काठमाडौं उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुर क्षेत्रबाट शनिबार करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
काठमाडौंको दक्षिण क्षेत्रमा पर्ने त्यस स्थानमा रहेका ऐतिहासिक महत्वका क्षेत्र, सम्पदास्थल, नदी तथा कुवालगायत विभिन्न स्थानमा अहिलेसम्म जम्मा भएका कुहिने/नकुहिने फोहर सफाइ गरिएको हो ।
राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका कीर्तिपुरवासी आज सामाजिक कार्यमा व्यस्त देखिन्थे । नगर क्षेत्रलाई फोहर तथा प्रदूषण मुक्त बनाउन करिब दुई हजार व्यक्तिले सामूहिकरुपमा प्रण गरेका छन् ।
कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय लोकतान्त्रिक चोक, बाघभैरव, विष्णुदेवी, देवढोकालगायतका १९ स्थानमा विभाजित भई नगरभित्रका फोहर व्यवस्थापनमा सक्रिय भएका
थिए ।
नगर सफाइ अभियानको नेतृत्व नगर प्रमुख रमेश महर्जनले गर्नुभएको थियो भने उहाँलाई सुरक्षाकर्मी, स्थानीयवासी, विभिन्न संघ संस्थाका प्रतिनिधिले साथ दिएका थिए ।
नगर प्रमुख महर्जनले पछिल्लो समय नगर क्षेत्रमा बढ्दो शहरीकरण तथा अव्यवस्थित बसोबासका कारण दुर्गन्धित र प्रदूषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै मानिसलाई जन्मेदेखि नमरुञ्जेलसम्मका विभिन्न पूजाआजा तथा संस्कार र तीर्थस्थलका रुपमा परिचित रहेको यहाँका सम्पदा, पानीका स्रोत, सडक आसपास क्षेत्रमा सफाइ गरिएको बताए।
बिहान ७ बजेदेखि ९ बजेसम्म गरिएको सफाइ अभियान लोकतान्त्रिक चोकदेखि कीर्तिपुर चक्रपथसम्मका स्थानीयवासीले सडक किनारामा भेला भई एकापसमा हात समाउँदै बाँधिएको आत्मीयताले अब त्यस क्षेत्रमा फोहर नगर्ने र स्वच्छ सफा राख्न प्रतिबद्धता जनाएको सन्देश पाइएको थियो ।
सधैजसो राजनीतिक गतिविधिमा व्यस्त रहने कीर्तिपुरवासीलाई स्थानीय सामाजिक सङ्घ संस्था, उद्योगी तथा समाजसेवीले पनि सघाएका थिए ।
राम्रो कानुनको व्यवस्था भए पनि कार्यान्वयन पक्ष फीतलो भएकाले विभिन्न रसायन, ढलको मिसावट नदी तथा सडक किनारमा हुन थालेपछि समस्या विकराल बन्दै गरेका अवस्थामा सबैको सहकार्यबाट त्यस क्षेत्रको प्रदूषण न्यूनीकरण गर्न अभियान थालिएको नगरपालिकाले जनाएको छ ।
अभियानले सम्पदा तथा त्यस वरपर क्षेत्रबाट ठूलो परिमाणमा फोहर व्यवस्थापन गर्दै सर्वसाधारणलाई गरे के हुदैन ? भन्ने सन्देश दिएको छ ।
फोहरको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कीर्तिपुरको सभ्यता र पहिचानमा क्रमश हस आइरहेको अहिलेको अवस्थामा यस कार्यले सहयोग पुर्याउने विश्वास गरिएको छ।















