रानीपोखरी मन्दिर पनि मल्लकालीन ‘ग्रन्थकुट’ शैलीमै किन नबनाउने?

राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरीको वास्तविक स्वरुप।


काठमाडौं सभ्यता- ६

रानीपोखरी त पिँधमा एक तह कालो माटो भरेर मल्लकालीन शैलीमै बनाउन विज्ञहरुले सुझाव दिए। अब प्रश्न उठ्छ, पोखरी बीचको मन्दिर पनि मल्लकालको वास्तविक स्वरुपमै किन नबनाउने?

रानीपोखरी बीचमा बालगोपालेश्वर मन्दिर छ। मन्दिरको वास्तविक स्वरूप अहिलेजस्तो थिएन। यो ‘ग्रन्थकुट’ शैलीमा बनेको थियो। यसलाई ‘शिखर’ शैली पनि भनिन्छ।

रानीपोखरी आजभन्दा ३ सय ५० वर्षअघि बनेको सम्पदा हो। यसको अहिलेसम्म उपलब्ध पुरानो चित्र १ सय ७३ वर्ष अगाडिको छ (हेर्नुहोस् माथिको तस्बिर)। तत्कालीन काठमाडौंको परिवेश झल्किने उक्त चित्र सन् १८४५ को हो।

प्रुसियाका राजकुमार वाल्डेमर सन् १८४४ देखि १८४६ सम्म श्रीलंका, भारत र नेपाल भ्रमणमा निस्केका थिए। त्यसैबीच १८४५ फेब्रुअरी ५ देखि मार्च मध्यसम्म उनले काठमाडौं उपत्यका र नुवाकोट भ्रमण गरे। उनको भ्रमण डायरीमा नेपालको अध्याय पनि छ, जसमा रानीपोखरीको तत्कालीन चित्र संकलित छ। चित्रमा ‘रानी के ताल’ भनिएको छ।

त्यतिबेला राजा–महाराजा विदेश भ्रमणमा जाँदा कवि, कलाकार तथा साहित्यकार पनि लैजान्थे। यो चित्र भ्रमण दलकै चित्रकारले बनाएका हुन् वा राजकुमार आफैंले भन्ने प्रस्ट छैन। डायरीमै संकलित चित्रले रानीपोखरीको तत्कालीन स्वरूप भने झल्काउँछ। यसमा पोखरी बीचको मन्दिर ग्रन्थकुट शैलीमा बनेको देखिन्छ।

यसलाई पुष्टि गर्ने बलियो प्रमाण यसपालि रानीपोखरी उत्खनन क्रममा भेटियो।

पुरातत्व तथा सम्पदाविद्को टोलीले मंगलबार र बुधबार उत्खनन गर्दा पिँधमा मन्दिरको गजुर फेला पर्यो। छेउका केही भाग भाँच्चिएको उक्त गजुर अहिलेको मन्दिरबाट खसेको होइन।

‘यो ग्रन्थकुट शैलीको मन्दिरमा राखिने गजुरको एउटा हिस्सा हो,’ उत्खननमा संलग्न सम्पदाविद् तथा आर्किटेक्ट इञ्जिनियरिङका प्राध्यापक सुदर्शनराज तिवारीले सेतोपाटीसँग भने, ‘अहिले जुन ढाँचाको मन्दिर छ, त्यसमा यस्तो गजुर हुँदैन।’

उनका अनुसार फेला परेको भाग बज्रले बनेको ‘कमलाकार’ गट्टा हो। यसलाई ‘पद्माकार’ पनि भनिन्छ।

ग्रन्थकुट मन्दिरको गजुरमा तीन हिस्सा हुन्छन्। सबभन्दा मुनि घन्टाकार हुन्छ। त्योभन्दा माथि कमलाकार हुन्छ। त्यसको माथि कलश राखिन्छ। कलशलाई फेरि कमलाकार गट्टाले छोपिन्छ। यी सबै भाग बज्रले बनेका हुन्छन्।

