‘नेपालमा सियो पनि बन्दैन’ भन्नेहरूलाई चार जना इञ्जिनियरले गतिलो जवाफ दिएका छन्।
सुनील परियार, सन्तोषराज न्यौपाने, प्रजेश श्रेष्ठ र मेन्सन लाखेमरू।
उनीहरूले दिएको जवाफ हो, नेपालमै बनेको पहिलो विद्युतीय ह्विलचेयर– लियोपार्ड।
विदेशबाट आउने ह्विलचेयर सहज र आरामदायी भए पनि उतैका चिल्ला सडक हेरेर डिजाइन गरिएका हुन्छन्। यहाँका खाल्डाखुल्डीयुक्त बाटोमा गुडाउन त के, घिसार्न पनि गाह्रो पर्छ। लियोपार्ड भने असजिला बाटा र फुटपाथमा सजिलै गुडाउन मिल्ने सुनील बताउँछन्।
‘हामीले नेपाली बाटोको सामर्थ्य र अपांगता भएका व्यक्तिको आवश्यकता हेरेर ह्विलचेयर डिजाइन गरेका हौं,’ उनले भने।
यी चार साथीलाई एउटा सोचले एकठाउँ ल्याएको थियो। उनीहरू आफ्नो इञ्जिनियरिङ ज्ञान मान्छेको जीवन सहज बनाउनमा उपयोग गर्न चाहन्थे। ठूल्ठूला सडक, भवन वा संरचना बनाएर होइन। सानो चिज बनाउन चाहन्थे, जसको उपयोगिता ठूलो होस्। जसले मान्छेको दैनिक जीवनमै खुसी ल्याइदियोस्।
उनीहरूले लक्ष्य भेटे, २०७२ को भुइँचालोपछि।
स्वयंसेवीका रूपमा खटिँदा अपांगता भएका व्यक्तिसँग सम्पर्क भयो। खुट्टाको गति रोकिँदा जीवनकै गति थामिँदो रहेछ भन्ने उनीहरूले महशुस गरे।
यहीँबाट सुरु भयो, ‘मिसन लियोपार्ड’।
अर्थात्, अपांगताले थामिएर बसेकालाई चितुवा (लियोपार्ड) गतिमा दौडाउने अभियान।
‘जीवन भनेकै गति हो। स्थिर त निर्जीव मात्र हुन्छ। अपांगता भएका व्यक्ति गतिशिल नभएसम्म अरूसरह जिन्दगी बिताउन सक्दैनन्,’ चार इञ्जिनियरमध्ये सन्तोषले सेतोपाटीसँग भने, ‘हाम्रो उद्देश्य अपांगता भएकालाई गतिशिल बनाएर सामान्य जीवनयापनमा फर्काउनु हो।’
उनका अनुसार ‘लियोपार्ड’ अन्य ह्विलचेयरभन्दा सहज छ। एकपटकको पूरा चार्जमा २० देखि २५ किलोमिटर गुड्छ। ह्विलचेयरमै बसेर दिसा–पिसाब गर्न मिल्छ। गुडाउने व्यक्तिलाई चाहिने सामान, पानी र औषधि राख्न छुट्टै ठाउँ छ। मर्मतसम्भार नेपालमै हुन्छ। अपांगता भएकाको शारीरिक अवस्था, आकार र आवश्यकताअनुसार सुविधा थपघट पनि गर्न सकिन्छ।
यति हुँदाहुँदै के यो ह्विलचेयरको बजार सम्भावना छ त?
