जहाँ दुई सय वर्षदेखि पाक्दैछ जेरी

रामहरि श्रेष्ठ। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी


काठमाडौं सम्पदा

भक्तपुर दरबार स्क्वायरबाट सुकुलढोका छिरेर केही मिटर हिँडेपछि उमा महेश्वर बुलबुल मन्दिर पुगिन्छ। मन्दिरमा ‘बुलुबुलु हिटी’ भनिने होचो धारो छ, जहाँ कुनै बेला राजकुलोबाट पानी आउँथ्यो, बुलबुल गर्दै।

करिब २५ वर्ष भयो, प्राचीन बुलुबुलु हिटी सुकेको। यहाँ एक थोपा पानी रसाउँदैन।

यही हिटीसामु झन्डै दुई सय वर्षअघि आशामरू श्रेष्ठले खोलेको मिठाइ पसल छ, जहाँ आज पनि उनका खनाति जेरी पकाउँछन्।

काठका पल्ला भएको सानो कोठामा छिर्नेबित्तिकै पित्तलको तराजु देखिन्छ। पछाडि शिशाको दराजभरि विभिन्न मिठाइ परिकार र ठूला डेक्चीमा जेरी–स्वारी छन्।

हामी पसल छिर्दा आशामरूका खनाति अष्टहरि ठूलो कराइमा काठको डाडुले केही घोटिरहेका थिए।

‘दाइ, यो के हो?’

‘गुँदपाक,’ उनले भने।

‘जेरी छ?’ हामीले सोध्यौं।

फूलजस्तै आकारका खरिएर राता भएका जेरी पत्रिकामा बेरेर दिँदै उनले भने, ‘एउटाको दस रुपैयाँ।’

पहिलोपटक उनले जेरी ५ पैसामा बेचेका थिए।

‘स्कुल पढ्दा हो मैले पहिलोपटक जेरी बेचेको,’ ५० वर्ष पुगेका अष्टहरिले भने, ‘त्योबेला ५ पैसामा बेचिन्थ्यो। अहिले तीन सय रुपैयाँ किलो पर्छ।’

जेरीको मूल्य बदलिए पनि श्रेष्ठ परिवारले पकाउने हात बदलेको छैन।

दुई सय वर्षअघि यही ठाउँमा आशामरू जेरी पकाउँथे। त्यसपछि उनका छोरा बुद्धिनारायण र नाति विष्णुहरिले पकाए। अहिले पनाति रामहरि र खनाति अष्टहरि पकाउँदैछन्। पाँच पुस्ता धानेको यो जेरी पसल भक्तपुरको पुरानो बजार सुकुलढोकाकै सम्भवतः पुरानो मिठाइ पसल हो। पसलमा कुनै कामदार छैनन्। परिवारका सदस्यले नै हो, सबै काम गर्ने।

अस्टहरि श्रेष्ठ गुँदपाक पकाउँदै। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी

‘म त याद भएदेखि यहीँ छु,’ अष्टहरिले भने, ‘बुबा, हजुरबुबा, जिजुबाजेले पनि यही पसल चलाउनुभयो। जिजुबाजेको बुबा हुँदैदेखि थियो रे। मलाईभन्दा बुबालाई बढी थाहा छ।’

‘बुबा खोइ त?’

‘बिहानै आउनुहुन्छ, जेरी पकाउनुहुन्छ, जानुहुन्छ। अब तीन बजेपछि आउनुहुन्छ,’ उनले कराइमा घिउ हाल्दै भने, ‘म चाहिँ स्वारी र गुँदपाक पकाउँछु।’

पसलमा बिहानैदेखि प्रसाद लिन आउने र तात्तातो जेरीस्वारी खानेको घुइँचो लाग्छ।। उनको पसल पुरानो मात्र होइन, विशेष पनि छ– चिया नपाइने।

सुकुलढोकाका स्थानीय पूजाआजा निम्ति उनकै पसलको मिठाइ लैजान्छन्। अन्त चिया पकाउने भएकाले ‘जुठो’ हुन्छ भन्ने उनीहरूको मान्यता भएको अष्टहरिले बताए।

