पत्थरभित्र चेपिएको १० करोड वर्ष पुरानो माकुरा

म्यानमारको बजारमा पत्थरभित्र फेला परेको १० करोड वर्ष अघिको माकुरा प्रजातिको जीवको अवशेष। तस्बिर: द न्यूयोर्क टाइम्स


आठवटा खुट्टा। तीखा दाँत। र, लामो पुच्छर।

यो हालै म्यानमारको बजारमा फेला परेको माकुरा प्रजातिको जीव हो।

यसको विशेषता के भने, यो हाम्रो घरका भित्ता वा दलिनमा जालो हालेर बस्ने माकुरा होइन। प्राग्–ऐतिहासिक कालको हो, जुन १० करोड वर्षअघि अहिलेको दक्षिणपूर्वी एसियाका जंगलमा पाइन्थ्यो।

जतिबेला डाइनासोर र त्योसँगै सम्पूर्ण घस्रने जनावर यो धर्तीबाट विदा भए, त्यही बेला यो माकुराको परिवार दक्षिणपूर्वी एसियाका जंगलमा सास फेर्न थालेको थियो।

अब प्रश्न उठ्छ, त्यो कालखण्डको जीव अहिलेको समय म्यानमारमा कसरी फेला पर्यो?

म्यानमारमा अनुसन्धान गरिरहेका वैज्ञानिक टोलीले गहनामा हाल्ने पत्थरभित्र यो जीव फेला पारेका हुन्। सारा दुनियाँबाट टाढा एउटा पत्थरभित्र माकुराको सग्लो अवशेष थियो। प्रयोगशाला परीक्षणबाट त्यो जीव करिब १० करोड वर्षअघि पृथ्वीमा पाइने माकुरा प्रजातिको हो भन्ने निष्कर्ष निस्कियो।

यस्तो पत्थर रुखको चोपबाट बन्छ। कुनै बेला रुखमा जालो हालेर बसेको माकुरा त्यही चोपमा टाँसिएको र लामो कालखण्डपछि अवशेषका रूपमा यहाँसम्म आइपुगेको वैज्ञानिकहरूको आकलन छ।

अनुसन्धानकर्ताको दुई टोलीले म्यानमारको त्यही बजारबाट यस्ता चार अवशेष फेला पारेका थिए। उनीहरूको अनुसन्धान नतिजा ‘नेचर इकोलोजी र इभोलुसन’ नामक अन्तर्राष्ट्रिय जर्नलमा गत सोमबार प्रकाशित भएको थियो।

अनुसन्धानमा संलग्न वैज्ञानिकका अनुसार दसौं लाख वर्षअघिको यो जीव अहिलेको माकुरासँग दुरुस्तै छ। यसबाट माकुराहरू कसरी जालो बुन्दै बुन्दै आजको समयसम्म आइपुगे भनी अनुसन्धान गर्न सघाउ पुग्ने उनीहरू बताउँछन्।

यसको पछिल्लो भागमा रेशम उत्पादन गर्ने तीखा दाँत छन्। भाले माकुराको टाउकोनिर दुइटा लाम्चा खुट्टा देखिन्छन्। यसैबाट भालेले आफ्नो वीर्य निकाल्छ। तल्लो भाग वा पुच्छर भने अहिलेको माकुराभन्दा लामो र झन्डै झन्डै बिच्छीको जस्तो भएको वैज्ञानिक बताउँछन्।

‘तपाईं घरमा भेटिने माकुराको माथिल्लो भागमा बिच्छीको तल्लो भाग जोडेर हेर्नुस्, त्यो ठ्याक्कै दस करोड वर्षअघिको यो जीवसँग मिल्छ,’ अनुसन्धानमा संलग्न हार्वर्ड विश्वविद्यालयका जीव वैज्ञानिक गोन्जालो गिरिबेटले भने।

यो जीवको आकार निकै सानो छ। करिब २.५ मिलिमिटर लामो। यसको तल्लो भाग वा पुच्छर माथिल्लो जीउभन्दा झन्डै दोब्बर छ। बिच्छीको जस्तै पुच्छर भए पनि काम भने त्यस्तो गर्दैन। बिच्छीले आफ्नो बचाउ गर्नुपरे पुच्छरबाट तेजाबजस्तो पदार्थ निकाल्छ। यसले मान्छेलाई समेत पीडा हुन्छ। प्राग्–ऐतिहासिक यो जीवको पुच्छरमा भने त्यस्तो गुण छैन। वैज्ञानिकहरूले त्यो अंग टाढाको सन्देश ग्रहण गर्ने ‘एन्टेना’ हुन सक्ने बताएका छन्।

‘यो माकुराको तल्लो भागमा एन्टेनाजस्तो अंग छ,’ अनुसन्धानमा संलग्न कान्सस विश्वविद्यालयका प्राग–इतिहासविद् पल सेल्डनले भने।

यसरी एउटै जीवमा माथिल्लो भाग अहिलेको माकुराजस्तो र तल्लो भाग बिच्छीको जस्तो देखेर वैज्ञानिकहरू पनि अचम्म परेका छन्। उनीहरू यस्तो ‘नौलो’ र ‘अद्भूत’ शारीरिक संरचनालाई कसरी वर्गीकरण गर्छन् त?

डा. गिरिबेट र उनका सहकर्मी यो प्राग्–ऐतिहासिक माकुरा भएको बताउँछन्। यसको पेट भने अहिलेको माकुरासँग मिल्दैन। अहिलेको माकुराको पेट नरम र चिल्लो हुन्छ, जबकि यसको खस्रो र लाम्चो छ। त्यही पेटको छेउमा रेशम उत्पादन गर्ने अंग छन्।

डा. सेल्डन र उनका सहकर्मी भने प्राग्–ऐतिहासिक माकुरासँग मिल्दोजुल्दो भए पनि केही विशेषताका कारण यसलाई माकुराको छुट्टै प्रजाति मान्छन्।

यी प्रजातिका माकुराको शारीरिक संरचना र विशेषता आपसमा मिल्दोजुल्दो रहेकोमा भने दुवै वैज्ञानिक समूह सहमत छन्।

लन्डनस्थित नेसनल हिस्ट्री म्युजियमका प्राग्–ऐतिहासिक जीव वैज्ञानिक ग्रेग इजकोम्ब दुवै प्रजातिका माकुराबीच कति भिन्नता छ भन्ने अझै खुल्न बाँकी रहेको बताउँछन्। दस करोड वर्ष अघिबाट पत्थरसँगै टाँसिएर आइपुगेको यो ‘पाहुना’ माकुराको मिहिन अध्ययनले यो गुत्थी सुल्झाउने उनको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.