– राजधानीको सुकेधारामा पुस पहिलो साता टिपर ठक्करबाट २२ वर्षीय मोटरसाइकल चालक सन्तोष श्रेष्ठको मृत्यु भयो। पछाडि सवार निरज राउत घाइते भए। एकै दिशाबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा४ख ६२७० नम्बरको टिपरले बा३४प ४३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो।
– बत्तीसपुतलीमा पुस दोस्रो साता पानी ट्यांकरले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया कलाकार विना थापाको मृत्यु भयो। बा२ख ८९४ नम्बरको पानी ट्यांकरले बा५५प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
– कीर्तिपुरमा पुस अन्तिम साता ट्यांकरको ठक्करबाट ललितपुर, मलपोखरी बस्ने ३ वर्षे उत्सव राईको घटनास्थलमै मृत्यु भयो।
पुस महिनाका यी तीन घटनाले राजधानीभित्र बढ्दो सवारी दुर्घटना उजागर गर्छ। चालू वर्षको छ महिनामा सवारी दुर्घटनामा परेर ५८ जनाले ज्यान गुमाएका छन्। दुर्घटना गराउनेमा टिपर र ट्यांकर बढी छन्।
ट्राफिक प्रहरी अनुसन्धानअनुसार ८० प्रतिशत दुर्घटनाको कारण चालक लापरबाही हो। र, चालक लापरबाहीको कारण हो, फितलो कानुनी व्यवस्था।
‘यस्ता दुर्घटनामा टिपर, ट्यांकर मालिक र चालककै सबभन्दा धेरै गल्ती देखिन्छ,’ ललितपुरका ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले भने, ‘कानुन फितलो हुनुले चालक लापरबाह भएका हुन्।’
दुर्घटना गराएर ज्यान लिने चालकले समेत कानुनअनुसार २५ दिनभन्दा बढी थुनामा बस्नु पर्दैन। त्यसमा पनि प्रहरीसँग मिलेमतो गर्यो भने सात दिनमै छुट्कारा पाउँछन्।
दुर्घटनाबाट पर्ने आर्थिक भार पनि चालकले बेहोर्नुपर्दैन। त्यस्तो आर्थिक भार गाडी मालिकमाथि पनि पर्दैन। दुर्घटनामा कोही व्यक्ति घाइते भए उपचार खर्च सम्बन्धित यातायात व्यवसायी समितिले बेहोर्छ। मृत्युको हकमा पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्छ। त्यसको जिम्मा पनि समितिकै हुन्छ। यहाँसम्म कि, घाइते बिरामीका कुरुवाको खाना खर्चधरि समितिकै जिम्मा हुन्छ।
यस्तो खर्च व्यवस्थापन निम्ति यातायात व्यवसायी समितिहरूले विभिन्न अस्पतालसँग सम्झौतै गरेका हुन्छन्। दुर्घटनालगत्तै प्रहरीले गाडी र त्यसको समिति पहिचान गर्छ। प्रहरीकै माध्यमबाट समितिसँग सम्पर्क हुन्छ। समितिले घटनाको जिम्मेवारी लिएर उपचार खर्च बेहोर्ने चिठी सम्बन्धित अस्पताल पठाइदिन्छ। त्यसपछि घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित यातायात व्यवसायी समितिका नाममा उधारो चढाउँदै लगिन्छ।
एक अध्ययनअनुसार बीएन्डबी अस्पतालसँग करिब २० वटा यातायात व्यवसायी समितिले द्विपक्षीय सम्झौता गरेको पाइएको थियो। ती समितिले अस्पतालमै ‘क्रेडिट एकाउन्ट’ खोलेका हुन्थे। समितिले घाइतेको जिम्मेदारी लिँदै चिठी पठाएपछि सबै उपचार खर्च उनीहरूकै एकाउन्टमा फरवार्ड गरिन्थ्यो।
