सानेपाका रामकृष्ण सिलवालको घरसामु झन्डै बाह्र वर्षअघि नयाँ बाटो बन्यो। आँगनबाट सडकमा टेक्न एक खुड्किला ओर्लिनुपर्थ्यो।
अचेल पर्दैन। पाइला सारे पुग्छ।
यही तालमा सडक अग्लिँदै गए अब केही वर्षमा पाइला सारेर मात्र पुग्ने छैन। उक्लिनुपर्नेछ।
हामी कुरा गर्दैछौं, घर र सडक उचाइको।
सिलवालको आँगन र बाटोको सतह एउटै छ। बीचमा पानी बग्ने सानो कुलोले छुट्टयाएको छ। बर्खा बेला ठूलो भेल आउँदा कुलोले थाम्दैन। सोझै घरभित्र छिर्छ। त्यससँगै आउने हिलोमैलो सोहोर्दै सास्ती हुन्छ।
यो सडकसँगै जोडिएका अधिकांश घरको समस्या हो। त्यस्ता घर, जसका आँगन सडक किनारमै खुल्छ।
घर बनाउने बेला सबैले सडक सतहभन्दा केही अग्लै बनाएका हुन्छन्। समयक्रममा सडककै हाराहारी आउँछन्। कतिका त तल पर्छन्। जसका परेका छैनन्, ती पनि केही वर्षमा पर्नेछन्। त्यो निश्चित छ।
यसको मुख्य कारण मर्मतसम्भारमा हुँदै आएको त्रुटि हो।
हामीकहाँ भत्केका सडकमाथि नयाँ तहको कालोपत्रे हालिन्छ। सडक विभागले सामान्यतया दुई–दुई वर्षमा मर्मत गर्छ। प्रत्येकचोटि कालोपत्रे तह थपिँदै जान्छ। सडक अग्लो हुँदै जान्छ।
सडक त कालोपत्रे तहले अग्लो हुन्छ, घरको जग कसरी अग्लो हुनु?
हुँदाहुँदा यस्तो दिन आउँछ, किनारका घर सडक सतहभन्दा होचा हुन्छन्।
विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठ मर्मतसम्भारले ल्याउने यो समस्या स्वीकार गर्छन्।
‘हामीकहाँ माथिबाट सिधै कालोपत्रे गर्दा बर्सेनि सडकको उचाइ बढ्छ,’ उनले सेतोपाटीसँग भने, ‘पहिले सडकभन्दा अलिकति अग्ला घरका आँगन विस्तारै होचा हुँदै जान्छन्। कतिपय अवस्थामा तलसम्मै पुग्छन्।’
उनका अनुसार एकपटक मर्मतमा सडकको उचाइ ५ सेन्टिमिटरसम्म बढ्छ। हरेक दुई वर्षमा मर्मत गर्दा दस वर्षमा करिब २५ सेन्टिमिटर अग्लो हुन्छ। यो झन्डै एक फिट हो।
एउटा घर वा मान्छेको बसोबास निम्ति दस वर्ष लामो समय होइन। यति कम समयमा सडक एक फिट बढ्नु चानचुने होइन। यसले समयक्रममा घरहरू सडकभन्दा निकै होचा हुनेछन्।
ती घरमा धूलोको सास्ती बढी हुन्छ। बर्खामा पानीको भल छिर्छ। बाटाका फोहोरमैला आँगनमै पुग्छन्। मूलसडकबाट घरभित्र गाडी छिराउने बाटोको सतह मिल्दैन। फेरि बनाउनुपर्छ। सडकसँगै जोडेर गेट बनाएका घरलाई अझ समस्या हुन्छ। भुइँको सतह नमिलेपछि गेट नखुल्ने–बन्द नहुने हुन सक्छन्।
[caption id="attachment_137029" align="alignnone" width="1200"]
कालोपत्रे थपिँदै जाँदा पहिलेको सतहभन्दा अग्लिँदै गएको सडक। तस्बिर: नारायण महर्जन/सेतोपाटी[/caption]
चाबहिल, सरस्वतीनगरकी शर्मिला श्रेष्ठको घरको अवस्था यस्तै छ।
उनको घर सडकभन्दा एक फिट अग्लो थियो। अहिले एक फिट तल छ। सबभन्दा समस्या बर्खेझरीमा हुन्छ।
‘पानी पर्दा भल बगेर आउँछ। सोझै घरभित्र छिर्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ तल्लो तलामा कुर्कुच्चासम्म डुब्ने पानी जम्मा हुन्छ। बर्खाभरि हिलाम्मे फोहोर सोहोरेरै दिन बित्छ।’
यही समस्याले उनको घरको भुइँतला भाडामा पनि लाग्दैन।
हामीकहाँ घर भनेको जिन्दगीभरको कमाइ हो। कतिले त्यही घर बनाउन ऋण काढेका हुन्छन्, जुन निखन्दैमा धेरैको जिन्दगी बित्छ। अचेल बैंकहरूबाट ऋण लिएर घर बनाउने चलन छ। त्यस्तो ऋण र व्याजको किस्ता २०–३० वर्ष तिर्नुपर्छ। यति दुःखजिलो गरी बनाएको घर बारम्बार मर्मत गरिरहने ल्याकत सबैको हुँदैन। जसरी सडक मर्मत गरिन्छ, त्यसले छेउका घर पनि मर्मत गर्नुपर्ने अवस्था भने ल्याइदिन्छ।
‘ती इञ्जिनियरका पनि घर त होलान्। तिनलाई यो समस्या थाहा नभएको होइन होला। किन यसलाई सुल्झाउन खोजिँदैन?’ शर्मिलाले भनिन्, ‘यो समस्या हामीकहाँ मात्र हो कि संसारभरि यस्तै हो?’
शर्मिलाले उठाएको प्रश्न जायज हो भन्ने सडक विभागका अधिकारीलाई थाहा छ। यस्तो समस्या अन्य देशमा हुँदैन भन्ने पनि उनीहरूले बुझेका छन्।
त्यसो भए यसको हल छ त? छ भने किन कार्यान्वयन गरिँदैन?
‘जुन तरिकाले सडक मर्मत गरिन्छ, अग्लिँदै जाने समस्या टार्न सक्दैनौं,’ उप–महानिर्देशक श्रेष्ठले भने, ‘हामीकहाँ पुरानो कालोपत्रे जस्ताको तस्तै राखेर माथि नयाँ थप्नेबाहेक अरू विकल्प छैन।’
विदेशतिर भने तरिका बेग्लै छ। माथिबाट सोझै कालोपत्रे थपिँदैन। सबभन्दा पहिला पुरानो खोतलिन्छ। ‘रिसाइक्लिङ मेसिन’ ले भएभरको कालोपत्रे खोतलेपछि निस्केका अलकत्रा, गिटीका ढिक्का मसिनो पिस्छ। मिलमा मकै पिसेजस्तै। यसले अलकत्रा र गिटी खेर जाँदैन। धूलो बनाएर त्यसैमा नयाँ थपिन्छ र नयाँ तहको कालोपत्रे गरिन्छ। यसले सडक उचाइ बढ्दैन।
अन्तर्राष्ट्रिय प्रचलनमा रहेको यही विधि हामीकहाँ भने किन प्रयोग हुँदैन?
उप–महानिर्देशक श्रेष्ठका अनुसार ठूलो आकारको यो मेसिन काठमाडौंजस्तो पहाडी सडकमा प्रयोग गर्न सकिन्न।
यो सामान्यतया ३० मिटरसम्म लामो हुन्छ। सडकमा फिँजारेर पुरानो कालोपत्रे खुर्किने र पिस्ने गरिन्छ। सडक फराकिलो र लाम्चो हुनुपर्छ। हामीकहाँ सतह अग्लो–होचो छ। छिनछिनमा घुम्ती आइरहन्छन्। चौडाइ पनि साँघुरो छ।
‘काठमाडौंको सडक सतहमा यो सम्भव छैन,’ उनले भने, ‘दस मिटर सडक त सोझो हुँदैन, तीस मिटर कसरी होस्। साँघुरो र घुम्ती सडकमा लामो मेसिन मोड्न सकिँदैन।’
अमेरिकी, युरोपेली तथा अन्य मुलुकमा सडक मर्मत गर्दा यस्तै मेसिन प्रयोग गरिन्छ। पुरानो खुर्केर नयाँ बनाएको कालोपत्रे बलियो हुन्छ। पुराना सामग्री पुनः प्रयोग गरिने यो विधि कम खर्चिलो हुन्छ। मेसिन किन्न सुरु लगानी महँगो भए पनि पछि निर्माण लागत सस्तो पर्छ।
मेसिन नभएको अवस्थामा पुरानो कालोपत्रे हातैले खुर्किने विकल्प छ, तर सम्भाव्य हुन्न। ‘हातैले खुर्केर पिस्ने अवस्था विरलै हुन्छ,’ श्रेष्ठले भने।
बरु घर निर्माण क्रममै भविष्यमा हुने सडक मर्मत विचार गरेर सतहभन्दा अग्लो बनाउनुपर्ने उनले सुझाए।
श्रेष्ठले भनेझैं बनिसकेका घरमा पर्खाल, सडक र आँगन छुट्टयाउन ब्लक, इँटा–सिमेन्टको होचो बार लगाउन सकिन्छ। यसबाट सोझै पानी, धूलो, फोहोर पस्न पाउँदैन। ठूलो भल भने यसले पनि नछेक्ला।
काठमाडौंमा धमाधम नयाँ घर बनिरहेका छन्। सडक आसपास बनाउने थुप्रै छन्। बेलैमा विचार नपुर्याए ती घरको अवस्था सिलवाल र शर्मिलाको झैं हुनेछ।
उप–महानिर्देशक श्रेष्ठका अनुसार घरको जग सडक सतहभन्दा कम्तिमा एक–डेढ मिटर अग्लो बनाए ३०–४० वर्ष समस्या आउने छैन। एक मिटर अग्लो जग सडक सतह बराबर आउन करिब ४० वर्ष लाग्छ।
‘महानगरपालिकाले समन्वय गरे सहज हुन्छ,’ उनले भने, ‘घर बनाउने मापदण्डमै जग उचाइ तोकेर पास गरिदिए सर्वसाधारणलाई मर्का पर्दैन।’
[caption id="attachment_137089" align="alignnone" width="1200"]
कालोपत्रे थपिँदा खाल्डो परेको सडकबीचको ढल। तस्बिर: नारायण महर्जन/सेतोपाटी[/caption]
उचाइ बढ्दै जानुले सडकमै पनि समस्या देखिएको छ।
हामीकहाँ सडकबीच जहीँतहीँ ढल छन्। त्यसमा फलामे बिर्को राखिएका छन्। कालोपत्रे हुँदै जाँदा यी बिर्कोको भाग यसै छाडिन्छन्। यसले सडक सतहभन्दा तल खाल्डा पर्छन्।
देख्दा सामान्य भए पनि यस्ता खाल्डा सडक बिगार्न र दुर्घटना निम्त्याउन जोखिमपूर्ण छन्।
बेला–बेला ढल विभागका कर्मचारीले बिर्को खोल्छन्। बिर्को वरिपरि कालोपत्रे गरिँदैन। विस्तारै त्यहीँबाट उक्किँदै गएको हामीले देखेका छौं।
यस्ता खाल्डामा सवारीले धक्कै खानुपर्छ। दुईपांग्रेलाई सास्ती हुन्छ। एक गतिमा आइरहेका सवारी ह्वात्त पर्छन्। कतिपय अवस्थामा छलिने समय हुँदैन। कहिलेकाहीँ हत्तपत्त छलिन खोज्दा दुईपांग्रे पछारिने डर हुन्छ।
‘सडकमा ढलका खाल्डाले जोखिम बढाएको छ,’ कीर्तिपुर बस्ने लीलादेवी शर्माले भनिन्, ‘स्कुटर सोझै खाल्डामा पर्यो भने निकाल्न मुश्किल हुन्छ। छल्न खोज्दा कतिपटक लडेको छु। पासो थापेजस्तो लाग्छ। जीउ सबै दुख्ने गरी धक्का पर्छ।’
बर्खाको त के कुरा गर्नु! खाल्डोमा पानी जम्छन्। चक्का पर्दा हिलाम्मे पानी उछिट्टिएर पैदलयात्रु र दुईपांग्रे चालकका जीउभरि पर्छ।
कोही–कोहीले जोगाउने प्रयास गर्छन्। हुइँकिएर आएको गाडीलाई एक्कासि खाल्डोमा रोक्न गाह्रै पर्छ। अनि त, पैदलयात्रु र दुईपांग्रे चालक हिलोले निथु्रक्कै!
यसको विकल्प नभएको होइन।
सडक डिभिजन कार्यालय ललितपुर प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार खाल्डा परेका ठाउँमा सिमेन्ट भर्नु सहज उपाय हो।
‘उपाय हरेक इञ्जिनियरलाई थाहा छ,’ उनले भने, ‘चाँडै सुक्ने बलियो गुणस्तरको वा सामान्य सिमेन्टले नै खाल्डा पुर्न सकिन्छ। आवश्यक परे फोड्न सकिन्छ।’
घरको पानी ट्ंयाकीमा राखेजस्ता सिमेन्टको बिर्कोले छोप्न सकिने उनले बताए। यो खर्चिलो हुँदैन। सतहसँगै मिलाएर सिमेन्ट भरियो भने खाल्डो बन्दैन। पानी जम्दैन। दुर्घटना जोखिम कम हुन्छ।
उनले भनेजस्तै यति सामान्य र सहज विधि पनि कार्यान्वयन नहुनु सम्बन्धित निकायको लापरबाही हो।
‘सम्बन्धित निकायको ध्यान नपुगेर हो,’ उनले भने, ‘ढलका खाल्डा जटिल समस्या बन्न सक्छन् भन्ने ख्याल नगरिएकाले होला। विचार पुर्याउन आवश्यक छ।’
भण्डारीको भनाइले सडक निर्माणमा सरोकारवाला निकायको लापरबाही प्रस्ट झल्किन्छ। सहजै सुल्झिने समस्याबाट पनि सबैले आँखा चिम्लेका छन्।
‘यो त पाप हो,’ शर्माले भनिन्, ‘जाबो एउटा खाल्डो पनि टाल्न सकिन्न र! यस्ता सानासाना त्रुटिले जनतालाई कति असुविधा हुन्छ भन्ने हाम्रा कर्मचारीले कस्तो नबुझेका!’