माइक्रो चढ्न ‘सभ्य’ लाम बस्ने अर्को ठाउँ– मनमैंजु

माइक्रो चढ्न ‘सभ्य’ लाम बस्ने अर्को ठाउँ– मनमैंजु

मनमैंजु स्टपमा लामबद्ध भएर माइक्रो पर्खिरहेका यात्रु। तस्बिर स्रोत: लक्ष्मण काप्रीको फेसबुक


‘मनमैंजु माइक्रो पार्क कहाँ हो?’

‘उ त्यहाँ तल, ओरालो सकिने बित्तिकै,’ मनमैंजु लोकतान्त्रिक चोकका चिया व्यापारीले भने।

‘त्यहाँ मान्छे लाइन लागेर माइक्रो चढ्छन् हो?’

‘हो त,’ उनले उत्साहित हुँदै सुनाए, ‘दुई वर्ष भइसक्यो लाइन लाग्न थालेको।’

हामी उनले देखाएको ओरालो झर्यौं। माथिबाटै लाम देखियो। छ–सात जना यात्रु पालैपालो माइक्रो चढ्दै थिए।

यो त अझ सामान्य दिनभन्दा पातलो रहेछ। स्थानीयका अनुसार चुनावको मुखमा स्कुल–कलेज विदा भएकाले यात्रुको चाप छैन। त्यही भएर यात्रुभन्दा माइक्रो नै बढी थिए। चार–पाँचवटा रित्ता माइक्रो त्यसै पालो पर्खिरहेका।

अरू सामान्य दिनमा भने बिहान ५ देखि दिउँसो १२ बजेसम्म यात्रुको अनवरत ओइरो हुन्छ। उनीहरू अरू ठाउँजस्तो ठेलमठेल र भिडभाड भने गर्दैनन्। बरु व्यवस्थित लाम बस्छन्। कहिले त यो लाम सय मिटरसम्म लम्बिने स्थानीयले बताए।

मनमैंजु मात्र होइन, काठमाडौंका केही स्थानमा साँझ–बिहानको व्यस्त समय अचेल यस्ता दृश्य देखिन थालेको छ। बनस्थलीको खरिबोट, बानियाँटारका धनेश्वर, सूर्यदर्शन र भत्केको पुल माइक्रो स्टपका साथै रत्नपार्कबाट बानियाँटार जाने यात्रु लामबद्ध भएर चढ्छन्। विगतमा जस्तो पेलपाल गर्दै माइक्रो चढ्ने प्रवृत्ति बदल्दै यी ठाउँका स्थानीयले सभ्यताको परिचय दिएका छन्।

र, यो सभ्यता फैलिँदैछ।

काठमाडौंकै नमूना बन्दै गएका यी ‘सभ्य’ माइक्रो स्टपको पुरानो उदाहरण हो, मनमैंजु।

लोकतान्त्रिक चोकका ती चिया–पसलेले भनेझैं यहाँ यात्रु लाम बस्न थालेको दुई वर्षभन्दा बढी भइसक्यो। लगभग भारतीय नाकाबन्दी बेलादेखि नै। बीचमा केही समय यो चलन मत्थर भयो। अहिले करिब डेढ वर्षदेखि अनवरत चल्दै आएको स्थानीय तथा माइक्रो चालकहरू बताउँछन्।

खरिबोट, बानियाँटार र रत्नपार्कमा जस्तै यहाँ पनि कुनै ‘ठूला मान्छे’ वा ‘निकाय’ ले यो नियम बसालेका होइनन्।

कसले बसाले त?

