‘शिवरात्रि धुनीमा कलात्मक काठ नबालौं’

तस्बिरः सेभ हेरिटेजको फेसबुक


शिवरात्रिमा पुरातात्विक महत्व बोकेकf कलात्मक काठ बालेर धूनी जगाउँदै गरेको तस्बिर सेयर गर्दै सामाजिक अभियन्ता आलोकसिद्धि तुलाधरले फेसबुकमा लेखेः ‘यो तस्बिर मैले मेरो घरबाहिर दुई वर्षअघि खिचेको हो। मैले यो दृश्य त्यति बेला देखेँ, जब त्यसलाई जोगाउन निकै ढिला भइसकेको थियो।’

दुई वर्षअघिको तस्बिर भए पनि यसपालि शिवरात्रिमा सान्दर्भिक देखेर फेरि सेयर गरेको तुलाधर बताउँछन्।

‘२०७२ को भुइँचालोमा भत्किएका मन्दिरको जिर्णोद्वार अझै पूरा नभएकाले यसपालि पनि शिवरात्रि धुनीमा कलात्मक काठ बालिने सम्भावना छ,’ उनले सेतोपाटीसँग भने।

काठमाडौं महानगपालिकाले यही सम्भावना हेरेर ‘भुइँचालोमा भत्किएका मन्दिरका काष्ठकला संरक्षण गर्न’ सबै वडाका नाममा परिपत्र गरेको छ।

मन्दिरका भग्नावशेषमा थुप्रिएका र छरिएका काठ जम्मा गर्न, साङ्लोले बाँध्न, त्रिपालले छोप्न वा अन्य तरिकाले बलियोसँग सुरक्षित राख्न महानगरले वडा कार्यालयहरूलाई निर्देशन दिएको छ।

महानगर, सम्पदा विभागकी सिर्जु प्रधानले वडा कार्यालयहरू पनि यो अभियानमा सकारात्मक रहेको बताइन्।

यही सन्दर्भमा सेभ हेरिटेज लगायत स्थानीय संघ–संस्थाले स्वस्फुर्त ढंगमा त्यस्ता पुरातात्विक सामग्रीको संरक्षण अभियान सुरु गरेका छन्।

मंगलबार बिहानैदेखि त्यस्ता सामग्री संरक्षणमा जुटेका सामाजिक अभियन्ताले विभिन्न ठाउँ घुमेर पुरातात्विक सम्पदाका सामग्री नबाल्न आह्वान गरे। खासगरी काष्ठमण्डप क्षेत्र संरक्षणमा उनीहरूको मुख्य जोड छ। यी सम्पदाका काठ जगेर्ना गर्न भक्तपुरका कालिगढ लगायत अन्य अभियन्ताले पनि सहयोग गरेका थिए।

‘हामीले पहिले पनि काष्ठमण्डपका काठ संरक्षण गर्न विभिन्न उपाय अपनाएका थियौं। यहाँका काठ नहराओस्, नचोरियोस् भनेर त्यसमा सिलसिलेवार अंक लेखेर साङ्लोले बाँधेर राखेका छौं,’ महानगरकी प्रधानले भनिन्, ‘पानीले क्षति नपुर्याओस् भनेर त्रिपालले पनि छोपेर राखेका थियौं।’

तिनै सामग्री अनुगमन गर्दा त्रिपालमा प्वाल परेका थिए। बियरका बोतल, चियाका कप पनि फेला परेको पाइयो। ‘यसले पनि त्यहाँ संरक्षण गरेर राखिएका काठ हराउने मात्र नभई मक्किएर जाने चुनौती देखिएको छ,’ उनले भनिन्।

काष्ठमण्डपका काठ हनुमानढोका, डबली लगायत विभिन्न ठाउँमा राखिएका छन्। त्यस्ता सामग्रीलाई शिवरात्रिको धूनीबाट मात्र होइन, पानी र धुलोबाट पनि जोगाउनुपर्ने खाँचो देखिएको सेभ हेरिटेजका सुमन श्रेष्ठले बताए।

‘काष्ठमाण्डपका कलात्मक काठ ११ सय वर्षभन्दा पुराना हुन्। यस्ता सम्पदा नेपालमा धेरै छन्,’ उनले भने, ‘यिनको संरक्षण गर्दा ऐतिहासिक सम्पदा त जोगिन्छन् नै, मक्किएर र हराएर हुने खर्च पनि जोगिन्छ।’ सम्पदा संरक्षणमा संलग्न सुजना शाक्यले पनि शिवरात्रिको धुनी र क्याम्पफायरबाट पनि यस्ता कलात्मक काठ जर्गेना गर्नपर्ने आवश्यक्ता औंल्याइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.