उषा बस्नेतलाई आजभोलि घरको गेट खोलेर निस्कन डर लाग्छ। गेट खोल्नेबित्तिकै उनका पाइला सडकमा पुग्छन्। गाडी र मोटरसाइकल नजिकैबाट यस्तरी हुँइकिन्छन्, कुन बेला धक्का दिन्छन् थाहा हुन्न।
उषाको घर सानेपा, सत्मार्गमा पर्छ।
दुई महिना अघिसम्म उनको घरबाहिर करिब एक मिटरको फुटपाथ थियो। एकदिन फुटपाथ हरायो। सडक फैलिएर घरको ढोकासम्मै आइपुग्यो।
दिनैभर मान्छे आउजाउ हुने बाक्लो बस्तीबीचको यो सडकबाट एकाएक फुटपाथ भत्काइँदा पनि धेरै स्थानीयले पत्तो पाएनन्। सूचनासम्म दिइएन, छलफल त कुरै भएन।
अहिले उनको घरको मूलढोका सडकमै खुल्छ। न फुटपाथ छ, न घर–सडक छुट्टयाउने खाली भाग।
‘घरबाट निस्कँदा नि यस्तो लाग्छ, सिधै इनारमा हाम्फाल्दैछु,’ बस्नेतले सेतोपाटीसँग भनिन्, ‘ज्यान जोगाउनै मुस्किल परिसक्यो।’
बल्खुबाट सानेपा, झम्सिखेल जाने बाटो हो, सत्मार्ग। छोटो दुरीका लागि धेरै निजी सवारी यही बाटो रोज्छन्। मोटरसाइकल, स्कुटरको ताँती लाग्छ। रिङरोड विस्तार सुरु भएपछि धेरै गाडी यही बाटो छिर्न थालेका छन्। पछिल्लो समय यो व्यस्त रूटमा पर्छ।
रिङरोडको धूलो र जाम छल्न निजी सवारीसँगै ट्यांकर, टिपर, स्कुल बस यतैबाट जान थालेको स्थानीय सिबी थापा बताउँछन्। सार्वजनिक सवारीलाई भने अहिलेसम्म निषेध छ।
मध्यसहरको यो भित्री बाटो जति व्यस्त हुँदैछ, उति जोखिमपूर्ण।
स्थानीयलाई वरपर आउजाउ गर्न फुटपाथ छैन। गाडीको घन्चमन्च हुँदा छलिएर हिँडु भने कुनै कुनो छाडिएको छैन। दुइटा गाडीसम्म छिर्ने यो बाटो दायाँ घरको भित्तोबाट देब्रे घरको भित्तोसम्म ढसमस्स फैलिएको छ। अझ निर्माण क्रममा छेउछाउ माटो, इँटा र क्रंक्रिट ब्लक थुप्रेका छन्। ठाउँ–ठाउँमा डिभिजन सडक कार्यालयको बोर्ड छ, जसमा ‘निर्माण कार्य हुँदैछ’ लेखिएको छ। यी सबैबाट बचेजति ठाउँमा गाडी कुद्छन्।
अनि मान्छे हिँड्ने कहाँ? के सडक भनेको गाडी गुडाउन मात्र हो?
यो सत्मार्गका स्थानीयको मनमा उब्जेको प्रश्न हो।
‘मान्छे हिँड्नलाई एक मिटर ठाउँधरि नछाडी कस्तो सडक बनाउँदैछौं हामी?’ थापा भन्छन्, ‘यस्तो विस्तारले गाडी हाँक्न त सुविस्ता होला, हामी यहाँका मान्छेले दिनहुँ डराई–डराई हिँड्नुपरेको पीडा कसले बुझ्ने?’
