भक्तपुर दरबार स्क्वायरमा यतिबेला दुइटा काम हुँदैछ।
एउटा, भुइँचालोले क्षति पुगेका संरचना फेरि ठडिँदैछन्, प्राचीन शैलीमै। मूलढोका छिर्नेबित्तिकै वत्सला मन्दिर आधाभन्दा बढी बनेको देखिन्छ। जगसम्मै लडेका केदारनाथ, तलेजु भवानी लगायत पुराना मन्दिरले पुनर्जीवन पाउँदैछन्।
दोस्रो काम, न्यातपोल मन्दिर अगाडि बाटोका पुराना इँटा उखेलेर नयाँ ढुंगा छापिँदैछ।
र, तेस्रो योजना पनि छ।
भक्तपुर नगरपालिका मेयर सुनील प्रजापति भन्छन्, ‘यी दुइटा काम सकियोस्, त्यसपछि तेस्रो सुरु हुन्छ।’
बाटोमा ढुंगा छापिनु तेस्रो योजनाकै कडी हो।
त्यही भएर ढुंगाको गुणस्तर चित्त नबुझेपछि तीनचोटि काम रोकिएको थियो। ठेकेदारले प्रयोग गरेको कमसल ढुंगा नगरपालिकालाई चित्त बुझेन। मेयरले नै अस्वीकृत गरिदिए। अहिले दोलखाबाट ल्याइएको गुणस्तरीय ढुंगा प्रयोग हुँदैछ।
‘भएका इँटा निकालेर ढुंगा किन?’ हामीले प्रजापतिलाई सोध्यौं।
‘प्रदूषण कम गर्न,’ उनले भने, ‘इँटाबाट धूलो धेरै निस्कन्छ। खिइएर बर्सेनि उबडखाबड हुँदै जान्छ, अनि हिँड्नेलाई सकस।’
‘दरबार स्क्वायर मात्र होइन, यो प्राचीन बस्ती आफैंमा संग्रहालय हो। यहाँ बढीभन्दा बढी मान्छे आऊन्, घुमून् र प्राचीन काठमाडौं सभ्यता अनुभूत गरून् भन्ने हामी चाहन्छौं। इँटाभन्दा अलि महँगो परे पनि ढुंगा छाप्दा बाटो समथर र टिकाउ हुन्छ, पैदलयात्रुलाई सहज,’ उनले भने।
‘अनि गाडीहरू?’
‘हामीले गाडीलाई सहज बनाउन खोजेका होइनौं,’ उनले सीधा जवाफ दिए, ‘हामीले त भक्तपुर दरबार स्क्वायर र तौमडी स्क्वायर सवारीमुक्त गर्न खोजेका हौं।’
‘गुडिरहेकै छन् त?’
‘यो केही समयलाई मात्र हो, पुनर्निर्माण र ढुंगा छाप्ने काम सकिएपछि यहाँ कुनै सवारी आवतजावत गर्न दिइने छैन।’
‘काठमाडौंको ठमेलजस्तै।’
उनले भनेझैं भक्तपुर सवारीमुक्त भए यो आधुनिक कालमा प्राचीन काठमाडौं उपत्यकाकै दोस्रो ठाउँ हुनेछ, गाडीको घन्चमन्चबाट मुक्त। जहाँ पैदलयात्रुले जोगिँदै कुनामा धस्सिनुपर्ने छैन। टिँटिँ टुँटुँले कान र धूलो–धुवाँले नाक छोप्नुपर्ने छैन।
[caption id="attachment_117306" align="alignnone" width="825"]

तस्बिरः चेतना गुरागाईं/सेतोपाटी[/caption]
प्रजापतिको तेस्रो योजना यही हो।
उनका अनुसार साढे दुई वर्षअघि दरबार स्क्वायर क्षेत्र लगभग सवारीमुक्तै थियो। मूल गेट नपुग्दैदेखि गाडी छिर्न प्रतिबन्धित थियो। न्यातपोल मन्दिर र सुकुलढोका आसपासका केही भाग शान्त थिए। विस्तारै नियम मिचिँदै गयो। काठमाडौं सभ्यताको यो अभिन्न अंगलाई आधुनिकताले छोप्दै लग्यो।
भुइँचालोपछि त झनै अस्तव्यस्त।
मेयर प्रजापति भने यो क्षेत्रलाई पुरानै स्वरूपमा फर्काउन प्रतिबद्ध रहेको बताउँछन्।
‘यो प्राचीन महत्वको क्षेत्र हो। सवारी आउजाउ गर्दा निस्कने कम्पनले पुराना संरचना कमजोर बनाउँछ। फेरि धूलोधुँवा हुँदा पर्यटकलाई पनि सास्ती,’ उनले भने।
