त्रिपुरेश्वरको कालमोचन घाट परिसरमा दुईतले मन्दिर थियो। लक्ष्मी-नारायणको मन्दिर भए पनि यसको खास नाम 'जंग-हिरण्य-हेम मन्दिर' हो।
२०७२ को भुइँचालोमा एेतिहासिक महत्त्वको यो मन्दिर जगैदेखि भत्किएको छ। वरिपरिका चार नारायणको मठ, दुईवटा पञ्चायन मठ र जंगबहादुरको स्तम्भ भने जोगिएका छन्।
भुइँचालो गएको वर्षदिनपछि पुनर्निर्मािण सुरु भए पनि अहिले काम ठप्प छ। दोस्रो तलालाई चाहिने काठ अभावले काम रोकिएको पुनर्निर्माणमा संलग्न सिकर्मी सिताराम आले बताउँछन्।
उनका अनुसार कम्तिमा एक वर्गफिट गोलाइको १८ फिट लामो अग्राखको काठ आवश्यक पर्छ। छानो हाल्न र टुँडाल तथा तोरण बनाउन अझै ठूलो परिमाणको काठ चाहिन्छ। पर्याप्त काठ नपाए मन्दिर पुरानै स्वरूपमा बनाउन मुस्किल पर्ने आले बताउँछन्।
'सानो आकारको अग्राख काठ त पाइन्छ, तर यो मन्दिरलाई चाहिने ठूलो आकारको काठ पाउन मुश्किल छ,' उनले भने।
पुरातत्त्व विभागले भने काठमाडौंभरि धेरै ठाउँमा ठूलो परिमाणको काठ आवश्यक परेकाले अभाव भएको जनाएको छ।
तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुरले १ सय ४५ वर्षअघि आफू, आफ्नी रानी र छोराको नाममा यो मन्दिर बनाएका थिए। जंगबहादुरले आफ्नो जीवनको अन्तिम क्षणतिर यही मन्दिरमा आएर धार्मिक अनुष्ठान गरेको इतिहास छ।
काठ अभावले पुनर्निर्माण रोकिएको यो पहिलोपटक होइन।
यसअघि मन्दिरको झ्याल, ढोका र निदाल राख्ने बेला पनि काठ अभावले काम रोकिएको थियो। केही महिनापछि विभागले काठ उपलब्ध गरायो। त्यसैबाट मन्दिरको मूल ढोका, सहायक ढोका र तल्लो तलाका झ्याल राखिए। अिहले दोस्रो तलामा फेरि त्यही समस्या आएको हो।
यतिखेरसम्म मन्दिर पुनर्निर्माण सकिनुपर्ने स्थानीय बालकृष्ण थापा बताउँछन्।
‘जम्मा दुईतले मन्दिर बनाउन यति लामो समय लाग्दैन,' दुई दशकदेखि गुठी संस्थानमा कार्यरत थापाले भने, 'मुख्य सामानकै अभाव भएपछि कसरी काम सम्पन्न हुन्छ?’
ठेकेदार कम्पनीले आउँदो असारभित्र मन्दिर निर्माण हुने दाबी गरेको छ। थापा भने यसमा पनि शंका गर्छन्।
बाल्यकालदेखि यहाँ पूजा गर्दै आएका ७० वर्षीय पुजारी गोविन्दप्रसाद कोइरालासँग हामीले मन्दिरको इतिहास सोध्यौं।
उनका अनुसार जंगबहादुरले शक्तिमा आउन अनेक दाउ गरेका थिए। त्यस क्रममा उनले धेरै आफन्त र भाइभारदारको हत्या गरे। त्यही पापमोचन गर्न काठमाडौंको थापाथलीमा कालमोचन मन्दिर र घाट निर्माण गर्न लगाए। र, कालमोचन परिसरमै लक्ष्मी-नारायणको मन्दिर बनाए। वरिपरि चारवटा नारायणको मठ राखेर अगाडिपट्टि अग्लो स्तम्भमा आफ्नै शालिक खडा गरे।
मन्दिरभित्र लक्ष्मी–नारायणको पूर्णकदका तीनवटा ढलोट मूर्ति छन्। अगाडि गरुडको ठूलो मूर्ति छ, ढलोटकै। जंगबहादुरको स्तम्भमा विसं १९३१ सालमा खोपिएको शिलालेख देख्न सकिन्छ। ढुंगाको कछुवामाथि रहेको ढुंगाकै १५ फिट अग्लो स्तम्भमाथि जंगबहादुरको पूर्णकदको शालिक छ। जंगबहादुर आफ्ना सबै धार्मिक कार्य यही मन्दिरको आँगनमा गर्थे।
भूकम्पले क्षति पुर्याएर माटोले किचिएको फलामको घण्टी अहिले पनि त्यहीँ छ। पुराना इँटाको व्यवस्थापन हुन सकेको छैन। ओत नराखिएकाले पुराना झ्यालढोकाका काठ कुहिन थालेका छन्।
[caption id="attachment_137563" align="alignnone" width="960"]
मन्दिर निर्माण कार्यका लागि राखिएका अग्राखका काठ। तस्बिर : निर्भीकजंग रायमाझी/सेतोपाटी[/caption]
'मन्दिरका सबै मूर्ति जस्ताको त्यस्तै छन्,' पण्डित कोइरालाले भने, 'मेरो बुबा राणाकालदेखि यही मन्दिरमा पुजारी हुनुहुन्थ्यो। मेरो बाल्यकाल मन्दिरकै सेरोफेरोमा बित्यो।'
गुठी संस्थानले प्रत्येक वर्ष मन्दिरको आँगनमा जंगबहादुरको श्राद्ध गर्दै आएको उनले बताए।
संस्थानको काठमाडौं शाखा कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मीका अनुसार नियमित पूजा र वार्षिक श्राद्धका लागि संस्थानकै कोषबाट खर्च उपलब्ध हुँदै आएको छ।
‘जंगबहादुरको श्राद्धमा जेरी, स्वारी, मालपुवा, पेडा, बर्फी गरी पाँचथरी मिठाइ र १५ कतहरा दही पण्डितहरूलाई बाँड्ने चलन छ। संस्थानले सोह्रश्राद्ध तिथिमा पनि जङ्गबहादुरको श्राद्भ गराउँदै आएको छ,’ रेग्मीले भने।
भुइँचालोपछि कहिलेकाहीँ सुरक्षाका लागि प्रहरी खटाए पनि प्राय: यो ठाउँ सुनसान रहने स्थानीय बताउँछन्। नारायण मन्दिरकै बायाँपट्टि मान्छे हिँड्ने बाटो भएकाले सुरक्षा चुनौती रहेको उनीहरुको भनाइ छ।
मुख्य तीनवटा मूर्ति भने अस्थायी भवन बनाएर राखिएका छन्। कोइराला यही अस्थायी भवनमा दैनिक पूजाआजा गर्छन्। कोही व्यक्ति विशेष पूजा गर्न आउँदा ठाउँ अभाव हुने उनले बताए।
‘काठ पाइयो भने जतिसक्दो चाँडो मन्दिर बनाएर पूजाआजा गर्न सहज हुन्थ्यो,’ उनले भने।