डाक्टर-नर्स धमाधम बेलायत छाड्दै, ४० हजार नर्स रिक्त

डाक्टर-नर्स धमाधम बेलायत छाड्दै, ४० हजार नर्स रिक्त

तस्बिरः न्युयोर्क टाइम्स


तान्जा पार्डेलाले लन्डन छाडिन्।

आइतबार उनको अन्तिम दिन थियो।

लन्डनको कुरा उठ्नेबित्तिकै उनको अनुहार उज्यालो भएर आउँछ।

उनी यहाँको उसिनेको आलु सम्झन्छिन्। तारेको मासु सम्झन्छिन्। हरेक दिन घरबाट अस्पताल आउजाउ गर्दा बाटोमा पर्ने खेल मैदान, स्कुल पोसाक लगाएका केटाकेटी र रातो टेलिफोन बाकस सम्झन्छिन्।

उनले यहाँ ११ वर्ष बिताइन्, केटाकेटीको नर्स भएर।

एक दशकभन्दा बढी समय बिताएको यो देश छाडेर उनी जान चाहन्न्। तर, यो देश अब त्यो देश रहेन, जहाँ पार्डेला बस्न चाहन्थिन्।

‘गत वर्ष जुन २४ तारिखको दिन हामी जहाँ ब्युँझ्यौं, त्यो अर्कै देश थियो,’ उनले भनिन्।

बेलायतले युरोपेली युनियन (इयू) छाड्ने पक्षमा मतदान गरेको १७ महिनापछि पार्डेलाजस्ता धेरै युरोपेली बेलायत छाड्ने पक्षमा उभिएका छन्। यस वर्ष मार्चयता करिब १ लाख २२ हजार युरोपेली बेलायतको कामकाज छाडेर आ–आफ्नो देश फर्केको तथ्यांक छ। नवप्रवेशीहरूको संख्या भने कम छ।

लन्डन यस्तो सहर हो, जुन लामो समयदेखि युरोपेली बैंकर, ठेकेदार, डाक्टर, नर्सहरूले धान्दै आएको छ। लन्डनका क्याफेमा कफी बनाउने कामदार पनि युरोपका अन्य मुलुकबाटै आउँछन्। युरोपेलीहरूका लागि ‘सपनाको सहर’ लन्डनले पछिल्लो समय यिनै कामदार गुमाउन थालेको छ। निर्माण कम्पनीहरूले ठेकेदार पाउन छाडेका छन्। क्याफेहरूमा कफी बनाउने कामदार अभाव छ। ठूला विश्वविद्यालयसमेत राम्रा विद्यार्थी लन्डन छाडेर नजाऊन् भन्ने चाहन्छन्, तर रोक्न सकिरहेका छैनन्।

यसको सबभन्दा ठूलो प्रभाव परेको छ, बेलायतको स्वास्थ्य सेवामा।

युरोपेली युनियनबाट बाहिरिनुअघि पनि बेलायतको स्वास्थ्य सेवामा डाक्टर र नर्सहरूको अभावै थियो। अहिले आएर यो अभाव उत्कर्षमा छ। बेलायतका विभिन्न अस्पतालमा कुल ४० हजार नर्सको पद रिक्त छ।

विगतमा युरोपेली युनियनबाट रोजगारको खोजीमा आउने नर्सहरूले यो पद पूर्ति गर्दै आएका थिए। यहाँ काम गर्ने नर्सहरूमा युरोपेली युनियनको हिस्सा १४ प्रतिशत थियो, जुन राष्ट्रिय औसतको दोब्बर हो। लन्डनकै ठूलोमध्ये एक किङ्स कलेज अस्पताल, जहाँ पार्डेला काम गर्छिन्, त्यहाँ पनि नर्स र सहयोगीमा ५ सय २८ जना र डाक्टरमा ३ सय १८ जनाको पद रिक्त छ।

युरोपेली युनियनबाट बाहिरिएपछि बेलायतलाई ती रिक्त पदमा नयाँ डाक्टर र नर्स नियुक्त गर्न हम्मे परेको छ। खासगरी बेलायतमै बस्न चाहने युरोपेली युनियनका नागरिकको कानुनी हैसियत स्पष्ट नहुनुले यो समस्या ल्याएको हो। यसबारे लन्डन र युरोपेली युनियनको राजधानी ब्रसेल्सबीच वार्ता भइरहे पनि टुंगोमा पुगेको छैन।

