८ घण्टापछि सुपर ग्यास उद्योगमा लागेको आगो आफैँ निभ्यो

दुई जनाको मृत्यु, कम्तीमा ३ जना घाइते, उद्योग संचालक भूमिगत


वीरगञ्जको सुपर ग्यास उद्योगको प्लाण्टमा लागेको आगो आफैँ निभेपछि बिहानदेखि उत्पन्न भएको भयावह स्थिति नियन्त्रणमा आएको छ।

उद्योगमा भएको आगलागी  दिउँसो २ बजे आफैँ निभेपछि स्थिति नियन्त्रित भएको छ। ड्रोन क्यामराबाट सुरक्षाकर्मीहरूले आगो निभेको पूर्णरूपमा अवलोकन गरेपनि प्लाण्ट परिसरमा सुरक्षकर्मीहरूको टोली प्रवेश गरि नियन्त्रणमा लिएको हो।

आगलागीबाट उद्योगमा रहेको ४ वटा बुलेटसहितको ग्यास ट्यांकर ,२ वटा पिकअप गाडि, जेनेरेटर लगायत सम्पूर्ण भौतिक सरंचनाहरू जलेर नष्ट भएका छन्। आगलागीमा दुई जना आगो नियन्त्रकहरूको मृत्यु भएको छ भने तीन जना घाइते रहेका छन्। घाइते दुई जनाका अवस्था चिन्ताजन रहेकोले हेलिकप्टरबाट राजधानी लगिएको छ।

घाइते दुवैजनाको वीरअस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको जनाइएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजे आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो। ग्यास भण्डारण ट्याङ्कीबाट ग्यास लिक भई आगलागी सुरू भएको हो। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको अग्निनियन्त्रक दमकल समेत जलेको छ।

वरुणयन्त्र जल्नुको साथै आगलागी नियन्त्रण भन्दाबाहिर गएपछि घटनास्थालबाट सर्वसाधारणहरूलाई ४ किलोमिटरको दूरीमा हटाउने कार्य भएको थियो। आगलागीको कारण गाउँबाट विस्थापित भएका स्थानीयहरूलाई संघीय समाजवादी फोरम तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राहत सामग्री समेत वितरण गरेको थिए। विश्वकर्मा सिमेण्ट उद्योग नजिकै रहेको प्लाण्टभित्र रहेका सबै ग्यास सिलिण्डरहरू पनि जलेर नष्ट भएका छन्। ग्यास बुलेटबाट प्लाण्टमा सार्ने क्रममा लिक भई आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले बताए।

उद्योगको प्लाण्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित बनेका थिए। आगलागीको चिन्ताजनक अवस्थालाई लक्षित गर्दै वीरगञ्ज  र आसपासका सम्पूर्ण विद्यालयहरू बन्द गराइएको थियो। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको थियो।

सात वर्ष पहिले सुरू भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन्। संचालक अन्सारी घटनापछि फोन अफ गरेर भूमिगत भएको एक सुरक्षा अधिकारीले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.