सडक निर्माण समस्याबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सोमबार डाकेको बैठकमा एक मात्र जनप्रतिनिधि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन थिए।
आठलेन रिङरोडको कोटेश्वर–कलंकी खण्डमा ८० प्रतिशतभन्दा बढी ललितपुर महानगरभित्रै पर्छ। काठमाडौं उपत्यकामा बन्दै गरेका सडकमध्ये पछिल्लो समय सबभन्दा ठूलो ‘इञ्जिनियरिङ’ समस्या देखिएको रिङरोडमै हो।
यहाँ दुईतर्फी बाटो छुट्टयाउने ‘मिडियन’ छैन। पैदलयात्रुलाई बाटो काट्न समस्या छ। चोकहरूमा रिङरोड नाघेर गाडी भित्र–बाहिर गर्न गाह्रो पर्छ।
यसमध्ये सडक विभागले ‘कुनै न कुनै किसिमको मिडियन बनाउने’ बनेको छ। बाटो काट्न जेब्रा–क्रसिङ र आकाशे पुल पनि बन्नेछन्। चोकमा गाडी आरपार गराउन भने कुनै योजना छैन।
यहीँनिर ललितपुर महानगरले हात हालेको हो।
व्यस्त चोकमा सजिलै गाडी आरपार गराउन चार ठाउँमा ‘फ्लाइओभर’ बनाउने तयारी गरेको मेयर महर्जनले जानकारी दिए।
‘दस किलोमिटर खण्डभित्र पर्ने चार व्यस्त ‘इन्टरसेक्सन’ मा फ्लाइओभर बनाउन अध्ययन सुरु गरेका छौं,’ उनले बैठकमा भने, ‘रिङरोडमा जनताले भोग्नुपर्ने समस्या जसरी हुन्छ कम गर्नेछौं।’
प्रस्तावित ‘फ्लाइओभर’ बारे विस्तृत कुराकानी गर्न हामीले मंगलबार महर्जनलाई उनकै कार्यकक्षमा भेट्यौं।
ग्वार्को, एकान्तकुना, सातदोबाटो चोक र सातदोबाटोबाट चापागाउँ जाने बाटोमा ‘फ्लाइओभर’ बनाइने उनले बताए। डिजाइन र सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनौट प्रक्रिया सुरु भइसकेको छ।
‘रिङरोडको गलत डिजाइनले भोलि पूर्ण क्षमतामा गाडी गुड्न थालेपछि यी इन्टरसेक्सनमा दुर्घटना जोखिम हुने हामीले देख्यौं। चारतिरबाट आउने गाडी र पैदलयात्रुको चापले ट्राफिक व्यवस्थापनमा समस्या हुन्छ,’ उनले भने, ‘अहिले लगभग निर्माण पूरा भइसकेको अवस्थामा भत्काएर नयाँ बनाउन सम्भव छैन। त्यही भएर फ्लाइओभरको योजना ल्याएका हौं।’
उनका अनुसार फ्लाइओभरमा पैदलयात्रुले हिँड्न पाउने छैनन्। रिङरोड आरपार गर्ने गाडीले फ्लाइओभर प्रयोग गर्नेछन्। मूलसडकमा सोझो गुडिरहेका र रिङरोड ‘क्रस’ गर्ने गाडी आमनेसामने हुनुपर्दैन। सवारी चाप कम हुँदा पैदलयात्रुलाई सकस हुँदैन।
[caption id="attachment_130782" align="alignnone" width="1200"]
निर्माणाधीन रिङरोड। तस्बिरः नारायण महर्जन/सेतोपाटी[/caption]
आठलेन रिङरोड बीचमा चार लेनको द्रुतमार्ग (एक्सप्रेस वे) छ। दुवैतर्फ दुई–दुई लेनको सर्भिस लेन छ। द्रुतमार्गमा ५० किलोमिटर प्रतिघन्टा गतिमा सवारी चल्छन् भने सर्भिस लेनमा २० किलोमिटर गतिमा। रिङरोड ‘क्रस’ गर्ने गाडीलाई बाटो छाड्दा मूल सडकका गाडी रोकिन्छन्। डिजाइनमा सडक ‘क्रस’ गर्ने गाडीलाई कहाँबाट कसरी बाटो दिने व्यवस्था छैन।
चिनियाँ कम्पनी सांघाई कन्सट्रक्सनले दस किलोमिटर रिङरोडको ८० प्रतिशत काम सकिसकेको छ। सडक विभागका अनुसार यो खण्डमा ६३ ठाउँमा साना–ठूला ‘इन्टरसेक्सन’ छन्, जहाँबाट रिङरोड भित्रबाहिर जाने सहायक बाटा छुट्टिन्छन्।
