमा यसअघि पनि पाएको इतिहास छ।

सन् १९९२ थाइ एयरवेजको जहाज दुर्घटना परेर मृत्यु भएकामध्ये दुई जना नेपालीका आफन्तले २० हजार डलरभन्दा बढी बिमा पाएका थिए।

बरिष्ठ अधिबक्ता अधिकारी आफैंले सल्लाह दिएर विदेशी अदालतमा गएका उनीहरूले त्यस्तो बिमा पाएको बताउँछन्।

उनका अनुसार थाइ एयरवेजको दुर्घटनामा परेर निधन भएकी सन्तोषी कोइरालाका पति निरञ्जन कोइरालाले अमेरिकी अदालतमा मुद्दा दिएका थिए।

उनले उक्त अदालतबाट असिमित दायित्वको मुद्दा जितेपछि त्यति बेला ७ लाख ५० हजार अमेकी डलर हात पारेका थिए।

‘निरन्जन कोइरालाजीले मलाई थाइले ६५ हजार डलरको अफर आएको छ, लिउ कि नलिउ भनेर मसँग सल्लाह माग्नुभयो’, उनले सम्झदै भने,‘मैले उहाँलाई अमेरिकामा असिमित ल्याविलिटी हुन्छ। प्रथम दृष्य हेर्दा पाइलटको कमजोरी देखिन्छ त्यसैले कम्तिमा ३ लाख डलर पाउनुहुन्छ भनेर मैले सल्लाह दिएँ।’

त्यही दुर्घटनामा निधन भएका एक नेपालीका आफन्तले थाइल्यान्डको अदालतबाट १ लाख अमेरिकी डलर पाएकी थिइन्। मृतक त्रितकुमार थापाकी श्रीमति मिना कुमारी थापाले उक्त रकम पाएकी थिइन्।

तर त्यो बाहेक अरु नेपालीले भने २० हजार डलरमात्र पाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.