घोराही उपमहानगरपालिकाले अबदेखि आफ्नो क्षेत्रभित्र खोलाजन्य वस्तुको उत्खनन् आफैँ गर्ने भएको छ।
स्थानीय तहले खोला तथा नदीजन्य वस्तुको उत्खनन तथा संकलनको काम गर्न पाउने प्रावधान अनुरुप अबदेखि आफैँ बालुवा, गिट्टी तथा ढुङ्गा जन्यवस्तुको उत्खनन् गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ।
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले उपमहानगर क्षेत्रमा विकास निर्माणको कामका लागि आवश्यक पर्ने ढुंगाजन्य वस्तुहरूको उत्खनन् गर्ने निर्णय गरेको हो। साथै, बैठकले खोलाजन्य वस्तुको आवश्यक संकलन र उत्खनन् गर्न पहिचान तथा व्यवस्थापन समिति पनि गठन गरेको छ।
जसको संयोजकमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्याल रहेका छन् भने सदस्यमा वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने र सदस्य सचिवमा ईञ्जिनियर रामधन श्रेष्ठलाई चयन गरिएको छ। तर ठेक्कामा गइसकेका खोला र नदी बाहेकको क्षेत्रमा आवश्यक पर्ने खोलाजन्य पदार्थहरूको पहिचान तथा व्यवस्थापन गर्ने गरि समितिलाई अख्तियारी प्रदान गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेअनुसार र जिल्ला समन्वय समितिबाट पेश भएको पत्रसहितको निर्णयलाई आधार बनाएर घोराही उपमहानगरले अबदेखि आफैँ आवश्यक बालुवा, गिट्टी, ढुङ्गाजन्य पदार्थको संकलन र उत्खनन गर्ने निर्णय गरेको हो। उपमहानगरपालिका तहमा संचालन हुने विकास निर्माण सम्बन्धी आयोजनाको लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म प्रति घनफिट दुई रुपैयाँ राजस्व उठाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले पारित गरेको छ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले घोराही उपमहानगरपालिकाको क्षेत्रमा संचालन हुने विकास निर्माण सम्बन्धी आयोजनाका लागि वातावरणमैत्री ढंगबाट संकलन र उत्खनन् गर्ने निर्णय गरेको हो। बैठकले चालू आर्थिक वर्षको विनियोजित बजेट अन्तर्गत संचालन हुने योजनाका लागि आवश्यक पर्ने खोलाजन्य पदार्थको उत्खनन् र ओसारपसार गर्न डोजर तथा स्काभेटर समेत प्रयोग गर्न सकिने निर्णय पनि पारित गरेको छ। तर, त्यसअघि प्रारम्भीक वातावरणीय पक्षको परीक्षण गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने निर्णय भएको छ।
यसैबीच, नगर कार्यपालिकाका सदस्य बिमला गन्दर्भका श्रीमानको उपचारमा विपन्नताले गर्दा समस्या परेको भन्दै बैठकले १० हजार सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै, अर्का नगर कार्यपालिकाका सदस्य डिल्ली नेपालीकी श्रीमतीको उपचार खर्चका लागि ५ हजार आर्थिक सहयोग गर्ने निर्णय भएको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिए।