पुराना गुरुको नयाँ सोच– साना नानीलाई पढाउन चाहन्छौं

पुराना गुरुको नयाँ सोच– साना नानीलाई पढाउन चाहन्छौं

केदारभक्त माथेमा, अभि सुवेदी र ध्रुवचन्द्र गौतमलाई स्कुलमा पढाउन दिए कुन विषय रोज्छन्?


त्रिभुवन विश्वविद्यालयमा लामो समय पढाएर अवकाश पाएका गुरुहरू फेरि कक्षामा जानुपरे कस्ता विद्यार्थी रोज्लान्? कुन विषय पढाउन रुचाउलान्?

कीर्तिपुरभित्र पढाएरै जीवन बिताए पनि सिंगो नेपाली समाजमा उँचो व्यक्तित्व बनाएका केही गुरुसँग कुराकानी गर्दा पहिलेभन्दा फरक रूपमा प्रस्तुत हुने रुचि देखाए।

प्राध्यापक केदारभक्त माथेमाले फेरि कक्षामा पस्नुपरे विश्वविद्यालय छान्ने छैनन्। फेरि पढाउने मौका मिलेछ भने माथेमालाई स्कुले केटाकेटीको घेरामा जाने इच्छा छ। विश्वविद्यालयमा भाषा र साहित्य पढाएका माथेमाले स्कुलका केटाकेटीलाई पढाउन इच्छ्याएको विषय हुनेछ, सामाजिक शिक्षा।

‘एउटा योग्य नागरिक तयार पार्न यो सबैभन्दा महत्वपूर्ण विषय हो,’ माथेमा भन्छन्, ‘हाम्रो लापरबाहीले अहिले सबैभन्दा कमजोर सामाजिक शिक्षा नै बन्न पुगेको छ।’

माथेमालाई सबैभन्दा पहिले त यस्तो महत्वपूर्ण विषय विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने गरिएको नै चित्त बुझेको छैन।

‘सोसल स्टडिज् पो भन्छन्,’ माथेमाले थपे, ‘के हो त्यो भनेको?’

अंग्रेजीलाई माध्यम बनाएकै कारण यतिबेला स्कुले शिक्षा पूरा गरिरहेका विद्यार्थीले सबैभन्दा कम अंक सामाजिक शिक्षामै ल्याइरहेको थाहा पाउँदा आफू मर्माहत भएको उनले सुनाए।

‘परिवार, धर्म, समाज, संस्कृति, जातीयता र राष्ट्रबारे पढ्नुपर्ने चिजलाई अंग्रेजी भाषामा पढाउँदा कलिला नानीबाबुहरूसम्म न सन्देश सम्प्रेषण हुन्छ न त उनीहरू यस विषयमा बहस गर्न सक्छन्,’ उनले भने, ‘यो त नेपाली, अझ नेपाली नबुझ्ने ठाउँ छ भने केटाकेटीको मातृभाषामा पढाइने व्यवस्था गरिनुपर्छ।’

यसरी पढाउने हो भने बल्ल साना नानीहरूले यो विषय पढ्ने मात्र नभएर बहससमेत गर्नसक्ने उनको ठहर छ।

‘सर मेरो हजुरआमाले यस्तो भन्नुहुन्थ्यो। किताबमा किन यस्तो लेखिएको छ?’ भनेर साना विद्यार्थीले पनि चुनौती दिनसक्ने विषयलाई अंग्रेजीमा पढाएर घोकन्ते बनाइएकोमा उनी आक्रोशित छन्।

सामाजिक शिक्षा बलियो बनाउने हो भने त्यसबाट धेरै लाभ लिन सकिने माथेमाको ठहर छ।

‘सर, मेरो साथी अर्कै लुगा लगाउँछ, अर्कै भाषा बोल्छ, तै पनि आफूलाई नेपाली किन भनिरहेको छ?’ भनेर सामाजिक शिक्षा पढ्ने विद्यार्थीले प्रश्न सोध्न सुरु गरेपछि बल्ल हाम्रोजस्तो समाजमा यो विषयको पढाइ सार्थक हुने उनको धारणा छ।

यस्तो धारणालाई आफूभित्र मात्र माथेमाले सीमित राखेका छैनन्। उनी सम्बन्धित मानिससँग भेट हुँदा यो कुरा उप्काउने पनि गर्छन्।

‘अस्ति मात्र शिक्षा मन्त्रालयका एक जना सहसचिवजीलाई यही कुरा उठाएको थिएँ,’ भने, ‘सामाजिक शिक्षालाई नेपाली र मातृभाषामै पढाउन थाल्ने हो भने बल्ल विद्यार्थीले आत्मसात गर्न पाउनेछन् भनेर सुझाव दिएँ।’

माथेमाले टर्कीका कवि युनुसका भनाइ उद्धृत गरे– ‘इफ यु डु नट नो योरसेल्फ, ह्वाट इज द प्वाइन्ट अफ रिडिङ बुक्स?’ (तिमी आफैंलाई चिन्दैनौ भने किताब पढ्नुको के अर्थ छ?)

