गाउँघरतिर एउटा उखान सुनिन्छ– ‘भीरमहको स्वाद चाख्नेले भीरमौरीको टोकाइ पनि सहनुपर्छ।’
कुनै राम्रो काम गर्दा त्यससँगै आउने गलत प्रभावको सफाइ दिनुपरे यो उखान प्रयोग हुन्छ।
काठमाडौंको कुइरीमण्डल धूलो हेरौं।
कोटेश्वरदेखि कलंकीसम्म दस किलोमिटर रिङरोड विस्तार नाममा चार वर्षदेखि बुङ्बुङ्ती धूलो उडेको छ। कुनै बेला आकाश खुल्दा रिङरोडमै उभिएर हिमाल देखिन्थ्यो। अचेल धूलोले ढाकेर एक मिटर परको गाडी देखिन्न। हावाहुरी चल्दा उसैपरे आँखा खोल्नै सकस हुन्छ।
रिङरोडको धूलो नथामिँदै मेलम्ची खानेपानी आयोजनाले सहरभरी सडक खन्यो। रिङरोडले त्यसै दम बढाएको थियो, मेलम्चीले टोल–टोलमै धूलोको कारखाना खोल्यो।
दम र श्वासप्रश्वासका बिरामी बढे। प्रदूषण दर राष्ट्रिय मापदण्डभन्दा पाँच गुणा नाघ्यो। अनुहार मास्कले ढाकियो। काठमाडौंले ‘मास्कमान्डु’ नाउँ पायो।
काठमाडौंको के दोष! धूलो काठमाडौंले उडाएको हो र!
हामीले निर्दोष सहरको नाउँ बिगार्यौं, धूलो उडाउने दोषीहरूलाई प्रश्न उठाएनौं। विकास देख्यौं, त्यही विकाससँगै उडेका धूलोले हाम्रा आँखा टालिए। ‘धूलो नउडी त कसरी सडक बन्ला र’ भन्दै सरकारी अधिकारीहरू टक्टकिए। हामी पनि यही सोचेर समस्याबाट उम्किन खोज्यौं। र, कुइरीमण्डल धूलोमा आँखा मिच्दै काठमाडौंलाई गाली गर्न थाल्यौं।
भीरमहको स्वाद चाख्नेले भीरमौरीको टोकाइ जो सहनुपर्छ!
यो उखान त्यतिबेलाको हुनसक्छ, जब मौरीको चाकाबाट मह काढ्दा सुरक्षित हुने उपाय हाम्रा पुर्खाले जानेका थिएनन्।
आधुनिक कृषियुगमा उखान असान्दर्भिक भइसक्यो। अचेल मह काढ्ने सुरक्षित विधि थुप्रै छन्।
रिङरोड र मेलम्ची आयोजनालाई पनि हामीले सफाइ दिइरहन जरुरी छैन। आधुनिक इञ्जिनियरिङ युगमा धूलो नउडाई सडक खन्न सम्भव छ।
होइन भने सोच्नुस् त, विकसित देशहरूमा रिङरोडभन्दा ठूल्ठूला सडक बन्छन्। मेलम्चीले भन्दा ठूल्ठूला पाइप बिछ्याइन्छ। के त्यहाँ यसैगरी धूलो उड्ला? के त्यहाँका जनताले हामीजस्तै नाकमुख ढाक्न मास्क लगाउलान्? दमका रोगी भएर अस्पताल धाउलान्?
