प्रहरीले बल प्रयोग गरेर खुलायो बीपी राजमार्ग

फाइल फोटो


काभ्रे पात्लेखेतका स्थानीयले बिहानदेखि बन्द गरेको बीपी राजमार्ग नेपाल प्रहरीले बल प्रयोग गरेर खुलाएको छ।

तीन दिनअघि सवारी दुर्घटनामा मारिएकी महिलाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर स्थानइले मंगलबार बिहानदेखि राजमार्ग बन्द गरेका थिए।

काभ्रेका प्रहरी प्रमुख सहकुल थापाका अनुसार स्थानीयको बन्दमा प्रहरीले हस्तक्षेप गरी बाटो खुलाएको हो।

‘बन्द खुलाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि पाँच राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो,’ थापाले भने, ‘अहिले अवस्था सामान्य छ।’

तीन दिनअघि बसको पछाडिको टायरमा किचिएर पात्लेखेतमा एक महिलाको मृत्यु भएको थियो। मृतकका परिवारले १२ लाख क्षतिपूर्ति मागेका थिए।

बस सञ्चालकले ८ लाख मात्र क्षतिपूर्ति दिने अडान राखेपछि दबाब दिने पीडित पक्षले बन्द आह्वान गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.