अमृता ज्ञवाली छक्क परिन्, सडकमा ह्विलचेयरको ढुक्क ओहोरदोहोर देखेर।
न छेउबाट हुत्तिँदै आएको मान्छेले ठेल्ला भन्ने पिर! न परबाट बत्तिँदै आएको गाडीले छुसुक्क छोइदेला भन्ने डर!
उबडखाबड बाटोमा ह्विलचेयरका पाङ्ग्रा गुडाउने सकस छैन! टुलुटुलु सहानुभूति आँखा देखेर मनमा उकुसमुकुस पनि हुन्न!
ती ह्विलचेयरमा हिँड्नेका आँखा अत्यास वा भयले झुकेका थिएनन्! उनीहरू हाँसिरहेका थिए, खुलेर। कुदिरहेका थिए, मानौं हेक्कै छैन, सडकमा उनीहरूका पाउ हैन, पाङ्ग्रा छन्।
ह्विलचेयरमै २५ वर्ष बिताएकी अमृताले केही समयअघि डेनमार्क, कोपनहेगनको अनुभव सुनाउँदै भनिन्, ‘मलाई दोस्रोचोटि अरूजस्तै सामान्य मान्छे भएको अनुभूति भयो।’

यस्तै अनुभूति उनलाई पहिलोचोटि दक्षिण कोरियाको सोल जाँदा भएको थियो, धेरैअघि।
यी दुवै ठाउँमा उनलाई अर्को एकथोकले पनि छक्क पार्यो।
‘त्यहाँ त ह्विलचेयरमा हिँड्ने र पैदल हिँड्ने सराबरी,’ उनले भनिन्, ‘सार्वजनिक स्थान, सडक, पार्क, सपिङ मल सबैतिर ह्विलचेयरमा घुम्नेहरू प्रशस्तै देखिने।’
सोचिन्– के कोपनहेगन र सोलमा शारीरिक अपांगता भएकाहरूको संख्या काठमाडौंभन्दा धेरै छ? छैन भने किन त त्यहाँ उनीहरू प्रशस्तै देखिन्छन्, यहाँ फाट्टफुट्ट?
जवाफ अमृतालाई मात्र होइन, धेरैलाई थाहा छ।
त्यहाँका सार्वजनिक स्थान शारीरिक अपांगतामैत्री छन्, जुन काठमाडौं छैन। सडक र सडकमा गुड्ने सार्वजनिक सवारी अपांगतामैत्री छन्, जुन काठमाडौं छैन। सपिङ मलदेखि सिनेमा हल र स्कुल, कलेजदेखि अस्पतालसम्म अपांगतामैत्री छन्, जुन काठमाडौं छैन।
‘कोपेनहेगन छउञ्जेल मलाई आफू ह्विलचेयरमा हिँड्दैछु भन्ने महशुसै भएन। म अरू मान्छेजस्तै जहाँ मन लाग्यो, त्यहाँ गएँ। ह्विलचेयर लैजान अप्ठ्यारो कुनै ठाँवै थिएन। जे–जे खान मन लाग्यो, त्यो–त्यो खाएँ। तिर्खा मेटुञ्जेल पानी पिएँ। बाटोमा दिसा–पिसाब लागे शौचालय कसरी जाने भन्ने सुर्तै थिएन। यस्तो लाग्यो, त्यो सहर जति पैदल हिँड्नेको हो, त्यति नै म ह्विलचेयरमा हिँड्नेको पनि हो। यसले आत्मविश्वास हलक्कै बढ्दो रहेछ,’ उनले भनिन्।
‘जुन दिन काठमाडौं टेकेँ, एयरपोर्टदेखि नै ‘हेल्पलेस’ (बेसहारा) महशुस भयो। यस्तो लाग्यो, म फेरि उही ठाउँ आइपुगेको छु, जहाँ मेरो शरीर हेरेर मलाई तल्लो दर्जामा राखिन्छ। सानोभन्दा सानो अधिकारबाट वञ्चित गरिन्छ। जहाँ मलाई पाइला–पाइलामा तँ अपांग होस् भन्ने अनुभूति दिलाइन्छ। र, पाइला–पाइलामा मैले आफू अपांग भएको महशुस गर्नुपर्छ। जिन्दगीसँग सम्झौता गर्नुपर्छ।’
