इन्दिरा, जो सयौंकी आमा हुन्

इन्दिरा, जो सयौंकी आमा हुन्


‘भुँ भर्याङबाट लडिन्, उनको टाउकोमा चोट लागेको छ।’

काठमाडौं, नयाँबजार बस्ने इन्दिरालाई खबर आयो।

बालाजुमाथिको नेवार गाउँ लोलाङस्थित किन्डरगार्डेन ‘फायरफ्लाई बालगृह’ बाट आएको खबरले इन्दिरा स्तब्ध भइन्।

उनी केहीबेर भुँलाई छाडेर हिँडेकी थिइन्। दुई वर्ष उमेर कटेकी चञ्चली भुँ त्यही बेला यताउति दुगुरिछन्।

‘भर्याङ चढ्न खोजिछन्, लडिन्।’

यो खबरले इन्दिराको मनमा भुइँचालो चल्यो, २०७२ वैशाख १२ झैं।

भुइँचम्पा, इन्दिराकी भुँ, भेटिएकै भुइँचालो बेला थिइन्। सैनिक शिविरमा इन्तु न चिन्तु अवस्थामा उनले भुँलाई देखेकी थिइन्। सानी, मसिनी डेढ किलोकी भुँ जीवनसँग संघर्ष गर्दै थिइन्।

‘भुँको मुटुमा दुइटा प्वाल छ।’

शिविरमा डाक्टरले यसो भन्दा इन्दिराकै मुटु छिया–छिया भयो।

भुइँचालोको रन्का दन्किरहेका बेला भुँका बुबाले उनलाई छाडेर गए। आमा बेखबर। इन्दिरा यसै फर्किन सकिनन्। भुँलाई लिएरै आइन्।

र, उनकी आमाबुबा भइन्।

भुँ मात्र होइन, प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक इन्दिरा रानामगरका धेरै छोरीछोरा छन्। यीमध्ये धेरै जेलबाट आएका हुन्। उनले बन्दी जीवन बिताइरहेका आमाबाबुका छोरीछोरा वा त्यहीँ जन्मेका स–साना नानीबाबु हुर्काउन थालेकै २७ वर्ष भइसक्यो।

सयौं केटाकेटीको जीवन सम्हाल्दै आएकी इन्दिरालाई कुनै बेला आफ्नै जीवन सम्हाल्न मुश्किल परेको थियो।

झापा, शनिश्चरेमा ४७ वर्षअघि जन्मिएकी उनी मनमाया मगर र प्रतापसिंहकी कान्छी छोरी हुन्।

पढ्ने रहर थियो। तर, गरिबीले बाटो छेक्यो। त्यसमाथि केटीहरूले ‘पढ्न हुँदैन’ भन्ने समाजमा हुर्किएकी उनी।

‘दाइ स्कुल जान्थे, म जान्नथेँ। त्यहाँकै सतारबासीसँग खेल्थेँ, माछा मार्थें, घाँस–दाउरा गर्थें, घरधन्दा गर्थें,’ आफ्ना कलिला दिन सम्झिँदै उनले भनिन्, ‘यी सबबीच मेरो पढ्ने रहर बिलाउँथ्यो। घरमा दाइले पढेका पाठ भने खुब हेर्थें, सुन्थेँ अनि भुइँमा लेख्ने कोशिस गर्थें। जीवनको पहिलो कखरा मैले यसरी नै सिकेँ।’

यतिले मात्र उनको धोको कहाँ पूरा हुन्थ्यो र!

उनी भुटभुटिन्थिन्।

यही भुटभुटी एक दिन शनिश्चरे माविका प्रधानाध्यापकले थाहा पाए। सोधे, ‘पढ्छौ?’

