सल्यानमा आगलागीबाट ३ करोड बढीको क्षति

तस्बिर स्रोत : नेपाल प्रहरी


दाङको छिमेकी जिल्ला सल्यानमा आगलागी हुँदा ३ करोड रुपैयाँ बढीको क्षति भएको छ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ बांगेलाखुरी बजारमा भएको आगलागीबाट झण्डै ३ करोड रुपैयाँ बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भर विकले सेतोपाटीलाई जानकारी दिए।

आगलागीबाट सुन पसल, किनारा पसल र कपडा पसल जलेर नष्ट भएको छ। नौवटा पसल र दुई वटा घर जलेर नष्ट भएको र त्यसमा झण्डै ३ करोड रुपैयाँ बढीको क्षति भएको डिएपी विकले जानकारी दिए। आगलागीबाट सुन र सुनका गरगहना, खाद्यान्न, लत्ता कपडा तथा अन्नपात ठूलो मात्रामा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख विकले बताए।

आगलागीमा परी तीनवटा मोटरसाइकल समेत जलेर नष्ट भएको डिएसपी विकले बताए। जंगबहादुर चन्दको किराना पसलबाट सुरू भएको आगो हावाका कारण आसपासका पसल र घरमा समेत सल्किन पुगेको थियो।

जंगबहादुर चन्दको गल्ला पसलबाट सल्केको आगो गोविन्द बुढाथोकीको दार्माली नास्ता पसल, खुमराज दमाईको टेलरिङ सेन्टर, रामबहादुर सुनारको सुनचाँदी पसल, इन्द्रबहादुर कामीको कोल्ड स्टोर, अनुरुप केसीको किराना पसल र गोविन्द्र प्रसाद देवकोटाको फेन्सी पसल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको डिएसपी विकले बताए। तर, प्रत्यक्षदर्शी केही स्थानीवासीले भने चन्दको पसलमा बेच्न राखिएको पेट्रोलबाट आगो सल्किएको बताएका छन्। नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीयले बोत्तलमा पेट्रोल बेच्दै आएका चन्दले आवश्यक सावधानी अपनाउन नसक्दा आगो सल्किएको र उनको गल्ला पसलमा आगो सल्किएपछि हावाले आसपासका घरहरू समेत जलेको जानकरी दिएका छन्।

क्षतिको विवरण संकलन भइरहेको बताएका जिल्ला प्रहरी प्रमुख सल्यानका डिएसपी विकले आइतबार आगलागी भएको स्थलको स्थलगत अनुगमन गरी क्षतिको एकिन विवरण सार्वजनिक गरिने जानकारी दिए।

‘आजै दिउँसो हामी आगलागी भएको स्थलको स्थलगत अनुगमन गर्दैछौं, अहिलेसम्म प्राप्त मोटामोटी विवरण ५ करोड रुपैयाँ बढीको क्षति भएको भन्ने स्थानीयको दाबी छ। तर हाम्रो स्थानीय प्रहरी यूनिटले ३ करोड बढी भन्ने छ,’ विकले भने।

आगलागीपछि शनिबार बेलुकासम्म दुई जना पसलका सञ्चालक बेहोस भएको हुँदा क्षतिको विवरण संकलनमा बिलम्व भएको प्रहरीले बताएको छ। शनिबार दिउँसो सवा २ बजेबाट आगलागी सुरू भएको थियो। स्थानीयवासी र प्रहरीको सक्रियताले एक घण्टाको अन्तरालमै आगो नियन्त्रणमा लिइएको डिएसपी विकले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.