‘आमाबुबा बचाउन सकिनँ, अब लाङटाङ बचाउँछु’

तस्बिर : विद्या राजपुत


२०७२ बैसाख १२ गते। शनिबारको दिन।

शिक्षक फिन्जो तामाङ बिहानै खाना खाइवरि थाङस्यापबाट लाङटाङ जाँदै थिए, आमाबुबा भेट्न।

छिटो–छिटो पाइला चाल्दै गरेका फिन्जो एक्कासि तर्सिए। धर्ति नै फाटेको जस्तो ठूलो आवाज उनको मुटुसम्म पुग्यो। थरर्र कामे।

उभिएकै ठाउँ अगाडिका पहाडबाट ठूल्ठूला ढुंगाले लखेट्न थाले। धर्मराएको शरीर भगाउँदै एउटा ठूलो ढुंगाको कापमा लुकाए। धर्ति कामिरहँदा उनको मन कामिरहेको थियो। राताम्मे आँखाले आमाबाबुको गाउँ नियालिरहेका थिए।

ग्वार्लाम्म!

ठूलो हिमपहिरोले उनले हेरिरहेको त्यो गाउँ खोला झैं बगायो।

उनका आँखा त्यहीँ अडिए। एउटा घर पनि देख्न सकेनन्।

आमाबुवालाई पनि देख्न सकेनन्।

गाउँबाट जम्मै पाँच मिनेटको दूरीमा थिए। आमाबुबा भेट्न त्यही पाँचै मिनेट त बाँकी थियो। तर एक मिनेटको भुइँचालोले आमाबाबु भेट्ने सपना अधुरै रह्यो।

लाङटाङ सोहोरिएको प्रत्यक्षीदर्शी थिए फिन्जो। सबै बाटा बन्द भए। उद्दार गर्न सक्ने अवस्थामा पनि भएनन्।

आँखा अगाडि पुरिएका आमाबाबु र थाङस्यापमा बस्ने परिवारको बीचमा थिए उनी, एक्लो।

दुई घण्टा आगाडि छोडेर आएको परिवार सम्झेर उनको मन झनै आत्तियो।

उनले सम्झँदै भने, ‘मनमनै सोचेँ, लाङटाङमा जस्तो त त्यहाँ हिउँ पहिरो गएको छैन होला। त्यहाँ हिमपहिरो आउने ठाउँ नै छैन। यही कुराले थोरै भए पनि ताकत आयो र म थाङस्यापतिरै दगुरेँ।’

थाङस्यापको हालत पनि लाङटाङ जस्तै।

सबै घर ध्वस्त, लाङटाङ खोला पारिका जंगलहरु सबै ढलेका।

‘थाङस्याप पनि लाङटाङ जस्तै भएछ। ठाउँ नै चिन्न नसकिने गरि पहिरोले पुरेको र सबै ठाउँ कालो,’ उनले भने, ‘घरतिर लम्केँ, कोही पनि बाँचेनन् भन्ने लाग्यो। अब सबै बर्बाद भयो। म एक्लै भएँ, कोही छैन भन्दै आत्तिएँ।’

आत्तिएको मनसहित शरीर दौडाउँदै गर्दा बाटामा घाइतेको उद्दार गरेको पनि उनले बताए। ‘गाउँ नै पुरिएर आमाबुबा अवस्था के छ भन्ने थाहा नपाई फर्केको थिएँ। बाटामा घाइते देख्दा झनै आत्तिन्थेँ। सक्दो सहयोग गरेँ,’ फिन्जोले भने, ‘जाँदै गर्दा एक ठाउँमा पुग्दा खच्चर चालकको खुट्टा भाँचिएर बसेका रहेछन्। उनलाई बोकेर ओडारसम्म पुर्याइदिएँ।’

माने आइपुग्दा उनले एक विदेशी देखे। गुहार माग्दै गरेका। विदेशीको घाँटीसम्म हिउँले पुरेको थियो। हात र टाउको मात्र देखिन्थ्यो।