अहिलेकै अवस्थामा बेलायतमा आएर काम गर्दा जागिर टुंगो नहुने र पेन्सन तथा निःशुल्क स्वास्थ्य सुविधा पनि नपाइएला भन्नेमा युरोपेली युनियनका नागरिकलाई डर छ। बेलायतबाट धेरै डाक्टर तथा नर्सले जागिर छाड्नु वा छाड्ने तयारी गर्नुको एउटा कारण यही डर हो।

जनमत संग्रहको नतिजा सार्वजनिक भएयता बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाबाट करिब १० हजार स्वास्थ्यकर्मीले राजीनामा दिएका छन्। अन्य युरोपेली युनियन सदस्य राष्ट्रबाट बेलायत आएर काम गरिरहेका नर्सको संख्या त झन्डै ९० प्रतिशत घटेको छ।

यसबीच नयाँ कामदार नथपिएका होइनन्। थपिने क्रमभन्दा छाडेर जानेकै संख्या उच्च रहेकाले बेलायतको स्वास्थ्य सेवामा जनशक्तिको असन्तुलन बढ्दो छ।

‘बेलायतको स्वास्थ्य सेवामा जनशक्तिको चरम अभाव देखिएको छ,’ लन्डनस्थित रोयल कलेज अफ नर्सिङका क्षेत्रीय प्रवक्ता टम कलक्लोगले भने, ‘अहिलेसम्म जो डाक्टर, नर्सहरू बेलायत छाडेर गइसकेका छैनन्, उनीहरूलाई यहीँ टिकाएर राख्न अधिकार र सुविधा सुनिश्चत गर्नुपर्छ। जबसम्म मान्छेमा भविष्यको सुरक्षा धरमर भइरहन्छ, उनीहरू कुनै पनि ठाउँमा स्थायी रूपले टिकेर बस्न सक्दैनन्। सुरक्षाको खोजीमा आफ्नो देश फर्किन्छन् वा अन्यत्र जान्छन्।’

युरोपेली युनियनबाट बाहिरिएपछि जनशक्ति अभावले बेलायतको स्वास्थ्य सेवा नै जोखिमपूर्ण अवस्थाबाट गुज्रेको उनले बताए।

यसले बेलायती अस्पतालका हरेक विभागमा समस्या ल्याएको छ। किङ्स कलेज अस्पतालको अतिसघन उपचार कक्षका अस्ट्रियन डाक्टर जर्ज यूजिंगरले आफ्नै रेखदेखमा बिरामीलाई विश्वस्तरको सुविधा दिइरहेका छन्। तर, एकाएक अतिसघन कक्षमा काम गर्ने डाक्टर तथा नर्सको अभाव सुरु भएको उनले बताए।

तस्बिरः न्युयोर्क टाइम्स

आकस्मिक कक्षमा काम गर्ने फ्रेन्च डाक्टर सिरिल नोयलको पनि यस्तै भनाइ छ। ‘मैले जुन देशलाई यति धेरै माया गरेँ, आफ्नै ठानेँ, उसैले आज मलाई आफ्नो ठानेन,’ बेलायत छाड्ने तर्खरमा रहेका डा. नोयलले भने।

डा. नोयलको आकस्मिक कक्षमा जनशक्ति अभाव भएपछि दुई दर्जन बेड घटाइएको छ। हालैको एक शुक्रबार दिउँसो उनले आफ्नो कक्ष सर्सती अनुगमन गरे। ‘स्ट्रोक’ भएर ल्याइएका सात जना बिरामी थिए। सवारी दुर्घटनामा घाइते दुई जना र झडपमा चक्कु लागेका एक जना थिए। गाडीले ठोक्किएर घाइते भएकी एक महिला पनि थिइन्। चुम्बक निलेर सास फेर्न अप्ठ्यारो मानिरहेका एक बालक थिए। मुखमा कसैले मुक्का हानिदिँदा झन्डै झन्डै मृत्यु भएका एक जना गम्भीर बिरामी पनि थिए।

तुरुन्तका तुरुन्तै उपचार गर्नुपर्ने यस्तो संवेदनशील ठाउँमा चार जना नर्स कम भएको डा. नोयलले बताए।

त्यस दिन उनीसँग काम गर्नेमा एक जना चेक डाक्टर थिए भने नर्सहरू आयरल्यान्ड, पोल्यान्ड, स्पेन र पोर्चुगलका थिए। यी सबै जना बेलायत छाड्ने तयारीमै छन्। आ–आफ्नो देशमा जागिरको निम्ति आवेदन दिइसकेका छन्।