सवारीमुक्त गर्न सके भक्तपुर क्षेत्रप्रति पर्यटक आकर्षण र आर्थिक क्रियाकलाप वृद्धि हुने उनको विश्वास छ। सवारीको भिडभाड र धूलो–धुवाँले यहाँका पुराना पसल मान्छेका आँखामा पर्दैनन्। सुविस्ताले हिँड्न पाए यताउति हेर्दै हिँड्छन्। पसलहरू सबैका नजरमा आउँछन्।
पर्यटकलाई पनि भिडभाडभन्दा कलाले भरिपूर्ण शान्त भक्तपुरले नै आकर्षित गर्छ भन्ने उनलाई थाहा छ।
‘आज नेपाल आउने करिब ३२ प्रतिशत पर्यटक एकचोटि भक्तपुर आउँछन्। उनीहरूको बसाइ दुई–तीन घन्टाभन्दा बढी हुँदैन। म कम्तीमा एक रात यहीँ बिताउने माहौल बनोस् भन्ने चाहन्छु,’ उनले भने, ‘यहाँको परम्परा र सम्पदा जोगाएर मात्र पुग्दैन, पर्यटकलाई हिँडडुल गर्न सुविस्ता पनि हुनुपर्छ।’
पछिल्लो स्थानीय चुनावबाट मेयर निर्वाचित प्रजापति आफ्नो कार्यकालको सुरुआतमै दरबार क्षेत्र र पुरानो बजारलाई सवारीमुक्त गराउन चाहन्थे। यसो गर्दा पुनर्निर्माणकै काममा बाधा पुग्ने उनले देखे।
उपत्यकामा भुइँचालोले सबभन्दा क्षति पुगेको भक्तपुर नै हो। विश्वसम्पदा सूचीमा पर्ने दरबार क्षेत्रकै धेरै सम्पदा बिग्रिए। बजार क्षेत्रका धेरै पुराना घर भत्किए। सबैलाई पुरानै स्वरूपमा ढाल्नु सबभन्दा ठूलो चुनौती बन्यो। नगरपालिकाको मुख्य जोड यसैमा छ।
[caption id="attachment_117307" align="alignnone" width="825"]

तस्बिरः चेतना गुरागाईं/सेतोपाटी[/caption]
‘भुइँचालोका भग्नावशेष लथालिंग राखेर सवारीमुक्त गर्दा निर्माण सामग्री ओसारपसारमै बाधा पुग्ने भयो। ट्रयाक्टर र ट्रिपर छिर्न नपाएपछि काम नै अड्किने अवस्था हामीले देख्यौं,’ उनले भने, ‘जुन दिन सकिन्छ, हाम्रो पहिलो काम नै सवारी आवागमन रोक्नु हो।’
ढुवानी साधनबाहेकका निजी गाडीलाई भने विकल्प नभएर रोक लगाउन नसकेको उनले बताए। सहज वैकल्पिक बाटो र पार्किङ बन्दोबस्त गरेपछि रोक लगाइहाल्ने उनको योजना छ।
‘अहिले नै सवारीमुक्त गरे त स्थानीयले प्रश्न गरिहाल्छन्। जनतालाई मर्का पारेर सुधार हुँदैन,’ उनले भने, ‘उनीहरूको विश्वास जितेर सँगसँगै लैजान सके मात्र दिगो हुन्छ।’
यिनै कारणले अचेल मुख्य दरबार क्षेत्रबाहेक अन्य सबैतिर सवारी ओहोरदोहोर भइरहेकै देखिन्छ। केही ठाउँमा नियमले प्रवेश निषेध भए पनि पालना छैन। लुकिछिपी आउँछन्। प्रशासनले आँखा चिम्लन्छ।
सवारीमुक्त अभियानकै क्रममा पुराना बाटा नयाँ ढंगले डिजाइन भइरहेका छन्। ढुंगा छापिने बाटोछेउ इँटाको पेटी बनाइँदैछ। सम्पदा पुनर्निर्माणकै अवधिमा नयाँ बाटो बनाउने पनि नगरपालिकाको कार्यक्रम छ। यसमा स्थानीय सहभागिता बढाउन वडा–वडाबाट कार्यक्रम माग गरिएको छ।
‘पुनर्निर्माण सँगसँगै वैकल्पिक बाटाहरू बन्नेछन्। पार्किङको बन्दोबस्त हुनेछ,’ उनले भने, ‘पहिला स्थानीय बासिन्दाको सुविस्ता सुनिश्चित हुनेछ, अनि बस्ती सवारीमुक्त।’