माइक्रो पार्ककै छेउमा शिशा पसल चलाउने सुवास गिरीलाई हामीले यही प्रश्न सोध्यौं।

सुवास गिरी

‘ल आउनुस्, म तपाईंलाई त्यो मान्छे नै भेटाइदिन्छु,’ उनी आफ्नो पसलबाट निस्केर छेवैको फेन्सीतिर लागे।

हामीले उनलाई पछ्यायौं।

फेन्सी पसलको शिशाढोका बन्द थियो। गिरीले ढक्ढक्याए। कालो चश्मा लगाएका एक युवक बाहिर निस्के।

उनी हुन्, बिक्रम महर्जन।

यहाँ व्यवस्थित लाम लगाउने श्रेय उनी र उनका साथीहरूलाई दिइन्छ।

‘ए बिक्रम ! तिमीले माइक्रोमा लाइन लगाउने काम गरेर कारबाही गर्नुपर्यो रे, उहाँहरू कारबाही गर्न आउनुभाछ,’ उनले जिस्कँदै भने।

बिक्रम एकछिन अक्कबक्क परे।

हामीले आफ्नो परिचय दिएपछि भने कुराकानी गर्न तयार भए।

उनका अनुसार दुई वर्षअघि मनमैंजु माइक्रो स्टपको अवस्था काठमाडौंका अन्य ठाउँजस्तै बेहाल थियो। बिहान-साँझ यो रूटका १९ वटा माइक्रोलाई यात्रुको चाप धान्न मुश्किल पर्थ्यो।

‘त्यहाँमाथि सबैलाई हतार,’ बिक्रमले भने, ‘माइक्रो चढ्नेबेला दिनकै केही न केही समस्या हुन्थ्यो। कहिले चोरी हुन्थ्यो, कहिले कसैलाई चोटपटक लाग्थ्यो। सबेरैदेखि भिडभाडले हामी यहाँ पसल चलाउनेलाई नै हैरान हुन्थ्यो।’

‘सानो ठाउँ, थोरै गाडी र धेरै मान्छे। सम्झिनुहोस् त, हालत के होला? बूढाबूढी र केटाकेटीको बिजोग हुन्थ्यो। स–साना नानी बोक्ने महिलाहरूलाई झनै समस्या। हामी त यहीँ अगाडि छौं, सधैं देख्थ्यौं। आजित भएर यात्रुलाई लाइन लगाउने नियम बसाल्यौं,’ उनले भने।

आफूसहित अन्य स्थानीय र माइक्रो सञ्चालक समितिकै सहकार्यमा यो नियम बसालेको महर्जनले बताए।

बिक्रम महर्जन

घचेटाघचेट गर्दै गाडी चढ्ने बानी परेका यात्रुलाई सुरुमा लाम बसाउन गाह्रो भएको उनी सम्झन्छन्। ‘सुरुमा त निकै गाह्रो भयो। कतिले यो नियम यात्रुको सुविस्ताकै लागि हो भन्ने नबुझ्दा अरूलाई समेत समस्या हुन्थ्यो,’ बिक्रमले भने, ‘विस्तारै लाइन नियमले यात्रु लाभान्वित भएपछि बल्ल सहज भयो।’

गिरी पनि यो नियमले टोल नै सभ्य देखिएको बताउँछन्।

‘अहिले हेर्नुस् त, भिडभाड केही हुन्न, यात्रुलाई पनि आनन्द छ, हामी छेउमा व्यापार गर्नेहरूले दिनैभरि घन्चमन्च हेरेर बस्नुपर्दैन,’ उनले भने।

लाम बस्ने चलनले सबैभन्दा सहज गाडी चालक र सहयोगीलाई भएको ८७५२ नम्बर माइक्रोका सहयोगी दीपक रानाले बताए। ‘सबभन्दा सजिलो हामीलाई नै हुन्छ,’ रानाले भने, ‘नभए त यात्रु सम्हाल्न कम्ता गाह्रो हुन्थ्यो!’

