खाने होइन त घोङी?

खाने होइन त घोङी?


चितवन रत्ननगरकी  २४ वर्षीया रिना चौधरी कम्मरमा डाली बाँधेर घुँडा घुँडा आउने गरि हिलोमा दविएर घोङी खोज्दै थिइन्।

खोज्दै जाँदा हातमा गंगटा, माछा, घोङी जे पर्छ टिप्न व्यस्त थिइन्। उनको हातमा १५ मिनेटसम्म कहिले केही हात लाग्थेन भने कहिले फटाफट माछा र गंगटा हात लाग्थे। जसलाई थपक्क कम्मरमा बाँधेको डालीमा राखेर फेरि अर्को खेप हिलोमा हात गाड्थिन्।

शनिबारको दिन हिलोमा आधा ज्यान गाडेर सर्प र अन्य कुराको डरलाई भगाएर उनी घोङी टिप्दै थिइन्।

उनीलाई घोङी खोज्ने, माछा मार्ने काम रमाइलो लाग्छ। साथै बेलुकी मिठो गरेर खान पाइने हुनाले उनी आमा र साथीहरुसँग मिलेर घोङी टिप्न जाने गरेको बताउँछिन्।

उनी भन्छिन्,‘फुर्सदको समय मेरा लागि घोङी खोज्ने काम रमाइलो बनेको छ। साथी र छिमेकीसँग आउँदा गफ गर्दै बेलुकीको छाक टारेको पत्तै हुँदैन।’

उनलाई यो काम बच्चै देखि आउँछ र यसमा कुनै लाज नहुने बताउँछिन्।

थारु समुदायमा घोङी विषेश परिकार हो। दिनभर हिलो र झाडीमा गडिएर घोङी खोज्नु उनीहरुको पेशा त होइन तर यो चलन उनीहरुको बाजे बराजुको पालादेखि भएको डेबौलीकी सीता चौधरी बताउँछिन्।

‘चौधरीहरु माछा र घोङी खोज्न बच्चैबाट सिपालु हुन्छन्। यो सिप बाजेले नातिलाई आमाबुवाले छोराछोरीलाई सिकाउँछन्। उनले भनिन्,‘हामीले पनि घरबाटै सिकेको हो। पुर्खाको विँडो धानेका छौं।’

पहिलाको जस्तो अहिले घोङी र गंगटा खोला र तालमा नपाउने उनको गुनासो छ। २० वर्षदेखि घोङी खोजेको अनुभव सुनाउँदै भन्छिन्,‘ पहिला त १ घण्टामै ३ दिनलाई पुग्ने घोङी खोजिन्थ्यो। तर अहिले मुस्किलले १५ मिनेटमा एउटा घोङी पाइन्छ।’

चितवनमा धेरै जसो थारु समुदाय कृषि पेशामा निर्भर छन्। आदिवासी जनजाति चौधरीहरुको सबैभन्दा विषेश परिकार घोङी र माछा हो। उनीहरु किनेर भन्दा आफै खोलामा गएर खोजेको घोङी र माछा खान बढी मन पराउँछन्।

घरका प्राय सबै उमेरका सदस्य खोलामा गएर माछा र घोङी खोजेर ल्याउने गरेको सीता बताउँछिन्।

घरको कामबाट फुर्सद पाउन साथ चौधरी महिला र पुरुषको टोली मिलेर खोला, तलाउ र पोखरीहरुमा माछा र घोङी खोज्न पुग्छन्। चितवन टेबौलीका यी महिलाहरु घरमा खानको लागि हप्तामा १ पटक भएपनि खोला, तालहरुमा माछा र घोङी खोज्न हिंड्छन्। यो कामलाई पेशा भने नबनाएको उनले बताइन्।

