उच्चस्तरीय चिनियाँ सरकारी टोली दमकमा


 

दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको चिनियाँ उच्च पदस्थ सरकारी टोलीले पुनः अवलोकन गरेको छ। यसअघि पनि चिनियाँ टोलीले ३ पटकसम्म सो स्थलको अध्ययन अवलोकन गरेको थियो।

चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु बिहीबार झापाको दमक आईपुगेको थियो।

चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क’ निर्माणको समझदारीपत्र –एम ओ यू बारे छलफलका लागि ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको १० सदस्यीय अध्ययन टोली दमक आएको दमक नगरका प्रशासकिय अधिकृत युवराज दाहालले जानकारी दिए।

गत सोमबार काठमाडौं आईपुगेको सो टोलीले विहीबार दमक नगरपालिका १० मा प्रस्तावित औद्योगिक क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको दाहालले बताए। अनुगमनमा जानुपूर्व दमक नगरपालिकाको कार्यालयमा स्थानीय सरोकारवालासँग लिउ रुपेङ ले साक्षात्कार गरेका थिए।

साक्षात्कारमा बोल्दै उपसचिव लिउ रूपेङले दमकमा निर्माण हुन लागेको औधोगिक पार्कले चीन र नेपालको सम्बन्ध अझ फराकिलो ढंगमा सुदृढ हुने विश्वास लिए। उनले भने, ‘यो पार्कले समग्र नेपालकै समृद्धि हुनेछ।’

औधोगीक पार्क अनुमगन गर्न अहिलेसम्म चारपटक बिभिन्न चिनियाँ टोली आएको भए पनि यो टोली सबैभन्दा उच्चस्तरिय सरकारी टोली हो। यो टोलीले अनुगमन गरेपछि दमकमा निर्माण हुने भनिएका औधोगिक पार्कको डिपिआरले चाँडै नै पूर्णता पाउनेछ।

२२ सय बिगाहा क्षेत्रफलमा चीनले औद्योगिक पार्क निर्माण गरिदिने प्रारम्भिक समझदारी भइसकेको दाहालले बताए। सो पार्क निर्माण गर्न अहिले ५ सय ५२ बिगाहा मात्र जमिन प्राप्त भएको छ। दाहालका अनुसार बाँकि जमिन प्राप्तिका लागि समेत प्रक्रिया चलिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.