‘सडक बनाउनु भनेको धूलो उडाउनु होइन,’ सडक इञ्जिनियर पार्थ पराजुलीले भने, ‘रिङरोड विस्तार र मेलम्चीका नाममा यतिका वर्षदेखि बुङ्बुङ्ती धूलो उडाएर राज्यले जनतामाथि पाप गरिरहेको छ।’
लामो समय सरकारी सेवामा रहेका पराजुली अस्ट्रेलियामा कार्यरत छन्। केहीअघि नेपाल आउँदा सडक सुरक्षासम्बन्धी एक अन्तक्रियामा उनले रिङरोड विस्तारमाथि टिप्पणी गर्दै भनेका थिए, ‘हामी मध्यसहरमा आठलेनको रिङरोड बनाएर मृत्युको पासो थापिरहेका छौं।’
रिङरोड डिजाइनमा भएका प्राविधिक त्रुटिबारे त्यसपछि लामै बहस चल्यो। सडक विभागले गल्ती सच्याउने र बाँकी १७ किलोमिटर नयाँ डिजाइन गर्ने बाचा गरेको छ।
उनै पराजुलीसँग हामीले सडक बनाउँदा वा खन्दा सहरलाई ‘धूलोको भट्टी’ बनाउने प्रवृत्तिबारे कुराकानी गर्यौं।
[caption id="attachment_138602" align="alignleft" width="224"]
पार्थ पराजुली[/caption]
‘भाइबर’ सुविधा लिँदै गरिएको कुराकानीको सुरुआतमै पराजुलीले ‘धूलो नउडी सडक बन्दैन’ भन्ने हाम्रो प्रचलित मान्यता नकारे। भने, ‘कुनै पनि सडक बनाउँदा वा खन्दा त्यसले आवागमन, वातावरण र सामाजिक–आर्थिक अवस्थामा कुनै प्रभाव पार्नु हुँदैन। प्रभाव पर्यो भने बुझे हुन्छ, हाम्रो इञ्जिनियरिङ विधिमा त्रुटि छ।’
विकसित देशहरूमा निर्माण सुरु हुनुअघि नै सडक विभाग र सम्बन्धित निर्माण कम्पनीबीच यससम्बन्धी करार हुने उनले बताए।
‘सडक बनाउँदा आवागमन बाधा पार्दिनँ, वातावरण प्रदूषित गर्दिनँ, सामाजिक–आर्थिक अवस्था खल्बल्याउँदिनँ भनेर निर्माण कम्पनीले कबुल गर्नुपर्छ,’ उनले भने, ‘हामीकहाँ पनि यो अपरिहार्य हुनुपर्थ्यो, भएन। त्यसैको परिणाम हामी भोगिरहेका छौं।’
उनका अनुसार सडक बनाउँदा धूलो नियन्त्रण गर्ने केही सामान्य विधि छन्।
पहिलो, एकैचोटि काम सुरु नगरी चरणबद्ध बनाउँदै जाने।
कोटेश्वरदेखि कलंकीसम्म एकैचोटि तोडफोड गर्दा धूलोले दस किलोमिटर क्षेत्र धूलाम्मे भयो। विभिन्न हिस्सामा बाँडेर पालैपालो काम गरेको भए यतिसाह्रो धूलो उड्थेन।
‘पाँच सय मिटरका दरले खन्दै, बनाउँदै जानुपर्ने मान्यता छ,’ उनले भने, ‘पहिलो पाँच सय मिटरमा कालोपत्रेको काम सकेर आवागमन सुरु भएपछि बल्ल अर्को खण्ड खन्न थाल्नुपर्छ। यसो गर्दा थोरै ठाउँमा मात्र धूलो उड्छ। बाँकी जस्ताको तस्तै रहन्छ।’
त्यही पाँच सय मिटरको धूलो पनि गाडी र हावाले ओसारेर सहरभरी फैलाउन सक्दैन?
