पाटनका मन्दिर कथा सुनाउँदै हिँड्ने ‘मास्टर बाजे’

रामप्रसाद अमात्य (बायाँ) स्थानीयसँग कुरा गर्दै। तस्बिरः रवि महर्जन/सेतोपाटी


पाटनमा रहेका कुनै मन्दिरबारे जान्न चाहनुहुन्छ?

स्थानीयलाई सोध्दा प्रायः एउटै जवाफ दिन्छन्, ‘हामीलाई के सोध्नुहुन्छ? मास्टर बाजेलाई सोध्नुहोस्। उहाँलाई सबै थाहा छ।’

स्काउटबाट अवकाशप्राप्त यी ‘मास्टर बाजे’ पाटन दरबार स्क्वायरमा बसिरहेका हुन्छन्– घाम ताप्दै र मन्दिर ज्ञान बाड्ँदै।

उनलाई खोज्ने क्रममा भेटिएका गणेश चित्रकार भन्दै थिए, ‘ए ती बाजे? उनी त मन्दिरका शिलालेख पढ्दै हिँडिरहेका हुन्छन्। बाजेको दिनभरि बासै मन्दिर वरिपरि हुन्छ। उनलाई इतिहासको सबै कुरा थाहा छ।’

नभन्दै, मास्टर बाजे पाटन संग्रहालयस्थित डबलीमा भेटिए।

मास्टर बाजे, अर्थात् रामप्रसाद अमात्य।

उनी हरेक बिहान बंगलामुखी, कुम्भेश्वर महादेव, नारायण मन्दिर लगायत पाटनका धेरै मठ–मन्दिर चहार्छन्। दर्शन गर्न मात्र होइन, मन्दिरको सतहदेखि गजुरसम्म हेर्न र त्यसमा लुकेका कथा उधिन्न।

‘हाम्रा पुर्वजले हामीलाई कलात्मक धरोहर दिएर गएका छन्,’ उनले सेतोपाटीसँग भने, ‘यिनै धरोहरले हाम्रो देशलाई विश्वसामु चिनाएको छ। यस्ता सम्पदा छाडेर जाने पुर्वजलाई म मनैदेखि नमन गर्छु।’

कुनै समय स्काउटमा मास्टर रहेकाले ‘मास्टर बाजे’ उपनाम पाएका अमात्य ८२ वर्षका भए।

‘म १९९३ सालमा जन्मेको,’ आफ्नो जन्ममिति बताउँदा बताउँदै उनका आँखा चारनारायण मन्दिरमा अडिए।

‘यो मन्दिर ९० सालको भुइँचालोमा पूरै भत्किएको थियो। त्यो समय दुई वर्षमै यसको पुनर्निर्माण भयो,’ उनले भने, ‘अहिले त खोई, टार्ने मात्र काम हुन्छ।’

चारनारायणको कुरा गर्दा गर्दै उनले विश्वनाथ, कृष्ण मन्दिर लगायतको इतिहास बताउन थाले। हामीले उनलाई बीचमा रोकेर उनकै बारेमा सोध्न खोज्दा सरोज नाम गरेका पर्यटक गाइडले भने, ‘बाजेलाई भन्न दिनुस् न। बाजे फेरिफेरि भनिरहन झिँजो मान्छन् के!’

सरोज पाटन आउने पर्यटकलाई यहाँका मन्दिरबारे जानकारी दिन्छन्। उनले यी सबै ज्ञान अमात्यसँगै सिकेका हुन्।

‘बाजे त मेरा गुरु हुन्। मन्दिरबारे केही जान्नु छ भने म बाजेलाई नै आएर सोध्छु,’ उनले भने, ‘फुर्सद हुनेबित्तिकै मन्दिरको बारेमा कुराकानी गर्न आइहाल्छु।’

अमात्यले मन्दिर मात्र होइन, आफ्नै जीवनको इतिहास पनि सम्झिएका छन्।

रामप्रसाद अमात्य। तस्बिरः रवि महर्जन/सेतोपाटी

उनले औपचापरिक शिक्षा लिएका छैनन्। गुरु धर्मलाल शाक्यसँग नेपाली पढेर पछि मगंलबजारस्थित नवीन प्रौढ भन्ने स्कुलमा अंग्रेजी पढ्न गएका थिए। एक महिना नबित्दै उनलाई औपचारिक पढाइ बेस्वादको लाग्यो। शिक्षक नियमित नआउने समस्याले उनको मन त्यसै मर्यो।
‘त्यतिबेलै मलाई इतिहासमा रूचि थियो,’ उनले भने, ‘म मन्दिरका शिलापत्र हेर्दै हिँड्थेँ, इतिहासका पुस्तक पढ्थेँ।’

