आन्दोलनरत नर्स भन्छन्– न कमाइले खान पुग्छ, न जागिरको भर छ

चितवन मेडिकल कलेजमा आन्दोलनरत नर्स। तस्बिरः विष्णु विष्टको फेसबुक


अमिका महर्जन त्रिवि शिक्षण अस्पतालमा स्नातक नर्सिङ पढ्दै छिन्। कलेजको शुल्क मात्र साढे ४ लाखभन्दा बढी तिरेकी छन्। पढाइ यसै वर्ष सकिन्छ। त्यसपछि काम गर्न विदेश जाने उनको योजना छ।

‘म पाएसम्म नेपालमै काम गर्न चाहन्थेँ, पिसिएल (प्रमाणपत्र तह) सकेपछि थाहा पाएँ, यहाँ न कामको सम्मान छ, न राम्रो पारिश्रमिकै पाइन्छ,’ अमिका भन्छिन्, ‘अब त ब्याचलर सकेर विदेशै जाने हो।’

दुई दशकदेखि नर्सिङ पेसा गरिरहेकी रमिला चौलागाईंको यस्तै अनुभव छ। यहाँ नर्सिङलाई तेस्रो दर्जाको काम ठानिन्छ भन्ने उनलाई लाग्छ। ‘सेवा, सुविधामा उपेक्षा गरिन्छ,’ भन्छिन्, ‘कमाइले न खान पुग्छ न त जागिरको भरै छ।’

जागिरको भर छैन भन्ने अनुभव त्रजिना जतिलाई जस्तो कसलाई होला?

उनी मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा पाँच वर्षदेखि काम गरिरहेकी थिइन्। साउन २९ गते एक्कासि जागिरबाट निकालिइन्। करारमा काम गरिरहेकी उनले आफू किन जागिरबाट निकालिएँ भन्ने नै थाहा पाइनन्।

‘श्रम ऐनअनुसार करार कर्मचारीलाई हटाउन ३५ दिनअघि नै सूचना दिनुपर्छ, तर केन्द्रले त्यसो गरेन,’ उनले भनिन्।

यी तीन नर्सले भोगेको समस्या देशभरको साझा हो।

यही समस्याविरुद्ध नेपाल नर्सिङ संघले पुस २६ देखि देशव्यापी विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ। संघका ११ बुँदे माग छन्। यी माग नर्सिङ पेसाको आत्मसम्मान र वृत्ति, विकाससँग सम्बन्धित रहेको संघकी कार्यवाहक अध्यक्ष गंगा थापा बताउँछिन्।

जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन सरकारद्वारा निर्धारित ‘नर्स–बिरामी अनुपात’ सबै अस्पतालमा लागू गरियोस् भन्ने उनीहरूको प्रमुख माग छ। निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई तहगत रूपमा सरकारी सरह तलबभत्ता दिनुपर्ने, स्वयंसेविकाका नाममा भइरहेको नर्सको श्रमशोषण बन्द गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त पुनर्बहाली गराउन पनि संघले माग गरेको छ। नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, सरकारी तथा निजी क्षेत्रका नर्सलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, विदा सुविधा र जोखिम भत्ता दिनुपर्ने, दुर्गममा काम गर्नेलाई उचित पारिश्रमिक र सुरक्षा प्रत्याभूति गर्नुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासको प्रस्ट खाका तयार गर्नुपर्ने माग पनि राखिएको छ।

नारायणी उपक्षेत्रीय अस्पतालमा आन्दोलनरत नर्स। तस्बिरः नर्स एसोसिएसन पर्साको फेसबुक

योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर, ब्याचलरलाई मास्टर र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन विदाको व्यवस्था गर्नुपर्ने माग पनि छ।

नर्सहरुले आज बुधबारसम्म दिनको तीन घन्टा काम छाडेर विरोध जनाउने छन्। माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमा काममै नजाने कार्यक्रम छ।

‘अझै माग पूरा नभए माघ ७ देखि चौबीसै घन्टा काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौं,’ संघकी कार्यवाहक अध्यक्ष थापाले भनिन्। आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघसंस्थाको समर्थन रहेको उनको भनाइ छ।

यसअघि विरोधकै क्रममा पुस २६ र २७ गते कालोपट्टि बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए।

स्वास्थ्य सचिव पुष्पा चौधरीले नर्सहरूका माग पूरा गर्न अनौपचारिक छलफल भइरहेको र छिट्टै समाधान हुने बताएकी छन्।

‘उहाँहरूका माग जायज छन्, छिट्टै समाधान हुन्छ,’ चौधरीले सेतोपाटीसँग भनिन्, ‘हामीले आजै उहाँहरूसँग अनौपचारिक छलफल गरिसकेका छौं। अब वार्तामा बोलाउँछौं र छुट्टै समिति बनाएर माग सम्बोधन गर्छौं।’

उनले स्वास्थ्य सेवामा प्रभाव नपर्ने गरी सांकेतिक आन्दोलन गर्न नर्सहरूलाई आग्रह गरेकी छन्।

नेपालमा नर्सिङ पेसाको इतिहास सय वर्ष पुग्न लागेको छ।

विसं १९८५ मा विद्यादेवी, राधादेवी, विष्णुदेवी र धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर पालामा प्रसूति सेवासम्बन्धी डेढवर्षे तालिम लिन भारत पठाइएको थियो। त्यसअघि विदेशबाट नर्स ल्याई राजपरिवार तथा विशिष्ट व्यक्तिले आफ्नो सेवामा लगाउँथे।

२००९ सालमा उमादेवी दास तथा रुक्मिणीचरण श्रेष्ठलाई भारतमा चारवर्षे नर्सिङ तालिम लिन पठाइयो। उनीहरू फर्किएपछि २०१३ सालमा पहिलोपटक नर्सिङ स्कुल खुलेको हो।

नर्सहरूले सय वर्षको इतिहासमा दुई दशकभन्दा बढी समय उस्तै खाले माग राखेर आन्दोलन गरेका छन्।

‘हाम्रो यो आन्दोलन २०५२ सालदेखिकै हो। ०६६/६७ सालमा पनि २१ बुँदे माग राखेर आन्दोलन गरेका थियौं,’ चौंलागाईंले भनिन्, ‘सरकारले सधैं दुई–तीनवटा माग पूरा गरेजस्तो गर्छ, फेरि टालटुल पार्छ।’

यसपालि भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रबाट नर्सहरू निकालिएपछि लामो समयदेखि थाती विरोध बल्झिएको उनले बताइन्।

नर्सिङ काउन्सिलमा अनमी र नर्स गरी ६७ हजार ८२ जना दर्ता छन्। तीमध्ये नर्सको संख्या ३७ हजार हाराहारी छ। स्वास्थ्य मन्त्रालयको २०७१ को तथ्यांकअनुसार सरकारी स्वास्थ्य सेवामा २० हजार ४ सय २३ जना मासिका, अनमी र नर्स कार्यरत छन्। निजी स्वास्थ्य संस्थामा कति छन् भन्ने यकिन तथ्यांक छैन। नेपालमा बिएस्सी नर्सिङका लागि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ।

नेपाल नर्सिङ संघको फेसबुकबाट।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.