इन्दिराले खोजेकै त्यही थियो।

प्रधानाध्यापकले इन्दिराको परीक्षा लिए।

‘उहाँले मलाई नेपाल एसियामा पर्छ भनेर लेख्न भन्नुभयो, मैले तुरुन्त लेखेँ,’ उनले सेतोपाटीसँग भनिन्, ‘गणितका प्रश्न पनि सजिलै मिलाएँ।’

कहिल्यै स्कुल नछिरेकी उनी एकैपटक पाँच कक्षा भर्ना भइन्।

उनी त्यो उमेरमै आफूभन्दा तल्लो कक्षाका विद्यार्थी पढाउँथिन्। त्यसैबाट उनको पढ्ने खर्च जोहो हुन्थ्यो।

एसएलसीपछि उनलाई आइएस्सी पढेर नर्स बन्ने रहर थियो। यहाँ पनि बाधक पैसै बन्यो।

उनी कमर्स पढ्न दमक क्याम्पस गइन्। भर्ना हुन ३६ रुपैयाँ लाग्ने रहेछ। त्यति पनि इन्दिरासँग थिएन।

‘म निकै रोएँ। न पैसा थियो न परिवारको साथ,’ उनले भनिन्, ‘अन्त्यमा सरहरूको कमलो मनले सहारा दियो। उहाँहरूले छात्रवृत्ति मिलाइदिनुभयो।’

आइकमपछि उनी तीन सय रुपैयाँ बोकेर काठमाडौं हिँडिन्। गाडीले डेढ सय लियो। बाँकी डेढ सय खल्तीमा बोकेर यहाँ आइपुगिन्, ‘भविष्य’ खोज्न।

यो २०४७ सालको कुरा हो।

काठमाडौं आएर के गर्ने उनले सोचेकीधरि थिइनन्।

केही समय रुमलिइन्।

‘यो अस्तव्यस्त सहरमा म मनकारी मन खोज्दै थिएँ। त्यहीबेला मन मिल्ने बालसखी भेटिइन्,’ उनले भनिन्, ‘उनैको सहयोगमा मैले काम पाएँ– लुगामा टाँक हाल्ने, आइरन लगाउने।’

बीस रुपैयाँ पाउँथिन् उनले। काठमाडौंमा त्यसले गुजारा चलाउन हम्मे थियो। विकल्प खोज्ने आँखा पत्रपत्रिकामा छापिने विज्ञापनमा जान्थ्यो। ‘एकदिन नयाँबजारको अमृत बोर्डिङ स्कुलमा ‘शिक्षिका चाहियो’ भन्ने विज्ञापन देखेँ, आवेदन दिएँ र जागिर पनि पाएँ,’ उनले भनिन्।

त्यही बेला हो, इन्दिराको जीवनले नयाँ मोड लिएको।

विद्यार्थीलाई सामाजिक र गणित विषय पढाउने उनको भेट साहित्यकार पारिजातसँग भयो। साहित्यसँगै मानवअधिकार क्षेत्रमा काम गर्दै आएकी पारिजातको जीवनशैली साधारण थियो। उनले इन्दिरामा पनि त्यस्तै देखिन्, सायद।

र, यही सरलताले उनीहरूलाई एकअर्कासँग नजिक्यायो।

‘पारिजात दिदीले नै मलाई पहिलोपटक जेल देखाउनुभयो,’ उनले भनिन्, ‘मैले जेल जीवन नजिकबाट हेर्ने मौका पाएँ। बन्दीहरूको अवस्था, उनीहरूलाई आइपर्ने समस्या, मानवअधिकारका विषयमा अभ्यस्त हुँदै गएँ।’

अभाव र कठिनाइमा बितेको आफ्नो बाल्यकाल अनुभव धमिलिन नपाउँदै उनले जेलमा भएका केटाकेटी देखिन्। उनीहरू आफ्ना आमाबाबुको गल्तीको सजाय काटिरहेका थिए, उनीहरूसँगै बन्दी जीवन बिताएर। ती स–साना नानीबाबुको अवस्थाले उनलाई पिरोल्यो।

‘आमाबाबुसँगै बन्दी बनेका बालबालिका देख्दा मन दुख्थ्यो,’ उनले भनिन्, ‘यी अबोधका निम्ति काम गर्छु भन्ने योजना बुन्न थालेँ।’

त्यहीबेला मानवअधिकार र जेलका बन्दीसँग काम गर्दै आएकी पारिजातले प्रिजनर्स एसिस्टेन्ट मिसन (पाम) खोलिन्, जसमा इन्दिरा पनि जोडिइन्।

