‘यात्रा लामो छ, नआत्तिनू। दुःख परे, मलाई सम्झिनू’

तस्बिर सौजन्यः कनकमणि दीक्षित


उता मौसम खुलेन, यता जहाज उडेन।

दुई दिन यस्तै भएपछि तेस्रो दिन एयरपोर्ट धाउने धैर्य गरेनन्। बिहानै कलंकी गए। बस चढे। लागे, भैरहवा।

बाटोभरी श्रीमतीले तारन्तार फोन गरिरहिन्। अस्तिदेखि एउटै कुरा दोहोर्याइरहेकी छन्, ‘यात्रा लामो छ, नआत्तिनू। दुःख परे, मलाई सम्झिनू।’

रामबहादुर तामाङ गोले हिँडडुल गर्न सक्दैनन्, नहिँडी बस्न पनि सक्दैनन्।

चार वर्षअघि नमोबुद्धदेखि लुम्बिनी गएका थिए। यसपालि लुम्बिनीबाट भारतको बोधगया जाँदैछन्।

ह्विलचेयरमा।

‘हामी शरीरले अपांग हौं, मनले होइन। हाम्रो मन पनि उड्छ। मन उडेपछि शरीर जाबो त के हो र!’ आइतबार जहाज कुर्दै गर्दा उनले सेतोपाटीसँग भनेका थिए।

‘बुझ्नुभो, हामी अपांगता भएका मान्छे समुद्रको गहिराइमा पुगेर मोतीका दाना टिप्न सक्छौं, सगरमाथा शिखरमा गएर झन्डा फहराउन सक्छौं। हामी घरभित्र थुनिएर बस्न चाहँदैनौं। बरु तपाईंहरू नै हामीलाई थुनेर राख्न चाहनुहुन्छ। त्यसैले त हेर्नुस्, संरचनाहरू कति अप्ठ्यारो गरी बनाइएका,’ उनले भने।

‘खासमा हामी अपांग होइनौं हजुर, यहाँका संरचना अपांग हुन्।’

सोमबार दिउँसो फोन गर्दा उनी यही कुरा पुष्टि भएझैं खुसी सुनिए।

‘देख्नुभो त, म भन्दिनथेँ, ‘यहाँका संरचना अपांग हुन्’ भनेर। हिजो पनि मेरो फ्लाइट भएन। अब को कुरिरहोस्! मैले त पैसै फिर्ता लिएँ। बिहानै कलंकी आएँ, बस समातेँ।’

‘अब भन्नुस् को अपांग?’

मोबाइलमा उनको हाँसो गुञ्जियो।

ह्विलचेयर यात्रा दुई दिन विलम्ब भइसकेको थियो। जहाजका पखेटाको भर परेर ह्विलचेयरका पाङ्ग्रा रोक्न चाहेनन्।

उनी सोमबार साँझै लुम्बिनी पुगे। कार्यक्रम गरे।

र, मंगलबार बिहानै सुरु भयो, रामबहादुरको ५५३ किलोमिटर लामो ह्विलचेयर यात्रा।

यो यात्राको उद्देश्य नै यस्तो समाजको निम्ति घच्घच्याउनु हो, जहाँ ह्विलचेयर पाङ्ग्रा जुनसुकै ठाउँ सरक्कै पुगोस्।

जहाँ ह्विलचेयरमा हिँड्नेलाई सामान्य मान्छेजस्तै ठानियोस्।

र, जहाँ शारीरिक अपांगता भएकाले पनि मनको उडानमा ‘ब्रेक’ लाउनु नपरोस्।

बढीमा १८ दिनको यात्रामा उनी बाटोभरी यही सन्देश सुनाउँदै हिँड्ने छन्। दैनिक यात्रा औसत ३० किलोमिटर हुनेछ। कुनै दिन ६० किलोमिटरसम्म पार गर्न सकिन्छ भन्ने लागेको छ।

रामबहादुरले कहाँ–कहाँ कार्यक्रम गर्ने तय गरेका छैनन्। ‘गुगल म्याप’ बाट सुनौलीदेखि बोधगयासम्मको रूट निकालेका छन्। अपांगतामा काम गर्ने संस्थाहरू खोजेका छन्। तिनैसँग सम्पर्क गरेर सानोतिनो अन्तर्क्रिया गर्दै जाने उनको विचार छ।