हाम्रो यो प्रश्नमा पराजुलीले भने, ‘दस किलोमिटर एकैचोटि खन्दा जति धूलो उड्छ, पाँच सय मिटर खन्दा कम हुन्छ। त्यसलाई गाडी र हावाको सम्पर्कमा आउन नदिएर फैलिनबाट रोक्न सकिन्छ।’
यहाँ आएर धूलो नियन्त्रणको दोस्रो विधि लागू हुन्छ।
बनिरहेको खण्ड बाक्लो प्लास्टिकले छेकबार लगाइन्छ। त्यति ठाउँको धूलो न हावाले उडाउँछ, न त गाडीका टायरले बोकेर लैजान्छन्। वरिपरि प्लास्टिक बारेर बनाउँदा बाहिरबाट देखिँदा पनि देखिँदैन।
पाँच सय मिटर खण्ड एकैचोटि बार्ने होइन। एउटा लेनको काम सकिएपछि मात्र अर्कोमा हात हाल्ने हो।
[caption id="attachment_108784" align="alignnone" width="826"]
ललितपुरको एकान्तकुनाकाे धुलाम्मे सडक। तस्बिर: नारायण महर्जन/सेतोपाटी[/caption]
रिङरोडकै उदाहरण लिउँ।
सबभन्दा पहिला दुवैतर्फका सर्भिस लेन बारेर काम गर्न सकिन्छ। त्यहाँ काम भइरहँदा बीचको मूलसडकमा सवारी निर्वाध चलिरहन्छ। सर्भिस लेन कालोपत्रे गरेर धूलो नउड्ने बनाएपछि आवागमन खुला गरिन्छ। त्यसपछि बीचको चारलेन बारेर निर्माण सुरु हुन्छ।
यसरी पालैपालो आठै लेन खण्ड पूरा हुन्छ।
‘रिङरोडजस्तो अर्को विकल्प नभएको व्यस्त सडकमा लेनअनुसार छुट्टयाएर काम हुनुपर्थ्यो,’ उनले भने, ‘एउटा लेनको काम सकेर मात्र अर्कोमा हात हालेको भए सवारी चालकले दुःख पाउँदैनथे। पैदलयात्रुलाई पनि सुविस्ता हुन्थ्यो।’
यति हुँदाहुँदै हावाले उडाउने धूलो रोकेर रोकिन्न। सडक बन्दाबन्दै धूलो उड्नै नदिने उपाय अपनाउनुपर्छ।
यो पराजुलीले सुझाएको तेस्रो विधि हो। यसमा अगाडि डोजरले खन्दै, पछाडिबाट ट्यांकरले पानी छर्कंदै जान्छ। प्रत्येकचोटि खन्दा सँगसँगै पानी छर्कने हो भने धूलो उड्नै पाउँदैन।
रिङरोड विस्तारमा बेलाबेला पानी छर्केको देखिएको थियो। यसले धूलो नियन्त्रण गरेन। पराजुलीका अनुसार दस किलोमिटर खण्डबाट उड्ने धूलो जति पानी खन्याए पनि साम्य हुँदैन। पाँच सय मिटर दरले बनाउने हो भने धूलो रोक्न सम्भव हुन्छ।
‘प्लास्टिक नबार्ने हो भने अर्को तरिका छ,’ पराजुलीले भने, ‘राति सवारी आवागमन कम हुने समयमा मात्र काम गर्न सकिन्छ।’
बिहान पानी छरेर धूलो साम्य पारेपछि बल्ल आवागमन सुरु गराए धेरै हदसम्म प्रदूषण रोकिने उनले बताए।
धूलो नियन्त्रणका यी विधि मेलम्ची पाइप बिछ्याउनमा पनि लागू हुन्छ।
मेलम्चीका हकमा सडक विभागको पनि साथ चाहिन्छ। छोटो छोटो खण्ड खनेर पाइप बिछ्याउँदै जाने र पछाडिबाट सडक कालोपत्रे गर्दै आउने हो भने धूलो उड्न पाउँदैन। मेलम्चीको समस्या भनेको पाइप बिछ्याएको महिनौं बितिसक्दा पनि खनेको भाग कालोपत्रे नगरिनु हो।
मेलम्चीले राजधानीका धेरै सडक यस्तै धुलाम्मे छाडेको छ। पाटन अस्पतालबाट महालक्ष्मीथान जाने बाटो केही अघिसम्म चिल्लो कालोपत्रे थियो। धूलो उड्थेन। करिब एक महिनाअघि मेलम्चीले खन्यो। पाइप बिछ्यायो। खाल्डो माटोले पुरेर छाड्यो। अब कालोपत्रे हुने कहिले हो कहिले! त्यति बेलासम्म त्यहाँका बासिन्दाले धूलो खानुको विकल्प छैन।
निर्माण भइरहेको खण्ड प्लास्टिकले बार्ने उपाय मेलम्चीमा पनि लागू गर्न सकिन्छ। यसले न हिँड्नेलाई सकस हुन्छ, न काममा व्यवधान।
धूलो नियन्त्रणको यति सजिलो उपाय हुँदाहुँदै किन लागू गरिएन त?