‘त्यसैले पहिले आफैंलाई चिन्नुपर्यो। म कुन धरातलमा बसेको छु? म कुन समाजको हुँ? मेरो धर्म के हो? मेरो संस्कृति के हो? मेरो इतिहास के हो? मेरो भूगोल के हो? म कुन राजनीतिक परिस्थितिमा बसिरहेको छु? यो सब बुझेपछि बल्ल पढाइको अर्थ रहन्छ,’ माथेमाले भने।

कुरा गर्दागर्दै माथेमा सामाजिक शिक्षा पढाइ हुने कक्षाको परिकल्पनामा रमाउन थाले। एकोहोरो दलिनतर्फ हेर्दै मुसुमुसु हाँसे।

‘एकछिन सोच्नुस् त, कक्षामा पस्नेबित्तिकै केटाकेटीलाई मैले उनीहरूको गाउँमा हुने जात्रा र नाचबारे पालैपालो बोल्न लगाएँ भने कस्तो रमाइलो वातावरण हुनेछ,’ उनले थपे, ‘बुङमतिबाट आउने बच्चाले मच्छिन्द्रनाथको र मंगलबजारबाट आउने बच्चाले कात्तिक नाचका बारेमा सुनाउँदा मलाई कस्तो आनन्द लाग्दो हो।’

नेपालमा अहिले कस्ता पढेलेखेका नागरिक तयार भइरहेका छन् भन्ने विषयमा सोच्ने हो भने दिक्क लागेर आउने माथेमा सुनाउँछन्। उनका अनुसार उनी लगायत यस क्षेत्रमा लगानी गरेका धेरै मानिस असफल हुन लागेका छन्।

‘पढेपछि त त्यो विषयमा आगो बल्ने विद्यार्थी निकाल्नुपर्छ नि!’ उनले भने, ‘वातावरणमा उच्च शिक्षा हासिल गरेको छु भनेर सफा अंग्रेजीमा मलाई सुनाउन आउने तन्नेरीहरू कसैलाई पनि काठमाडौंको वातावरणीय चुनौतीबारे बोलेको वा लडेको देख्दिनँ।’

आफू पढेकै विषयमा यत्रो बेथिति देख्दादेख्दै छाती पोल्दैन भने त्यस्तो पढाइको कुनै अर्थ नरहने माथेमाको ठहर छ। विश्वविद्यालयबाट त्यसैगरी पढाइ पूरा गरेर आएकाहरूले स्कुलमा पढाउने हो भने उनीहरूले पनि आफूजस्तै घोकन्ते विद्यार्थी तयार पार्ने माथेमाको दाबी छ।

‘शिक्षा भनेको त उनीहरूले विकास गरेको मूल्य र मान्यतासहितको सोच बनाएको एउटा पुस्ता तयार पार्ने हो,’ माथेमाको भनाइ छ, ‘तमाम विषय पढेको छ भनेर सर्टिफिकेट दिने मात्र होइन।’

तर, दुर्भाग्यवश हामीकहाँ अहिले नहुनुपर्ने यही कुरा भइरहेकोमा उनलाई दुःख लागिरहेको छ।

नेपालमा सार्वजनिक विद्यालयको दिनप्रतिदिन दुर्गती हुँदै गएकाले पनि माथेमालाई स्कुलमै ध्यान दिइनुपर्छ जस्तो लागिरहेको छ।

‘सार्वजनिक विद्यालय बलियो भएकै मुलुकले मात्र उन्नति गर्छ,’ माथेमाले भने, ‘सबै केटाकेटीलाई समान र उत्कृष्ट शिक्षाको अवसर उपलब्ध गराउन सार्वजनिक विद्यालय बलियो बनाउनुको कुनै विकल्प छैन।’

दीगो प्रजातन्त्र, समानता र नागरिकको स्तर उकास्न यो सबैभन्दा पहिले चाल्नुपर्ने कदम रहेको माथेमाको ठहर छ।

‘हामीकहाँ अहिले भएको सिस्टम त घातक छ,’ उनले भने, ‘एकथरी सफल हुँदै जाने र अर्काथरी लगातार असफल हुँदै जाने हो भने यसले त भविष्यमा हाम्रो आन्तरिक सुरक्षालाई पनि चुनौती दिन्छ।’

त्रिभुवन विश्वविद्यालयका अर्का नामी गुरु हुन्, प्राध्यापक अभि सुवेदी।

उनले विश्वविद्यालयमा अंग्रेजी पढाए। उनी फेरि पनि अंग्रेजी नै पढाउन चाहन्छन्। अब भने फरक विद्यार्थीलाई फरक तरिकाले। माथेमाले जस्तै स्कुलकै केटाकेटीलाई। अझ सकेसम्म नेपाली पनि राम्ररी बोल्न नजान्नेलाई।

‘यो अंग्रेजीलाई त कस्तो बनाए भने नि भाइ!’ सुवेदी जंगिए, ‘स्कुलको ढोकैमा ठूल्ठूला अक्षरले अंग्रेजीबाहेक अरू बोल्न नपाइने भनेर खबरदार गरिरहेका हुन्छन्।’

आफूले जीवनभर पढेको–पढाएको विषयलाई बोर्डिङ स्कुलहरूले केटाकेटी तर्साउने साधन बनाइरहेको सुवेदीलाई पटक्कै चित्त बुझेको छैन।

‘म त भैंसी चढेर अंग्रेजी जानेको मान्छे हुँ,’ सुवेदी सोध्छन्, ‘ती साना साना नानीहरूलाई किन अंग्रेजी भनेपछि यस्तो आतंकित हुनुपर्ने बनाउँदैछन्?’