अमृताले यो सम्झौता गर्न सिकेको तीन वर्ष उमेरदेखि हो।
उनको घर नवलपरासीको बर्दघाट हो। भारतको नयाँदिल्लीबाट नेपाल आउँदै गर्दा लखनउमा भएको सवारी दुर्घटनामा उनको सबै परिवारको ज्यान गयो। उनी मेरुदण्डको पक्षघातबाट पीडित भइन्।
र, त्यही बेलादेखि अमृता ह्विलचेयरमा ‘खडा’ छिन्।
बालुवाटारस्थित ‘करुणा फाउन्डेसन’ मा काम गर्ने उनलाई अफिसमा कुनै अप्ठ्यारो छैन। अफिसभित्रै ह्विलचेयर उकाल्ने र्याम्प (ह्विलचेयर गुडाउन बनाइने भिरालो संरचना) छ। फराकिलो चर्पी छ।
घर र अफिस मात्र मान्छेको संसार होइन।
जब अमृता सहरको फराकिलो संसारमा निस्कन्छिन्, उनलाई यही सहर साँघुरो लाग्छ।
‘यहाँ शारीरिक सक्षमहरूका लागि त सुविधै सुविधा छ, तर जसलाई समाजले अक्षम भन्छ, उनीहरूकै लागि केही छैन,’ उनले भनिन्, ‘जतिपटक घुमे पनि म यो सहरमा सहज हुन सक्दिनँ। यहाँ कुनै पनि ठाउँमा म आफू र आफ्नो ह्विलचेयर अटाउने स्थान भेट्दिनँ। वर्षौं हिँडेको बाटोले अझै मेरो ह्विलचेयरका चक्का चिन्दैनन्। यस्तो लाग्छ, मलाई मेरै सहरले कहिल्यै आफ्नो ठानेन।’
हामी अमृतासँग यही अनुभव सुन्न चाहन्थ्यौं– ह्विलचेयरमा बसेर काठमाडौं हेर्दाको अनुभव। ताकि, बनाउनेले राजधानीको पूर्वाधार यस्तो बनाओस्, जहाँ अमृताजस्तो कसैले ‘बिरानो’ अनुभूति गर्नु नपरोस्!
काठमाडौं अनुभवको सुरुआत अमृताले सडक संघर्षबाट गरिन्।

‘यहाँ कुनै सडक यस्तो छैन, जहाँ हाम्रो ह्विलचेयर सर्रर गुडोस्,’ भनिन्, ‘जतासुकै भत्किएका छन्। जहाँ पायो त्यहाँ खाल्डाखुल्डी र ढुंगैढुंगा छन्। खाल्डोमा घरि यता घत्र्याक्क हुन्छ, घरि उता खुत्रुक्क। ढुंगामा घच्याक–घच्याक गर्दै अघि बढ्दा छोटो दुरी पार गर्न पनि पसिना छुट्छ। यस्तो सडकमा दिनदिनै गुडाउँदा ह्विलचेयर भाँचिने र बिग्रिने समस्याले हैरान बनाउँछ।’
उनका अनुसार शारीरिक अपांगतामैत्री भनिएका केही बाटा पनि प्राविधिक कमजोरीले नाम मात्रका छन्।
खासमा ह्विलचेयर गुडाउने भनेको फुटपाथमा हो। विदेशतिर फराकिलो फुटपाथमा अपांगता भएका व्यक्तिको आउजाउ निम्ति छुट्टै ट्रयाक बनाइएको हुन्छ। यहाँ त मान्छे हिँड्नधरि व्यवस्थित फुटपाथ छैन भने ह्विलचेयर गुडाउने ठाउँ कहाँ होस्!
