‘काठमाडौंको बिग्रिएको हावाले बाँच्न पाउने अधिकार कुण्ठित’


कुनैबेला सफा हावामा सास फेर्न पाएका चिरपरिचित वरिष्ठ नागरिकले काठमाडौंमा फेरिएको हावाबारे शनिबार चर्चा गरेका छन्।

आर्थिक क्षेत्रका हिमालयशम्शेर, न्यायिक क्षेत्रका केदारनाथ उपाध्याय, स्वास्थ्य क्षेत्रका डा. मृगेन्द्रराज पाण्डे, संस्कृतिका सत्यमोहन जोशी र प्राध्यापन क्षेत्रका वीरेन्द्र मिश्रसँग पत्रकार नारायण वाग्लेले गरेको संवादमा सफा हावासँग जोडिएका विभिन्न पक्षबारे चर्चा गरिएको थियो।

महेन्द्र पुलिस क्लब हलमा आयोजित कार्यक्रममा बोल्दै हिमालय शम्शेरले भने, ‘कुनै समय स्वास्थ्य लाभ गर्न हामी कोठा बाहिर निस्केर सफा हावा  खाँदै हिँडडुल गर्थ्यौं। अब स्वास्थ्य रक्षा कै निम्ति कोठाभित्र थुनिएर बस्नुपर्ने परिस्थिति ‍छ।’

काठमाडौं संसारका अरु ठूला सहरजस्तो प्रदूषित नभइसके पनि यहाँ धुवाँ र धुलो असाध्यै चिन्ताजनक अवस्थामा पुगिसकेको बताउँदै  हिमालय शम्शेरले यसका निम्ति तत्काल कदम चालिनु जरुरी रहेको औंल्याए।

सबै किसिमको बेथितिविरुद्ध हामीकहाँ पहिल्यैदेखि नीति नियम भए पनि कार्यान्वयनमा लापरवाही छ। यसले गर्दा अप्ठ्यारो झेल्नुपरेको उनको भनाइ थियो। मेलम्ची भनेर सडक खन्ने तर समयमै खनिएको ठाउँ नपुर्ने जस्ता लापरवाहीपूर्ण काम चिन्ता बढाएको उनले बताए।

अन्तर्संवादमा बोल्दै सत्यमोहन जोशीले सफा हावामा चेतनतत्व पनि रहने गरेको उल्लेख गरे। उनले गौतम बुद्धको उदाहरण दिए। बोधगयामा पिपलको रुखमुनी बसेरै सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नु नै यसको प्रमाण भएको जोशीको भनाइ थियो।

‘हावाकै निम्ति हाम्रा गाउँघरमा वरपिपलको रुख रोप्ने परम्परा थियो,’ जोशीले भने, ‘यतिबेला परिवर्तनका नाममा हामीले सम्पूर्ण विशेषताहरु गुमाएका छौं।’

कार्यक्रममा बोल्दै डा. मृगेन्द्रराज पाण्डेले पहिले घरभित्रका प्रदूषणले गरिबहरु पीडित रहने गरेको बताए। यो खोजीलाई उतिबेलै बेलायतको जर्नलमा आफूले प्रकाशित पनि गरेको बताउँदै पाण्डेले अब आएर सिंगो सहर नै प्रदूषणको चपेटामा पारिदिन थाल्दा पनि कुनै कारवाही नभइरहेकोप्रति असन्तुष्टि ब्यक्त गरे। सबै क्षेत्रका नागरिकहरु मिलेर अब ‘एक्सन’मा जानुको विकल्प नरहेको डा. पाण्डेले बताए।

त्यस्तै पूर्व प्रधानन्यायाधीश एवं मानवअधिकार आयोगका पूर्व प्रमुख केदारनाथ उपाध्यायले सफा हावा प्रत्येक नागरिकको बाँच्न पाउने अधिकार रहेको र यसलाई राज्यले ग्यारेन्टी गर्नुपर्ने उल्लेख गरे। कुनै समय जनस्वास्थ्यलाई हेरेर उपत्यका भित्रबाट सिमेन्ट कारखाना हटाउने निर्णयसमेत भएको सहरमा यतिबेला सडकमा हिँड्नै नसक्ने अवस्था सिर्जना हुनु दुःखद् भएको उनले बताए।

‘पहिले त छातीका चिकित्सकले मात्र हावाका बारेमा सरोकार प्रकट गर्थे,’ उपाध्यायले भने, ‘अहिले त आँखाको डाक्टरले समेत चश्मा लगाएर हिँड्ने गर्नुहोस् भन्न सुरु गरेको अवस्थामा हामी आइपुगेका छौं।’ उपाध्यायले अहिले काठमाडौंको हावा स्वास्थ्यका हिसाबले संकटकालीन अवस्थामा रहेको उल्लेख गरे।

अर्का वक्ता प्राध्यापक वीरेन्द्र मिश्रले भने काठमाडौंमा बेथिति अन्त्यका निम्ति राज्यभन्दा पनि यहाँका वासिन्दाको सोचमै परिवर्तन आउनुपर्ने औंल्याए। ‘घरको फोहोरदेखि आफ्ना सवारीसाधनले फाल्ने धुवाँसम्मका विषयमा नागरिक आफैँ सचेत भइदिने हो भने समस्या आफैँ समाधान उन्मुख हुन्छ,’ मिश्रले भने, ‘हरेक कुरामा राज्यलाई मात्र दोष दिने र आफूले केही नगर्ने हो भने समाधान निस्कँदैन।’

यसरी वरिष्ठ नागरिकहरुले काठमाडौंको हावा र जनस्वास्थ्यका बारेमा चाँसो राखिरहँदा चिनिएका मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, छातीरोग विशेषज्ञ डा. अर्जुन कार्कीलगायत उपस्थित थिए। काठमाडौंको हावाबारे श्रृंखलावद्ध कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ दिपक सापकोटाको अग्रसरतामा यो अन्तर्संवाद कार्यक्रम सम्पन्न भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.