‘यहाँ अरू पनि मिठाइ पसल छन्, त्यहाँ चिया–नास्ता पाइन्छ,’ उनले भने, ‘पूजाआजामा चढाउन चोखो चाहिन्छ भन्नेहरू यहीँ आउँछन्।’

हामी हुँदै जेरी किन्न सल्लाघारीका भुपेन्द्रमान बज्राचार्य आइपुगे।

‘म यतै बस्थेँ पहिले। सानैदेखि यहीँको जेरी खाएँ, साह्रै मनपर्छ,’ ७६ वर्षीय बज्राचार्यले भने, ‘अहिले सल्लाघारी सरे पनि जेरी लिन यहीँ आउँछु।’

बज्राचार्यका अनुसार उनीजस्ता थुप्रै ग्राहक छन्, जो बाबुबाजेको पालादेखि यहाँ आउँछन्। ‘जेरी खान सिकेकै यहीँबाट हो,’ उनले भने, ‘अन्तको खान मन लाग्दैन।’

यो पसलमा मधुमेहका बिरामीसमेत आउँछन्। उनीहरूका निम्ति चास्नीमा नडुबाएको जेरी पाइन्छ। ‘जेरी खाने बानी परेकालाई तलतल लाग्दो रहेछ,’ अष्टहरिले भने, ‘त्यही भएर चास्नीमा नडुबाई बनाउँछौं। पुराना ग्राहकको मन मार्न सकिन्न।’

पछिल्लो समय मधुमेह र उच्च रक्तचापका कारण ग्राहक घट्दै गएको उनले बताए। जनसंख्या पनि उत्तिकै बढेकाले व्यापारमै असर भने परेको छैन। बिहान नास्ता र चाडपर्व तथा गुठीमा हुने कार्यक्रममा धेरै मिठाइ चल्ने उनी बताउँछन्।

श्रेष्ठ परिवारको आम्दानीको मुख्य स्रोत नै यही पसल हो। अष्टहरिको ६ जनाको परिवार यसैले धानेको छ। उनका दुई छोरा छन्— अनमोलहरि र अजरहरि।

जेठा अनमोल काठमाडौंमै होटल म्यानेजमेन्ट पढ्दैछन् भने कान्छा अजर अमेरिका छन्। परिवार पाल्नुका साथै छोराहरूको पढाइ खर्च यही पसलले धानेको उनी बताउँछन्। ‘मैले कुनै जागिर खाइनँ। बुबाको पनि कमाउने बाटो यही थियो,’ उनले भने, ‘यसैबाट बुबाले हामीलाई हुर्काउनुभयो, मैले दुई छोरा।’

उनी दिनमा धेरै कारोबार गर्दैनन्। तीन–चार किलो जेरी र ६०–७० वटा स्वारी बेच्छन्। यीबाहेक ५–६ किलो गुँदपाक र लामो समय रहने अन्य मिठाइ बिक्री गर्छन्। जेरी–स्वारीपछि धेरै बिक्ने पूजामा चढाइने प्रसाद सामग्री भएको उनले बताए।

‘दिनको ३ देखि ५ हजारसम्म कमाइ हुन्छ,’ उनले भने, ‘पुगेकै छ। बुबाले आमा, दुई दिदीबहिनी र मलाई पाल्नुभयो। अरू केही गर्न परेको छैन। पढाइ छाडेपछि पसल सम्हालेँ। जागिर भने नि, व्यापार भने नि यही हो।’

उनले प्रवीणता तह पढ्दा पढ्दै छाडेको बताए। ‘बुबाले जागिर छाडेर पसल सम्हाल्नुभयो,’ उनले भने, ‘म पनि एक्लो छोरो, बाउबाजेको व्यापार हेरेँ।’

जागिरै छाडेर सानो जेरी पसल चलाउने उनका बुबा रामहरिलाई हामीले पर्खियौं। तीन बजे उनी पसलमा आए। भर्खरै छोराले पकाएको गुँदपाक बेच्न थाले।