‘कतिपय सडकमा फुटपाथको ठाँवै छुट्ट्याइएको छैन। कतिपय फुटपाथ यति साँघुरा छन्, एक जना मान्छेलाई ज्यान खोलेर हिँड्नै सकस हुन्छ। केही फुटपाथका बीचबीचमै बिजुलीका खम्बा ठडिएका छन्। कतै असरल्ल रोपिएका बिरुवाले हिँडडुल गर्न गाह्रो पार्छ। ढुंगा राम्ररी नछापिएको ठाउँमा पाङ्ग्रा अड्किएर समस्या हुन्छ। फुटपाथसम्म पुग्न पनि सजिलो छैन। ठाउँ–ठाउँमा र्याम्प नहुँदा उक्लिन–ओर्लिनै सकस हुन्छ,’ उनले भनिन्।
त्यही भएर, अमृता फुटपाथभन्दा सडकमै गुड्छिन्, जतिसुकै जोखिमपूर्ण भए पनि। सडकछेउ ह्विलचेयर चलाउँदा कतिचोटि गाडी र मोटरसाइकलले तर्साइदिएको उनको अनुभव छ।
‘यही कारणले हो, मलाई प्रायः कहीँ हिँड्न जाँगर चल्दैन,’ उनले भनिन्, ‘मन मारेरै बस्नुपर्छ।’
जहाँ सडक त अपांगतामैत्री छैन, त्यहाँ सार्वजनिक यातायातबाट के आश गर्नु!
पछिल्लो समय साझा र महानगर यातायातले अपांगतामैत्री सार्वजनिक गाडी भित्र्याएका छन्। यसबाहेक राजधानीका प्रायः सार्वजनिक यातायात अपांगतामैत्री छैनन्। साझा र महानगरका बसमा पनि ह्विलेयर गुडाएर भित्र छिर्न त मिल्छ, तर भित्र अटेर बस्ने ठाउँ हुन्न। बसभित्र ह्विलचेयरकै लागि छुट्टै ठाउँ नतोकिँदा यो सुविधा पनि नाम मात्रकै भएको अमृता बताउँछिन्।
‘हाम्रा लागि त यो सहरमा सार्वजनिक सवारी भन्ने नै छैन,’ अमृताले भनिन्, ‘ह्विलचेयर जान अप्ठ्यारो ठाउँ भए जतिसुकै महँगो परे पनि ट्याक्सी नचढी धर छैन।’
‘राज्यले हामीलाई ट्याक्सीमै चढेर जा भन्न खोजेको हो कि घरबाट ननिस्की भन्न खोजेको, मैले बुझ्न सकेको छैन,’ उनले भनिन्।
राज्यकै कुरा गर्दा, उनी सबभन्दा ठूलो समस्या सरकारी कार्यालय र अस्पतालमा देख्छिन्।
अमृता केही दिनअघि बसुन्धराको एक निजी अस्पतालमा जचाउन गएकी थिइन्। डाक्टरले ‘पिसाब परीक्षण गर्नू’ भने। उनी शौचालय गइन्। ढोकाबाट उनको ह्विलचेयरै छिरेन।
यस्तै समस्या सरकारी कार्यालयहरूमा पनि छ। अधिकांश सरकारी कार्यालय शारीरिक अपांगतामैत्री नभएको उनको अनुभव छ। धेरैमा त ह्विलचेयर लिएर हिँडडुल गर्न र्याम्पको व्यवस्थासमेत छैन। शौचालयको त झन् के कुरा गर्नू!