‘कसैसँग सम्पर्क नभए केही छैन, म आफ्नै हिसाबले सन्देश छर्दै हिँड्छु,’ उनले भने।

‘कसैलाई गाडीमा झुन्डेको देखे बोलाउँछु। स्पिडसँग बाइक हाँकेको देखे रोक्न लगाउँछु। कोही रूख चढेर उफ्रिँदै छ भने तल झार्छु। पर्खाल माथि–माथि कुद्दै गरेकोलाई ओर्लन लगाउँछु। ती सबैलाई डाकेर आफ्नो कथा सुनाउँछु– म कसरी अपांग भएँ? ह्विलचेयर जीवन कस्तो हुन्छ?’

तस्बिर सौजन्यः कनकमणि दीक्षित

सिन्धुपाल्चोक, मांखाका रामबहादुर ३५ वर्षका भए। एक छोरी, एक छोरा छन्। ११ वर्षकी छोरी ५ कक्षा पढ्छिन्। छोरा १६ वर्ष पुगे, कक्षा ७ मा छन्।

‘त्यही घटनाले छोराको पढाइ ढिला भयो,’ उनले भने।

त्यो २०६७ पुस १८ को दिन थियो।

रामबहादुर साथीहरूसँग तिब्बतको खासा घुमेर फर्कंदै थिए। दोलालघाटको चौवन्नकिलो भन्ने ठाउँमा बस पल्टियो। अरू कसैलाई केही भएन, रामबहादुर भने त्यही बसमुनि थिचिए। आधा जीउ भित्र, आधा बाहिर अवस्थामा लगभग दुई घन्टा रहे। बेहोस उनलाई सबैले मरेको भन्ठानेछन्। त्यसैले उनको ‘शव’ झिक्न कसैले हतार मानेनन्।

उनी विस्तारै बौरिए।

जीउ चलाउन खोजे, सकेनन्। खुट्टा चलाउन खोजे, चलेनन्। हातका औंला विस्तारै हल्लाउन खोजे। लगलग कामेजस्ता भए। आँखा पिर्लिक–पिर्लिक उघार्ने–ढप्काउने गरिरहे। अगाडि दृश्य धमिलो थियो। कान ठाडा पारे। मान्छेको कल्याङमल्याङ सुनियो।

आवाज निकाले– ‘बचाऊ … बचाऊ …’

निकै बेर लाग्यो, उनको मसिनो घाइते स्वर बसका कापबाट फुत्किएर बाहिर निस्कन।

‘त्यस्तो बेला होस खुल्दा त बुझ्नुभो, मरेको छु कि बाँचेको भन्ने ठम्याउनै गाह्रो। कान टुँ टुँ गरिराथ्यो। आँखा पिर्लिक-पिर्लिक पार्दै थिएँ। अगाडि धमिलो–धमिलो त देख्दै थिएँ, खै के हो के, जिउँदै भएर साँच्चै कुरा देखेको हो कि मरिसकेर आत्मा भौंतारिएको, मैले एकछिन चालै पाइनँ। पछि पो यसो सुन्दा मुटु ढुकढुक ढुकढुक गरेझैं लाग्यो। ढाडमा, खुट्टामा पहाडै आएर थिचेजस्तो भारी भइरहेको थियो। रगतको त आहालै थियो कि जस्तो लाग्छ। ज्यान पूरै दुखेर चौपट– जीउभरी सियो रोपेजस्तो,’ उनले भने।

‘बाहिर मान्छे गाइँगुइँ बोलेको सुन्दैछु। कराउन खोज्छु, ज्यानजाला आवाज आए पो! चिच्याउन खोज्छु, आवाज स्वाँस्वाँ गर्छ। एक–एकछिन थामिएर बल्लतल्ल गुहार मागेँ। धन्न, मेरो मसिनो आवाज पनि मान्छेको कानमा पर्यो। सबै गुटुटु जम्मा भए।’

सबै मिलेर उनलाई दौडादौड अस्पताल कुदाए।

लगभग दुई घन्टा बसमुनि थिचिएर पनि रामबहादुरको ज्यान बच्यो, कम्मरमुनिको भाग भने चल्न छाड्यो।

