अहिले बनेका घरेलु बमहरू द्वन्द्वकालकै प्रशिक्षणबाट

अहिले बनेका घरेलु बमहरू द्वन्द्वकालकै प्रशिक्षणबाट


सोमबार विहान कांग्रेस नेता गगन थापा चुनाव प्रचारकै सिलसिलामा रहेको बेला उनको छेवैमा बम विष्फोट गराइयो। थापा उनको निर्वाचन क्षेत्र ४ अन्तर्गत चपली पुगेका थिए। हिँडिरहेको स्थान छेवैमा घर नजिकैको कान्लामा रहेको किट्ली बममा अचानक दवाव सिर्जना गरेर उक्त विष्फोट गराइएको थियो।

घटनास्थल पुगेका एसएसपी रविन्द्र धानुकका अनुसार किट्लीभित्र विष्फोटक र गिटीहरू राखिएका थिए। यसरी तयार पारिएको बमलाइ तीनसय देखि पाँच सय मिटरको दुरीबाट रिमोटको सहायताले विष्फोट गराइएको धानुकले जानकारी दिए। त्यसमा परेर थापासहित दस जना घाइते भएका थिए।

निर्वाचन प्रकृया सुरूभएयता उम्मेदवारलाइ लक्षित गरेर यस किसिमका बम आक्रमण हुँदै आइरहेका छन्। चुनाव बिथोल्ने घोषित नीति लिएकै कारण यस्ता विष्फोटका पछाडि सजिलै नेत्रविक्रम चन्दको नाम जोडिदिइने गरिएको छ। तराइका केहि स्थानमा भने तत्कालीन सशस्त्र भूमिगत समूहले पनि जिम्मेवारी लिएको पाइन्छ।

निर्वाचनको बेला यसरी नेताहरूलाइ लक्षित गरेर पड्काइएका बमहरू कत्तिका शक्तिशाली हुन्?

नेपाली सेनाका प्रवक्ता नैनराज दाहालका अनुसार यी कुनै पनि बम धेरै शक्तिशाली भेटिएका छैनन्। ठूलो नोक्सानी पुर्याउने भन्दा पनि हुलमुलमा त्रास सिर्जना गर्ने हिसाबले थोरै विष्फोटक राखेर बनाइएका बमहरू अहिले प्रचलित छन्।
विष्फोटमा परेर अहिलेसम्म म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको छ भने एकजना महिलाले खुट्टा गुमाएकी छिन्।

विष्फोटकको छेवैमा परेर यस्तो क्षति भएता पनि यी बमहरू कारखानामा बनेका शक्तिशाली नभइ तत्काल पड्काउनका निम्ति घरैमा तयार पारिएका सामान्य किसिमको रहेको सेनाका सहायक रथी समेत रहेका दाहाल सुनाउँछन्।

उनका अनुसार निर्वाचन प्रकृया सुरूभएयता ग्रिनेट, पाइप बम, सकेट बम र प्रेसर कुकर बम बढी पड्किएका छन्। यिनको प्रकृति द्धन्द्धकालमा ब्यापक प्रयोग भएका बमहरूसँग मिल्दोजुल्दो रहेको उनले सुनाए।
‘त्यस बेला बनाइएको बममा विस्फोटक पदार्थको मात्रा धेरै हुन्थ्यो अहिले कम छ,’ उनले भने, ‘फरक त्यति मात्र हो।’

द्वन्द्व कालमै प्रशिक्षित भएकाहरूले नै अहिले पनि यी बम बनाउने काम गरिरहेको सेनाको दाबी छ।

दाहालका अनुसार अहिले कतै देखिने स्थानमा बसेर रिमोट कन्ट्रोलबाट, तार प्रयोग गरेर र शंकास्पद स्थानमा बम तयार बनाएर राख्ने र त्यसमा प्रेसर हुने वित्तिकै पड्कने गरेर तीन प्रकारका बम पड्काइएका छन्।

द्धन्द्धकालमा माओवादीहरुले गाडी नै उडाउने गरी एम्बुस थाप्ने गर्दथे। जुन अहिले पड्किएका बम भन्दा धेरै गुणा शक्तिशाली हुने सेनाले जनाएको छ।

प्रहरीले रिमोट कन्ट्रोल र विस्फोटक पदार्थसहित केही दिनअघि थानकोट र सप्तरीबाट केहीलाई प्रक्राउ गरेको थियो ।

अहिले पड्किएका बम घरमा बनाउन डेटोनेटेर र विस्फोटक पदार्थ आवश्यक पर्छ। धेरै शक्तिशाली बनाउन विस्फोटक पदार्थ धेरै र त्यसमा ढुंगा, फलामका टुक्राहरु राखिन्छ।

डेटोनेटेर चट्टानहरु फोर्न प्रयोग गरिन्छ। डेटोनेटरले बम शक्तिशाली बनाउन सहयोग गर्छ। अहिले थोरै विस्फोटक पदार्थ हालेर तर्साउने उद्धेश्यले मात्र बम बनाइएको दाहालले बताए।

उनका अनुसार द्धन्द्धकालमा धेरै विस्फोटक पदार्थ हालेर शक्तिशाली सकेट बम माओवादीहरुले पड्काउथे।

अहिले पहाडमा विप्लवका कार्यकर्ता र तराईका केही जिल्लामा सिके राउतका कार्यकर्ताले बम पड्काएको गोप्य सुचना हामीले पाएका छौं, जंगी जड्डाका उच्च अधिकारीले सेतोपाटीसँग भने। त्यसबाहेक एउटा विष्फोटमा तराइकै भूमिगत जनतान्त्रिक तराइ मुक्ति मोर्चा (गोइत समूह)ले पनि जिम्मेवारी लिएको थियो। प्रहरीका अनुसार तराइमा भइरहेको विष्फोटमा गोइत समूह पनि संलग्न छ।

नेपाल प्रहरीका पुर्व डिआइजी हेमन्त मल्ल ठकुरी भने नुवाकोट, उदयपुर र काठमाडौंमा पड्किएका बम शक्तिशाली भएको बताउँछन्।

द्धन्द्धकालमा तयार पारिने गरिएको बममा बिस्फोटक पदार्थको मात्रा धेरै हुनेगरेको ठकुरी पनि बताउँछन्।

‘भरुवा बन्दुकमा चरा मार्न र बाँदर धपाउन कम बारुद हालिन्छ,’ ठकुरीले भने, ‘त्यसले सानो आवाज र क्षति पनि कम दिन्छ। अहिलेका अधिकांश बम त्यस्तै हुन्।’

त्यही भरूवामा बेस्सरी बारुद हालेर पड्काउँदा क्षति पनि बढी हुनेगरे झैँ शक्तिशाली बम तयार हुने गर्छन्।

अरू कुरामा मतभेद भएता पनि बम पड्काउनेविरूद्ध मुख्य पार्टीहरू एक स्थानमा उभिएर समाधान खोज्नुपर्ने ठकुरीको सुझाव छ।

बम विस्फोट बारे प्रहरी प्रधान कार्यालयले विशेष ब्युरोलाई अनुसन्धान गर्ने जिम्मा दिएको छ। तर, लगातार विस्फोटका घटना भइरहदाँ पनि प्रहरीले मुख्य नेता नेत्रविक्रम चन्दलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन्।

विशेष ब्युरोका एक प्रहरी अधिकारीका अनुसार विप्लव प्रहरी निगरानीमा छन्। केहीदिनअघि विशेष ब्युरोबाट सादा पोशाकमा खटिएका प्रहरीले विप्लवलाई पक्राउ गर्न पुग्दा पनि फेला पार्न सकेको थिएन।

मोबाइल फोन ट्रयाक गरेर पक्राउ गर्न पुगेको प्रहरी त्यत्तिकै फर्किएको थियो। कारण थियो विप्लवले आफुले प्रयोग गर्दै आएको फोन उपत्यकामा नै आफ्ना कार्यकर्तालाई छाडेर उनी पश्चिम क्षेत्रमा पुगेका थिए।

‘विप्लव पनि चलाख छन्,’ ती प्रहरी अधिकारीले भने, ‘आफुले बोक्ने मोबाइल फोन पुर्वका कार्यकर्तालाई दिएर उनी पश्चिम भाग्छन्।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.