[caption id="attachment_82325" align="alignleft" width="500"]
विद्युतीय ह्विलचेयर लियोपार्ड।[/caption]
नेपालमा अपांगता भएका व्यक्तिको संख्या छ लाखभन्दा बढी छ। तीमध्ये झन्डै दुई लाखलाई ह्विलचेयर आवश्यक पर्ने नेपाल अपांग महासंघले जनाएको छ। अहिलेकै अवस्थामा भन्दा, नेपाली इञ्जिनियरहरूले बनाएको ‘लियोपार्ड’ ती दुई लाख त के, दुई सय जनाको पहुँचमा पुग्न पनि कठिन छ।
यसका दुई कारण छन्।
पहिलो, यो तीन लाख रूपैयाँ पर्छ। अपांगता भएका अधिकांशले यति तिरेर किन्न सक्दैनन्। शारीरिक जटिलताले उनीहरू आर्थिक क्रियाकलापमा कमै संलग्न हुन्छन्। तीन लाख धेरैको क्षमताभन्दा परको रकम हो।
दोस्रो, यहाँ किनेर ह्विलचेयर प्रयोग गर्नेहरू कम छन्। दुई लाखमध्ये करिब ३० प्रतिशतले मात्र ह्विलचेयर प्रयोग गर्दै आएको महासंघ अध्यक्ष सुदर्शन सुवेदी बताउँछन्।
‘अपांगता भएका धेरै जनामा ह्विलचेयरको पहुँच छैन,’ उनले भने, ‘कतिसँग किन्ने पैसा हुँदैन। कतिलाई कहाँ पाइन्छ, कस्तो चाहिन्छ भन्ने नै थाहा हुँदैन।’
देशभर थुप्रै संघ–संस्थाले निःशुल्क ह्विलचेयर वितरण गर्दै आएका छन्। उनीहरूले दिने ह्विलचेयर ‘म्यानुअल’ हो, जुन व्यक्ति आफैंले गुडाउनुपर्छ। विद्युतीय भने रिमोटबाटै गुडाउन सकिन्छ।
सुवेदीका अनुसार ह्विलचेयर पाउन अपांगता भएका व्यक्तिले महासंघसँग माग गर्नुपर्छ। महासंघले दाता संस्थालाई सिफारिस गरिदिन्छ। यतिसम्म जानकारी नहुँदा थुप्रै व्यक्ति कोठामै थुनिएर बस्नुपरेको उनी बताउँछन्।
‘महासंघमा ह्विलचेयर माग गर्दै बर्सेनि सयवटासम्म निवेदन आउँछन्। हामी ती निवेदनको यथार्थ जाँच्छौं। साँच्चिकै चाहिने रहेछ भने दाता संस्थाकहाँ सिफारिस पठाइदिन्छौं,’ उनले भने, ‘माग गर्नेले पाए–नपाएको अनुगमन हुन्छ।’
महासंघको सिफारिस लगेपछि सबैजसोले ह्विलचेयर पाएकै छन्। ऊ आफैंले पनि ह्विलचेयर वितरण गर्छ। यस निम्ति वर्षको एकपटक टेन्डर गरेर किन्छ। त्यसको मोल १५ हजार रुपैयाँभन्दा बढी हुने सुवेदीले बताए।
निःशुल्क ह्विलचेयर दिनेमा राष्ट्रिय अपांग कोष र राष्ट्रिय अपांग पुनर्स्थापना केन्द्र छन्। सेन्ट्रल फर इन्डिपेन्डेन्ट लिभिङ लगायत अपांगतामा काम गर्ने गैरसरकारी संस्थाले पनि उपलब्ध गराउँछन्।
बजारमै किन्ने हो भने कति पर्छ त?
ह्विलचेयरको मोल गुणस्तर र सुविधाले तय गर्छ। राजधानीमा किन्न पायक पर्ने ठाउँ त्रिपुरेश्वर–थापाथली मार्ग हो। यहाँ अस्पताललाई चाहिने ‘सर्जिकल’ सामान बेच्ने पसलमै ह्विलचेयर बिक्री हुन्छन्।
राजधानीमा सामान्य ह्विलचेयरको मूल्य ६ हजारदेखि २५ हजारसम्म पर्छ। सस्तो ह्विलचेयर अस्पतालतिर बढी प्रयोग हुन्छ। छोटो समयलाई घर वा अफिसमा पनि प्रयोग गरिन्छ। यस्तो ह्विलचेयर दिनहुँ सडकमा गुडाउन गाह्रो पर्ने र धेरै नटिक्ने त्रिपुरेश्वरस्थित युरेका इन्टरनेसनलकी सञ्चालक स्विटी गौतम बताउँछिन्।
उनका अनुसार औसत १५ हजार पर्ने मध्यम खालको ह्विलचेयर बढी बिक्छ। यसमा सुविधा थपिँदै गएपछि महँगिदै जान्छ।
सुविधा र आराम खोज्नेहरू ‘रिल्याक्स ह्विलचेयर’ रुचाउँछन्। मोल ३५ हजारसम्म पर्छ। बढीजसो चीनबाट आउँछन्। योभन्दा गुणस्तरीय र सुविधायुक्त चाहिए ५० हजारदेखि एक लाखसम्म पर्छ। ती जापान, कोरिया र अमेरिकाबाट आउँछन्। जटिल शारीरिक समस्या भएकालाई यस्ता ह्विलचेयर उपयोगी हुन्छन्।
