गत साउन २२ गते ललितपुरको पट्पिचोकमा सुनिल तामाङले चलाएको टिपरले ठक्कर दिँदा २२ वर्षीय विक्रमप्रसाद फौजदारको मृत्यु भयो।
गत भदौमा बालकुमारीमा सन्तबहादुर दर्जीले चलाएको ट्रकको ठक्करले विशाल शाहीको मृत्यु भयो।
दुवै घटनामा प्रहरीले चालकलाई २४ दिन थुनामा राखेर जिल्ला सरकारी वकिलको कार्यालय बुझायो। घटनामा चालकको लापरबाही रहेको भन्दै दुवै चालकलाई दुई वर्ष कैद सजाय भयो। अहिले ती सजाय भोगिरहेका छन्।
ललितपुरका ट्राफिक प्रमुख सीताराम हाछेथुले दुर्घटना भएको २४ दिनसम्म हिरासत राखेर अनुसन्धान गरेपछि अदातलमा मुद्दा बुझाउने प्रक्रिया रहेको जानकारी दिए।
‘हामी २४ दिनसम्म राखेर अनुसन्धान गछौं। त्यसपछि सरकारी वकिलको कार्यालयमार्फत् अदालत जाने हो,’ हाछेथुले भने, ‘अदालतमा म्याद थप्नेबाहेक हाम्रो कुनै भूमिका हुँदैन। हामीले अनुसन्धान गरेका मुद्दामा पीडित पक्षका तर्फबाट सरकारी वकिलले बहस र पैरवी गर्छ।’
हाछेथुका अनुसार प्रहरीले मुद्दा चलाएपछि अदालतले पनि अनुसन्धान गर्छ। घटनामा संलग्न सबै पक्षसँग कुरा गर्छ। कानुनअनुसार सामान्य सवारी मुद्दामा दुई वर्ष कैद सजाय हुने व्यवस्था छ। लापरबाहीपूर्वक गाडी चलाएर दुर्घटना गराएर ज्यान लिएको छ भने ज्यान मुद्दाअन्तर्गत पाँचदेखि १२ वर्ष कैद हुने व्यवस्था पनि छ।
जिल्ला सरकारी वकिल कार्यालय पाटनका सहायक जिल्ला न्यायधिवक्ता रमेश भट्टराई सवारी ज्यान मुद्दामा अहिलेसम्म दुई वर्ष कैदबाहेक अन्य सजाय नभएको बताउँछन्।
‘एक–दुई जनालाई बाहेक जन्मकैदको सजाय भएको उदाहरण छैन,’ उनले भने, ‘कानुनमा त ५ देखि १२ वर्षको कैद सजाय हुृने भन्ने व्यवस्था पनि छ।’
यो ललितपुरको मात्र अनुभव होइन। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता भएका मुद्दामा पनि चालकले दुई वर्ष मात्रै सजाय पाएको जिल्ला सहायक न्यायधिवक्ता तारानाथ शर्माले जानकारी दिए।
‘पीडित पक्षलाई जिल्ला प्रशासन कार्यालयमार्फत् पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने गरिन्छ। चालकलाई भने दुई वर्षभन्दा बढी सजाय भएको थाहा छैन,’ उनले भने।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी दुर्घटनामा ज्यान गए निम्न सजाय हुने व्यवस्था छः
(१) ज्यान मार्ने मनसाय लिई दुर्घटना गराएको भए सवारी चालकलाई सर्वस्वसहित जन्मकैद हुनेछ। ज्यान मार्ने मनसाय लिए पनि ज्यान नगएको अवस्थामा पाँचदेखि १२ वर्षसम्म कैद हुनेछ।
(२) कसैको ज्यान जानसक्ने गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना भएको रहेछ र यसबाट मृत्यु भएको रहेछ भने चालकलाई दुईदेखि १० वर्षसम्म कैद हुनेछ।
(३) लापरबाही देखिएन, तर दुर्घटनामा गाडीभित्र वा बाहिर बस्नेको मृत्यु भएको रहेछ भने चालकलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ।
‘हामीले ज्यान मार्ने मनसाय हो भनेर त्यसैअनुसार मुद्दा लिएर गयौं भने पनि अदालतले घटाएरै सजाय गर्छ,’ न्यायाधिवक्ता भट्टराईले भने, ‘अदालतले दिने भनेको दुई वर्ष सजाय नै हो। कानुनमा त २ देखि १० वर्षको सजाय व्यवस्था नै छ।’
उनका अनुसार एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने भनिए पनि कतिपय मुद्दामा एक महिना मात्र सजाय भएको छ।
चोरी, डकैती, लागुऔषध दुव्र्यसन लगायत मुद्दामा दोहोरिएर पक्राउ पर्नेलाई थप सजाय हुन्छ। सवारी मुद्दामा भने त्यस्तो हुँदैन।
कतिपय अवस्थामा भने चालकलाई सजाय नै नहुने व्यवस्था पनि छ। चालकको काबुबाहिरको परिस्थितिबाट दुर्घटना भई कुनै हानि–नोक्सानी पुगेको रहेछ भने त्यस्तो सवारी चलाउने चालकलाई कुनै सजाय नहुने पनि कानुनमा व्यवस्था छ।
कानुनले चालक अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्था पनि गरेको छ। ती व्यवस्था निम्न छन्ः
(१) कुनै चालकमा अयोग्यता भएको प्रमाणित भए अनुमतिपत्र खारेज गरी फिर्ता बुझाउन आदेश दिन सकिनेछ।
(२) आदेश प्राप्त भएको मितिले सात दिनभित्र चालकले आफ्नो अनुमतिपत्र फिर्ता बुझाउनुपर्छ।
यो ऐनका प्रावधान पाँच पटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भए अधिकारप्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र छ महिनालाई निलम्बन गर्न सक्नेछ। यसबाहेक चालकलाई अन्य सजायको व्यवस्था छैन।