बेहुलो भाग्दा ३५ लाख जरिवाना !


 

झापा स्थित बुद्धशान्ति गाउँपालिका १का लालप्रसाद रेग्मीले छोराको विहेभएको केहि दिनमै बुहारीलाई ३५ लाख जरिवाना तिरेका छन्।

दश महिना अघि टिकाटालो गरेर गएको फागुन २० गते धुमधामसँग विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख  रुपैँया जरिवाना तिरेका हुन्।

जरिवाना तिर्नु अघि बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा यसबारे दुई दिनसम्म बहस भएको थियो।

रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिइन्।

राकेशले आफ्नै गाउँकी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए।

विवाहको भोलीइ पल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट भयो।  सम्धी ढोगभेट सकिएपछि राकेश बेहुली छाडेर भागेका थिए।

राकेश भारत गएर बसेको थाहा पाएपछी आफन्तको सहयोगमा उनलाई फर्काइयो। उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन्। उनले आफूमा यौन  समस्या भएकाले विहेपछी भागेको वयान दिएका छन्। राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।
उनका बुबा लालप्रसादले बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा पनि यहि कुरा राखे।

“छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविश्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि रु ३५ लाख दिन्छु,” उनले भने।

बेहुलीलाई भरणपोषणका लागि दिने भनेको ३५ लाख रुपैँया ३५ दिनभित्र दिने सहमति भएको बताइएको छ।

आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्कर्षमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताईन्।  त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने छ ।

सामान्य बोलचाल मात्रः बेहुली

दश महिना अघि फूलमाला गरेर गत फागुन २० गते विवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र टिकाटाले पछि फोनमा आफूहरुको कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताइन्।

उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको र त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा चाँडै सुतेको जानकारी दिइन् ।

गाउँपालिकामा भएको बहसमा केटा बेपत्ता भएलगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको र दुई दिनसम्म राकेश घर नफर्किएपछि माइतमा जानकारी गराएको उनले भनिन् ।

राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीमा रहेको र विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए ।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.