एक वर्ष यो रूटमा हिँडिसकेका राना यस्तो नियमले दुर्घटना र यात्रुबीच विवाद कम गरेको बताउँछन्। ‘यात्रु जथाभाबी चढ्थे, एकअर्कालाई धक्का दिन्थे, रिसाउँथे। कोही झ्यालबाटै चढ्न खोज्थे, कोही ढोकामा च्यापिन्थे, कति लड्थे,’ रानाले भने, ‘कराउँदा-कराउँदा हैरान हुन्थ्यो। अहिले गाडी रोकेर उभिए पुग्छ। यात्रु आउँछन्, मिलेर चढ्छन्।’

स्थानीय र माइक्रो समितिबीच समझदारी हुँदा यो सम्भव भएको चालक राजु थापा बताउँछन्। ‘खरिबोट र बानियाँटार रूटमा पनि यस्तै आनन्द छ। अन्त भने उही दुःख झेल्नुपर्छ,’ उनले भने।

चालक थापा र राना सबैतिर यस्तै नियम होस् भन्ने चाहन्छन्। व्यस्त स्थानमा झनै आवश्यक भएको उनीहरूको भनाइ छ। खासगरी रत्नपार्क र भृकुटीमण्डपजस्तो व्यस्त ठाउँमा यो नियम जरुरी भएको उनीहरूले बताए।

‘रत्नपार्कमा एउटा बानियाँटार जाने लाइन हुँदा त त्यति सजिलो छ,’ दुवैले भने, ‘सबैतिरको रूटमा यस्तै भइदिए, कस्तो हुन्थ्यो होला!’

अभियानमा सबैको सहमति र सहयोग देखेर सक्रिय भूमिका खेलेका बिक्रम पनि सन्तुष्ट छन्।

‘जे कुरा पनि सुरुमा गाह्रो हो। हाम्रो सहजता त हामीले नै हेर्नुपर्यो नि!’ उनले भने, ‘यहाँ गाह्रो हामीलाई छ, अरू कसैले आएर त हाम्रो समस्या समाधान गरिदिँदैन। हामीले नै पहल गर्नुपर्छ भनेर सुरु गर्यौं। माइक्रो चालकहरूले पनि साथ दिनुभएको छ। कुनै यात्रुले एक दिन नबुझ्ला, दुई दिन नबुझ्ला, केही दिनपछि अवश्य बुझ्छ– यो उसैको लागि हो।’

दीपक राना

उनले यो नियम बसाउँदा झेल्नुपरेका केही अनुभव पनि सुनाए।

‘कहिलेकाहीँ मनमैंजुभन्दा माथिबाटै यात्रु चढेर आइदिँदा यहाँ धेरै बेर लाइन बस्नेलाई मर्का पर्थ्यो। हामीले नियम भनेको नियम हो भन्दै उनीहरूलाई उतारेर लाइनमै लगाउनेसम्म गर्यौं। यसले लाइन व्यवस्थामा यात्रुको विश्वास जाग्दै गयो।’

‘मनमैंजुको सभ्यता’ भन्दै स्थानीयले सामाजिक सञ्जालमा तस्बिर राखेपछि सकारात्मक सन्देश फैलिएको उनी बताउँछन्।

‘यो सानो काम हो हाम्रो लागि, तर कति ठूलो परिवर्तन ल्याउँछ! अहिले तीन–चार ठाउँमा सुरु भइसक्यो। यस्तै सबैतिर गर्न सकिन्छ। हो, सुरुमा केही समस्या पर्छन्। अलिकति मात्र धैर्य राख्ने हो भने सबैतिरका स्थानीयले आफैं यो काम गर्न सक्छन्। केही जाने होइन हाम्रो, बरू टोलकै चिनारी र गर्व भएको छ,’ उनले भने।

टोलको चिनारी र गर्व आफ्नो ठाउँमा छ, सबभन्दा ठूलो कुरा ‘सहज यात्रा’ हो, जुन काठमाडौंको स्थानीय रूटका लागि विरल थियो।

‘काठमाडौंका सबै गाडी स्टपमा लाइन लाग्ने व्यवस्था हुनु र सरक्क सिटमा बसेर सर्रर यात्रा गर्ने रहर कसलाई नहोला! यो असम्भव छैन। सानो परिवर्तन हो, कसैलाई नगुहारी, नकराई हामी आफैंले आफ्नो ठाउँबाट सुरु गर्न सक्छौं,’ बिक्रमले भने।

मनमैंजु, खरिबोट र बानियाँटारका स्थानीयले त गरिसके, तपाईंले नि?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.