आफूले ग्रामीण परिवेशबाटै उठेर जानेको अंग्रेजीलाई आजसम्म सबैले सराहना गरिरहेको बेला केटाकेटी पढ्ने ठाउँमा अरू भाषा बोल्नसमेत रोक लगाउँदा ठूलो संख्यामा ‘लाटो’ विद्यार्थी तयार भइरहेको सुवेदी बताउँछन्।

त्यसैले त यो कुरा गर्दागर्दै उनी आक्रोशित पनि भए।

‘रमाइलो कुरा त फेरि के छ भने,’ सुवेदीले थपे, ‘त्यसरी अंग्रेजीबाहेक अरू भाषामा बोल्न रोक लगाएकै स्कुलका शिक्षकले अंग्रेजी जानेको हुँदैन।’

लटरपटर अंग्रेजी बोल्ने मास्टरले विद्यार्थीलाई अरू भाषामा बोल्दै नबोल् भनिरहेको देख्दा सुवेदीलाई अचम्म लाग्छ। शिक्षक र विद्यार्थी एकअर्काबीच भन्न खोजेको कुरा राम्ररी सम्प्रेषण भएन भने त्यो शिक्षा नै नहुने उनको दाबी छ।

‘मलाई त कहिलेकाहीँ लाठो लिएर निस्कौं कि जस्तो पनि हुन्छ हौ भाइ,’ सुवेदी थामिए र थपे, ‘नेपाली मात्र पनि होइन, गाउँका केटाकेटीलाई उनीहरूको मातृभाषामै प्रोत्साहन गर्दै अंग्रेजीमा पनि पारंगत गराउने बाटो खोज्दैछु।’

सुवेदीले उनकै पुराना विद्यार्थी एवं पूर्वाञ्चल शिक्षा निर्देशिका माया राईसँग मिलेर केही काम गरिरहेको बताए। मातृभाषालाई समेत प्रोत्साहित गर्दै कसरी सजिलोसँग अंग्रेजी पढाउने भन्नेबारे अर्का विद्यार्थी शिव रिजालसँग पनि कामको तयारी गरिरहेको उनले जानकारी दिए।

विश्वविद्यालयका गुरुहरुमध्ये अलिक फरक सोचाइ छ, ध्रुवचन्द्र गौतमको।

उनी अब साना केटाकेटीको कक्षामा जान त चाहन्छन्, तर विषयविहीन भएर।

उपन्यासकार गौतमले बीस वर्षसम्म विश्वविद्यालयमा पढाए। भाषा विज्ञानका यी गुरुले पढाउन्जेल कक्षालाई सदैव अनौपचारिक राख्ने प्रयत्न गरे।
‘म स्नातकोत्तरका विद्यार्थीलाई उपन्यास पढाइरहेको हुन्थेँ,’ उनी भन्छन्, ‘बीचैमा हामी सिनेमाका कुरा गर्न थाल्थ्यौं।’

गौतमका अनुसार यस किसिमको गतिविधिका निम्ति उनी आफैं विद्यार्थीलाई प्रोत्साहित गर्थे।

‘विश्वविद्यालयका गुरुहरू कक्षामा प्रायः ‘बाहिर हामी साथी भए पनि यहाँ चाहिँ गुरु र चेला हौं’ भन्थे,’ गौतम स्मरण गर्छन्, ‘म चाहिँ पहिलो दिनै विद्यार्थीहरूलाई ‘हामी बाहिर पनि साथी हौं, यहाँ पनि साथी हौं’ भनेर सुरु गर्थें।’

त्यस्ता गुरु हरेक वर्ष जाडो छुट्टी बेला वीरगन्जस्थित घर पुग्थे। त्यहाँ पनि त्यसै बस्न मन लाग्दैन थियो। उनी त्रि–जुद्ध हाइस्कुलका विद्यार्थीलाई पढाउन गइदिन्थे। यसरी बर्सेनि दुई–दुई महिनाका दरले पनि त्रि–जुद्धमा धेरै पुस्तालाई पढाउन पाएको गौतम सुनाउँछन्।

‘त्यो स्कुल पढाउँदाको तिर्सना म भित्र अहिले पनि छ,’ केही दिनमै ७५ औं जन्मदिन मनाउने क्रममा रहेका गौतम भन्छन्, ‘पाएँ भने फेरि स्कुलकै विद्यार्थीलाई पढाउने मन छ। तर, कुनै पनि विषयको पुस्तक नबोकेर पूरै अनौपचारिक शिक्षकका रूपमा।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.