काठमाडौं संस्कृति'कुमारी !'
दुई चिनियाँ पर्यटकले बोलेको यही एउटा शब्द बुझिन्थ्यो।
उनीहरू पाटनकी नयाँ कुमारी दर्शन गर्न रत्नाकर महाविहार आइपुगेका थिए।
निहीरा बज्राचार्य गत माघ २२ गते कुमारी छानिएकी हुन्। फागुन ५ गते प्रतिस्थापन हुँदैछिन्।
निहीरा विधिवत् कुमारी बनेपछि पूर्व कुमारी युनिका बज्राचार्यको फागुन ६ गते विदाइ हुनेछ। विदाइ बाँकी भए पनि उनी बाहिर हिँडडुल गर्न र स्कुल जान थालिसकेकी छन्।
विहारका एक जानकारले चिनियाँ पर्यटकलाई यही जानकारी दिँदै थिए।
पूर्व र वर्तमान दुवै कुमारी नभेटिने बुझेपछि निराश हुँदै उनीहरूले सोधे, ‘अब कुमारी दर्शन कहाँ गर्न पाइन्छ?’
‘काठमाडौंमा पनि नयाँ कुमारी हुनुहुन्छ। त्यहाँ दर्शन गर्न सजिलो भने नहोला,’ ती जानकारले भने।
बालिकालाई शक्तिको स्रोत मान्दै देवीका रूपमा स्थापना गरेर पूजा गर्ने यो चलन काठमाडौं उपत्यकाको मौलिक परम्परा हो। संसारले नै कुमारीलाई ‘जीवित देवी’ मान्दै आएको छ।
यो परम्परा लिच्छविकालमा गुणकामदेव पालादेखि सुरु भएको मानिन्छ। मल्लकालमा आएर काठमाडौं, पाटन र भक्तपुरका तीनै राज्यमा दरबारको राजकीय कुमारी र टोलटोलमा स्थानीय कुमारी प्रतिस्थापन गरी नित्य पूजा गर्ने परम्परा सुरु भएको हो।
कुमारी देवीसँग थुप्रै जात्रा र पर्व जोडिएको छ। मच्छिन्द्रनाथ, इन्द्रजात्रा, घोडेजात्रा लगायत वर्षमा १३ पटक कुमारी देवीको रथयात्रा निकालिन्छ। काठमाडौंमा शाक्य तथा ललितपुर र भक्तपुरमा बज्राचार्य परिवारबाट कुमारी छानिन्छ।
सामान्यतया तीन वर्ष पूरा भएकी बालिका कुमारीका रूपमा स्थापना गरिन्छ। काठमाडौंमा १२ वर्ष उमेर पूरा भएपछि महिनावारी नभए पनि नयाँ कुमारी परिर्वतन गरिन्छ। पाटनमा भने महिनावारी भएपछि मात्र नयाँ कुमारी परिवर्तन गर्ने चलन छ।
‘पूर्वकुमारी युनिका बज्राचार्य १० वर्षमा महिनावारी हुनुभयो,’ रत्नाकर महाविहारका सञ्जय शर्मा राजोपाध्यायले भने, ‘त्यसपछि नयाँ कुमारी छान्ने प्रक्रिया सुरु भएको हो।’
उनका अनुसार देवी परिवर्तनको समय भएपछि एक–दुई महिनाअघि नै विहारका सदस्यलाई खबर गरिन्छ। आफ्नी छोरी कुमारी राख्न चाहने वा कुमारी हुन उपयुक्त देखेका आमाबुबाले विहारमा नाम लेखाउनुपर्छ।
‘चिना हेरेर बत्तीस लक्षणयुक्त बालिका छनोट गरिन्छ,’ राजोपाध्यायले भने, ‘यसरी छान्ने काम तलेजु भवानीका पुजारीले गर्छन्। कुनै घाउचोट नलागेका र सबै लक्षणले युक्त बालिका नै कुमारी छानिन्छ।’
