अपडेट : महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चार मृत्यु, ३३ घाइते  


अत्यधिक हुस्सुका कारण महोत्तरीको रामगोपालपुरमा ट्रयाक्टर पल्टिदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ सहसौलाका ४० वर्षीय सत्येन्द्र साह, २० वर्षीय लालबाबु मण्डल , ४५ वर्षीया सावित्री देवी मण्डल र ६५ वर्षिया माल्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए।

सत्येन्द्र साह र लालबाबुको मृत्यु घटनास्थलमै भएको छ भने सावित्री देवी मण्डल र मालती देवीको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका ३३ जनामध्ये ८० वर्षीया नैनकुमारी, ४५ वर्षीया सीया देवी, ४१ वर्षीया बबिता देवी, ५५ वर्षीय दशरथ साह र ५० वर्षीया राजोदेवी सहित ८ जनाको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ भने २५ जनाको सामान्य उपचारपछि घर फर्केका छन्।

सिन्धुलीको लंगुरखोला महादेवको दर्शन गरी ज.१ त. ३५१६ नम्बरको ट्रयाक्टर सवारी लिएर टिकुलिया फर्किने क्रममा सोमबार राति अत्यधिक हुस्सुका कारण ट्रैक्टर अनियन्त्रित भई रामगोपालपुर ८ स्थित थलही सडकबाट १५ फिट तल पल्टिदा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

दुर्घटना पश्चात ट्रयाक्टरका चालक फरार रहेकोले उनको खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.