मूल सडकबाट सहायक बाटो निकाल्ने काम सडक विभागकै हो। अहिलेसम्म सुरु भएको छैन। आठै लेनमा गाडी कुद्न थालेपछि ट्राफिक व्यवस्थापन मिलाउन गाह्रो पर्ने महर्जन बताउँछन्।
उनका अनुसार महानगर कार्यपालिका बैठकले सुरुआतमा चार संवेदनशील ठाउँ छानेर फ्लाइओभर बनाउने निर्णय गरेको हो।
विदेशतिर व्यस्त चोकमा ट्राफिक व्यवस्थापन गर्न फ्लाइओभर बनाउने गरिन्छ। यही अभ्यास नेपालमा सुरु गर्न लागेको महर्जन बताउँछन्।
‘नयाँ अवधारणा भएकाले हामीलाई चुनौती छ,’ उनले भने, ‘रिङरोडमा देखिएका अथाह समस्यामध्ये इन्टरसेक्सन जोखिम कम गर्न फ्लाइओभरमा जानुको विकल्प देखिन्न। हामीले यसको अवधारणा डिजाइन बनाइसकेका छौं।’
उनका अनुसार चार बाटो जोडिने ठाउँमा चार लेनकै फ्लाइओभर बनाउने योजना छ। सहायक बाटोबाट आउने गाडी आ–आफ्नो लेन हुँदै घुमेर आरपार जानेछन् वा मूलसडकमा छिर्नेछन्। बीचमा कुनै रोकावट वा बाधा हुँदैन। कुनै पनि दिशाबाट आउने गाडी रोकिनुपर्दैन।
यस्तो फ्लाइओभरको सडकबीच जंक्सनमा एउटा पिलर हुन्छ। मूल सडकभन्दा माथि बन्ने यस्तो बाटो भिरालो हुँदै जोडिन्छ।
अहिलेकै रिङरोड डिजाइनले मच्छिन्द्रनाथको रथ ल्याउन पनि समस्या हुने ललितपुर महानगरको ठहर छ। मच्छिन्द्रनाथको रथ बुङमतीबाट ल्याइन्छ। एकान्तकुना चोकबाट जावलाखेल छिराइन्छ। अहिलेको डिजाइनमा रथ आरपार गर्दा सडक पूरै बन्द हुन्छ। फ्लाइओभर भए समस्या नहुने महर्जनको भनाइ छ।
[caption id="attachment_141788" align="alignleft" width="374"]
फ्लाइओभरको नमुना।[/caption]
चार ठाउँमा फ्लाइओभर बनाउन करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने ललितपुर महानगरको अनुमान छ। जाइकाको अध्ययनअनुसार १.४ किलोमिटर फ्लाइओभर बनाउन ५ अर्ब लाग्छ। महानगरको कुल बजेट ३ अर्ब २२ करोड हो। ‘अहिलेको हाम्रो बजेटका आधारमा बनाउन सकिँदैन। पछि सम्भावना छ,’ उनले भने, ‘बजेट छैन भनेर हामी रोकिँदैनौं। जसरी भए पनि बनाउँछौं।’
दातृ संस्थासँग आर्थिक सहायता वा सहुलियतपूर्ण ऋण व्यवस्था गरेर भए पनि काम सुरु गर्ने उनले प्रतिबद्धता जनाए।
मेयर महर्जन हालै ‘सिटी नेट’ नामक अन्तर्राष्ट्रिय मेयर्स फोरममा सदस्य निर्वाचित भएका छन्। त्यही फोरममा विभिन्न देशका दातासँग आर्थिक सहायता निम्ति छलफल अघि बढाउने उनले बताए। ‘जाइका लगायत बहुपक्षीय दातृ संस्थासँग पनि कुराकानी भइरहेको छ,’ उनले भने, ‘योजनाअनुसार सहयोग प्राप्त नभए तीन–चार वर्ष लगाएर भए पनि ललितपुर महानगरले आफ्नै स्रोतबाट यो आयोजना पूरा गर्नेछ।’
‘जनताको सुरक्षा विषय हो। सम्झौता गर्न सकिँदैन। जस्तो चुनौती आए पनि हामी काम सक्छौं,’ उनले भने।
चार ‘इन्टरसेक्सन’ मा मात्र नभएर पुल्चोकको आकाशे पुलदेखि थापाथलीसम्म पनि फ्लाइओभर बनाउने महानगरको योजना छ। सिधा सडकझैं बन्ने यो फ्लाइओभर १.४ किलोमिटर हुने मेयर महर्जनले जानकारी दिए।
यो थापाथलीबाट माइतीघरसम्मको अर्को फ्लाइओभरसँग जोडिनेछ। जापानी सहयोग संस्था जाइकाले माइतीघर–थापाथली चार लेन फ्लाइओभरको अध्ययन सकेको छ।