जुन पर्वलाई ‘इन्द्रजात्रा’ भनेर चिनिन्छ, त्यो खासमा ‘येँया पुन्ही’ हो।
इन्द्रजात्राले यो पर्वको महत्व नै नबोक्ने सम्पदाविद मोनालिसा महर्जनको भनाइ छ। ‘इन्द्रजात्रा त एउटा अंश मात्र हो, यो शब्दले पर्वलाई पूर्ण रूपमा न्याय गर्दैन,’ मार्टिन चौतारीमा आइतबार आयोजित कार्यक्रममा महर्जनले भनिन्।
सम्पदा संरक्षणमा विद्यावारिधि गरेकी महर्जन पोर्चुगलको डी इभोरा विश्वविद्यालय अन्तर्गत इतिहास, सँस्कृति र समाज विभागमा अनुसन्धानकर्ता हुन्।
उनी नेपाल आएको मौकामा येँया पुन्ही पर्व अध्ययनमा आधारित रहेर मूर्त र अमूर्त सम्पदाबारे बोल्दै थिइन्।
नेपाल भाषामा ‘येँ’ भनेको काठमाडौं हो। ‘या’ भनेको उत्सव र ‘पुन्ही’ भनेको पूर्णिमा। शब्दले नै भन्छ, यो पर्व मात्र होइन। पूर्णिमामा काठमाडौंमा हुने उत्सव हो। कसैकसैले यसलाई आकाश भैरवको जन्मदिनका रूपमा पनि मनाउँछन्।
इन्द्रजात्रा भनेर जति हामी देख्छौं वा बुझ्छौं, त्यो यो उत्सवको २० प्रतिशत मात्र भएको मोनालिसा बताउँछिन्। ‘यो पर्वमा लिंग ठड्याउने, दवु प्याखँ, लाखे प्याखँ, इन्द्रलाई बाँधेर राख्ने जस्ता उत्सव हामी देख्छौं,’ उनले भनिन्, ‘यसभित्र पनि गुठीमा पूजा हुन्छ। पाल्चामा बत्ती बाल्ने कार्यक्रम हुन्छ। भजन मण्डलीको छुट्टै कार्यक्रम हुन्छ। त्यसैले, यो एउटा उत्सव मात्र होइन, थुप्रै उत्सवको संगठन हो।’
येँया पुन्हीमा मनाइने खुम प्याखँ, दवु प्याखँ लगायत परम्परा विस्तारै हराउँदै गएको उनले बताइन्। यसबारे अनुसन्धान हुनुपर्नेमा उनको जोड छ।
‘जुन नाच जुन ठाउँमा हुनुछ त्यही ठाउँमा हुन्छ। कुमारीको रथ यहाँ पुगेपछि यसो गर्ने, लाखे नाच कतिखेर गर्ने, रक्सी कतिखेर बगाउने लगायत क्रियाकलापका आ–आफ्ना साइत हुन्छन्,’ उनले भनिन्, ‘यसैले यी पर्व यहाँको संस्कृति, मानिस र स्थानहरूसँग जोडिएका हुन्छन्।’
मोनालिसाका अनुसार किराँत, लिच्छवि र मल्लकालदेखि नै यो संस्कृति चल्दै आएको हो। त्यसमा पनि गुठी स्थापना पाचौं शताब्दिबाट भएको थियो। यसले पनि सम्पदा तथा संस्कृति जगेर्नामा ठूलो भूमिका खेल्छ। गुठीले सामाजिक कार्य, चाडपर्व, भजन सञ्चालन गर्छ। गुठीकै कारण अमूर्त कला, संस्कृति एवं परम्परा जगेर्ना हुँदै आएको उनले बताइन्।
परम्परादेखि चलिआएको हाम्रो सम्पदा एवं संस्कृति पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि खुम्चिँदै गएको उनको भनाइ छ।
‘शाहकालमा आएर काठमाडौं सभ्यतामाथि शासक वर्गको उपेक्षाले नै हाम्रा परम्परा हराउँदै गएका हुन्,’ उनले भनिन्, ‘गुठीका सम्पत्ति पनि सत्ता र शक्तिको प्राप्तिमै खर्च हुन थाल्यो।’
सरकारले मन्दिर, दरबार, मुर्ति लगायत मूर्त सम्पदा जगेर्नामा चासो देखाए पनि पर्व, संस्कृति लगायत अमूर्त सम्पदालाई बेवास्ता गरेको उनले बताइन्। यस्ता मूर्त र अमूर्त सम्पदा जगेर्ना निम्ति बाहिरी निकायको सहयोग नभई हामी आफैँ लाग्नुपर्ने उनको निष्कर्ष थियो।
‘हाम्रो देश र अन्य देशको सम्पदासम्बन्धी नीति–नियम फरक छन्। हामीले विदेशी निकायको भर पर्नु हुँदैन,’ उनले भनिन्, ‘हामी आफैं यसको संरक्षणमा जुट्नुपर्छ। गुठी परम्परा पनि दीगो रूपमा संरक्षण गर्नुपर्छ।’