अचेल त सपथ खाँदा पनि मन्त्रीले दौरा सुरवाल लगाउन छोडे : सत्यमोहन जोशी


सोमबार दिउँसो राष्ट्रिय सभामा चहलपहल थियो। दौरा सुरुवाल र टोपीमा ठाँटिएका पुरुषसँगै टाउकोमा ढाका टोपी पहिरिएका महिलामध्ये कोही फोटो खिचिरहेका थिए, कोही सेल्फी।

सर्वसाधारणमात्र होइन, नेतादेखि सँस्कृतिविद्सम्म राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर कार्यक्रममा पुगेका थिए।

श्रद्धावान नेपालले प्रस्तावित राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका संस्कृतिविद् सत्यमोहन जोशी, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता रामशरण महत र एमाले नेता लालबाबु पण्डित पनि दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएका थिए।

कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले पछिल्लो समय राष्ट्रिय पोशाकको प्रयोगमा सरकार नै उदासिन भएको बताए। ‘मन्त्रीहरुले सपथ खाँदासमेत राष्ट्रिय पोशाकलाई ख्याल गर्न छोडिसके,’ जोशीले भने, ‘अब नयाँ मन्त्रीले सपथ खाँदा राष्ट्रिय पोशाकलाई पनि ख्याल गनुपर्छ।’
कार्यक्रममा बोल्दै माओवादी नेता श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको उन्मुलन, सुशासन र समृद्धिमा अबको सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

‘यसमा राष्ट्रिय पोशाकको कुरा पनि महत्वपूर्ण हुन्छ,’ श्रेष्ठले भने, ‘सबै मातृभाषा राष्ट्रिय भाषा हुन्। सबै पोशाक राष्ट्रिय पोशाक हुन्। तर अन्तर्राष्ट्रिय मञ्च हामी परिचित हुन औपचारिक पोशाकको आवश्यकता पर्छ। यसका लागि यसलाई राष्ट्रिय बहसमा ल्याउनुपर्छ।’

एमाले नेता लालबाबु पण्डितले पनि श्रेष्ठकै कुरामा सही थापे। उनले राष्ट्रिय पोशाकबारे मदन भण्डारीले भनेको कुरालाई समेत जोडे।
‘भण्डारीले राष्ट्र प्रमुखको सम्बोधन, विदेशी राष्ट्र प्रमुखको सम्बोधन र विदेशी कुटनीतिज्ञसँग भेट्दाबाहेक अनुकुल हुुँदा मात्र दौरा सुरुवाल र ढाका टोपी लगाउन भन्नुभएको थियो,’ पण्डितले भने।

उनले समय र परिस्थिति अनुसार औपचारिक पोशाकको पनि ख्याल गर्नुपर्नेमा जोड दिए।

कांग्रेस नेता रामशरण महतले राष्ट्रिय पोशाक दौरा सुरुवाल, ढाका टोपी र गुन्यु चोलो बनाउनका लागि पहल गर्नुपर्ने बताए।

‘अन्तराष्ट्रिय मञ्चमा उभिँदा राई, गुरुङ, बाहुन, क्षेत्री, तराई, पहाड, हिमालमा लगाइने पोशाकमा प्रतिनिधित्व हुँदा फिका हुन्छ,’ महतले भने, ‘यसलाई ख्याल गर्दै औपचारिक राष्ट्रिय पोशाक हुनु आवश्यक छ।’

२०७० सालदेखि जनवरी १ लाई केही युवाले टोपी दिवसका रुपमा मनाउन थालेका थिए। सो अभियान अहिले विस्तार भएको छ। पछिल्लो समय जनस्तरबाट जनवरी १ लाई टोपी दिवसका साथै राष्ट्रिय पोशाक दिवसका रूपमा मनाउन थालिएको छ।

सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.