लामो समय जेल बस्नु नपर्ने, उपचार खर्च तिर्न नपर्ने र क्षतिपूर्ति रकम तिर्ने दायित्व पनि नहुँदा चालकहरू लापरबाह बन्दै गएको हाछेथु बताउँछन्।
‘मेरो अहिलेसम्मको करिअरमा दुर्घटनामा मान्छे मारेको चालक पनि २५ दिनभन्दा बढी थुनामा बस्नुपरेको छैन,’ उनले भने।
यति मात्र होइन, दुर्घटना क्रममा गाडीमा कुनै क्षति पुगे त्यसको भार पनि मालिकमाथि पर्दैन। उक्त क्षति बिमा कम्पनीले बेहोर्छ।
ट्यांकर, टिपर चलाउने अधिकांश चालक कम उमेरका हुनुले पनि दुर्घटना दर बढी भएको हाछेथु बताउँछन्। ‘३० वर्ष माथिका कोही छैनन्। उनीहरूमा जोस जाँगर छ। तीव्र गतिमा गाडी हाक्छन्, अनि दुर्घटना हुन्छ,’ उनले भने।
सानो गाडी चलाएको १० वर्ष अनुभव भएको चालकलाई मात्र ठूला सवारी चलाउन अनुमति दिनुपर्ने उनको सुझाव छ। सवारी तथा यातायात व्यवस्था नियमवाली २०४९ अनुसार १८ वर्ष पुगेकाले साना तथा मझौला सवारी चालक अनुमति पाउँछन्। २१ वर्ष उमेर पूरा भएकाले ठूला सवारी चलाउन अनुमति पाउन सक्छन्।
‘हाम्रोमा तीन वर्ष अनुभव भएकालाई ठूलो सवारी चलाउन अनुमति दिइन्छ,’ उनले भने, ‘ठूला सवारी चलाउने चालकको कम्तीमा १० वर्ष साना तथा मझौला सवारी चलाएको अनुभव हुन जरुरी छ। हाम्रोमा अनुभवको ख्यालै नगरी अनुमति दिइन्छ।’
यसबाहेक ट्यांकर, टिपर चलाउने चालकलाई प्रत्येक ट्रिपमा ५ सय वा हजार रुपैयाँ भत्ता दिइन्छ। अतिरिक्त भत्ताको लोभमा परेर पनि उनीहरूले तीव्र गतिमा सवारी कुदाउँछन्।
‘यो समस्या दिन–प्रतिदिन जटिल बन्दै गएको छ। हामीले टिपर, ट्यांकर व्यवसायीलाई समन्वय गरेर अगाडि बढौं भन्दा उनीहरू ड्राइभर पाइँदैन भन्छन्,’ उनले भने, ‘स्पिडमा आएको ट्यांकर र टिपर रोकेर विस्तारै चलाउनू भन्छौं। क्लास लिन्छौं, टिपरलाई छड्के जाँच त गरिरहेकै छौं।’
अनुभवी चालकको अभाव पनि दुर्घटनाको कारण भएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन्। उनका अनुसार देशभरि ४० हजार चालकको माग छ।
यति हुँदाहुँदै चालक र व्यवसायीलाई मात्र दोष दिन नहुने उनको भनाइ छ।
‘मोटरसाइकल र स्कुटर धेरै दुर्घटना हुन्छन्। सडकको अवस्था गतिलो छैन। मान्छेभन्दा ठूला बाइक हाँक्छन्। अनि दोषजति सबै टिपर, ट्यांकर चालकलाई लगाउन भएन नी,’ सिटौलाले भने, ‘अनुशासित भएर चालकले सवारी चलाउनुपर्छ। यसलाई न्यूनीकरण गर्न हाम्रो तर्फबाट पनि सक्दो प्रयास हुन्छ।’
महानगरीय ट्राफीक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले यो समस्या विकराल रहेको भन्दै तीव्र गतिमा चलाउनेलाई रोकेर सम्झाउने गरेको बताए। ‘हामी यातायात व्यवसायीसँग मिलेर काम गरिरहेका छौं। महाशाखाले टिपरलाई क्लास लिइरहेको छ,’ खनालले भने, ‘सरकारले पनि पाँच लाख तिरेर नभई कडा सजायको व्यवस्था गर्नुपर्यो।’