उनले विमानस्थलको उदाहरण दिइन्।

‘विमानस्थलमा हामीलाई ह्विलचेयरमा बसेर लाइन लाग्ने ठाउँ छैन, न त काउन्टर नै हाम्रा लागि सहज छ। ठाडो घाँटी लाएर दाइ, दिदी भन्दै बोलाउनुपर्छ। उहाँहरू काउन्टरबाट तन्की–तन्की हामीतिर हेर्नुहुन्छ र सोध्नुहुन्छ, ‘बिरामी हो तपाईं?’ यस्तो बेहोर्नुपर्दा दिक्दार लाग्छ। ए बाबा! ह्विलचेयरमा बस्ने सबै मान्छे बिरामी हुँदैनन् भन्ने कसैले किन बुझ्दैनन्?’ उनले भनिन्।
शैक्षिक संस्थाहरू झनै सचेत छैनन्।
स्कुल-कलेजमा शारीरिक अपांगता भएका विद्यार्थी निम्ति सहज कक्षाकोठा छैन। न भर्याङ उक्लिन सजिलो छ न त चर्पी। यही समस्या देखेर अमृता कलेज जानै सकिनन्। घरमै पढेर जाँच दिइन्।
‘यस्ता सरकारी र शैक्षिक संस्थाहरूले त सबभन्दा बढी हाम्रा बारेमा सोच्नुपर्ने हो। शारीरिक अपांगतामैत्री नियम–कानुन बनाएर पालना गराउने दायित्व सरकारकै हो। उनीहरूलाई त चासो छैन भने अरूले के वास्ता गरोस्,’ उनले भनिन्।
वास्ता नगर्नेमा सिनेमा हलदेखि, सपिङ मल र बैंकसमेत पर्छन्। करोडौं लगानीमा निर्माण भएका यी संरचना धेरैजसो अपांगतामैत्री छैनन्।
आठ–दस वर्षअघिको कुरा। अमृता पहिलोपटक जयनेपाल हल गएकी थिइन्। त्यहाँका कर्मचारीले उनलाई सिटमै बस्नू भने।
‘हामीलाई ह्विलचेयरमा बसेर फिल्म हेर्न छुट्टै ठाउँ तोकिएको थिएन। अरू दर्शकजस्तै सिटमै बसेर हेर्नुपर्थ्यो। मैले बस्न सक्दिनँ, ह्विलचेयरमै बस्छु भनेँ,’ अमृताले त्यतिबेलाको घटना सम्झिइन्, ‘उहाँ त 'ह्विलचेयरमा मजाले बस्न सक्ने मान्छे सिटमा किन बस्न सक्दैन' भनेर रिसाउन पो थाल्नुभयो। यस्तो रूखो व्यवहारले केही बेर विवादै भयो।
त्यसयता उनी जयनेपाल हल गएकी छैनन्।
सिभिल र लबिम मलका हलमा केही सुधार भए पनि ती व्यवहारिक नभएको उनको अनुभव छ। उनका अनुसार यी मलमा ह्विलचेयर उकाल्न र्याम्प बनाइएको छ, लिफ्ट छ। चर्पी पनि सजिलै छ। तर, ती कुनै ठाउँमा ह्विलचेयर घुमाउन सजिलो छैन।
‘मेरो सानो ह्विलचेयर त घुमाउन मिल्दैन भने अलि ठूलोलाई झन् कामै छैन,’ उनले भनिन्, ‘अपांगतामैत्री चर्पी भनेको सहजै छिर्ने मात्र होइन, ह्विलचेयर घुमाउन मिल्ने पर्याप्त ठाउँ पनि हो।’
शौचालयमा हात धुने र ऐना हेर्ने ठाउँ अपांगतामैत्री नभएको उनले बताइन्। भनिन्, ‘हामीले हात धुनुपर्छ, हामीलाई पनि ऐना हेर्न मन लाग्छ। सामान्य उचाइमा राखिएका धारा र ऐनासम्म हामी ह्विलचेयरमा बसेर कसरी पुग्न सक्छौं? हाम्रा लागि हलवालाहरूले धारा र ऐनाको उचाइ मिलाउनु पर्दैन?’