रिङरोड चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले बनाएको हो। विकासमा फड्को मार्दै गरेको देशको निर्माण कम्पनीलाई यसको ज्ञान थिएन भन्न सकिन्न। उसले जतिसक्दो उपाय अपनाउनैपर्थ्यो। सुरुमा हेक्का नराखेको भए पनि पछि विचार पुर्याउनुपर्थ्यो।
‘सडक इञ्जिनियरिङमा चीन अगाडि छ। अरू विकसित देशले पनि चीनसँग माथ खान्छन्। त्यस्तो देशको कम्पनीलाई धूलो उड्न नदिन के गर्ने थाहा नभएको होइन। उनीहरूले हामीलाई हेपेका हुन्,’ पराजुलीले भने, ‘हाम्रा अधिकारीले जनसरोकारको मुद्दामा चिनियाँ पक्षसँग आफ्ना कुरा राख्न सकेनन्।’
पछिल्लो समय किर्गिस्तानमा सडक बनाइरहेको चिनियाँ कम्पनीले प्रदूषण नियन्त्रणमा राम्रो काम गरेको पराजुलीले जानकारी दिए।
यहाँ भने सरकार र चिनियाँ ठेकेदार दुवै चुपचाप बस्दा काठमाडौंबासी चार वर्ष धूलोले आक्रान्त भए।
सडक विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठले रिङरोडको बाँकी खण्ड बनाउँदा धूलो नियन्त्रण विधि लागू गर्ने बाचा गरेका छन्।
‘दोस्रो चरणमा कलंकीबाट महाराजगन्ज बनाउँदा पाँच सय मिटरको दरमा चरणबद्ध निर्माण गरिनेछ,’ रिङरोड विस्तार आयोजनाका निर्देशकसमेत रहेका श्रेष्ठले भने, ‘सानो दुरीमा चरणबद्ध काम गर्दा अहिलेजस्तो धूलोको समस्या हुने छैन।’
पहिलो चरणको बाँकी अंश बल्खु पुलबाट कलंकीसम्म निर्माण गर्दा नै यसैअनुसार काम गर्ने उनले बताए।
डोजरले सडक खन्दाखन्दै ट्यांकरबाट पानी छर्केर धूलो नियन्त्रण गर्ने तयारी पनि छ।
‘विगतमा विभिन्न कारणले गल्ती भएका हुन सक्छन्। पुरानो गल्तीबाट सिक्दै जाने हो। अबका दिनमा रिङरोड डिजाइनदेखि जनताले भोग्नुपरेका असुविधा समाधान गर्दै लगिनेछ,’ श्रेष्ठले भने।
धूलो उड्नुको कारण खानेपानी पाइप, बिजुली र टेलिफोनका खम्बा हटाउनुअघि सडक खन्न थाल्नु पनि हो।
विभागले छेउछाउका यस्ता संरचना सारेर निर्माण स्थल ठेकेदारलाई जिम्मा लगाउनुपर्छ। त्यसो भए ठेकेदारले एकै झमटमा काम सुरु गर्न सक्छ। यहाँ भने विभागले संरचना नहटाउँदै चिनियाँले काम सुरु गरे। बेलैमा संरचना नहट्दा काम अड्कियो। आयोजना लम्बियो, धूलो विकराल भयो।
[caption id="attachment_129446" align="alignnone" width="826"]
निर्माणाधीन रिङरोड। तस्बिरः नारायण महर्जन/सेतोपाटी[/caption]
दोस्रो चरणमा संरचना हटाएपछि मात्र निर्माण स्थल सुम्पने उप–महानिर्देशक श्रेष्ठले बताए।
उनका अनुसार कलंकीदेखि महाराजगन्जसम्मका खानेपानी पाइप, बिजुली र टेलिफोन खम्बा जुन अन्त्यसम्म हटाउने योजना छ। त्यसपछि बल्ल सडक खन्न थालिनेछ।
