दाङकी एक महिला अर्घाखाँचीको जंगलमा मृत अवस्थामा फेला परेकी छन्।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी २८ वर्षीया मुस्कान नेपाली सीमाना जुधेको जिल्ला अर्घाखाँचीको जंगलमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको हो।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रवीन्द्र खड्काले नेपालीको शव अर्घाखाँची जिल्लाको सितगंगा गाउँपालिका वडा नम्बर ८ स्थित जहरेपानी सामुदायिक वनमा फेला परेको बताए।
प्रमुख खड्काले मृतको टाउकोमा चोट देखिएको, व्लिडिङ देखिएको र तल्लो भागमा सुरूवाल च्यातिएको अवस्थामा शव फेला परेको हुँदा नेपालीको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे।
‘करणीपछि जंगलमा लगेर उनको हत्या भएको हुनसक्छ, तर अहिले नै भन्न सक्ने अवस्था छैन,’ प्रहरी निरीक्षक खड्काले भने।
उनले नेपालीको हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको भन्दै घटनामा सम्लग्न भएको आशंका गरिएका केही युवालाई पक्राउ गर्ने तयारी भइरहेको बताए। मृतक नेपालीको शवलाई पोष्टमार्टमका लागि दाङको लमही अस्पतालमा लगिएको प्रहरीले जानकरी दिएको छ। मंगलबार नै चिकित्सकको रिपोर्ट आएमा नेपालीको मृत्युको कारण पत्ता लाग्ने आशा प्रहरीले गरेको छ।