बम विस्फोटमा मारिएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई सहयोग प्रदान


अज्ञात समूहको बम विस्फोटमा मारिएका दाङका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर १२ क्वाङ्गी निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीकी पत्नि २४ वर्षीया अञ्जना चौधरीलाई ६४ हजार २ सय २५ रुपैयाँ सोमबार प्रदान गरिएको हो।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले विस्फोटमा मारिएका म्यादी प्रहरी चौधरीका बाबु खुसीराम चौधरी र पत्नि अञ्जनालाई उक्त रकम प्रदान गरेका हुन्। ईप्रका तुलसीपुरमा कार्यरत प्रहरी र निर्वाचनका क्रममा यसक्षेत्रमा कार्यरत प्रहरीबाट उक्त रकम सहयोग स्वरूप संकलन गरिएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १२ गते तुलसीपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्वोधन गर्न आएको समयमा सुरक्षार्थ तुलसीपुर बजारमै खटिएका बेला अज्ञात समूहले प्रहार गरेको बम विस्फोटमा परी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते चौधरीको मंसिर १३ गते बिहान साढे २ बजेतिर बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उक्त विष्फोटनमा परि थप ८ जना घाइते भएका थिए। त्यसमध्ये कतिपय अझै उपचार गराइरहेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.