रामहरि श्रेष्ठ। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी

‘तपाईंको पसल त धेरै पुरानो रहेछ नि!’ हामीले भन्यौं।

‘हो, दुई सय वर्ष भयो होला,’ पित्तलको तराजुमा गुँदपाक जोख्दै उनले भने, ‘यही तराजु सय वर्ष पुरानो भयो होला। मलाई याद भएदेखि छ। बुबाले पनि यही चलाउनुहुन्थ्यो।’

छोराले पकाएको गुँदपाक बट्टामा हाल्न थालेका रामहरिलाई हामीले सोध्यौं, ‘जेरी चाहिँ किन तपाईं नै पकाउनुहुन्छ?’

‘मेरो खास सीप यही हो,’ उनले भने, ‘मैले पकाउने मिठाइमध्ये सबभन्दा राम्रो जेरी नै हो। धेरै पहिले हलुवा पनि पकाउँथेँ।’

‘आफूले पकाएको जेरी खानुहुन्छ?,’ हामीले सोध्यौं।

‘किन नखानु! बिहानै आधा पाउ खान्छु, दिनकै,’ उनले हाँस्दै भने, ‘जेरी नखाई त मेरो दिनै सुरु हुँदैन। पकाइसकेर पहिले आफैं ३–४ वटा खान्छु।’

‘गुलियो खाँदा मोटाइन्छ भन्छन्, तपाईं त फिट हुनुहुन्छ नि!’ हामीले यसो भन्दा रामहरिले हाँस्दै भने, ‘खान मिलाएन भने मोटाइन्छ होला। ख्वै म कहिले मोटाइनँ। ७१ वर्ष भएँ, कुनै रोग छैन। अस्पताल धाउनुपरेको छैन। पहिल्यैदेखि फिट छु।’

उनले आफू ३२ वर्षको हुञ्जेल फुटबल खेलेको बताए। भक्तपुरबाट काठमाडौंसम्म पुगेर थुप्रै खेल खेलेको सुनाए। एलएलसी पास गरेका उनी स्थानीय नाट्यश्वरी प्राविमा पढाउँथे पनि।

‘म सानैदेखि पसलमै भए पनि बुबाले काम हेर्नुहुन्थ्यो, त्यसैले जागिर खान थालेँ,’ उनले भने, ‘एक वर्षसम्म पढाएँ। शिक्षक नै हुन्छु भन्ने थियो। बुबा बित्नुभयो, अनि पढाउन छाडेर जेरी पकाउन थालेँ।’

यो ३३ वर्षअघिको कुरा हो।

यी ३३ वर्षमा समाज र मिठाइमा धेरै परिवर्तन आएको बताउँदै उनले भने, ‘बुबा बितेपछि हलुवा पकाउन छाडिदिएँ।’

‘जमाना कहाँ पुग्यो। सुकुलढोका आधुनिक भइसक्यो। हामीले पानी खाने बुलुबुलु हिटी सुक्यो। नयाँ घर बने। नयाँ पसल खुले। नयाँ मान्छे आए। मिठाइ पहिलेजस्तो रहेन।’

हलुवा पकाउन पनि उनले परिवर्तनकै कारण छाडेका हुन्। उनका अनुसार पहिले–पहिले पसलको आकर्षण नै हलुवा थियो। त्यो बेच्न भने होइन, सित्तैमा दिन। पसलमा जे सामान किने पनि ‘टासी’ का रूपमा हलुवा दिइन्थ्यो। टासी भनेको नेवारी भाषामा ‘सित्तै’ हो।

‘जे किन्दा पनि अलिकति हलुवा दिन्थ्यौं,’ उनले भने, ‘धेरै चाहिनेलाई मात्र बिक्री हुन्थ्यो। त्यसै दिनपर्ने भनेर बनाउन छाडेको होइन, जस नपाएर।’

त्योबेला उनले भनेझैं त्यहाँ अन्य मिठाइ पसल खुल्न थालेका थिए। कुनै पसलमा ग्राहकले हलुवामा फर्सी र अरू नै पिठो मिसाएको पाएछन्।