‘सबै जना आत्तिएका छन्, बेलायतमै बसे के हुने हो, कसो हुने हो भन्ने सबैलाई चिन्ता छ,’ स्लोभाकियाकी एक वरिष्ठ नर्स अलेक्जेन्ड्रा कुन्डरलिकोभाले भनिन्, ‘यो बेलायतको स्वास्थ्य सेवाको निम्ति राम्रो लक्षण होइन।’

अलेक्जेन्ड्रा आफैं सन् २००३ मा बेलायत आएकी हुन्। त्यो बेला उनको देश युरोपेली युनियनमा आबद्ध भइसकेको थिएन। त्यतिखेर जागिरका लागि आवेदन दिन बिहान ४ बजेदेखि लाम लागेको उनी अझै सम्झन्छिन्।

‘के अब हामीले फेरि त्यस्तै दिन झेल्नुपर्ने हो?’ उनले प्रश्न गरिन्।

उता, अतिसघन उपचार कक्षका डा. जर्ज यूजिंगरले गत महिना आफ्नो विभागका लागि डाक्टर तथा नर्स गरी ४ सय ७ जनाको आवेदन माग गरेका थिए। युरोपेली युनियनका एक जनाले पनि आवेदन नदिएको उनले जानकारी दिए। विगतमा यसरी आवेदन माग गर्दा कम्तिमा एकतिहाइ युरोपेली युनियनकै हुन्थे।

हुन त डा. जर्जलाई बेलायती डाक्टर नै नियुक्त भए पनि कुनै आपत्ति छैन। उनी खुसी नै हुनेछन्। तर, यति ठूलो संख्यामा दक्ष डाक्टर तथा नर्स बेलायतभित्रै नहुनुले उनलाई चिन्तित बनाउँछ। ‘अहिले जति स्वास्थ्यकर्मीको पद रिक्त छ, त्यति संख्या बेलायतभित्रकै डाक्टर, नर्सहरूले मात्र पूरा गर्न सक्दैन,’ उनले भने, ‘यसका लागि बाहिरबाट जनशक्ति आपूर्ति नगरी हुँदैन।’

यही अवस्था हेरेर सरकारले गत मार्च महिनामा बेलायती नर्सलाई अतिरिक्त तालिम दिने घोषणा गरेको थियो। सुरुमा केही नर्सले तालिम लिने इच्छा देखाएका पनि थिए। तर, सेप्टेम्बर महिना नलाग्दै तालिममा भर्ना हुनेको संख्या ह्वात्तै घट्यो। यसको कारण सरकारले नर्सिङ विद्यार्थीका लागि अनुदान सुविधा कटौती गर्नु हो।

‘बेलायती जनशक्तिबाट मात्र अहिलेको अभाव पूरा हुने अवस्थै छैन, त्यसैले हामीले एउटा देशका आप्रवासीले खाँदै आएको जागिर अर्को देशका आप्रवासीलाई दिन खोजिरहेका छौं,’ किङ्स कलेजका सहायक निर्देशक पिटर एब्सालोमले भने, ‘खासगरी फिलिपिन्स, अस्ट्रेलिया र भारतका डाक्टर तथा नर्सको खोजी भइरहेको छ।’

यसबाहेक अन्य देशका दक्ष जनशक्तिले पनि अवसर पाउने सम्भावना रहेको उनले बताए। आगामी १२ महिनामा बेलायतका विभिन्न अस्पतालमा डाक्टर तथा नर्सको रिक्त स्थान भर्ने काम तीव्र गतिमा हुने उनले बताए।

पछिल्लो समय जनशक्ति अभाव चर्कंदै गएपछि किङ्स कलेजले नै प्रत्येक विभागमा एक जना नर्स कटौती गर्दै लगेको छ। यही क्रममा घट्दै गए आउँदो सेप्टेम्बरमा एउटै नर्स बच्ने छैन। किङ्स कलेजले युरोपेली युनियनका सदस्य राष्ट्रबाट नियुक्त गर्न बन्द गरिसकेको छ।

यतिबेलासम्म त युरोपेली युनियनका अन्य धेरै नर्सजस्तै तान्जा पार्डेलाले पनि लन्डन छाडिसकिन्।

उनको रिक्त स्थान कुन देशका उम्मेदवारले पूरा गर्लान् टुंगो छैन। कम्तिमा युरोपेली युनियन यसमा इच्छुक छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.