उत्खननमा भेटिएको कमलाकार गट्टा मल्लकालीन मन्दिर पुनर्निर्माण गर्दा खसेको हुनसक्ने तिवारीले बताए।

गट्टाको बीचमा प्वाल छ। छेउमा छवटा कमलको पात आकार निकालिएको छ। केही पात भाँच्चिएको देखिन्छ। वास्तुशास्त्र अनुसार कमलाकार गट्टामा यस्ता पात ८ वा १६ वटा हुन्छन्। यहाँ भने १२ वटा हुनसक्ने अनुमान छ।

रानीपोखरीमा भेटिएको गजुरको एउटा हिस्सा। तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी

तीन सय ५० वर्ष पुरानो बालगोपालेश्वर मन्दिरको एक मात्र चिनो फेला परेपछि पुरातत्व तथा सम्पदाविद् दुबिधामा छन्।

२०७२ को भुइँचालोले भत्किएको यो मन्दिर जीर्णोद्वार हुँदैछ। काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणबारे अध्ययन गर्न पुरातत्व तथा सम्पदाविद् संलग्न विज्ञ समिति गठन गरेको छ। दुई दिनको उत्खननपछि बिहीबार बसेको समिति बैठकले ‘पिँधमा एक तह कालो माटो भर्ने र भत्किएको डिल मल्लकालीन स्वरूपमै बनाउने’ निर्णय गरेको छ।

‘पोखरी मल्लकालीन स्वरूपमा बनाएपछि बीचको मन्दिर पनि त्यतिबेलाकै ग्रन्थकुट शैलीमा किन नबनाउने भनेर छलफल सुरु गरेका छौं,’ समितिका सदस्य तिवारीले भने, ‘सहमति भइसकेको छैन।’

पुरातत्वविद्का दुईथरी तर्क छन्।

एकथरीले सम्पदा जीर्णोद्वार गर्दा वास्तविक स्वरूपमै फर्कनुपर्ने बताएका छन्। अर्काथरी भने कुनै कालखण्डमा भएको पुनर्निर्माण आफैं सम्पदा भएकाले जोगाउनुपर्ने तर्क गर्छन्।

तत्काललाई मन्दिर पुनर्निर्माण रोक्न सुझाव दिइएको तिवारीले बताए।

मन्दिरको स्वरूप समयक्रममा फेरिएको हो।

विक्रम सम्बत् १८९० को भुइँचालोपछि यसको पहिलो पुनर्निर्माण भएको थियो। त्यतिबेला ग्रन्थकुट शैलीमै बन्यो। १९५१ मा जंगबहादुर राणाले युरोपेली प्रभावमा परेर ‘गुम्बज’ शैली दिए। ९० सालको भुइँचालोपछि जुद्धशमशेरले यही रूपमा पुनर्निर्माण गराए।

यसको ठूलो पुनर्निर्माण २०१३ मा पनि भयो। पछिल्लोपटक राजा वीरेन्द्रको राज्याभिषेक बेला थप काम भए।

यसपालि काठमाडौं महानगरले ‘कंक्रिट’ मन्दिर बनाउन खोजेको थियो। सम्पदाविद्, युनेस्को र पुरातत्व विभागले विरोध गरेपछि महानगर पछि हट्यो। विभागले पहिलेजस्तै सुर्खीचुना नै प्रयोग गरेर मन्दिर बनाइरहेको छ।

मल्लकालीन ‘ग्रन्थकुट’ शैलीमै बन्ने टुंगो भए नयाँ ढंगबाट काम सुरु हुनेछ।

काठमाडौं उपत्यकामा ग्रन्थकुट शैलीका मन्दिर प्रशस्तै भेटिन्छन्।

राजा प्रताप मल्लले नै निर्माण गराएका अन्य संरचना यही शैलीका छन्। जस्तो– स्वयम्भूको प्रतापपुर र अनन्तपुर। अनन्तपुर उनले रानीका नाममा बनाएका थिए।