‘गुहार माग्दै थिए। मलाई हतार थियो। तर, यसै छाड्न सकिनँ। उनलाई तानेँ। तर, हिउँ त सिमेन्ट झैं जमेको थियो। हातको बलले भ्याएन। लठ्ठीले खन्न थालेँ, भाँचियो। बाटामा अर्को मान्छेसँग मद्दत मागेँ। दुई जना मिलेर आइस खन्दै उसलाई निकाल्यौं,’ उनले भने, ‘त्यसपछि घरतिर दौडिएँ। बाटाभरी चौंरीगाई मरेका र घर भत्किएका मात्र देखेँ।’

उनी हतासिँदै घर पुगे।

घर भत्किएको थियो।

परिवारले चलाएको होटलका सबै सामान छरपस्ट थिए।

श्रीमती घाइते भएर लडिरहेकी थिइन्।

अरु सबै जना रोइरहेका थिए।

‘कसैका आमा मरेका थिए, कसैका बाबु। कोहीले श्रीमान गुमाएका थिए, कोहीले श्रीमती। कसैले आफ्ना केटाकेटी,’ फिन्जोले भने, ‘यो सब देख्दा आफूलाई लाचार लाग्यो। गर्न सक्ने केही नै थिएन।’

‘मैले गर्न सक्ने एउटा काम थियो,’ उनले भने, ‘होटलमा बचेका खानेकुरा दिने।’ उनले होटलबाट झिक्न मिल्ने कोक, फ्यान्टा, विस्कुट, पानी झिकेर पीडितलाई बाँडे।

उनले बाँडेको पानी केही छिनमै सकियो। मान्छे प्याकप्याक हुन थाले। ‘खोलाबाट आएको पानीका पाइप सबै पहिरोले काटेर बन्द भएका थिए। खोला जमेर धमिलो थियो,’ उनले भने, ‘बल्ल बल्ल पानी बटुलेर खायौं र यही नजिकको ओडारमा सुत्यौं। पहिलो दिन २० जना थियौं। भोलिपल्ट ५० र पर्सिपल्ट ६० जना पुग्यौं ओडारमा सुत्ने।’

उनका अनुसार लाङटाङमा बाँचेकाहरु सबै त्यही ओडारमा आउन थाले।

उनका आमाबुबाबाहेक।

‘मनमा आश थियो, आमाबुबा आउनुहुन्छ होला,’ उनले भने।

उनीहरू त्यहीँ बस्दै गर्दा सेनाले तलतिर अलि सुरक्षित मानिने ठाउँ घोडातबेला जान सल्लाह दिए। ‘त्यहाँ पुगेपछि हामीलाई उद्दार गर्ने भनेका थिए, तर दुई दिनसम्म केही भएन,’ उनले भने, ‘घोडातबेलामा बस्ने र खाने राम्रो व्यवस्था नभएकाले हामी फेरि थाङस्यापमा आयौं। दिनको एक छाक पकाएर समूहमा खान थाल्यौं।’

ओडार छाडे पनि भुइँचालोका झट्काले त छाडेनन्।

पाँचौं दिन सरकारले हेलिकप्टरबाट स्थानीयलाई उद्दार गर्यो।

थर्थराइरहेको शरीर र मनबीच पाँचौं दिन उनी तंग्रिए। हेलिकप्टरमा जान होइन, पहिरोले पुरिएका शव खोज्न।

उनीसहित अरु ५ जना साथी मिलेर शव खोज्न सघाए।

सात दिनपछि लाङटाङ जाने बाटो खुल्यो।

‘सेनाको टोलीसँगै मिलेर पुरिएका शव खोज्न थाल्यौं। मनमा झिनो आशा थियो, आमाबुबाबारे केही जानकारी मिल्छ कि,’ उनले भने, ‘परिवारका कोही भेटिनँ। अनुहार पनि देख्न पाइनँ।’

उनका आमाबुबाको शव नभेटे पनि त्यहाँ शवको थुप्रोबाहेक कोही थिएन।

लाङटाङ ‘रेड जोन’ भयो। स्थानीयलाई सरकारले त्यहाँ नबस्न आदेश दियो। लाङटाङ मानवशून्य बस्ती बन्यो।