उपत्यकाका तीन जिल्लामध्ये प्राचीन सभ्यतालाई निरन्तरता दिनेमा भक्तपुर अगाडि नै छ। काठमाडौं र पाटनले धेरै पुराना सम्पदा गुमाउँदै गएका बेला भक्तपुरले जीवित राखेको छ। सम्पदा सँगसँगै यहाँका संस्कृति, रीतिरिवाज र रहनसहन पनि आधुनिकताले कमै बिटुलिएका छन्।
यति हुँदा हुँदै दरबार क्षेत्र र नजिकको पुरानो बस्ती सुकुलढोकामै सवारी घन्चमन्चले नगरपालिका र स्थानीय प्रशासनको आलोचना पनि हुन्छ।
‘म आलोचनाको डरले लापरबाह हुन चाहन्नँ,’ प्रजापतिले भने।
‘चाहे बाटो होस्, मन्दिर–मूर्ति वा परम्परागत संरचना, हामीले जतिसक्दो राम्रो गर्ने हो। भक्तपुर उदाहरणीय हुनुपर्छ। सबै जना हामीले के गर्यौं, कसो गर्यौं भनेर हेर्न आउँछन्। राम्रो काम गरेर देखाउनुपर्छ,’ उनले भने।
[caption id="attachment_117305" align="alignnone" width="825"]

तस्बिरः चेतना गुरागाईं/सेतोपाटी[/caption]
पुनर्निर्माण योजनामा मन्दिर, मूर्ति र बाटा मात्र छैनन्।
स्थानीयका घरसमेत छन्।
नगरपालिकाको नियमअनुसार दरबार क्षेत्र र मूल सडक आसपास कुनै घर ‘आधुनिक शैली’ मा बनाउन पाइँदैन। घरको भित्री भाग इच्छा लागेको डिजाइनमा बनाए पनि बाहिरी मोहडामा दुई थोक अनिवार्य छ– परम्परागत डिजाइनको इँटा र आँखीझ्याल (सँझ्याः)।
कुनै घर परम्परागत इँटाबेगर बनेको देखे नगरपालिकाले त्यस्तै डिजाइनको टायल भए पनि हाल्न लगाउँछ। सँझ्याः हाल्न त लागतको ३५ प्रतिशत सहयोग नै गर्छ। कुनै घर भत्किएको र झ्याल पुरानो छ भने हुनेसम्म मर्मत गर्दिन्छ। नयाँ नै हाल्नुपरे सँझ्याःको विकल्प छैन।
‘यसले भक्तपुर क्षेत्रको संरचनामा एकरूपता ल्याउँछ। सुन्दर देखिन्छ। कला–शैली बाँचिरहन्छ,’ उनले भने, ‘इँटा र झ्याल यहाँका पहिचान हुन्। यसलाई जोगाउन हरसम्भव प्रयास भइरहेको छ। ताकि, पर्यटकले भक्तपुरको मौलिक नमूना बस्ती र प्राचीन काठमाडौं सभ्यताको झलक यहाँ अनुभूत गरून्।’
सवारीमुक्त गरेपछि दैनिक आवश्यकतामा केही वैकल्पिक व्यवस्था गरिने उनले बताए।
पहिलो चरणमा फोहोर उठाउन र स्थानीय व्यापारीलाई सामान ढुवानी गर्न तीनपांग्रे रिक्सा चलाउने तयारी छ। साँघुरा गल्लीभित्र फोहोर उठाउन सजिलो होस् भनेर रिक्सा छानिएको हो। नगरपालिकाले यस निम्ति टेन्डर खोलिसक्यो।
यस्ता सवारी पर्यटकलाई पनि उपयुक्त हुनसक्छ। यसबारे छलफल गरेर तुरुन्तै कार्यान्वयनमा लगिने उनले जानकारी दिए।
उनका अनुसार सवारीमुक्त गरेपछि बच्चा, अशक्त, अपांगता भएका र पाका उमेरका पर्यटक निम्ति यस्ता रिक्सा सञ्चालन गरिनेछ।
‘दरबार क्षेत्र ठूलो छ, सबै जना हिँड्न नसक्लान्। पर्यटकको भ्रमण सहज बनाउन वातावरणमैत्री र सम्पदामा असर नगर्ने सवारी व्यवस्था गर्नेछौं,’ उनले भने।
यी सबै काम पुनर्निर्माण र ढुंगा छाप्न सकिएपछि हो।
अहिलेलाई प्रजापति यत्ति भन्छन्, ‘प्राचीन भक्तपुर क्षेत्र सवारीमुक्त हुन्छ नै।’