‘लियोपार्ड’ पनि सुविधाकै कारण महँगो भएको निर्माता इञ्जिनियरहरू बताउँछन्। यस्तै वा बढी सुविधा भएका आयातीत विद्युतीय ह्विलचेयर कम्तिमा ३ लाख पर्छ।
महँगो भएकैले अपांगता भएका धेरै जना घरै बस्न बाध्य हुनुपरेको अमृता ज्ञवाली बताउँछिन्।
‘उहाँहरू चाहेर पनि घरबाहिर हिँडडुल गर्न सक्नुहुन्न,’ ह्विलचेयर अभियन्ता ज्ञवालीले भनिन्, ‘यति धेरै मूल्य तिर्ने क्षमताका यहाँ कमै छन्। मेसिनको भरमा जीवन बिताउनु धेरैको निम्ति कल्पना मात्र हो।’
ह्विलचेयर पहुँच नभएकैले अपांगता भएका व्यक्ति आर्थिक सक्षम हुन नसकेको उनको भनाइ छ।
सहज उपलब्ध भए उनीहरू रोजगार, व्यवसाय लगायत आर्थिक क्रियाकलापमा संलग्न हुन सक्थे। आत्मनिर्भर हुन्थे।
हामीले बाटोमा प्रायः देखिरहने सामान्य ह्विलचेयरले निर्वाध आउजाउमा खासै भरथेग गर्दैन। अलि गतिशिल बनाउने हो भने घटीमा ‘रिल्याक्स’ खालकै चाहिन्छ। महासंघ अध्यक्ष सुवेदीका अनुसार सहयोगमा उपलब्ध हुने ह्विलचेयर यही श्रेणीका हुन्।
ह्विलचेयर गुडाउन मुख्य समस्या यहाँको सडक हो। खाल्डाखुल्डीमा गुडाउँदा धेरै टिक्दैन। ह्विलचेयर निम्ति छुट्टै बाटो छैन। आठ लेनको रिङरोडमा समेत अपांगतामैत्री फुटपाथ छैन। तीन मिटर फुटपाथ छ, जुन पैदलयात्रु र साइकल चालक दुवैले बाँड्नुपर्छ। ह्विलचेयर गुडाउने र आँखा नदेख्ने व्यक्ति हिँड्ने बाटो यही हो।
‘यस्ता सडकमा नियमित गुडाउँदा गुणस्तरीय ह्विलचेयर पनि बिग्रिन्छन्,’ ज्ञवालीले भनिन्, ‘सस्ता त केही दिनमै काम नलाग्ने हुन्छन्।’
बाटो नहुनु र महँगो हुनुले धेरैलाई ह्विलचेयर प्रयोग गर्न निरुत्साहित गरेको उनको भनाइ छ। जबकि, संसारमा धेरै अत्याधुनिक ह्विलचेयर बनेका छन्।
तीमध्ये कतिमा चिप्लिने डर हुँदैन। उबडखाबड बाटोमा धरि लड्ने जोखिम कम हुन्छ। रिमोट वा सेन्सरले नै रोक्न र दायाँ–बायाँ घुमाउन सकिन्छ। कति ह्विलचेयरले त अप्ठ्यारो परिस्थिति सुरुमै पहिचान गर्छ। दुर्घटना पर्दा घरपरिवारलाई सूचना पठाउन सकिन्छ। यस्ता ह्विलचेयरले अपांगता भएका व्यक्तिको सुरक्षामा ध्यान दिएको छ।
‘आजको जमानामा ह्विलचेयर भनेको सामान्य हिँडडुल गर्ने साधन मात्र होइन, त्यो लगभग कारजत्तिकै सुविधायुक्त छ,’ ज्ञवालीले भनिन्।
पछिल्लो समय डिजाइन भएको एउटा ह्विलचेयरले मान्छेलाई सिधा खडा हुन मद्दत गर्छ। आफ्नो काम आफैं गर्न र आयमूलक गतिविधिमा लाग्न सहज बनाउँछ। घरमा एक्लै हुँदा ह्विलचेयरमै बसेर भान्छादेखि अन्य घरायसी काम गर्न सकिन्छ।
नेपालमै बनेको विद्युतीय ह्विलचेयर सबैको पहुँचमा पुग्ने वातावरण नबनेका बेला यस्ता अत्याधुनिक ह्विलचेयर सर्वसुलभ हुने समय टाढा छ। सबैले प्रयोग गर्न सक्ने उपाय के त?
‘सरकारको सहयोग,’ महासंघ अध्यक्ष सुवेदीले भने, ‘सरकारले अपांगता भएका व्यक्तिबारे सोचेर अलिकति सहुलियत दिने हो भने यो कुनै सपना रहँदैन।’
‘लियोपार्ड’ का निर्माता इञ्जिनियर पनि सरकारी सहयोग पाए धेरेभन्दा धेरैकहाँ पुर्याउन सकिने बताउँछन्।
‘लियोपार्डमा जति सुविधा छ, ती सबै व्यवस्था गर्दा महँगै पर्छ,’ प्रजेशले भने, ‘सरकारले सहयोग गर्यो भने सस्तो मोलमा उत्पादन गरेर बेच्नु ठूलो कुरा होइन।’
पार्टपूर्जा आयातमा कर छुट वा अन्य सहुलियत पाए सस्तोमा बेच्न सकिने उनको भनाइ छ।
‘अपांगता भएका व्यक्तिको जिम्मेवारी सरकारले लिनुपर्छ,’ सुवेदीले भने, ‘उनीहरूलाई घरभित्र लुकाएर राख्ने वा ह्विलचेयर सर्वसुलभ बनाएर गति बढाउने? यो सरकारकै हातमा छ।’