प्रताप मल्ल तन्त्रविद्यामा विश्वास गर्थे। हिन्दु र बौद्धतन्त्र दुवैमा उनको आस्था थियो। ग्रन्थकुट शैलीलाई बौद्धतन्त्रमा आधारित संरचना मानिन्छ। उनले ब्राह्मण, प्रधान र खस मगरलाई प्रत्यक्षदर्शी बनाएर मन्दिर बनाएको शिलालेखमा छ।

जीर्णोद्वार भइरहेको रानीपोखरी मन्दिर। यो मल्लकालीन वास्तविक स्वरुप होइन। तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी

सम्पदाविद् तिवारीले पुरानो चित्रमा देखिने रानीपोखरी मन्दिरलाई प्रतापपुर र अनन्तपुरसँग दाँजेर हेरेका छन्।

‘अरू सबै संरचना समान भए पनि एउटा भिन्नता देखिन्छ,’ उनले भने।

रानीपोखरी मन्दिरको ग्रन्थकुट शैलीमा चारैतिर प्रवेशद्वार छ। प्रतापपुर र अनन्तपुरमा भने मोहडा जतातिर फर्केको हो, त्यता मात्र छ। दक्षिणतिर फर्केको प्रतापपुरमा दक्षिणी मोहडामा प्रवेशद्वार छ भने उत्तरतिर फर्केको अनन्तपुरमा उत्तरतिर।

रानीपोखरीकै जस्तो चारढोका भएको ग्रन्थकुट मन्दिर पाटनमा देखिने उनी बताउँछन्। मन्दिरभित्र शिवलिंग रहेकाले पनि चार ढोका राखिएको हुनसक्ने उनको आकलन छ।

‘पुरानो चित्रका आधारमा मन्दिर बनाउँदा उचाइ भने फेरि हिसाब गरेर निकाल्नुपर्छ,’ तिवारीले भने।

उनका अनुसार चित्रमा मन्दिरको तल्लो भाग र माथिल्लो ग्रन्थकुट आकार समानुपातिक छैन। चित्रकारले मन्दिरको आकार वास्तविकभन्दा अग्लो बनाएको हुनसक्ने उनको भनाइ छ।

‘सामान्यतया मन्दिरको तल्लो भाग जत्रो छ, ग्रन्थकुट शैली त्यसको साढे दुई गुणा अग्लो हुन्छ,’ उनले भने, ‘त्यही शैलीमा बनाउने हो भने उचाइ हिसाब गरेर निकाल्नुपर्छ।’

त्यसो भए रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालको वास्तविक स्वरूपमै बनाउन सकिन्छ कि सकिँदैन?

‘सकिन्छ, र यो राम्रो पनि हुन्छ,’ तिवारीले भने, ‘विगतमा पुनर्निर्माण गर्दा वास्तविक स्वरूप बिगारिएको थियो, अहिले सच्याउने अवसर छ।’

‘कुनै कालखण्डमा कुनै पुस्ताले बिगारेको संरचना नै हामीले निरन्तरता दिनुपर्छ भन्ने छैन, सच्याएर जान सकिन्छ,’ उनले भने।

रानीपोखरी संरक्षण अभियानमा संलग्न अभियन्ता पनि पोखरी सँगसँगै मन्दिर मल्लकालीन वास्तविक स्वरूपमै जीर्णोद्वार गरिनुपर्ने बताउँछन्।

‘अहिलेको गुम्बज शैली हाम्रो मौलिक होइन। जंगबहादुरले युरोपेली प्रभावमा परेर बनाएका हुन्,’ रानीपोखरी संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘हाम्रो मौलिक भनेको शिखर (ग्रन्थकुट) शैली नै हो।’

‘पुनर्निर्माण क्रममा त्यही स्वरूप दिएर मल्लकालीन शैली ब्युँताउनु राम्रो हुन्छ,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.