वेवारिसे अवस्थामा नवजात शिशु फेला


सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर वडा नं. ६ स्थित बजारभित्रै वेवारिसे अवस्थामा उक्त शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
हटियालाइनस्थित धनबहादुर रावतको निर्माणधिन घरमा मंगलबार बिहान शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

उक्त नवजात शिशु चैत ४ गते जन्मेको र नवजात शिशुका बुवा भैरवस्थान निवासी खगेन्द्र आचार्य र आमा अमृता शर्मा भनेर क्षेत्रीय अस्पतालमा नाम उल्लेख गरिएको खोजतलासका क्रममा भेटिएको प्रहरीले जनाएको छ । तर, सोही अनुसार प्रहरीले खोज्दै जाँदा भैरवस्थानमा उक्त नाम गरेको मान्छे नै नपाईएको श्रेष्ठको भनाई छ ।

उक्त नवजात शिशु अहिले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुरक्षित राखिएको छ । शिशुका बुवा आमाको भने प्रहरीले खोजी गरिरहेको बताएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.