नयाँ कुमारी बन्न यसपटक विहारमा ५ बालिका आएका थिए। उनीहरुको चिना हेरी रत्नाकर महाविहारमा विधिवत् पूजा गरियो। तलेजु मन्दिरका पुजारी अनन्त ज्वालानन्द राजोपाध्यायले पूजापछि निहीरा बज्राचार्य र स्वार्ना बज्राचार्यलाई छानेका थिए।
छानिएका दुई बालिकालाई थप विधिका लागि पिम्बहाल लगियो। तलेजु भवानीका पुजारीकी श्रीमती पूर्णभद्रा देवी राजोपाध्यायले निहीरालाई पाटन कुमारी छनोट गरिन्।
‘कुमारी छान्दा चिना हेरिन्छ, ग्रह एवं नक्षत्र मिलाइन्छ,’ राजोपाध्यायले भने, ‘उनीहरूको अनुहार उज्यालो, दाँत मिलेको, नाक सलक्क भएको, आँखा तेजिलोजस्ता विशेषता हेरिन्छ। यी सबै गुण भएका निडर र सहनशील बालिका नै कुमारी छानिन्छ।’
निहीरा यी सबैमा सफल भएर छानिएकी हुन्।
कुमारी भएपछि परिवारले पनि बालिकालाई देवी अर्थात् ‘देवमैजु’ भनेर बोलाउनुपर्छ। उनको जीवनशैली फेरिन्छ।
काठमाडौंमा यसै वर्ष तृष्णा शाक्य नयाँ कुमारी भएकी हुन्। नयाँ कुमारी भित्र्याउने र पूर्व कुमारी मतिना शाक्यको विदाइ एकैदिन गरिएको थियो। काठमाडौंकी पूर्व कुमारी विदाइपछि मात्र स्कुल जान र सामान्य जीवनशैलीमा फर्कन सक्ने चलन छ।
यता पाटनमा भने विधि फरक छ।
पूर्व कुमारी युनिकाको विधिवत् विदाइ नहुँदै उनी स्कुल जान थालिसकेकी छन्। कुमारी हुँदा करिब ४ वर्ष भाषारा विद्यालयका शिक्षक विहार नै आएर उनलाई पढाउँथे।
[caption id="attachment_133181" align="alignnone" width="940"]
पूर्व कुमारी युनिका। तस्बिरः नारायण महर्जन/सेतोपाटी[/caption]
‘पहिलो दिन घरबाट स्कुल जाँदा उहाँलाई निकै असहज भयो। सुरुका दुई घन्टी पढेर घर फर्किनुभयो। अहिले भने पूरै घन्टी पढ्नुहुन्छ,’ युनिकाका बुबा रमेश बज्राचार्यले सेतोपाटीसँग भने, ‘एक हिसाबले राम्रै भयो। विहारमा केही घन्टा मात्र पढ्दा उहाँको पढाइ राम्रो हुन्न कि भन्ने चिन्ता हुन्थ्यो। अब त्यो हट्यो।’
युनिका ६ वर्षमा कुमारी भएकी हुन्। उनीसँगै परिवार पनि विहार आएको थियो। कुमारी घर जीर्ण र सानो भएकाले विहारमै कुमारी राखिँदै आएको छ। पाटनमा कुमारी रेखदेख र नित्य पूजा निम्ति कुनै प्रतिनिधि राखिँदैन। यी सबै काम कुमारीका परिवारले नै गर्नुपर्छ।
‘कुमारीले बिहानै उठेर स्नान गर्नुपर्छ। त्यसपछि आमाले कोरिबाटी सिँगार गरेर लुगा लगाइदिएपछि नित्य पूजा सुरु हुन्छ,’ रमेशले भने, ‘यी सब कामपछि मात्र दर्शन सुरु हुन्छ।’
उनका अनुसार दर्शन सकिएपछि कुमारीले चोखो गरी पकाएको खाना खानुपर्छ। त्यसपछि उनको पढाइलेखाइ लगायत अन्य काम सुरु हुन्छ।
‘उहाँलाई चित्रकला र संगीतमा रुचि छ। यसको प्रशिक्षण व्यवस्था विहारमा थियो,’ उनले भने।
युनिका महिनावारी भएपछि उनलाई नेवारी परम्पराअनुसार १२ दिन गुफा पनि विहारमै राखिएको उनले बताए।