उनलाई दिसा–पिसाबधरि हेक्का हुन्न। सुरुमा अर्काले गराइदिनुपर्थ्यो, अचेल कसैको भर पर्दैनन्। सोह्र सेन्टिमिटर लामो पाइप घुसारेर चार–चार घन्टामा आफैं पिसाब निकाल्छन्। आफैं फाल्छन्।

दिसा गर्न बेलुकी ६ देखि ८ को समय छुट्टयाएका छन्। यो अवधिमा आफैं चर्पी जान्छन्। हातमा पन्जा लगाउँछन्। र, औंलाले कोट्टयाएर दिसा झिक्छन्।

उनलाई अपांगता महशुस हुने यिनै दुई काममा हो। अरू काममा त सपांगजत्तिकै फुर्तिला छन्।

दुर्घटनाअघि उनी भक्तपुर, सानोठिमीमा जहानसँग तरकारी बेच्थे। काम पाउँदा डकर्मी पनि गर्थे। बेलाबेला भाडाको गाडी चलाउँथे। हिजोआज काभ्रे, साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा तालिम परामर्शदाता छन्।

‘अरूलाई यस्तो भएपछि जिन्दगी बर्बाद भयो, भाग्यले ठग्यो भन्ने लाग्छ, म चाहिँ उल्टो छु,’ उनले भने, ‘मलाई त दुर्घटनापछि झन् भाग्यमानी भएँ जस्तो लाग्छ।’

‘म के थिएँ र? कसले चिन्थ्यो मलाई? आज हरेक काममा सक्रिय छु। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनिएको छु। गीत गाउँछु। सारंगी बजाउँछु। ह्विलचेयरमै बसेर खेल्छु। आफूजस्तै अरू साथीहरूलाई खेलाउँछु,’ उनले भने।

‘जिन्दगीमा जे जति पाएँ, सबै दुर्घटनापछि नै पाएँ। अरूलाई मेरो शरीर अपांग लाग्ला, मलाई भने बल्ल पो आफ्नो खुट्टामा उभिएँजस्तो लाग्छ, बुझ्नुभो।’

जिन्दगी कायापलट हुनुमा उनी पुनर्स्थापना केन्द्रलाई जस दिन्छन्।

स्वेटर बुन्ने, खाम बनाउने, जुत्ता सिलाउने लगायत काम उनले यही संस्थामा सिकेका हुन्। अचेल यिनै काम आफूजस्तै अपांगता भएकालाई सिकाउँछन्।

बसी–बसी गर्ने यी काम त केही होइनन्, उनी सबै सपांगले नजान्ने बास्केटबल पनि खेल्छन्। पौडी खेल्छन्। काभ्रेको ह्विलचेयर बास्केबल टिममा चार वर्ष कप्तान रहे। यसैपालि कप्तानी छाडेको उनी बताउँछन्। दुई वर्षअघि अपांगता भएकाको पौडी प्रतियोगितामा दोस्रा भए। राष्ट्रपतिका हातबाट पदकै थापे।

तस्बिरः रामबहादुरको फेसबुक

‘ल भन्नुस् त, ज्यान सग्लो भइदिएको भए मैले यतिविधि तरक्की गर्न सक्थेँ,’ उनले भने, ‘दिनभरी भाडाको गाडी हाँक्दै राति कुनै भट्टीमा मात्तिरहेको हुँदो हुँ।’

ज्यानको भर हुँदा उनी त्यस्तै थिए।

दिनभरी गाडी हाँकेर राति कुन भट्टीको बास हुन्थ्यो, ठेगान थिएन। न घरमा श्रीमतीको वास्ता, न छोराछोरीको। न गाउँ सम्झे, न आमाबाबु। उनी आफ्नै दुनियाँमा मलंग थिए।

जुन दिन आफूलाई ह्विलचेयरमा पाए, उनको मलंगा चोला उत्रियो।

त्यो बेला उनको भर बनेर आइन्, उनकी श्रीमती सानुमाया तामाङ। जो विरक्तिएका श्रीमानको हात थाम्दै भन्ने गर्थिन्, ‘यात्रा लामो छ, नआत्तिनू। दुःख परे, मलाई सम्झिनू।’

कहिलेकाहीँ उनी झुक्किएर लूला गोडाको भर उभिन खोज्थे। पछारिन्थे।

सानुमाया दुगुर्दै उठाउन आउँथिन्। भन्थिन्, ‘तपाईंले किन हिँड्नुपर्यो, म हिँडिहाल्छु नि तपाईंको लागि।’