फिल्म हेर्न जाँदाको मुख्य समस्या शौचालयमा भन्दा हलभित्रै हुने उनको अनुभव छ।
अमृताका अनुसार हलवालाले अपांगतामैत्री हुने हो भने केही विशेष सिट डिजाइन गर्नुपर्छ, ताकि त्यसैमा बसेर फिल्म हेर्न सकियोस्। यहाँ सिट त परको कुरा, ह्विलचेयर अडाउन मिल्ने खाली ठाउँ पनि छाडिएको छैन। दर्शक ओहोरदोहोर गर्ने बाटोमै ह्विलचेयर राखेर फिल्म हेर्नुपर्ने बाध्यता छ।
यति मात्र होइन, थिएटरभित्र र्याम्प कतै छैन। सहयोगीले बोकेरै तलमाथि गराउनुपर्छ।
‘करोडौं खर्च गरेर हल बनाउनेलाई ह्विलचेयर गुडाउन मिल्ने र्याम्प र त्यसैमा बसेर फिल्म हेर्न मिल्ने खाली ठाउँ छुट्टयाउने बुद्धि नआएको देख्दा उदेक लाग्छ,’ उनले भनिन्।
यस्तै कठिनाइले हो, अमृता आजभोलि हलमा फिल्म हेर्न एकदमै कम जान्छिन्।
फिल्म हलको मात्र के कुरा, सपिङ मल जान पनि उनलाई गाह्रो लाग्छ।
लाजिम्पाट बस्ने उनलाई बेला–बेला भाटभटेनी डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न जाँदा तल्लो तला छाडेर माथि उक्लिने आँट आउँदैन। सिटी सेन्टर, सिभिल मल लगायतमा ह्विलचेयर गुडाउन र्याम्प बनाइए पनि सधैं केही न केही छेकबार हुने उनी बताउँछिन्।
‘हामीजस्तो मान्छे पनि मलमा आउँछन् भन्ने कसैले सोच्दैनन्,’ अमृताले भनिन्, ‘हामी हिँड्ने बाटोमा कहिले तार झुन्ड्याइएको हुन्छ, कहिले सामान पसारो हुन्छ, कहिले त मोटरसाइकल नै पार्क गरेर राखिएको हुन्छ। लिफ्ट भएको ठाउँमा पनि ह्विलचेयर अट्ने फराकिलो हुँदैन।’
बैंक एटिएमको स्थिति उस्तै छ।

अमृताले एटिएम कार्ड लिएको झन्डै छ वर्ष भयो, तर चलाउन आउँदैन।
‘त्यो कोठै यति सानो हुन्छ, ह्विलचेयर छिर्दै छिर्दैन। कति ठाउँमा त एटिएमसम्म पुग्नै सिँढी चढ्नुपर्छ,’ उनले भनिन्, ‘भित्र गइहाले पनि हामी पैसा झिक्न सक्दैनौं। त्यसको उचाइ हेर्नुभाछ? कसरी पुग्ने त्यहाँसम्म? त्यो स्क्रिनमा आएको अक्षर कसरी पढ्ने?’
