गर्लान् हाम्रा कूटनीतिज्ञले ‘गल्फ डिप्लोमेसी’?

नेपाली सेनाको गुह्यश्वरीस्थित गल्फ मैदानमा परराष्ट्रका अधिकारीहरू। तस्बिर सौजन्य : परराष्ट्र मन्त्रालय।


पाँच वर्षअघि परराष्ट्र मन्त्रालयका सहसचिव भरत पौडेल राजदूत बनेर पाकिस्तानको इस्लामावाद गए। त्यहाँको नेपाली दूतावासले अफगानिस्तान, इराक, इरान र टर्कीसँगको सम्बन्ध पनि हेर्नुपर्छ।

पौडेलले पाकिस्तानसँगको सम्बन्ध त हेर्थे नै, अन्य चार मुलुकसँगको सम्बन्ध पनि कम महत्वपूर्ण थिएन। त्यसमाथि अफगानिस्तान र इराकमा नेपाली कामदारका पेचिला मुद्दा प्रशस्तै आइरहन्थे।

पेचिला र जटिल मुद्दा सल्टाउन औपचारिक सम्पर्क र वार्ताले मात्र सधैं पुग्दैन। कुटनीतिज्ञहरूबीच अनौपचारिक सम्बन्धले कैयन् अप्ठ्यारा विषय सुल्झाउन सहयोग पुगेको उदाहरण विश्व कूटनीतिमा धेरै छन्।

पौडेल पनि अनौपचारिक सम्बन्ध बढाउन ‘गल्फ कोर्स’ जान थाले।

‘भेटघाट र कुराकानी कति औपचारिक हुन्थे कति अनौपचारिक,’ पौडेलले सेतोपाटीसँग भने, ‘अनौपचारिक भेट हुने राम्रो ठाउँ गल्फ मैदान थियो। आफूलाई भने खेल्न आउँदैनथ्यो, कहिलेकाहीँ जाँदा हाँसको बथानमा बकुल्लो भइन्थ्यो।’

अरु देशका कूटनीतिज्ञले मैदानमा घन्टौं समय बिताउँदा पौडेलले भने पहिल्यै मिलाइएको समयमा कुरा गरिसक्नुपर्थ्यो।

पौडेलले गल्फ खेल्न सिक्ने निर्णय गरे।

‘मैले पाकिस्तानमै गल्फ सिकेँ, आफूलाई खेल्न आएपछि पहिलाभन्दा धेरै सजिलो र प्रभावकारी भयो,’ पौडेलले भने।

पछिल्लो समय संसारभर ‘गल्फ डिप्लोमेसी’ लोकप्रिय छ।

कतिपय द्विपक्षीय महत्वपूर्ण निर्णयको आधार नै गल्फ मैदान बनेको छ। गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया भ्रमणमा आए। जापानको युएस एकोटा एयरबेसमा ओर्लिएपछि उनी नजिकैको कावागोउ क्लब पुगे।

क्लबमा जापानी प्रधानमन्त्री सिन्जो आबे ट्रम्पलाई कुरिरहेका थिए।

दुवै नेता गल्फ मैदानमा जानुअघि आबेले ट्रम्पलाई एउटा टोपी दिए। जसमा लेखिएको थियो– डोनाल्ड र सिन्जोले गठबन्धन (अमेरिका र जापानको) लाई अझै मजबुत बनाउने छन्।’

यसअघि आबे अमेरिका भ्रमणमा जाँदा पनि दुई नेताले फ्लोरिडामा गल्फ खेलेका थिए। फ्लोरिडामा ट्रम्पको निजी ‘गल्फ कोर्स’ छ।

पहिलो विश्वका शक्तिशाली देशहरु मात्र होइनन्, भुटान लगायत देशमा पनि पछिल्लो समय कूटनीतिज्ञले गल्फ खेल्ने संस्कृति बढ्दै गएको छ।

कूटनीतिमा गल्फ खेलेको मात्र होइन, नखेलेको पनि समचार बन्ने गरेका छन्। जापानमा ट्रम्पले आबेसँग गल्फ खेलेको मात्र समचार बनेन चीनमा ट्रम्प र सी चिनफिङले किन गल्फ खेलेनन् भन्ने पनि समाचारका हेडलाइन बने।

चीनमा गल्फ राजनीतिक रूपमा विवादस्पद मानिन्छ, त्यसैले चिनियाँ अधिकारीहरुलाई विदेशीसँग गल्फ खेल्न मनाही गरिएको छ।

ठूलादेखि साना मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र कूटनीतिक अधिकारीबीच गल्फ लोकप्रिय हुँदै गए पनि नेपाली कूटनीतिज्ञ भने ‘गल्फ डिप्लोमेसी’ मा अभ्यस्त थिएनन्। उनीहरूमध्ये बहुसंख्यकलाई गल्फ खेल्नै आउँदैन।

आफ्ना कूटनीतिज्ञ ‘हाँसको बथानमा बकुल्ला’ नबनून् भनेर पराराष्ट्र मन्त्रालयले अफिसरहरुलाई गल्फ सिकाउन सुरु गरेको छ।

मन्त्रालयका १ सचिव, १२ सहसचिव र १ उपसचिवले अघिल्लो महिना गल्फ सिकेका छन्।

परराष्ट्र प्रवक्ता पौडलका अनुसार नेपाली सेनाको गुहेश्वरीस्थित गल्फ मैदानमा उनीहरुले १२ दिन गल्फ सिकेका हुन्। मंसिर १० देखि सेनाका प्रशिक्षक धनबहादुर थापा र भरत आचार्यले दुई समूहमा बाँडेर परराष्ट्रका अधिकारीलाई गल्फ सिकाएका थिए।

