‘भोट खसालेर चिसो छल्न बेशी फर्किए मुस्ताङी’

‘भोट खसालेर चिसो छल्न बेशी फर्किए मुस्ताङी’


 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भोट खसालेर मुस्ताङी फेरि बेसी फर्किएका छन्। यस सिजनको हिउँदयाम सुरु हुँनु अगाबै चिसो छल्न बेशी झरेका उनीहरुलाई जिल्लाका राजनीतिक दलकै आग्रहमा भोट खसाल्न २ साताअघि जिल्ला फर्काईएको थियो। पहिलो चरणको निर्वाचन सकेर ३ महिनाका लागि चिसो छल्न पुनः बेशीमै झर्नुपर्ने बाध्यता उनीहरुमा छ ।

पहिलो चरणको निर्वाचनको सेरोफेरोमा निकै चहलपहल देखिएको मुस्ताङ बिस्तारै सुनसान बन्दै जान थालेको हो ।निर्वाचनमा मताधिकारको उपयोगका लागि भोट खसाल्न जिल्ला फर्किएका स्थानीय मतदाता धमाधम बेशी झर्नाले जिल्ला सुनसान भएको हो।

वर्षेनी उपल्लो मुस्ताङका स्थानीयवासी हिउँदयाम सुरु हुँनु अगावै  चिसो छल्न बेशी प्रस्थान गर्ने यहाँको सदियौं देखिको चलनचल्तीनै मानिन्छ।

उत्तरी कोरला आसपासका छोनुप, छोसेर, सुर्खाङ र लोमान्थाङ आदि स्थानका गाउँहरुमा अत्याधिक चिसो बढेको र छिटफुट हिउँ झर्न सुरुआत भएको छ। यहाँ चिसो र हिउँले जनजिवन कष्टप्रद हुँने भएको हुँदा यहाँका बासिन्दा निर्वाचन सकेर ओरालो झर्न बाध्य भएको उपल्लो मुस्ताङका यातायात व्यवसायी देव गुरुङको भनाई छ।

उनले निर्वाचनअघि सुनसान उपल्लो मुस्ताङ निर्वाचनमा केही चहलपहल भएपनि पूनः सुनसान बन्दै जान थालेको बताए। जहाँका आधाजसो मुस्ताङी निर्वाचन अघिनै बिभिन्न व्यापार व्यवसाय संञ्चालन र आफन्त ईष्टमित्र भेटघाट गर्ने योजना बुनेर बेशी झरेका थिए। झरेका मध्ये राजनीतिक दलकै पहलमा चौथाई मतदाता जिल्लामा भोट खसाल्न उपस्थित भएका थिए। निर्वाचनमा भोट खसाल्न जिल्ला फर्किएका मतदातालाई राजनीतिक दलले दोहोरो खर्च ब्यवहोर्ने सर्तमा  जिल्ला फर्किएको मतदाताहरुले बताए।

उपल्लो मुस्ताङका १० प्रतिशत स्थानीय मतदाता निर्वाचनमा आफ्नो मतधिकार प्रयोग गर्न जिल्ला फर्कन नसेका कारण स्थानीयतहको निर्वाचनको तुलनामा कम मत खसेको हो ।उनीहरु निर्वाचन अघिनै छिमेकी देश भारतका बिभिन्न स्थानमा सुईटरको व्यापार गर्न देश बाहिरिएकाले राजनीतिक दलले जिल्ला फर्काउन असमर्थ भएको लोमान्थाङ निवासी ईन्द्रधारा बिष्टले जानकारी दिए।

उपल्लो मुस्ताङी मध्येका कतिपय मतदाता देशका बिभिन्न स्थानमा व्यापार गरेर बस्ने र घुमन्ते व्यवसाय गर्नेहरु जिल्लामा मतदान गर्न आएका थिए। मंसिर १० गते निर्वाचनमा भोट खसालेर पूनः बेशीमै व्यापार गर्न फर्किएकी छोसेरकी छिरिङ स्याङ्वो गुरुङले चिसोका गाउँमा बस्न नसक्ने भएकाले हिउँदे ३ महिना व्यापारका लागि झरेको बताईन्।

उनले हिउँदयाममा खेतीपातीको काम पनि नहुँने र चिसो र हिमपातले ज्यानै लिन सक्ने भएकाले बेशीमै घुमन्ते व्यवसाय संञ्चालन गरेर ३ महिना बिताउँने र गर्मी सुरु भएपछि गाउँ फर्किने उल्लेख गरिन्। ‘जिल्लामा ज्यादै चिसो बढेको छ, बालबालिकालाई त झनै मौसम प्रतिकुल छ’, गुरूङले भनीन्, ‘गाउँमा आम्दानी छैन, खेतिको सबै काम सक्काएर व्यापार र चिसो छल्न झरेका हौ ।’उनले हिउँदे ३ महिने व्यापारले राम्रै आम्दानी हुँने र हिउँदे मौसम पनि बिताईने भएकाले वर्षेनी बेशी झर्ने गरेको बताईन् ।

निर्वाचनमा मतदान गर्न जिल्ला फर्किएका अधिकांश स्थानीय बेशी झरिसकेका छन् भने उपल्लो मुस्ताङमा सञ्चालित विद्यालयहरुले पनि पोखरा र काठमाडौंमा घुम्ती कक्षा सञ्चालन गर्न थालेको जिल्ला शिक्षा कार्यालय मुस्ताङका बिद्यालय निरिक्षक मतिलाल चपाईले जानकारी दिए। हिउँदे घुम्ती कक्षा संञ्चालन गरेका विद्यालय फागुन लागेपछि जिल्ला फर्कन्छन् ।मुस्ताङको तल्लोक्षेत्रमा संञ्चालित बिद्यालयहरुलाई पनि परीक्षा सकेर हिउँदे बिदा दिने तैयारी भएको निरिक्षक चपाईको भनाई छ।

हिउँदे चिसो मौसमको समय यहाँका सरकारी तथा गैर सरकारी निकायका कार्यालय समेत सुनसान हुँने गर्छ ।यहाँ कार्यरत कार्यालयका कर्मचारी समेत बिदा मिलाएर बेशी झर्ने गरेको पाईन्छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.