दस वर्ष त्यहाँ बसेपछि इन्दिराले सन् २००० मा आफ्नै संस्था खोलिन्। डेनमार्क दूतावासको सहयोगमा ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ नामक संस्था खडा गरिन्। यो संस्था पाल्पा, इलाम, झापा लगायत ११ जिल्लामा फैलिएको छ। यसले करिब ५ सय बालबालिकाको पढाइ–लेखाइसँगै हस्तकला, थान्का, माटोका भाँडा बनाउन सिकाउँदै आएको छ। लैंगिक एवं सामाजिक समस्यामा पनि काम गर्दैछ।

काम गर्ने क्षेत्र धेरै भए पनि यसले मुख्यतः बन्दी केटाकेटीको जीवन नजिकबाट नियाल्दै आएको छ। बेकसुर बन्दीका निम्ति न्याय दिन वकालत गर्छ। जेलमा पर्ने सबै ‘खराब’ मान्छे हुन् भन्ने धारणा बदल्ने प्रयास पनि गर्दैछ।

यो सोचबाट इन्दिरा पनि अछुतो थिइनन्।

‘सुरुसुरुमा मलाई पनि जेलमा बस्नेहरू खराब मान्छे हुन् भन्ने लाग्थ्यो,’ इन्दिराले भनिन्, ‘उनीहरूसँग दिनहुँ भेट र गफगाफमा बुझ्दै गएँ, त्यहाँ कति निर्दोषहरू पनि छन्। त्यस्तै निदोर्षका उद्धारमा म निरन्तर लागिरहेकी छु।’

उनको योजना यतिमै सीमित छैन।

अब उनी एउटा नमूना गाउँ बनाउने तर्खरमा छिन्, अनाथ केटाकेटीको गाउँ।

‘मोडल भिलेज निर्माण गर्नुको मेरो एउटै उद्देश्य अनाथ बालबालिकाले सहरमा आएर दुःख गर्नु नपरोस् भन्ने हो,’ उनले भनिन्, ‘मैले आठ ठाउँमा काम गर्ने सोचेकी छु। गाउँमा भएका केटाकेटीले गाउँमै काम गर्ने अवसर पाऊन् भन्ने मेरो मनसाय हो। ताकि, उनीहरू काम खोज्दै सहर नधाऊन्, अनेकौं कष्ट नझेलून, सडकमा नहुर्किऊन्।’

स्थानीय स्तरमा बनाइने मोडल भिलेजले बालबालिकालाई संरक्षण र भविष्यका निम्ति कामको अवसर दिने उनी बताउँछिन्। ‘प्रत्येक अँध्यारोमा जूनकीरीसँग जस्तो अद्वितीय प्रकाश हुन्छ, म त्यही प्रकाश संसारसामु फैलाउने प्रयत्नमा छु,’ इन्दिराले भनिन्।

उनले आफ्नो ‘प्रकाश’ त फैलाइसकेकी छन्।

करिब तीन दशकअघि एक्लै काठमाडौं छिरेकी इन्दिराका प्रशंसक संसारभर फैलिएका छन्। विवाह गरे पनि श्रीमानसँग छुट्टिएकी इन्दिराकी एक छोरी छिन्। ती छोरीसहित सयौं छोरीछोराले उनलाई ‘आमा’ भन्छन्।

यही ‘आमा’ को भूमिकाले उनलाई ‘वर्ल्डस् चिल्ड्रेन प्राइज’ को उत्कृष्ट तीनमा मनोनयन गरेको थियो भने २०१४ मा ‘वर्ल्डस् चिल्ड्रेन अनरी अवार्ड’ जिताएको थियो। एक लाख अमेरिकी डलर राशिको यो पुरस्कार उनलाई स्विडेनकी महारानीले दिएकी थिइन्।

विश्वभरका प्रेरणादायी एवं सिर्जनशील महिला सूचीमा पनि उनी परेकी छन्। बिबिसीले यस वर्ष सार्वजनिक गरेको ‘बिबिसी १०० वुमन २०१७’ मा उनी छानिएकी छन्।

नासाकी अन्तरिक्षयात्री पेगी ह्वीट्सन्, लाइबेरियाकी राष्ट्रपति एलेन जनसन सर्लीफ, कलाकार एवं कवि रुपी कौर लगायतसँगै नेपालकी इन्दिरा रानामगरको नाम त्यहाँ मनोनयनमा परेको छ।

उनको नाम पढ्न सक्ने भए भुँ मुस्काउँदै भन्दिहुन्, ‘मेरी आमा।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.