‘मैले त्यसै गरेँ, जुन ऊ चाहन्थी,’ रामबहादुरले भने, ‘मैले जीवन भनेको के हो, माया भनेको के हो त्यसपछि बल्ल थाहा पाएँ। मैले त उसलाई जिन्दगीमा केही दिइनँ। जति कमाएँ, जम्मै आफ्नै फुरमासमा उडाएँ। उसले भने आफ्नो सबथोक मलाई दिई।’

‘निर्जीव मूडोजस्तो भइसकेको मभित्र सास भरी। फेरि जिउन सिकाई। फेरि हाँस्न सिकाई। श्रीमतीले साथ नदिएको भए, कस्सम भन्छु, म बाँच्दिनथेँ। मैले दुर्घटनापछि पाएको यो नयाँ जीवन मेरो आत्मविश्वास र श्रीमतीको साथले नै हो।’

हिजोआज सानुमाया पनि पुनर्स्थापना केन्द्रमै सहयोगीको काम गर्छिन्। बिहान–बेलुकी घर सम्हाल्छिन्।

र, अभर पर्दा रामबहादुरलाई भर दिन्छिन्।

त्यसो त रामबहादुरलाई उनले उड्नै सिकाइसकेकी छन्।

घरभरी थुप्रिएका सम्मान, मेडल र प्रमाणपत्र यसका उदाहरण हुन्– जुन देखेर केटाकेटी भन्छन्, ‘हामीले तपाईंजस्तो मेडल ल्याउने कहिले होला!’

छोराछोरीको कुरा सुनेर उनी पुलुक्क श्रीमतीतिर हेर्छन्।

दुवैबीच मायालु मुस्कान आदानप्रदान हुन्छ।

‘त्यो बेला साँच्चै मलाई उसको लोग्ने हुन पाएकोमा गर्व लाग्छ। आज म अरूले हेर्दा ह्विलचेयरमा हिँड्ने अपांग हुँ, तर छोराछोरीको अगाडि काबिल बाबु बनेको छु,’ रामबहादुरले भने, ‘मलाई काबिल बनाएको उसैले हो।’

‘कहिलेकाहीँ ठट्टा गरेर भन्छु पनि– अब त म मरे पनि यही प्रमाणपत्रमा जलाए हुने भइहाल्यो, ढुक्क छ।’

सानुमाया आँखा तर्छिन्।

रामबहादुरको ह्विलचेयर यात्रामा पनि पाइला–पाइला श्रीमतीको साथ छ।

नमोबुद्ध–लुम्बिनी यात्रामा त सँगसँगै थिइन्। यसपालि भने छोराछोरीको पढाइले जान भ्याइनन्। आफ्नो गच्छेभन्दा बढी खर्च हुने यात्रा आँटेकोमा चित्त दुखाइनन्। बरु मरी–मरी काम गरेर फाइनान्समा जम्मा गरेको ५० हजार रुपैयाँ दिँदै भनिन्, ‘तपाईंको खुसी नै हाम्रो खुसी हो।’

उनले यत्रो लामो यात्रा आँटेको त्यत्ति पैसा हातमा भएर हो।

केही रकम पुनर्स्थापना केन्द्रले पनि सहयोग गरेको छ।

करिब १५ वर्षअघि स्थापना भएको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले रामबहादुरजस्तै मेरुदण्डमा चोट लागेर अपांगता भएका २ हजार २ सय जनाको पुनर्स्थापना गराएको छ।

यहाँ अहिले ७० जना छन्। उनीहरूलाई मेडिकल तथा नर्सिङ सेवा दिइन्छ। फिजियोथेरापी गराइन्छ। संगीत र आर्ट थेरापी गराइन्छ। खेल खेलाइन्छ। सामाजिक तथा मनोवैज्ञानिक परामर्श दिइन्छ। विभिन्न सीप विकास तालिम सिकाइन्छ। र, चोटको प्रकृति हेरेर कम्तिमा तीनदेखि नौ महिना यहीँ राखिन्छ।

तस्बिरः रामबहादुरको फेसबुक

केन्द्रकै पहलमा शारीरिक अपांगता भएकालाई ह्विलचेयर बास्केटबल र पौडी खेलाउन थालिएको कार्यकारी निर्देशक ईशा थापा ढुंगाना बताउँछिन्।

