चोरी भएको तीन दिनपछि विश्वकै महँगो भोड्काको बोतल डेनमार्कको एक निर्माणस्थलमा फेला परेको छ। प्रहरीका अनुसार फेला परेको बोतल खाली छ।
कार कम्पनी ‘रूसो बाल्टिक’ ले आफ्नो कम्पनीको सयौं वार्षिकोत्सवमा उक्त भोड्का उत्पादन गरेको मानिन्छ। बोतलको मूल्य करिब १३ लाख डलर तोकिएको छ।
बिर्कोमा हिरा जडित बोतलको बाँकी भाग सुन र चाँदीको छ। बोतलको अगाडिको भाग छालाले सजाइएको छ भने त्यसैमा ‘रूसो बाल्टिक’ कारमा प्रयोग हुने ‘रेडिएटर गार्ड’ को प्रतिमूर्ति पनि छ। बिर्कोे रसियामा पाइने चील आकारको छ जसको बाहिरी आवरणमा हिरा राखिएको छ।
गत मंगलबार यो कोपेनहेगनको ‘क्याफे ३३’ बारबाट चोरी भएको थियो। भोड्काका अनेकौं प्रकार प्रदर्शनीमा राख्नेबेला उक्त बारले यो बोतल पनि फिर्ता गर्ने गरी लगेको थियो।
प्रदर्शनी क्रममा बारमा आएका एक ग्राहकले उक्त बोतल बोकेर भागेका थिए। सिसिटिभी क्यामराले यी सब दृश्य कैद गरेका थियो। केही दिनपछि उक्त बोतल सुरक्षित अवस्थामा निर्माणस्थलमा भेटिएको हो।
‘त्यहाँभित्रको भोड्का के भयो, थाहा छैन। तर बोतल खाली थियो,’ कोपेनहेगन प्रहरीका प्रवक्ता रेड टुबाले भनेका छन्।
‘क्याफे ३३’ बारका सञ्चालक ब्रायन इन्वर्गले खाली भए पनि यसको मूल्य पहिलेकै जति हुने बताएका छन्।
‘भित्र भोड्का भएकाले कसैले खाएर फालिदियो होला। यो धेरै राम्रो भयो। भोड्काको कारण यो बोतल बच्यो,’ उनले भने।
उनीसँग यो बोतलमा राख्ने थप भोड्का भएको बताएका छन्। प्रदर्शनीमा राख्दा पुनः भर्नुपर्ने हुँदा उनले भण्डार गरिराखेको बताए।
चोरी भइसकेपछि इन्वर्गले उक्त बोतल लाट्भियाको ‘डार्ट्ज्ड मोटर कम्पनी’ सँग केही दिनका निम्ति मागेको जानकारी दिए। ६ महिनादेखि उनले यो बोतल प्रदर्शनीमा राखेका थिए।