‘गल्फ खेलको मित्रता अरुभन्दा फरक हुन्छ। त्यहाँ चिया कफीको अवसर हुन्छ, सम्बन्ध विस्तार गर्ने योभन्दा ठूलो अर्को कुनै फोरम नै हुँदैन,’ पौडेलले भने, ‘हाम्रा कूटनीतिज्ञले गल्फ नजानेकै कारण यो अवसर नगुमाऊन् भनेर खेल्न सिकाइएको हो।’ममम

परराष्ट्रमै २२ वर्ष बिताएका सहसचिव तापस अधिकारीले पनि यसपालि गल्फ सिके। केही अन्तर्राष्ट्रिय मिसनमा गएर फर्केका उनलाई लाग्छ— गल्फले सघाउने छ। सम्बन्ध विस्तार गर्ने नयाँ सम्भावना खुलेको छ।

‘पहिला आफूलाई आउँदैनजस्तो लाग्थ्यो, सिकेपछि आत्मविश्वास बढेको छ। नियम र खेलका विशेष शब्द जानिएको छ,’ अधिकारीले भने, ‘प्रतियोगितामा भिडेर पुरस्कार नपाउँला तर मलाई त खेल्न आउँदैन भनेर अब खुम्चिनु पर्दैन।’

मन्त्रालयको दक्षिण एसिया महशाखा प्रमुख सहसचिव भिगु ढुंगानाले पनि यसपालि पहिलोपटक गल्फ सिके। नयाँ दिल्ली, कायरो र जेनेभाका नेपाली दूतावासमा काम गरेका ढुंगानाले थाहा पाएका थिए— गल्फ मैदानमा कूटनीतिका अनौपचारिक तर महत्वपूर्ण धेरै कुरा हुन्छन्।

आफूले खेल्न नजानेकोमा भने उनलाई नमज्जा लाग्थ्यो।

‘अहिले त हरेक कूटनीतिज्ञलाई गल्फ सिक्नु जरुरी भइसक्यो, यसले सम्बन्ध विस्तार मात्र होइन पहिचान र प्रभाव पनि विस्तार गर्छ,’ ढुंगानाले भने।

१२ दिनको सिकाइले सीपसँगै आत्मविश्वास बढाएको उनले बताए।

‘साइकल सिकेजस्तै त हो नि, केही तरिका र खेलको भाषा जानिएको छ, आफैं पनि खेलिरहनुपर्ला भन्ने सोच छ,’ ढुंगानाले भने, ‘खेलाडीको तहमा प्रतिस्पर्धी बन्न नसके पनि कूटनीतिज्ञबीच प्रतिस्पर्धा भयो भने त उपाधि पनि जित्न सकिएला नि।’

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले आफूहरुको पुस्तामा गल्फ खेल्ने चलन नभएको बताए।

‘हाम्रो पुस्तालाई त यस्ता कुरा सिकाइएन, तर अहिलेका पुस्ताले सिकेर जानु राम्रो कुरा हो,’ भट्टराईले सेतोपाटीसँग भने, ‘हामीसँग हार्ड पावर छैन, न त इकोनोमिक पावर नै छ, हाम्रो पावर संस्कृति नै हो। यही कुरालाई त्यस्तै अनौपचारिक ठाउँमा उपयोग गरेर सम्बन्ध बलियो बनाउनुपर्छ।’

नेपाली दूतावास रहेका प्रायः सबै सहरमा गल्फ क्लब भएको उल्लेख गर्दै भट्टराईले गल्फ सिक्नु सकारात्मक सुरुआत भएको बताए।

‘गल्फ अहिलेको आवश्यकता भइसक्यो, हाम्रा कूटनीतिज्ञले पनि सिक्नु सकारात्मक सुरुआत हो,’ भट्टराईले भने।

राजनीतिशास्त्री हरि शर्माका विचारमा हाम्रा लागि गल्फ ‘ग्ल्यामर’ हो। सम्भ्रान्तहरुले खेल्ने यो खेल जानिराखे ‘हाइ टेबल’ मा प्रवेश पाइन्छ। यसले सम्बन्ध बढाउने मौका दिन्छ। यसबाहेक हाम्रा कूटनीतिज्ञले सिक्नुपर्ने अन्य थुप्रै कुरा भएको उनी बताउँछन्।

‘गल्फ मैदानले कुरा गर्ने ठाउँ दिन्छ, तर भाषा र विषयवस्तुको ज्ञान र त्यसलाई राम्ररी भन्न सक्ने खुबी हाम्रा कूटनीतिज्ञमा हुनुपर्छ,’ शर्माले भने, ‘अहिले हाम्रा धेरै कूटनीतिज्ञमा यी कुराको अभाव देखिन्छ।’

शर्माले मर्यादा, बोल्ने तौरतरिका, भाषा र विषयवस्तुको दक्षता भए कूटनीतिज्ञको आत्मविश्वास बढ्ने बताए।

‘हाम्रा कूटनीतिज्ञहरूले अहिले पनि आफ्ना कुरा स्पष्ट भन्न सक्दैनन्, उनीहरुको आत्मविश्वास बढाउन मन्त्रालयमै १० मिनेटसम्म कुनै विषयमा बोल्न लगाउने कार्यक्रम पनि चलाउन सकिन्छ,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.