‘हाम्रै बस्तीको सडक भत्काउने यत्रो निर्णय हुँदा पनि हामीसँग छलफल गरिएन। सूचना दिइएन। स्थानीय स्तरमा विकास निर्माण गर्नुअघि सार्वजनिक सुनुवाइ गरेर सबैको राय–सल्लाह लिइन्छ भन्ने सुनेको थिएँ, कुरो मात्र रहेछ,’ उनले भने।
दुइटा गाडी सहजै वारपार हुने यो सडक कालोपत्रे थियो। घरका पर्खालसँगै जोडिएको करिब एक मिटर फुटपाथ थियो। सडक विस्तार गर्न कालोपत्रे भत्काइएको छ। फुटपाथ बनाउन ठाउँ छाडिएको छैन। दुवैतिर खनेर भताभुंग बाटोमा जाम बढेको छ। सानेपातिरबाट आउँदा बाटो भिरालो छ। सवारी गति उच्च हुन्छ। पैदलयात्रुलाई बाटो छिचोल्न हम्मे पर्छ। यसले दुर्घटना जोखिम बढाएको स्थानीय बताउँछन्।

ललितपुर सडक डिभिजन कार्यालयले एक महिनाअघि यो बाटो फराक पार्न थालेको हो।
काम सुरु गर्नेबित्तिकै पहिलो प्रहार फुटपाथमाथि भयो, जहाँ दिनहुँ सयौं पैदलयात्रु आउजाउ गर्छन्। बसोबास क्षेत्रको बाटोमा अब कहीँ कहीँ मुश्किलले एक पाइला अट्ने फुटपाथको डोबसम्म बाँकी छ। धेरै ठाउँमा पर्खालसँगै टाँसेर बाटो सीमा छुट्टाउने कंक्रिट ब्लक राखिएका छन्।
फुटपाथ मासिएपछि खासगरी स्कुल जाने केटाकेटीलाई ओहोरदोहोर गर्न मर्का परेको स्थानीय बताउँछन्। यहाँ स्कुल बसहरू केटाकेटी बटुल्न चोकसम्म आउँछन्। चार–पाँच कक्षा पढ्ने केटाकेटी केही अघिसम्म एक्लै हिँडेर जान्थे। फुटपाथै फुटपाथ जान सकस थिएन। जबदेखि फुटपाथ मासियो, एक्लै हिँड्न थालिसकेकालाई पनि अभिभावकले डोर्याएर लैजानुपरेको स्थानीयको भनाइ छ।
‘बच्चाहरूलाई गाह्रो भइसक्यो,’ बस्नेत भन्छिन्, ‘ठूला मान्छे त जोगिन हम्मे छ, केटाकेटीलाई कसरी एक्लै हिँडाउने?’ सडकलाई यो अवस्थामा पुर्याउनुको कारण के?
सडक कार्यालयका इञ्जिनियर विवेक पाण्डे बाटो साढे पाँच मिटर फराकिलो बनाउने योजनाअनुरुप फुटपाथ भत्काएको बताउँछन्। घरका पर्खाल र सडकबीच खुला ठाउँ नभएकाले भत्काउनु परेको उनको भनाइ छ।
‘बाटो बढाउँदा फुटपाथ भत्काए पनि सबै काम सकेर नयाँ बनाउने छौं,’ उनले सेतोपाटीसँग भने, ‘डिजाइन तयार छ। यहाँ ०.९५ मिटर चौडा फुटपाथ हुनेछ।’ यो भनेको झन्डै एक मिटर हो।
सवारी व्यवस्थापन गर्न सडक निर्माण सकेर फुटपाथ बनाउने योजना रहेको उनले बताए।
भएको फुटपाथ मासेर सडक बनाएपछि नयाँ कहाँ बनाउने?
हाम्रो यो प्रश्नमा इञ्जिनियर पाण्डेले भने, ‘स्थानीयका घरको पर्खाल भत्काएर। सडक बनेपछि हामी स्थानीयसँग कुराकानी गर्नेछौं, अनि दायाँबायाँ पर्खाल भत्काएर फुटपाथ निकाल्नेछौं।’
स्थानीय भने यसबारे ‘आधिकारिक’ जानकारी नभएको बताउँछन्। जानकारी नदिई सडक कार्यालयका कर्मचारी र कामदार आएर भकाभक खन्न थालेको उनीहरूको भनाइ छ। के गरेको, किन खनेको भन्ने उनीहरूले पछि मात्र बुझे।
‘सरासर आएर सडक खन्न थाले। आफ्नै तरिकाले काम गरे,’ थापाले भने, ‘हाम्रै घर अगाडिको बाटो खन्दा कम्तिमा हामीलाई त केही जानकारी हुनुपर्थ्यो। स्थानीयसँग समन्वय त गर्नुपर्थ्यो नि। हाम्रो सुविधामा ध्यान नदिएर कसरी काम गर्न सक्छन्? समस्या र मर्का भोग्नेको राय लिनुपर्दैन?’

