देशकै जेठो विद्यालय दरबार हाइस्कुल भत्काइने भएको छ। पुरातत्व विभागले केही दिनअघि सो विद्यालय पुरानै डिजाइनमा पुनर्निर्माण गर्न स्वीकृति दिएपछि विद्यालय भवन भत्काउने बाटो खुलेको हो।
विभागका महानिर्देशक भेषनारायण दाहालले विद्यालय भत्काएर पुनर्निर्माण गर्न स्वीकृति दिइएको सेतोपाटीलाई जानकारी दिए।
‘पुरातात्विक महत्व बोकेको दरबार हाइस्कुललाई पहिलाकै साइज, डिजाइन र उचाइमा तलमाथि नगरी पुनर्निर्माण गर्न स्वीकृति दिएका छौं,’ दाहालले भने।
यसअघि शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले विद्यालय भत्काएर पुनर्निर्माण गर्ने प्रस्ताव काठमाडौं महानगरमा पठाएको थियो। मन्त्रालयको प्रस्तावअनुसार महानगरले दरबार हाइस्कुल भत्काउने र नयाँ बनाउने निर्णय गरेको थियो। महानगरले विद्यालयको नयाँ डिजाइन बनाएर पुरातत्व विभागलाई पठाएको थियो।
उक्त डिजाइनमा नयाँ भवन चार तला हुने र चिनियाँ शैलीमा बनाउने उल्लेख छ।
‘हामीले नयाँ डिजाइनमा होइन, जस्तो थियो त्यस्तै डिजाइन, शैली र सामग्री प्रयोग गरेर नयाँ भवन बनाउन स्वीकृति दिएका छौं,’ दाहालले भने।
विभागले भत्काउन स्वीकृति दिएपछि दरबार हाइस्कुल रेट्रोफिट हुने सम्भावना भने सकिएको छ।
१२६ वर्षअघि युरोपेली शैलीमा निर्माण भएको यो विद्यालयलाई रेट्रोफिट गरी बचाउनु पर्ने सम्पदाविद्हरूको माग छ।
२०७२ वैशाख १२ को भूइँचालोले क्षति पुगेका सिंहदरबार, गद्दी बैठक लगायत पुराना भवन रेट्रोफिट गरिएकाले दरबार हाइस्कुल पनि रेट्रोफिट गर्न सकिने उनीहरुको तर्क छ।
सम्पदाविद् तथा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक सुदर्शनराज तिवारीले यो विद्यालय मात्र नभई सम्पदा भएकाले भवन भत्काउनुभन्दा ‘रेट्रोफिट’ गरेर जोगाउनु पर्ने बताए।
‘विद्यालय भवनको आर्किटेक्ट डिजाइन सामान्य छ। बीचमा करिडोर छ, लहरै कोठा छन्। भुइँचालोले जे जति क्षति पुगेको छ, त्यसलाई रेट्रोफिट गर्न गाह्रो छैन, सरकारले भत्काउनभन्दा रेट्राफिटिङमा जोड दिनुपर्छ,’ प्राध्यापक तिवारीले भने।
विद्यालयमा विद्यार्थीको संख्या कम भएका कारण विद्यालयलाई रेट्रोफिट गर्नका लागि विभिन्न विकल्प अपनाउन सकिने सम्पदाविद्हरुको जोड छ।
विभागका महानिर्देशक दाहालले भने सम्पदाविद्हरुको मागअनुसार रेट्रोफिट गर्न सकिने/नसकिनेबारे फेरि सम्बन्धित निकायले अध्ययन गर्नुपर्ने बताए।
‘सबै काम विभागले गर्न सक्दैन, यदि रेट्रोफिट गर्न सम्भव छ भने मन्त्रालय, महानगर र प्राधिकरण अध्ययन गरी त्यहीअनुसार प्रस्ताव पठाउनुपर्छ,’ दाहालले भने।
विभागको स्वीकृतिपछि अब चीनले विद्यालयको पुनर्निर्माण गर्ने भएको छ।
स्मारक संरक्षण ऐन २०१३ ले सय वर्षभन्दा पुराना भवनलाई ‘पुरातात्विक महत्वको सम्पदा’ मान्छ।
दरबार हाइस्कुल पनि पुरातात्विक सम्पदा भएकाले यसको पुनिर्निमाण जिम्मा चीनलाई दिन नहुने सम्पदाविद्को तर्क छ।
‘चीन सरकारको इच्छाअनुसार हाम्रो सम्पदा पुनर्निर्माण गर्नु सरकारको लाचारी हो। देशकै गरिमा बोकेको यो विद्यालयलाई हामीले ऐतिहासिक धरोहरका रूपमा जोगाएर राख्नुपर्छ,’ तिवारीले भने, ‘यसका लागि त हाम्रै सरकारले पहल गर्नुपर्छ। आउने सन्ततिलाई हाम्रो शिक्षाको इतिहास देखाउन काम लाग्ने सम्पदा हो यो विद्यालय।’
विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८ मा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको हो। विद्यालय भवनमा नेपाली सामग्री बज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण), इँटा र काठ प्रयोग भएको थियो।
यसलाई २०२४ सालबाट भानु माध्यमिक विद्यालय भन्न थालिएको हो।
तीनधाराबाट सारेर अहिलेको ठाउँमा ल्याइएको हो यो विद्यालय सुरूमा दरबारियाका लागि खोलिएको थियो।
सर्वसाधारणका लागि खुला गर्दै रानीपोखरीमा स्थानान्तरण गरिएको दुई वर्षपछि संस्कृत मावि पनि सोही भवनमा राखिएको थियो।
२०४२ सालमा कक्षा १० को कोठा भत्किँदा छात्रछात्रा घाइते भएका थिए। त्यतिबेला सरकारी अनुदानमा भित्री भागका दुवै तला र दुवै कौसी ढलान गरिएका थिए। माथिल्लो हल र कोठा पनि त्यहीबेला निर्माण गरिएको थियो।
२०४५ सालको भुइँचालोमा पनि आंशिक क्षति पुगेपछि केही भाग मर्मत गरिएका थिए।
विद्यालयमा १ सय ८० विद्यार्थी र २१ जना शिक्षक छन्। २०७२ को भूइँचालोपछि चौरमा टहरा बनाएर पढाइ हुँदै आएको छ।