हातमा पैसा पर्नेबित्तिकै जम्मा गर्ने र इतिहासका नयाँ किताब किन्ने उनको बानी थियो। इतिहासमा यस्तो लत बसेको थियो, किताब जतिसुकै महँगो भए पनि किन्न हतारिन्थे।

यही पुस्तक र इतिहासमा रूचि देखेर २०२१ सालमा उनलाई साथी राज उपाध्याय शर्माले नमूना मच्छिन्द्र माध्यमिक विद्यालय बोलाए, मास्टरका रूपमा।

‘म त अलमल्ल परेको थिएँ। राणा शासनमा पढेको नेपालीबाहेक मसँग कुनै ज्ञान थिएन। फेरि मलाई नै पढाउने प्रस्ताव राखिएको थियो,’ उनले भने, ‘साथीहरूले सामाजिक विषय पढाउने भनेर लगेका थिए। मैले त्यसैअनुरुप पढाउन सुरु गरेँ। सामाजिक विषय पनि इतिहाससँग जोडिएको हुन्छ। तै मलाई पढाउन सजिलो भयो।’

‘मैले पढाउने भनेपछि विद्यार्थी ध्यान दिएर सुन्थे। यसैले पनि यो पेसामा म भिज्दै गएँ, रमाउँदै गएँ,’ उनले भने।

उनले आफूले पढाउने गरेको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयमा नै पहिलोपटक स्काउट स्थापना गरे। स्काउटकै कार्यक्रम क्रममा उनी दुर्गम भू–भाग पुग्नुपर्थ्यो, जहाँ उनी इतिहास र संस्कृतिका ज्ञान बाँड्थे।

वास्तुशास्त्र पढिरहेकादेखि स्कुले केटाकेटीसम्म पाटनका मन्दिर विषयमा जान्न अमात्यलाई नै खोज्दै आइपुग्छन्। पछिल्लो समय उनलाई भेट्दा उनले यस्तै भेटको रमाइलो प्रसंग सुनाए।

‘केही दिनअघि रातो बंगला स्कुलले मलाई ४५ मिनेटको लागि पाटनका मन्दिरबारे बोल्न डाकेको थियो। मलाई त मन्दिर कहिले बनेको भन्ने तिथिमिति मात्र बताएर पुग्दैन। मन्दिरको टुँडाल, बनोट, आकार लगायतको विस्तृत कुरा बताउन मन लाग्छ। दुई–चारवटा मन्दिरबारे बताउँदा बताउँदै समय सकिएछ,’ उनले भने, ‘बाँकी अर्को भेटमा भनौंला भनेर छोटो छोटो बताउँदै बाहिरिएँ।’

उनले अर्को प्रसंग पनि सुनाए।

‘च्यासल इञ्जिनियरिङ क्याम्पसबाट तीन जना विद्यार्थी मन्दिरको विषयमा मलाई खोज्दै आइपुगेका रहेछन्। क्याम्पसले रिपोर्ट बनाउन भनेको रहेछ। मैले मन्दिरको विषयमा लहरै बताएँ,’ उनले भने।

शिलालेख पढ्दै हिँड्ने, इतिहासको विषयमा अध्ययन गर्दै हिँड्ने अमात्यले मन्दिरको तथ्यांक संकलन गरेर सानो नोटबुक पनि तयार गरेका छन्।

‘कति मानिस नोटबुकको फोटोकपी गर्नुपर्यो भन्दै आइपुग्छन्,’ उनले भने, ‘आजकलका मानिसमा अध्ययन गर्नुपर्छ भन्ने धारणा नै छैन। सबै सजिलो उपाय अपनाउन लागिपरेका छन्।’

मन्दिरको विषयमा मानिसले सतहबाट मात्र अध्ययन गरेको उनी बताउँछन्। कति त अरुले सुनेको र पुस्तकमा लेखेको कुरालाई नै इतिहास मान्ने गरेकोमा उनको गुनासो छ।

‘इतिहास भनेको गहिरो कुरा हो। यसलाई पुस्तकमा पढेर, सुनेर मात्र पुग्दैन यसको विषयमा गहिरो अध्ययन पनि गर्नुपर्छ,’ उनले भने।

रामप्रसाद अमात्य। तस्बिरः रवि महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.