फिन्जो आइपुगे राजधानी काठमाडौं,  वैशाख २९ गते।

‘हामी काठमाडौंको पहेंलो गुम्बामा बस्न थाल्यौं। मनले आफ्नै ठाउँ खोज्थ्यो। लाङटाङ सम्झन्थ्यो,’ उनले भावुक हुँदै भने।

उनका अनुसार एक महिनापछि एक जना साथीले लाङटाङ पुनः स्थापना संस्था खोले। त्यसमा फिन्जो लगायत अन्य केही सहभागी भए। फेरि लाङटाङ फर्कने सपना बुन्न थाले।

‘काठमाडौंमा बसेर के गर्ने? न हामीसँग यहाँ मिल्दो सिप छ न कुनै रोजगारी,’ उनले भने, ‘लाङटाङलाई नै फेरि पर्यटकीय क्षेत्र पुनर्निर्माण गरेर व्यवसाय गर्ने सोच आयो। कुनै विकल्प पनि थिएन।’

यसमा पहिलो कदम थियो लाङटाङमा लागेको ट्याग हटाउने– ‘रेड जोन’। लाङटाङ पुनर्निर्माण गर्न सहयोग गरिपाउँ भनी उनीहरूले सरकारसँग अनुरोध गरे। लामो पहलपछि सफल पनि भए।

सरकारले ‘रेड जोन’ लाङटाङमा फेरि स्थानीयलाई बस्न अनुमति दियो। विस्तारै हेलिकप्टरबाट बूढाबूढी, गोठालालाई पहिले पुर्यायो अनि युवालाई।

पुनर्निर्माण सुरु भयो तर एकदम सुस्त गतिमा। ‘पर्यटन पेसा ध्वस्त भइसकेको थियो। लाङटाङ सुरक्षित छैन भन्ने सन्देशले कोही पर्यटक आउँदैन थिए,’ उनले भने, ‘बल्ल असोज–कात्तिकतिर बाटा मर्मत हुन थाले। अनि सहज हुँदै गयो।’

उनका अनुसार भुइँचालो यता साढे दुईवर्षमा केही घर र होटल बनिसके। केही बन्दै छन्। पर्यटकको संख्या बढ्दै छ, पर्यटन सुध्रिँदै छ।

उनी आफ्नै भत्किएको होटल पनि पुनर्निर्माण गर्दैछन्। आफैं उत्पादन गरेको तरकारी पाहुनालाई खुवाउँछन्। आलुबाहेक केही फल्न नसक्ने शून्य डिग्री तापक्रममा प्रविधि प्रयोग गरी उनी गोलभेँडा, धनियाँ, बन्दा, काउली, प्याज, लसुन, र साग फलाउँछन्। सबै अर्गानिक।

तस्बिर : विद्या राजपुत

पर्यटकीय क्षेत्र लाङटाङमा अर्गानिक तरकारी पाउन मुस्किल छ। खेतीयोग्य जमिनको अभाव र चिसो मौसमका कारण तरकारी उत्पादन कम हुन्छ।

‘जे पाइँदैन, त्यही दिने हो। भुइँचालोपछि पर्यटकलाई स्वागत गर्न आफैंले फलाएको तरकारी खुवाउने गरेको छु। हाम्रो ठाउँलाई पहिले जस्तै बनाउने मेरो यो प्रयास हो,’ उनले भने।

अन्य होटलमा बाहिरबाट बोकेर वा हेलिकप्टरबाट ल्याएर नै तरकारीको आपूर्ति हुन्छ। फिन्जोको यो प्रयासले भने अरु व्यवसायी पनि आकर्षित छन्। उनीहरूमध्ये केहीले फिन्जोकै अनुसरण गर्दै ग्रिन हाउस बनाएका छन्। तरकारी फलाउने प्रयास गरेका छन्।

फिन्जो लाङटाङलाई नयाँ स्वरुपमा चिनाउन चाहन्छन्।

‘भुइँचालोमा लाङटाङ उजाडियो। आमाबुबा गुमाएँ,’ उनले भने, ‘आमाबुबा बचाउन सकिनँ। फेरि जीवित बनाउन पनि सक्दिनँ। अब लाङटाङलाई भने नयाँ जीवन दिने प्रयासमा छु।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.