घोङी पाइने सिजन भनेको कात्तिक र मंसिर महिना राम्रो भएको घोङी टिप्न आउने एक चौधरी महिला बताउँछिन्। उनका अनुसार पानी कम भएको समयमा बढी घोङी र माछा पाइने र टिप्न पनि सजिलो हुन्छ। धान काटिसकेपछिको हिलो तर सुकेको पानी, सुकेको कुलो र कम पानी भएको खोलामा घोङी बढी पाइने उनले बताइन्।

विहान खाना खाएर दिनभर लौरिघोल, बेल्सी, फसेर्नी, राप्तीका खोला र तालमा माछा, गंगटा, घोङी खोज्न उनीहरु समुह बनाएर बेलाबेलामा जाने गरेका छन्।

थारु समुदाय घोङीलाई अचुक औषधीको रुपमा लिन्छन्। टीभी र दम जस्ता रोगमा घोङी लाभकारी हुने र गंगटामा पनि क्यान्सरको औषधी हुने उनीहरुको विश्वास छ। चिकित्सकहरुले पनि घोङीमा प्रचुर मात्रामा  प्रोटिन र क्याल्सियम हुने बताउँछन्।

सीताले भनिन्,‘डाक्टरले टीभी लागेको बेलामा सबै खानेकुरा बार भन्छ तर घोङी बार्न भन्दैन, गंगटा त झन् क्यान्सरको औषधी हो।’

यस्ता रोगबाट बच्न पनि उनी समय समयमा घोङी, माछा र गंगटा खोज्न आउने गरेको बताउँछिन्।

शंखेकिरा प्रजातिको घोङीलाई पकाउन र खान छुट्टै सिपको आवश्यकता पर्ने अमिता महतो बताउँछिन्।

रातभरि पानीमा ढडाएर टुप्पा काटेर पकाउनुपर्ने र खान पनि चुस्न जान्नुपर्ने उनी बताउँछिन्। उनी भन्छिन्,‘घोङी टिप्न पनि सबैले जान्दैनन्, पकाउन र खान पनि विशेष सिप चाहिन्छ। त्यसकारण यो थारु समुदायको विषेश परिकार हो।’

महोत्सब र मेलामा पनि थारु समुदायको घोङी अहिले लोकप्रिय परिकार बन्दै गएको छ। घोङी र गंगटाको स्वास्थ्यमा लाभकारी गुण बुझेर अहिले अन्य समुदायका मानिसहरु पनि खोजी खोजी खाने गरेको टाँडी बजारमा घोङी बेच्ने एक व्यापारी बताउँछन्।

यसरी बनाउन सकिन्छ घोङी।

आफ्नो आवश्यकता र स्वाद हेरी घोङीलाई  स्वादिष्ट रुपमा पकाउन सकिन्छ।

१. घोङीलाई ठुलो बाटामा भरि पानी राखेर एक मुठी पिठो हालेर रातभरि ढडाउने,

२. रातभरिमा घोङी भित्र रहेका फोहर बाहिर निस्कन्छ र त्यसलाई ४/५ पटक सफा पानीले पखाल्ने,

३.पखालिसकेपछी अब घोङीको टुप्पोलाई काट्ने, जसको लागि धारिलो खुर्पा वा चक्कु प्रयोग गर्नुपर्छ।

४.टुप्पो काटी सकेपछि घोङीलाई फेरी पखाल्ने।

५. अब अन्य तरकारी पकाए जस्तै घोङीलाई पकाउन सकिन्छ।

६.घोङी पकाउन थारु समुदायले तेल, तोरी, लुसुन र खुर्सानीको बढी प्रयोग गर्छन्।

७.सबै तेल मसला हालेर केही छिन भुटेपछि पानी हालेर छोप्नु पर्छ।

८.घोङीको सुप पनि खान सकिन्छ अथवा पानी सुकाएर घोङी मात्रै चुस्न पनि सकिन्छ।

सबै तस्वीरः बिद्या राजपुत/सेतोपाटी

हेर्नुस् भिडियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.