यसको आरोप उनलाई पनि लाग्यो। ‘अब के के मिसायो भनेर कोही–कोहीले कराउन थाले। ख्वै कता त्यस्ता पाएछन्, अनि हामीलाई पनि गाल पर्यो,’ उनले भने, ‘यही सुन्न दिक्क लागेर पकाउनै छाडिदिएँ। नभए त हामीकहाँ चल्ने मुख्य मिठाइ नै हलुवा थियो।’

जेरीको स्वरूप र बनाउने तरिका भने उनी आफैंले बदले। उनी अहिलेजस्तो फूल आकारको जेरी बनाउँदैन थिए। नाम पनि जेरी नभएर जुलबी थियो। जुलबी किरिङमिरिङ परेको आकारमा बनाइन्थ्यो, सुन्तला रङको।

‘आकर्षक देखाउन रङ मिसाइन्थ्यो,’ उनले भने, ‘पछि खानेकुरामा रङ मिसाउन हुन्न भनेपछि मिसाइनँ। आकार पनि फेर्दै लगेँ।’

जेरी भारतबाट आएको उनको अनुमान छ, बम्बइसन जस्तै। बम्बइसन गुँदपाकजस्तै मिठाइ हो, तर यसमा गुँद हुँदैन। खुवा घोटेर बनाइने बम्बइसनको नामअनुसार बम्बईतिरबाटै आएको हुनसक्ने उनको लख छ।

‘ठ्याक्कै यहाँबाट हो भन्न सक्दिनँ। बुबाले पकाउनुहुन्थ्यो, हजुरबुबाले पनि। पछि बम्बइसन छाडेर गुँदपाक बनाउन थाल्यौं, बनाउन सजिलो पनि थियो, बजारमा माग पनि।’

हलुवा र बम्बइसनसँगै उनले मनभोग पनि बनाउन छाडेका छन्। मनभोग हलुवाजस्तै हुन्थ्यो, ५–६ महिनाका बच्चालाई पनि खुवाउन मिल्ने। लिटोजस्तै नरम र मसिनो। ‘त्योबेला मनभोग खुब बिक्थ्यो,’ उनले भने, ‘बजारमा बच्चाका लागि विभिन्न दूध र लिटो आउन थालेपछि मनभोग किन्नेहरू भएनन्।’

नेवार समुदायका चाडपर्वमा प्रमुख मानिने लाखामरीको पनि वास्तविक स्वरूप हराउँदै गएको उनी बताउँछन्।

‘यी हेर्नु त अहिलेको लाखामरी,’ दराजमा रहेको सानो आकारको लाखामरी देखाउँदै उनले भने, ‘पहिले यो थाल जत्रो हुन्थ्यो। डिजाइन पनि बेग्लै। अहिले त चलन धान्न मात्र चाहिनेजस्तो भएको छ। ठूल्ठूला लाखामरी बिक्नै छाडे।’

नेवार समुदायको विवाहमा लाखामरी नभई नहुने मिठाइ हो। सगुनमा यसको प्रयोग हुन्छ। गुठीका कार्यक्रममा पनि नभई हुँदैन।

बिहेमा नभई नहुने अर्को मिठाइ ऐँठा हो। त्रिकोण आकारमा एक छेउ बटारेर बनाइने यो मिठाइ बिहेपछि ‘दुल्हन फर्काउने’ बेला चाहिन्छ। छोरीसँगै ज्वाइँ र उनका साथी आएका हुन्छन्। उनीहरूलाई एक–एक वटा ऐँठा हातमा दिने चलन छ।

‘यही ऐँठाको पनि वास्तविक रूप हरायो,’ उनले भने, ‘पकाउने सामान फेरिए, तरिका फेरियो। मान्छेको स्वाद पनि।’

उनी कुनैबेला घिउमा मिठाइ पकाउँथे। ठूल्ठूला टिनका बाकसमा आएको घिउमा पकाएको मिठाइ स्वादिलो हुन्थ्यो।

