दृष्टिविहीन विद्यार्थीको चिन्ता गणित र विज्ञान

दृष्टिविहीन विद्यार्थी। तस्बीरः भगवती पाण्डे।


रुपन्देहीको मायादेवी गाउँपालिका ४ रमवापुरकी सरिता बानियाँ माध्यमिक शिक्षा परीक्षा ‘एसइई’को तयारीमा छिन्। पढाईमा अब्बल भए पनि उनी एसइई परीक्षाका लागि धुकचुक छिन्।

गणित र विज्ञानमा हिसाब गर्नुपर्ने र चित्र बनाएर व्याख्या गर्नुपर्ने भएकाले अन्य विषयमा जस्तो राम्रो अंक आउँदैन कि भन्ने चिन्ताले उनलाई गाँजेको छ।

‘पहिला सबै परीक्षामा ‘ए’ग्रेड ल्याउँथें। तर यसपालि अलि डर लागेको छ,’ सरिताले भनिन्, ‘गणित र विज्ञान घोकेरभन्दा पनि अभ्यास गरेर लेख्नु पर्ने भएकोले गाह्रो लाग्छ। ’

मुर्गियाकी भुमा खरेल, सियारीका मदन न्यौपाने र दयाराम चौधरीको पनि समस्या उस्तै हो। आंशिक दृष्टिविहीन उनीहरू अत्यन्त मेहनतका साथ परीक्षाको तयारी गरीरहेका छन्।

‘चित्र बनाएर वर्णन गर्नु पर्ने प्रश्नले निकै समस्या पार्छ,’ मदनले भने, ‘सोधिने चित्रलाई कसरी व्याख्या गर्ने यो नै प्रमुख समस्या बनेको छ।’

जन्मिदै दृष्टिविहीन भुमा आँखाको अप्रेसनपछि ठूला अक्षरसम्म देख्ने भएकी छन्। तर परीक्षामा साना अक्षर हुने भएकोले उनलाई अरू दृष्टिविहीनलाई जस्तै सहयोगी चाहिन्छ।

‘सहयोगीले लेख्न त आफूले भनेअनुसारै लेख्छन्। तर ह्स्वदीर्घ, कमा, पूर्णविराम, स्पेलिङमा उनीहरुले मिलाउन सकेनन् भने हाम्रो परिक्षा बिग्रन्छ,’ भुमा भन्छिन्।

दृष्टिविहीन वा अन्य कुनै कारणले आफैंले परीक्षामा लेख्न नसक्नेलाई उनीहरूभन्दा तल्लो कक्षाका विद्यार्थी सहयोगी राख्न पाउछन्।

सियारी २ मैनहियाकी चन्द्रकुमारी चौधरीको कथा पनि उस्तै छ। दृष्टिविहीन भाइलाई विद्यालय भर्ना गर्न गएकी उनी आफू पनि विद्यालय भर्ना भइन्। अध्ययन रुची र सम्भावना देखेर विद्यालयले उनलाई कक्षा ६ मा सहज भर्ना  लियो। अन्य साथीजस्तै गणित र विज्ञानले उनलाई पिरोलेको छ।

‘पहिलेदेखि नै अभ्यास नगरेर होला, अरू विषयमा पाठ घोकेर सम्झन सजिलो हुन्छ। यी विषयमा त्यस्तो हुँदैन,’ उनले भनिन्, ‘गणितमा चित्रको आधारमा हिसाब गर्नुपर्छ। शिक्षकले पनि ह्वाटबोर्डमा लेखेर पढाउनुहुन्छ तर हामी देख्दैनौं। विज्ञानमा पनि केही हिसाब र चित्र हुन्छन्। शिक्षकले गणितजस्तै गरी सिकाउनुहुन्छ। त्यसैले समस्या छ।’

आइतबार बिहान हामी छात्रावास पुग्दा शिक्षक टिकाराम भुसालले उनीहरूलाई सघाइरहेका थिए। शिक्षक भुसाल पनि दृष्टिविहीन हुन्। सोही विद्यालयबाटै एसएलसी सकेका उनले बुटवल बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन्।  आफै पढेको विद्यालयमा उनि  १४ वर्षदेखि पढाइरहेका छन्।

अन्यत्र ध्यान नजाने भएकोले दृष्टिविहीन विद्यार्थीहरूले शिक्षकले भनेको छिटो टिप्ने भुसाल बताउँछन्।

‘देख्ने र नदेख्नेबीचको प्रतिष्पर्धाले विद्यार्थीमाथि विभेद भएको छ,’ भुसालले भने, ‘दृष्टिविहीन र सामान्य अवस्थाका वीद्यार्थीबीच शिक्षा मात्र होइन अलग्गै पाठ्यक्रम हुनु जरुरी छ।’

यो विद्यालयबाट अहिलेसम्म ३२ जना दृष्टिविहीन विद्यार्थीले एसएलसी परीक्षा पास गरेकोमा एक जना दोश्रो श्रेणीबाहेक ३१ जना नै प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्।

बिहीबारदेखि हुने एसइई परिक्षाका लागि विद्यालयकै छात्रावासमा बस्ने उनीहरू समूहमै बसेर परीक्षाको तयारी र अभ्यास गर्दैछन्।

यसपटकको एसइईमा शान्ति नमुना मावि मणिग्रामबाट २ पूर्ण र ३ जना आंशिक गरी ५ जना दृष्टिविहीन विद्यार्थी सहभागी हुँदैछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.