मेलम्चीका हकमा सडक भित्रभित्रै खनेर पाइप बिछ्याउने विधि पनि थियो।
‘त्यसो गरेको भए बाहिरबाट खन्नुपर्ने थिएन। धूलोको समस्या हुन्थेन,’ मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता लीलाप्रसाद ढकालले भने, ‘यो विधि अपनाएको भए अहिलेभन्दा दोब्बर महँगो पर्थ्यो।’
यो त भयो धूलोको कुरा।
रिङरोड विस्तारमा पैदलयात्रुलाई बाटो काट्ने समस्या हुनु पनि इञ्जिनियरिङ त्रुटि भएको पराजुली बताउँछन्।
निर्माण क्रममा पूरै सडक खोलेर हिँड्न नसकिने बनाइएको थियो। त्यस्तोमा गाडी जथाभाबी हुइँकिन्थे, पैदलयात्रुलाई भने बाटो काट्नै सकस हुन्थ्यो। न जेब्रा क्रसिङ थियो, न त आकासे पुल। दायाँबायाँ हेरेर गुटुटुटु कुद्नुको विकल्प थिएन।
अहिले आठै लेन बनेर गाडी कुद्न थालिसक्दा पनि जेब्रा क्रसिङ छैन। वारपार गर्न समस्या छ।
‘सडक खन्दा गाडीभन्दा पैदलयात्रुको सुविस्तालाई बढ्ता ध्यान दिनुपर्छ। अर्को विकल्प नभएको अवस्थामा उनीहरूलाई बाटो काट्न अस्थायी पुल बन्दोबस्त गरिनुपर्छ,’ उनले भने, ‘रिङरोड बनाउँदा पैदलयात्रुलाई बाटो काट्ने ठाउँ भएन। अहिले पनि असुविधा छ।’
कतिपय ठाउँमा आठै लेन खुला भइसकेका छन्। त्यहाँ जेब्रा–क्रसिङ बनेको छैन। यसले कि आकासे पुलको खोजीमा लामो बाटो घुम्नुपर्छ, नभए जोखिम मोलेर बाटो काट्नुपर्छ।
सानेपा, सत्मार्गकी ७४ वर्षीया कमला हमाल यसका भुक्तमान हुन्।
उनको घर रिङरोड नजिकै छ। डाक्टरले हिँड्न सुझाएको छ। रक्तचाप र मधुमेहकी बिरामी हमाल आफूलाई सक्रिय राख्न यताउति डुल्थिन्। जबदेखि रिङरोडलाई धूलोले छोप्यो, उनको हिँडडुल बन्द भयो।
‘यो धूलोले त दमको रोगी भएको छु,’ उनले भनिन्, ‘म साँझ–बिहान डुलिरहन्थेँ। घरमा धुम्धुम्ती गुम्सेर बस्न हुँदैन भनेर हिँडिरहन्थेँ। अहिले धूलो यतिविधि उड्छ, नगई नहुने काम भए मात्र घरबाट निस्कन्छु।’
‘डाक्टर हिँड्नुपर्छ आमै भन्छ, राज्यले बुङबुङ्ती धूलो उडाएर हिँड्न दिँदैन,’ उनले भनिन्।
रिङरोड क्षेत्रमा धूलोको प्रकोप र बाटो काट्ने समस्याले उनको मन्दिर जाने तालिका फेरिएको छ। पहिले हिँड्दै रिङरोडपारि रुद्रायणी मन्दिरसम्मै जान्थिन्। प्रत्येक शनिबार भजन हुन्थ्यो। उनी पुगेकै हुन्थिन्। अचेल महिनाको एकचोटि मात्र जान थालेकी छन्।