नयाँ कुमारी छानिइसकेकीले युनिकाको नित्य पूजा भने हुँदैन। कुमारी आसन भने उनका बुबा रमेशले नै पूजा गर्दैछन्। नयाँ कुमारी प्रतिस्थापन नहुन्जेल उनलै गर्नेछन्।
युनिका विहार छाडेर गएपछि त्यही ठाउँमा नयाँ कुमारी प्रतिस्थापन हुनेछिन्। निहीरा अहिले घरमै छिन्। कुमारीका केही नियम भने पालना गर्न थालिसकेकी छन्। उनले छालाका जुत्ता र लुगा लगाउन पाउँदिनन्। रातो पहिरन लाउनुपर्छ। चोखो गरेर पकाएको खानुपर्छ। उनी बाहिर जान पनि पाउँदिनन्। स्कुल जान छाडिसकेकी छन्। उनी न्यू होराइजन स्कुलमा कक्षा १ पुग्ने अन्तिम परीक्षाको तयारीमा थिइन्।
‘बिहानसम्म छोरी थिइन् निहीरा, बेलुकी घर फर्कँदा देवी भइन्,’ निहीराका बुबा निरजरत्न बज्राचार्यले भने, ‘म भोज गएको थिएँ। एक्कासि छोरी कुमारी भएको खबर आयो। घरमा छोरी होइन देवी बास गरिरहनुभएको रहेछ।’
कुमारी भएपछि निहीराका परिवार उनलाई ‘देवमैजु’ भनेर बोलाउन थालेका छन्। नियमअनुसार उनीहरूले निहीरासँग अब सम्मानपूर्वक बोल्नुपर्छ र हप्काउनु वा उनको मन दुखाउने काम गर्न हुँदैन।
परिवारको व्यवहार बदलिएसँगै निहीराको स्वभावमा पनि परिवर्तन देखिएको निरजरत्नले बताए। ‘पहिले छोरी जिद्धी थिइन्। निकै रुन्थिन्,’ उनले भने, ‘कुमारी भएपछि फरक आएको छ। कुरा गर्दा पनि ठूलो मान्छेले जस्तै गर्नुहुन्छ।’
पूर्व कुमारी युनिकाको परिवारझैं निहीराको परिवार पनि प्रतिस्थापनपछि विहार जाने सोचमा छ। उनको ‘ब्रेक’ लागेको पढाइ भने विहारले भरपाइ गर्नेमा निरजरत्न आश्वस्त छन्।
उता विहारमा पनि फागुन ५ गते विधिवत रुपमा निहीरालाई कुमारी प्रतिस्थापन गर्ने तयारी हुँदैछ।
‘उहाँ कुमारी त भइसक्नुभयो। अब सिँगार र कुमारी लुगा लगाइदिएर कुमारीकै रूप दिइन्छ,’ महाविहारका सञ्जय शर्मा राजोपाध्यायले भने, ‘तलेजु भवानीका पुजारीले उहाँलाई तन्त्र विधामार्फत् कुमारी देवीको शक्ति दिनुहुन्छ र विधिवत् बाजाआजा गरेर भित्र्याइन्छ।’
यता ४ वर्षपछि घर फर्किन लागेकी युनिका अग्निसारमा रहेको पुरानो घर नभई अर्कै घर जाँदै छिन्। २०७२ सालको भुइँचालोमा घर भत्किएकाले अर्कै घरमा भित्र्याउन परेको बुबा रमेशले बताए। कुमारी नरहे पनि उनलाई जीवनभर देवी वा ‘देवमैजु’ भनेर बोलाइने उनले बताए।
युनिकाका भाइ रसेस पनि यो चलनमा विश्वस्त देखिए।
‘दिदी अब कुमारी हुनुहुन्न। उहाँलाई के भनेर बोलाउँछौ?’
‘देवमैजु,’ उनले हाँस्दै भने, ‘पहिले दिदी भन्थेँ, कुमारी भएपछि ‘देवमैजु’ हुनुभयो। अब कुमारी हुनुहुन्न, तर पनि मैले दिदी भनेर बोलाउन पाउँदिनँ।’