इञ्जिनियर पाण्डेले भने स्थानीयसँग समन्वय र छलफल भइरहेको बताए।
उनका अनुसार सानेपा निस्कने उकालो भाग कमजोर भइसकेको छ। कुनै पनि बेला भत्किन सक्ने भएकाले बनाउन जरूरी थियो। केही स्थानीय भने आवासीय क्षेत्रबीचको सडक यसरी अस्तव्यस्त बनाउन नहुने बताउँछन्। सडक मर्मत गर्नुपर्ने भए पनि दुई लेनको भित्री बाटो फराकिलो बनाउन आवश्यकतै नभएको उनीहरूले बताएका छन्।
पाण्डेको यसमा फरक मत छ। उनका अनुसार बाटो चौडा बनाउनु आवश्यक छ। वैकल्पिक सडकमा सवारी चाप बढ्दै गएकाले ‘बेलै’मा विस्तार गर्नुपर्ने उनी बताउँछन्।
‘जहीँतहीँ सडक विस्तार गरिँदैछ। यो पनि त्यही कामको हिस्सा हो,’ पाण्डेले भने, ‘पछि जाम भयो, सडक बनेन भन्ने समस्या आउनुअघि नै हामीले विस्तार गर्न थालेका हौं।’
अर्का स्थानीय श्रीकमल द्विवेदी भने ‘यथेस्ट फुटपाथ दिएर सर्वसाधारणको सुरक्षा बढाउनुको साटो जोखिममा पार्नु न्यायोचित नभएको’ बताउँछन्।
‘संसारभर पैदलयात्रुको सुरक्षा र सुविधा निम्ति फराकिला फुटपाथ बनाउने चलन छ। हामीकहाँ भने भएको पनि भत्काउँदै गाडी गुड्ने ठाउँ बनाइन्छ,’ उनले भने, ‘घरैघरबीच मान्छे हिँड्ने कि गाडी हुँइक्याउने?’
‘यो बाटो रिङरोड होइन। फराकिलो बनाउने नाममा फुटपाथै मास्न हुँदैन। दुई लेन छ, काफी छ। रिङरोड बनिसकेपछि त झन् यहाँको चाप स्वतः कम हुन्छ,’ उनले भने।
सडक डिभिजन कार्यालयका अनुसार यो बाटो निर्माण सकिन अझै ५–६ महिना लाग्छ। पाण्डेको भनाइ मान्ने हो भने त्यतिञ्जेल यहाँ कुनै फुटपाथ हुने छैन।
सडक बनेपछि पनि फुटपाथ निर्माण प्रक्रिया लामो हुनेछ। खुला ठाउँ नभएकाले घरधनीले पर्खाल भत्काएर नयाँ बनाएपछि बल्ल फुटपाथको काम सुरु हुन्छ। यसका लागि वर्षदिनभन्दा बढी लाग्नेछ। त्यो बेलासम्म पैदलयात्रुले बीच सडकमा अड्कली अड्कली पाइला चाल्नुको विकल्प छैन।
बाटो खनेर छाडिएकाले धूलो समस्या झनै थपिएको अर्का स्थानीय सरोजबाबु खनाल बताउँछन्।
‘बाहिर हिँड्दा त धूलोको समस्या हुन्थ्यो नै, अब त घरमै मास्क लगाएर बस्नुपर्ने भइसक्यो,’ उनले भने, ‘दिनको दुई–तीनपटक पसल सफा गर्दा पनि फोहोरै हुन्छ।’
सत्मार्गमै तीन वर्षदेखि चिया पसल चलाउँदै आएका उनी धूलोधुवाँको समस्याले केही समयदेखि ग्राहक आउनै छाडेको गुनासो पोख्छन्। ‘अब त भाडा तिर्न पनि ऋण लिनुपर्ने स्थिति छ,’ उनले भने।
बस्नेतको पीडा यस्तै छ।
‘घरको कुनाकाप्चासम्म धूलो आउँछ। भान्सामा समेत। कति सफा गरेर सक्नु,’ उनले भनिन्, ‘मान्छे आउँछ, बाटो खन्छ, माटो निकाल्छ जान्छ। कहिले सक्छन्, कति–के–कसरी बनाउँछन्, थाहा छैन। जे बनाए पनि सरासर गलत भइरहेको छ।’



सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी