‘फुटपाथमा पसल थाप्नु राम्रो होइन।’
कुरो ठीक हो। तर, तपाईं यो कसलाई भन्दै हुनुहुन्छ? पेमा दोर्जेलाई?
नभन्नुस्।
किनभने, यसमा पेमाको केही गल्ती छैन।
जस्तोसुकै अवस्थामा परिश्रम गरेर बाँच्न चाहने पेमाको सपना फुटपाथभन्दा माथिको थियो। उनले प्रयास गरेका पनि हुन्। त्यहाँ पनि शारीरिक अवस्था नै बाधक बनिदिएछ।
सबैभन्दा पहिले त पेमालाई नै चिनौं।
केही दिनअघि ललितपुर महानगरपालिकामा मैले पहिलोपटक उनलाई देखेको थिएँ। ह्विलचेयरमा गुड्ने उनी महानगरपालिकाको माथिल्लो तल्ला पुग्न सक्दैन थिए। मेयर आफैं तल ओर्लिएर भेट गरे। त्यो घतलाग्दो दृश्य देखेपछि नै यस्ता नागरिकको सार्वजनिक स्थानसम्म ओहोरदोहोर किन सम्भव हुँदैन भनेर समाचार तयार पारेँ।
यतिबेला मलाई पेमाबारे थप जिज्ञासा भयो। र, खोज्दै पुगेँ उनले फुटपाथमा पसल थापेको ठाउँ लगनखेल। सिन्धुपाल्चोकको ठूलो धादिङबाट बाल्यकालमै अवसर खोज्दै २०३७ सालमै काठमाडौं आएको उनले बताइसकेका थिए। त्यसको दस वर्षपछि उनले बौद्धतिर मजदुरी गरिरहेकी युवती मनपराए र बिहे भएको थियो। यो पनि पहिल्यै थाहा थियो।
[caption id="attachment_118774" align="alignnone" width="1200"]
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन कार्यालय परिसरमै ओर्लेर पेमासँग कुराकानी गर्दै। तस्बिरः गिरीश गिरी/सेतोपाटी[/caption]
लगनखेलबाट मंगलबजारतिर मोडिनासाथ सडक किनारमै मोजा र खिद्रिमिद्री लुगापसल फैलाएर चिच्याइरहेका सयौं व्यापारी देखिन्थे। उनीहरूभन्दा निकै पर एउटा कुनामा पेमाको पसल थियो।
‘उता मानिसको बढी आवतजावत भएकाले बिक्री पनि बढी हुन्छ,’ आफूजस्तै व्यापारमा लागेका सग्ला मानिसको हुल देखाएर पेमा भनिरहेका थिए, ‘नगरप्रहरी आउनेबित्तिकै मच्चिने भागाभागमा म दौडिन नसक्ने भएकाले अनुमति लिएरै यो कुनामा बसेको हुँ।’
रोजगारी खोज्दै भारतको मुम्बई पुग्दा दस वर्षअघि पेमा चल्दै गरेको रेलबाट लडेका थिए। त्यही रेलले उनका दुवै खुट्टा किचिदिए। त्यसपछि त्यो भिक्टोरिया टर्मिनल स्टेसनकै प्रहरीले उनलाई सेन्ट जर्ज अस्पताल पुर्याइदिए, जहाँबाट एघार महिनाको उपचारपछि उनलाई विदा गरियो।
‘भारततिर यस्तो परेपछि धेरै मानिस जताततै भीख माग्दा रहेछन्,’ उनले एक फन्को हात घुमाए र भने, ‘यहाँ काठमाडौंमै पनि भीख मागेर बसेका मानिस बढीजसो भारततिरबाटै आएका हुन्छन्।’
नेपालीहरू भने हत्तपत्त कसैको दया खोज्नुभन्दा परिश्रम गरेरै खाने गरेको देख्दा पेमालाई रमाइलो लाग्छ।
‘यस्तो भएपछि ह्विलचेयर प्रयोग गर्ने अरू पनि थुप्रै साथी बने,’ उनको अनुहारमा गर्वको अनुभूति दौडियो, ‘अर्काको दयामा बाँच्ने कुरा हामी कोही गर्दैनौं।’
पेमाजस्ता अपांगता भएका स्वाभिमानी नागरिक निम्ति नेपाल कत्तिको अनुकूल छ?
‘पटक्कै छैन,’ पेमाले भने, ‘भइदिएको भए म यसरी सडकमै बसिरहने नै थिइनँ।’
मुम्बईको बसाइँले खुट्टा लगिदिए पनि पेमाले हरेश खाएनन्। नेपाल फर्केर आए र सुरु गरे, लगनखेलको सडकपेटीमा मोजापसल थाप्न।
त्यतिबेला अहिलेजस्तो लगनखेलमा मारामार थिएन। टहरा राखेरै कमाउन दिइएको ठाउँमा उनको व्यापार राम्रै चल्न थाल्यो।
‘मुम्बईभन्दा पहिले साउदीअरब गएर कमाएको अलिकति बचत पनि थियो,’ पेमा भन्छन्, ‘त्यही पैसामा रिनपान गरेर सवा नौ लाखमा पुरानो घर किनेँ।’
गोदावरी नगरपालिकाको दमाइटारमा चार आनाको घर किन्दा लागेको डेढ लाख रुपैयाँ रिन उनले अझै तिरिभ्याएका छैनन्।
यसरी घर किनेको दुई वर्ष ननाघ्दै काठमाडौंमा सार्क सम्मेलनको तयारी सुरु भयो। सम्मेलनलाई सहर सिँगार्ने क्रममा उनीहरूले पसल थाप्दै आएको टहरा भत्काइयो। सडकमा त झन् पसल थाप्न दिने कुरै थिएन।
‘कतिसम्म ठप्प भयो भने,’ उनी भन्छन्, ‘त्यता वरपर हामीजस्ता पसले हिँड्ने कल्पना पनि गर्न नसकिने।’
सार्क सम्मेलन सकिएपछि पनि महिनौं बितिसकेको थियो। उनीहरूले पसल थाप्न पाएनन्।
‘यस्तो अवस्थामा सटर भाडामा लिएरै व्यापार गर्ने निधो गरेँ,’ उनी भन्छन्, ‘त्यसै हिसाबले दुई वर्षअघि एउटा सटर खोज्यौं।’
लगनखेल नजिकैको मच्छिन्द्रबहालबाट अलिक भित्रको गल्ली यताजस्तो चल्तीको त थिएन। तै व्यवस्थित ढंगले पसलै थापेर बस्ने उनको सपना पूरा गराउन त्यो पर्याप्त थियो।
‘मूल सडकबाट अलिक भित्रको गल्लीमा रहेको त्यो सटर भाडामा छ भन्ने थाहा पाएपछि श्रीमतीलाई कुरा गर्न पठाएँ,’ उनी भन्छन्, ‘आठ हजार महिनाको तिर्ने गरी कुरा तय पनि भयो।’
दुवै दम्पत्तीले त्यति पैसा तिर्न सकिन्छ भन्ने सल्लाह गरेपछि अगाडिको योजना सुरु भयो। पेमाले साथीभाइसँग थप पैसा खोजेर त्यो पसलमा मोजाबाहेक गतिला लुगाकपडा पनि राख्ने सोच बनाए।
त्यसपछिको अर्को दिन श्रीमतीसँग साथ लागेर पेमा पनि त्यो सटरका घरधनीसँग कुरा गर्न गए।
अघिल्लो दिन कुरा गर्न आएकी महिलासँग ह्विलचेयरमा गुड्दै अर्को मानिस पनि आएको देखेपछि सुरुमै उनीहरूले नाक खुम्च्याए। सोधिखोजी गर्दा ती महिलाकै श्रीमान् हुन् भन्ने थाहा पाएपछि घरबेटीले ‘ए लोग्ने त अपांग पो रहेछ’ भनेर प्रतिक्रिया दिएछन्।
‘मलाई यस्तो वचनको बानी परिसकेकाले खासै नरमाइलो लागेन,’ पेमा भन्छन्, ‘त्यसैले सटर भाडामा लिने कुराकानीमै केन्द्रित भएँ।’
त्यसपछि ती घरधनीले प्रयोग गरेको शब्दले भने पेमालाई भित्रैसम्म छोयो।
उनीहरूले पेमाको अवस्था हेर्दै ‘यस्तोले भाडा तिर्न सक्छ त?’ भनेर सोधेका रहेछन्।
जवाफमा पेमाले ‘किन नसक्नु?’ भनेछन् र थपेछन् ‘सकेनौं भने त तपाईंले निकालिहाल्नुहुन्छ नि!’
त्यतिन्जेल घरबेटीको कुराकानीको तरिकै बदलिसकेको थियो।
उनीहरूले एकपछि अर्को थोकका नाममा पैसा बढाउँदै लगेछन्। हुँदाहुँदा पेमालाई उनीहरूको घरमा शौचालय प्रयोग गर्न नदिने र गर्ने हो भने थप पैसा तिर्नुपर्ने सर्त राखेपछि अपहेलनाको हद नाघ्यो।
यता पेमाकी श्रीमती शौचालय प्रयोग गर्न बेग्लै पैसा तिर्नुपर्ने सर्त पहिल्यै किन नराखेको भनेर सोध्दै थिइन्। पेमालाई आफ्नो अवस्थाकै कारण ती घरबेटीले भाडामा दिनै नचाहेको भन्ने प्रस्ट हुँदै थियो।
‘कुरो बुझिसकेपछि मैले श्रीमतीको हात समातेँ,’ उनी भन्छन्, ‘त्यसपछि फर्कने इसारा गरेँ।’
फर्केपछि दुवै दम्पत्तीले दमाइटार गाउँमै छिमेकीको सटर भाडामा लिएर मोजा–कपडाकै पसल थापे।
‘पसल त चल्दैन थियो,’ पेमा भन्छन्, ‘गाउँमै बस्न थालेपछि घरमा कुखुरापालन गर्ने सोच पनि पलायो।’
त्यो पुरानो घरका तीन तल्लामध्ये भुइँतल्लामा आफूहरू अटाए खाली हलजस्तो माथिल्ला साँघुरा तल्लामा कुखुरा पाल्न सकिन्थ्यो।
पेमाले कुखुराका पाँच सय चल्ला ल्याए।
ती चल्लालाई ५० बोरा दाना खुवाएपछि ४५ दिनमा तयार हुँदा रहेछन्। त्यसमा खेर जाने कुखुरासमेत जोड्दा कम्तीमा ६० हजार कमाइ भएछ।
‘कसैगरी पाँच सयवटै कुखुरा बाँच्यो भने त एक लाख पनि नाघ्छ,’ पेमाले हाँस्दै नाक पुछे र भने, ‘तर, त्यस्तो कहाँ हुनु?’
जे भए पनि कमाइ दरिलो थियो। सबैथोक राम्रैसँग चल्दै गयो।
यस्तोमा आइदियो भुइँचालो।
‘कुखुरा हुर्किरहेकै बेला त्यो भुइँचालो आइदिएको भए त मेरो सर्वनाशै हुन्थ्यो,’ पेमाले भने, ‘तै भएभरका कुखुरा बेचेर अर्को लट पाल्न सबै सफा पारेर लिप्न मात्र बाँकी रहेका बेला त्यो विनाश भएको थियो।’
भुइँचालोमा पुरानो घर ध्वस्तै भएछ।
अनि पेमा कसरी बाँचे?
‘त्यो दिन कुमारीपाटीमा मेला छ भन्ने सुनेर म बिहानै यता आएको थिएँ,’ उनी भन्छन्, ‘त्यतिबेलै भागाभाग मच्चिहाल्यो।’
त्यो दिन भाग्यले आफू बाँचेको सुनाइरहँदा उनका आँखा चम्किला देखिन्थे।
त्यसपछि उनी ह्विलचेयर गुडाउँदै गाउँ पुगे। प्रकृतिको त्यस्तो विनाशलिला चल्दा पनि उनलाई केही नभएको देखेर गाउँलेहरू खुसी भएछन्।
‘घर त बस्नै नमिल्ने भइसकेको थियो,’ उनले थपे, ‘म छिमेकीको बारीको डिलमा बस्न थालेँ।’
भुइँचालोलगत्तै उनी जाने गरेको कमलपोखरीस्थित चर्चले विशेष चासो देखाएछ। पच्चीस हजार नगद दिनुको साथै चर्चबाटै स्वयंसेवक आएर टहरो उभ्याउन सघाइदिएछन्। गाविस र गोदावरीस्थित अपांग कल्याणकारी संस्थाले दिएको जस्तापाता छँदै थियो। त्यसमाथि तरुण दलका एक हुल तन्नेरीले चर्चका स्वयंसेवीसँग मिलेर चार दिनमै जस्ताको छाप्रो ठड्याइदिएछन्।
‘त्योबेला गाउँभरिलाई सघाउन आएका भाइबहिनीले मेरो बास थलो पनि उभ्याइदिए,’ पेमाले भने।
अहिलेसम्म उनको बसोबास त्यही टहरोमै चलिरहेको छ।
कुखुरा पाल्ने ठाउँ भत्केपछि र गाउँको पसलले पनि खासै आम्दानी गर्न नसकेपछि उनी फेरि लगनखेलको फुटपाथमा आइपुगेका रहेछन्।
‘अस्तिको दसैंदेखि फेरि यहाँ आइपुगेको हुँ,’ उनले भने, ‘उता गाउँमा त सटरको भाडा मात्र तिरेर कहिलेसम्म बस्ने?’
हिजोआज उनी सबेरै उठेर तयार हुन्छन्। घरबाट निस्केपछिको गोरेटो बाटो अलिक माथि पुगेपछि उकालो लाग्नुपर्छ। श्रीमती साथैमा रहने भएकाले त्यो उकालो छिचोलेर माथि सडकसम्म पुग्न समस्या हुँदैन। त्यहाँबाट लगनखेल आउने माइक्रो धमाधम छुटिरहेका हुन्छन्। उनले प्रायः बसका कर्मचारी चिनेका छन्। उनलाई र उनको ह्विलचेयर बसमा राखेपछि २० रुपैयाँ लिन्छन् र लगनखेल बसपार्कमा ओरालिदिन्छन्। दिनभरि यहाँ व्यापार गरेर उनी फेरि बेलुकी उसैगरी घर फर्कने गरेका छन्।
‘कहिलेकाहीँ श्रीमती नभएका बेला त्यो उकालो चढ्न सक्दिनँ,’ उनी भन्छन्, ‘त्यस्तो बेला गाउँको बाटै बाटो इमाडोल हुँदै ह्विलचेयर गुडाएरै आइपुग्ने गरेको छु।’
उमेरले पचास छुनै लाग्दा पेमालाई यसरी सधैंको आउजाउ गर्नुभन्दा कृषि गरेरै रमाउन मन छ। तर, कहाँ र कसरी गर्ने?
‘पिँधले टेकेरै भए पनि घर छेउछाउको जमिन खोस्रेर तरकारी लगाएको छु,’ उनी भन्छन्, ‘जीविकोपार्जनका लागि त अर्थोकै केही गर्नुपर्छ।’
उनलाई सबैभन्दा बढी विश्वास भएको काम कुखुरापालन नै हो।
‘अहिले आफै बस्ने ठाउँ नभइरहेका बेला कुखुरा कसरी पाल्ने?’ उनी भन्छन्, ‘त्यसको निम्ति त लगानी आवश्यक पर्छ।’
सरकारले कसैगरी सहुलियत दरमा रिनको व्यवस्था गरिदिए फेरि कुखुरा पाल्ने इच्छा पूरा हुने उनले सुनाए।
हामी यत्रो बेर कुराकानी गरिरहँदा पेमाको पसल उनकी श्रीमतीले सम्हालिरहेकी थिइन्। मैले तस्बिर खिच्न खोज्दा उनले मुख छोपिन्।
‘मुम्बईमा खुट्टा काटेर फर्केपछि मेरो निम्ति दुनियाँको सबै कुरा फेरियो,’ पेमाले श्रीमतीतिरै संकेत गरेर भने, ‘नबदलिएको एउटै चिज परिवार मात्र हो।’
संसार जतिसुकै मतलबी भए पनि जीवनसाथी एउटाको मात्र साथ पाउने हो भने केही फरक नपर्ने उनले सुनाए।
भनेपछि खुबै माया गर्नुहुँदो रहेछ?
‘हो,’ उनी मुसुक्क हाँसे।
के ले यस्तो प्रेम हुँदोरहेछ?
‘दुःख बुझेर होला।’
यति भनेपछि म आफ्नो बाटो लाग्छु भन्ठानेको थिएँ। म उभिइरहेँ। पेमाले अप्ठेरो गरेर मतिर हेरे, टाउको कन्याए र फेरि बोले
‘मयाँ प्रेम होला नि’
त्यसपछि काउकुती लागेजस्तो गरेर हाँस्न थाले।
(के सडक पेटीमा भागदौड नगरेरै बाँच्ने पेमाको चाहना पूरा होला? कुखुरापालनको सपना पूरा गर्न कसैले उनलाई रिन देला? पेमाजस्ता नागरिकले कुनै कारोबार गर्न चाहँदा हामीकहाँ कस्ता परिस्थिति भोग्नुपर्छ? समाज कस्तो छ? सरकार कस्तो छ? नीति कस्ता छन् र बैंकहरू के गरिरहेका छन्? यसबारे अर्को शृंखलामा।)