‘सक्दिनँ। धूलोले सास फेर्नै गाह्रो हुन्छ। बाटो काट्न पनि पहिलेजस्तो सजिलो छैन। साथी चाहिन्छ। मजस्तै अरू साथी पनि एक्लै यो बाटो हिँड्न डराउँछन्,’ उनले भनिन्, ‘वृद्ध र रोगी भए पनि हिँड्न सक्ने थियौं। सरकारको यो पाराको विकासले त झन् असक्त बूढी पो बनायो। घरमै थन्किनुपर्ने, यसो बाहिरतिर हिँडु भने पनि सहारा खोज्नुपर्ने।’
रिङरोड, सानेपा चोकमा क्याफे व्यवसाय गरिरहेका सरोज खनाल धूलोधुवाँले व्यवसाय चौपट भएको बताउँछन्।
चार वर्षअघि दिनकै २० हजार रुपैयाँ व्यापार गर्ने उनको क्याफेमा पाँच हजारभन्दा कम कारोबार छ। धूलो उड्नुअघि बिहान–बेलुकी चिया खानेको भिड लाग्थ्यो। धूलोले भिड धपाइदियो।
स्थानीयले विरोधस्वरुप ‘नियमित पानी हाल्ने भए मात्र गाडी गुडाउन दिने’ भनी सवारी अवरुद्ध पारे। बाटोमा पाइप तेर्स्याएर गाडी रोके।
‘त्यसपछि यदाकदा पानी हाल्न थालिएको छ,’ उनले भने, ‘पर्याप्त छैन।
उनको पसलमा फोहोर यति हुन्छ, हातमा कपडा लिएर बसे पनि सफाइ साध्य हुन्न। पाँचपटक पुछेर छैठौंपटक पुछ्न जाँदा धूलोको पत्र उत्तिकै बाक्लो जमेको भेटिन्छ। खानेकुरा सफा राख्न पनि मुश्किल पर्छ। धूलाम्मे सडक किनारको क्याफेमा बसेर चिया खान कसले सकोस्!
‘म यतै बस्थेँ। नसकेर चोभार सरेँ। केटाकेटी पहिले दिनहुँ पसल आउन जिद्दी गर्थे। पेस्ट्री खुब मनपराउँथे। अचेल पसल जाऊँ भन्दा नाक खुम्च्याउँछन्। त्यस्तो धूलोमा त जान्नौं भन्छन्। बिरामी पनि धेरै भए यता यता,’ खनालले भने।
कमला र सरोजको जस्तो भोगाइ विकसित देशको निम्ति ‘कल्पनाभन्दा बाहिरको कुरा’ हो।
‘अस्ट्रेलियामा यसरी धूलो उडाउनुलाई अपराध मानिन्छ। जनताले निर्माण कम्पनी वा सोझै महानगर वा सरकारविरुद्ध मुद्दा हालेर क्षतिपूर्ति भराउन सक्छ,’ पराजुलीले भने।
उनका अनुसार धूलो नियन्त्रण र पैदलयात्रु सुविस्ताका विधि कार्यान्वयन गर्न कसैले कसैलाई भनिरहनै पर्दैन। निर्माण कम्पनीले काम सुरु गर्नुअघि वातावरण संरक्षण तथा सवारी आवागमन कार्ययोजना बनाएर पेस गर्नुपर्छ। सरकारले उक्त कार्ययोजना पास गरेपछि बल्ल निर्माण सुरु हुन्छ।
जुनसुकै निर्माणमा यही नियम लागू हुने उनले बताए।
‘हामीकहाँ सरकार फितलो भयो, सर्वसाधारणलाई पनि सडक खन्दा धूलो उड्नु हुँदैन भन्ने चेतना भएन,’ पराजुलीले भने।
‘हामीमा सहेर बस्ने बानी छ। सडक बन्दैछ, यति धूलो त उडिहाल्छ नि भनेर हामी आफैं सफाइ दिँदै हिँड्छौं। सडकको नाममा धूलो उडाएर सारा जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई न हामीले प्रश्न गरेका छौं, न उनीहरू जिम्मेवार भएका छन्।’
किन होस्, ‘भीरमहको स्वाद चाख्नेले भीरमौरीको टोकाइ पनि सहनुपर्छ’ भन्ने त हाम्रो उखानै छ।