बलात्कार प्रयासको आरोपमा शिक्षक पक्राउ


यौन उत्तेजना बढाउने औषधि खुवाएर दुई छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा सुर्खेतमा एक शिक्षक पक्राउ परेका छन्।

पञ्चपुरी नगरपालिका–१० जामुको जनज्योति निमाविका शिक्षक युवराज शर्मालाई बलात्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

कक्षा ७ मा अध्ययनरत दुई बालिकालाई ‘चोकोफन’सँगै यौन उत्तेजना बढाउने औषधि दिएर आइतबार राति शर्माले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। छात्राहरू सुतिरहेको कोठाभित्र राति १२ बजे प्रवेश गरेका उनलाई स्थानीयहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए।

बेलुका सात बजेतिर शिक्षक शर्माले चोकोफनसँगै यौन उत्तेजना बढाउने औषधि ती छात्राहरूलाई दिएको ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए। उनका अनुसार राती बालिकाहरू सुतिरहेको बेला उनीहरूको कोठामा गएका शर्मालाई स्थानीयहरूले पक्राउ गरेका हुन्।

बालिकाका काकाले ईलाका प्रहरी कार्यालयमा बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.