‘घिउ महँगो भयो। डाल्डाले बजार लियो। सस्तो भएकाले सबैकहाँ त्यही चलाउन थाले। हामीलाई यसको मार पर्यो। हामीले पनि डाल्डामै पकायौं। घिउमा पकाएको मिठाइ चिल्लो र मिठो हुन्थ्यो। डाल्डा त सेलाएपछि जमेर च्यापच्याप हुने रहेछ। मैले डाल्डासँगै भटमास तेल मिसाएर पकाउन थालेँ। यसरी पकाउँदा जेरी टल्किन्छ र च्यापच्याप हुन्न,’ उनले भने।

रामहरिसँग जेरी पकाएको ५० वर्षको अनुभव छ। यही अनुभव उनले छोरा अष्टहरिसँग बाँडेका छन्।

अस्टहरि श्रेष्ठ गुँदपाक पकाउँदै। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी

अब भने यो अनुभव नबाँडिने हो कि भन्ने उनलाई चिन्ता छ।

उनका नातिहरूले यही काम सिकून् भन्ने उनको चाहना छ। ‘पुर्ख्यौली पेसा नातिहरूले धानून् भन्ने छ,’ उनले भने, ‘ख्वै कसरी जोगाउने? कान्छो नाति बिदेसियो, जेठो गर्दिनँ भन्छ। छोराले सकुञ्जेल धान्ला।’

‘पछिल्लो पुस्ताको सोच अलग छ। आधुनिकता र सहरीकरण छ। यस्तोमा यो सानो पसल चलाऊ भनेर कर गर्न सकिन्न। यसलाई व्यवस्थित गरेर ठूलो बनाऊ भन्ने हो। त्यो पनि कठिन छ। यहाँ कति बदलाव आइसक्यो। पुरानो पसल पुरानै मान्छेको मनमा बस्छ। नयाँलाई नयाँ चाहिन्छ। हामीले जसरी यो पसल चलाएका छौं, हाम्रा नातिलाई सहज हुँदैन।’

‘किन हुँदैन?’

‘स्थायित्व ख्वै?’ उनले हामीलाई नै सोधे, ‘यहाँ मिठाइ पसल हाम्रो मात्रै थियो र! कत्ति थिए। सब छाड्दै गए। म अडिएको छु। सुकुलढोकामा बजार बढ्यो, आधुनिकता बढ्यो। गाडी आयो, प्रदूषण आयो, रोग आयो। वातावरण सफा हुँदा खुला गरी पकाउँदा केही हुन्न थियो। मान्छे हिँड्दै आउँथे, पाक्दै गरेका मिठाइ देख्थे, खान्थे। अहिले गाडी र मोटरसाइकलमा हुँइकिन्छन्। पसलमा उनीहरूका आँखै जाँदैनन्। धूलोधुवाँका कारण खानेकुरा छोपछाप पारेर राख्नुपर्छ। हिँड्नेले नाक–मुख ढाक्नुपर्छ। यस्तो वातावरणमा मान्छेलाई खाने, घुम्ने, हेर्ने ध्यान कसरी हुन्छ?’

पर्यटकीय क्षेत्र सुकुलढोका आउनेलाई सवारीले बिथोलेको उनको अनुभव छ। ‘यहाँ मान्छे कति सजिलै हिँड्थे। अहिले मान्छेभन्दा मोटरसाइकल धेर छन्,’ उनले भने।

उनी आफ्नो पसल जोगाउन चाहन्छन्। सरकारले यो क्षेत्रको महत्वमा जोड दिएर व्यवस्थापन गरेदेखि नातिको पनि मन फिर्ला भन्ने उनको आस छ।

आफ्नो नातिलाई पसलको अस्तित्व जोगाउन कुनै ‘उत्प्रेरणा’ दिन नसकेकोमा थकथकी मान्दै उनले भने, ‘मेरा पुर्खा आशामरूले दुई सय वर्षअघि खोलेको यो जेरी पसल प्राचीन बुलुबुलु हिटीझैं नसुकोस्!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.