‘हामीले पोल्यान्डबाट प्रशिक्षक बोलाएर बास्केटबल सिकाउन थालेका थियौं, अहिले ह्विलचेयर बास्केटबलमा नेपाल धेरै अगाडि छ,’ उनले भनिन्, ‘तिनै खेलाडीले क्रिकेट र टेबलटेनिस पनि खेल्न थालेका छन्।’

नेपालले गत साता मात्रै ह्विलचेयर बास्केटबल (महिला र पुरुष दुवैतर्फ) र क्रिकेटमा भारत र बंगलादेशलाई हराएर अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो।

कार्यकारी निर्देशक ढुंगानाका अनुसार मेरुदण्डको जति तल चोट लाग्यो, उति धेरै अंग नचल्ने हुन्छन्। पुनर्स्थापना अवधि पनि लामो हुन्छ।

रामबहादुर झन्डै साढे तीन महिना केन्द्रमा बसेर घर फर्केका थिए। उत्प्रेरक स्वभाव, सिपालु र लगनशील देखेर उनलाई केन्द्रमै काम गर्न बोलाइयो।

‘उहाँ एकदमै सकारात्मक सोचको हुनुहुन्छ। मेरुदण्डमा चोट लागे पनि जिन्दगी सकिँदैन भन्ने प्रमाणित गरेर देखाउनुभयो। ह्विलचेयर यात्रा गरेर यही अनुभव सबैसँग बाँड्न चाहनुहुन्छ,’ उनले भनिन्।

मेरुदण्डको चोटले अपांगता भएकामा केन्द्रको बसाइ र तालिमले आत्मविश्वास जगाउने ढुंगानाको भनाइ छ।

रामबहादुर यही आत्मविश्वास आफूजस्तै अरूमा जगाउन चाहन्छन्।

ह्विलचेयर यात्राको उद्देश्य यही हो।

‘हामीकहाँ अपांग देख्यो भने दैवले ठगेको भनेर चुक्चुकाउने गरिन्छ। यस्तो नठान्नू होला,’ उनले भने, ‘हामीलाई दैवले ठगेको होइन, राज्यले ठगेको हो।’

‘होइन भने, दैवले हाम्रो ज्यानमा यत्रो आत्मबल भरिदिएको छ, ख्वै त राज्यले हामीलाई सुविस्तासँग हिँडडुल गर्ने वातावरण बनाइदिएको,’ उनले भने।

‘हामीलाई अपांग भन्नेहरूले सबभन्दा पहिला यो सहर हेर्नुपर्यो, के यो सहर सपांग छ?’

उनले सडकपेटीदेखि सार्वजनिक बस, शौचालय, सपिङ मल, सरकारी कार्यालय र हुँदाहुँदा अस्पताल र स्कुलसमेत अपांगतामैत्री नभएको गुनासो गरे।

‘फुटपाथ हेर्नुस् त, सपांगलाई समेत हिँड्न गाह्रो छ। हामी त्यस्तो ठाउँमा ह्विलचेयर कसरी कुदाउने? दुर्घटनाको जोखिम मोलेर सडकमै कुद्न बाध्य छौं। सार्वजनिक बस चढ्नुपरे उक्लिने र ओर्लिने झमेलाले नै कोही हामीलाई चढाउनै चाहँदैनन्। न हामी सुविस्तासँग खान सक्छौं, न चर्पी जान। स्कुल, कलेज र अस्पतालमा पनि हामीलाई विभेद छ,’ उनले भने।

‘ए हजुर, हामी अपांगहरू त परिवर्तन भइसक्यौं। हामी कोहीभन्दा कम छैनौं। सरकारले बरु हामीलाई हेर्ने दृष्टि कहिले बदल्ने हो?’

ह्विलचेयर यात्राको उद्देश्य यो पनि हो– अपांगताप्रति दृष्टि बदल्ने।

उनलाई थाहा छ, यात्रा लामो छ।

बाटामा धेरै जोल्टिङ आउनेछन्, जहाँ ह्विलचेयरका पाङ्ग्रा गुडाउन सजिलो हुने छैन।

उनी ढुक्क भने छन्।

आखिर श्रीमतीले हात थामेर भनेकै छिन्, ‘यात्रा लामो छ, नआत्तिनू। दुःख परे, मलाई सम्झिनू।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.