केही वर्षअघि भारत जाँदा पहिलोपटक एटिएम चलाएको अनुभव उनले सुनाइन्। ‘त्यो मेसिन होचो ठाउँमा थियो। साथीले यसरी चलाउनुपर्छ भनेर सिकाइदियो, सजिलो भयो। यहाँ आएपछि फेरि कहिल्यै चलाउन पाइनँ। अब त जानेको पनि बिर्सिसकेँ,’ उनले भनिन्।
अमृतालाई सबभन्दा खट्कने पक्ष, मान्छेको दृष्टि हो।
ह्विलचेयरमा हिँड्नेलाई सबैले समभावले हेरून् भन्ने उनी चाहन्छिन्। जब अरूका आँखामा आफूप्रति दया र सहानुभूति देख्छिन्, उनलाई सह्य हुँदैन।
‘हामी यही समाजमा बसेर भिन्नखाले सामाजिक व्यवहार भोगिरहेका छौं,’ उनले भनिन्, ‘मान्छे हामीलाई देखेर चुक्चुकाउँछन्। हामीले अधिकार खोजेका हौं, दया होइन।’
त्योभन्दा बढी त बाटामा फर्की–फर्की वा गाडीबाट टाउको बटारी–बटारी हेरेको देख्दा उनलाई दिक्क लाग्छ। शारीरिक अपांगता भएकालाई ‘दैवले ठगेको’ सम्झिने प्रवृत्तिको उनी विरोधी हुन्।
‘हाम्रा नेता, मन्त्री र सचिवहरू नै औपचारिक कार्यक्रममा ‘विचरा, दैवले ठगेका अपांगहरू’ भनेर भाषण गर्नुहुन्छ। उहाँहरू हामीलाई अधिकार दिन चाहनुहुन्न, बरु दया देखाएर सहुलियत दिन खोज्नुहुन्छ। जबसम्म राजनीति र प्रशासनमा शारीरिक अपांगतालाई हेर्ने दृष्टि फेरिँदैन, तबसम्म जनस्तरबाट पनि त्यस्तै व्यवहार दोहोरिरहन्छ। सबैले यस्तै दया मात्र देखाउन थालेपछि कहिले बन्छ यो सहर अपांगतामैत्री?’ अमृताले प्रश्न गरिन्।
मान्छेको यस्तो व्यवहारले नै अपांगता भएकाहरूको आत्मविश्वास गुम्ने उनको अनुभव छ।
यी सबै कठिनाइसँग जुधिरहेकी अमृताले आफ्नो तर्फबाट भने कुनै कसर छाडेकी छैन, समाजमा बराबरी पहिचान स्थापिन गर्न। अपांगतामैत्री शौचालय निर्माण लगायत मुद्दामा उनी लामो समयदेखि वकालत गर्दै आएकी छन्। सहरका भौतिक पूर्वाधार अपांगतामैत्री हुनुपर्नेमा उनको जोड रहँदै आएको छ। उनी नेपालकै पहिलो ‘ह्विलचेयर मोडल’ पनि हुन्।
‘शारीरक अपांगता हुनु हाम्रो कमजोरी होइन, हाम्रो शरीरको अलग संरचना हो, जसलाई अलग पूर्वाधार चाहिन्छ। हामीलाई स्टेजमा निम्त्याएर सम्मान र सहायता दिनुअघि त्यो स्टेजसम्म पुग्ने बाटो, गाडी र भवनहरू हाम्रो ह्विलचेयर सर्रर गुड्ने खालको बनाउनुपर्छ। त्यसपछि बल्ल त्यो सम्मानको सार हुन्छ,’ अमृताले भनिन्।
‘कोपेनहेगनका सार्वजनिक स्थानमा मैले जुन आत्मविश्वास पाएँ, म मेरो काठमाडौं सहरमा त्यही अनुभव गर्न चाहन्छु।’
यो अपेक्षा अमृताजस्तै शारीरिक अपांगता भएका ६ लाखभन्दा बढी व्यक्तिको हो, जसको अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धि नेपालले सन् २०१० मै अनुमोदन गरेको छ। उनीहरूका लागि कल्याणमुखी अवधारणा ऐन पनि २०३८ देखि नै लागू छ।
अमृता यी महासन्धि र कानुन कार्यान्वयन भएको हेर्न चाहन्छिन्।
र, यस्तो काठमाडौं देख्न चाहन्छिन्, जहाँ ह्विलचेयरमा हिँड्नेका आँखा अत्यास वा भयले झुकेका हुँदैनन्। उनीहरू हाँसिरहेका हुनेछन्, खुलेर। कुदिरहेका हुनेछन्, मानौं हेक्कै छैन, सडकमा उनीहरूका पाउ हैन, पाङ्ग्रा छन्।
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी