साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी #NepalVotes #NepalElection2017 साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी


‘काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो। उनको कसैसँग प्रेम सम्बन्ध थियो। घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन्। दबाब बढ्दै गएपछि भने आमालाई मात्र भनिन्।

आमाबाट त्यो कुरा बुवासम्म पुग्यो। उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने। धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन्। आफ्नो प्रेमीलाई सम्झाउने हिम्मत भने गरिनन्।

प्रेमी उनका छिमेकी थिए, विवाहको कुरा थाहा पाइहाले। प्रेमीकालाई सम्पर्क गर्ने प्रयास गरे, कसैगरी सकेनन्।

युवकमा बदलाको भावना जाग्यो। प्रेमीकाको बदनाम गर्ने मनसाय पाले, फेसबुकको सहारा लिएर। प्रेमिकाको फेसबुक पासवर्ड उनलाई थाहा थियो। उनले पासवर्ड परिवर्तन गरिदिए र आफूले मात्र चलाउन मिल्ने बनाए।

प्रेमिकाको फेसबुकमा उनले धमाधम उनीहरू दुई जनाका गोप्य तस्वीर हाल्न थाले। तस्वीरमा अनेकथरि लेखेर प्रेमिकाको चरित्र हत्या गर्न थाले। उनीहरुका गोप्य तस्वीर सामाजिक सञ्जालमा फैलियो।

प्रेममा विश्वास गरेर आफ्नो पासवर्ड प्रेमीलाई दिएकी ती युवतीले आफूहरूको गोप्य तस्वीर फेसबुकमार्फत सार्वजनिक हुन्छन् भन्ने कल्पना समेत गरेकी थिइनन्।

प्रेमीलाई विश्वास गरी पासवर्ड दिनु गल्ती सावित भयो।’

फेसबुक, ट्वीटर, म्यासेन्जर, भाइबर, इमो, इमेल ह्याक लगायतबाट धम्की दिने, गाली गर्ने, अश्लील र नभएका तस्वीर जोडेर चरित्र हत्या गर्ने जस्ता आपराधिक घटना बढिरहेका छन्।

साइबर अपराध सम्बन्धी मामिला हेर्दै आएको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार इन्टरनेट दुरुपयोगका घटनाबाट युवतीहरू बढी पीडित छन्।

‘प्रविधि र सामाजिक सञ्जाल विकाससँगै दुरुपयोग बढिरहेको छ। उजुरी दिन आउनेको त हुन्छ, दिन नआउने सयौं छन्,’ एसपी उप्रेतीले भने, ‘सुरक्षा र गोपनियताबारे थाहा पाउँदा पाउँदै पनि वास्ता नगर्ने र बदलाको भावना पूरा गर्न सजिलो माध्यम भएकाले सामाजिक सञ्जाल दुरुपयोग बढेको हो।’

महाशाखाले गत असोजमा फेसबुक तथा इमेल ह्याक गरी ठगी गर्ने कार्यमा संलग्न दुई जना नाइजेरियन र दुई जना नेपाली नागरिक गरी चार जना पक्राउ गरेर सार्वजनिक गरेको थियो।

महाशाखाका अनुसार ती नाइजेरियन नागरिकले फेसबुक र इमेल मार्फत नेपाली सेनाका जवानलाई अमेरिकामा सुरक्षा गार्डमा भर्ती गराइदिन्छौं भन्दै लाखौं ठगी गरेका थिए। यसैगरी नेपालकै ट्राभल एजेन्सीका एक व्यक्तिको इमेल ह्याक गरेर धेरै पर्यटकबाट लाखौं पैसा स्नेहा नाम गरेकी नेपाली नागरिकको खातामा हाल्न लगाएका थिए।

महाशाखाको तथ्यांकअनुसार यस वर्षको साउनमा १५४ र भदौमा १०४ वटा साइबर अपराधका मुद्दा दर्ता भएका थिए। असोजमा ७८ वटा उजुरी परेका थिए। जसमा ५४ जना महिला र २४ जना पुरुष पीडित छन्। उजुरी परेका घटनामा सबभन्दा बढी फेसबुकसँग सम्बन्धीत छन्। चरित्र हत्या गर्ने, अश्लील तस्वीर राख्ने, धम्की दिने र ठगी गर्ने जस्ता ६७ वटा फेसबुक सम्बन्धी उजुरी छन्।

देशभरबाट अपराध महाशाखाले मात्र साइबर अपराध मुद्दा हेर्नुपर्दा महानगर बाहिरका पीडित उद्दारमा कठिनाइ भएको प्रवक्ता उप्रेती बताउँछन्। ‘देश संघीय प्रदेशमा गइसक्यो। अब साइबर अपराध जस्तो संवेदनशील विषयका मुद्दा स्थानीय स्तरमा पनि हेर्न र कारवाही गर्न मिल्ने बनाइनुपर्छ,’ उनले भने।

नेपालमा फेसबुक, भाइबर जस्ता कम्पनीको स्टेशन नभएकाले पनि साइबर अपराध अनुसन्धान गर्न कठिनाइ भएको डिआइजी मनोज नेउपाने बताउँछन्।

‘इन्टरनेटको सर्भर अरुकै हातमा छ, हामीसँग केही छैन,’ डिआइजी नेउपानेले भने, ‘यसैकारण सुरक्षा र गोपनियतामा हामी चुकिरहेका छौं। यसले अपराधीलाई सजिलो र पीडितको उद्दारमा कठिनाइ भएको छ।’

नेपालमा साइबर अपराध नियमन गर्न ‘विद्युतीय कारोबार ऐन २०६३’ बनेको छ। ऐनको धारा ४७ मा कम्प्युटर इन्टरनेट लगायत विद्युतीय सञ्चार माध्यममा नैतिकता, शिष्टाचारविरुद्ध सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन गरे एक वर्षदेखि ५ वर्षसम्म जेल सजाय र १ लाख रुपैयाँ जरिवाना व्यवस्था छ।

विद्युतीय कारोवार ऐनबाट कारवाही प्रक्रिया अगाडि बढाइँदै आएको भए पनि प्रविधि विकाससँगै अपराध प्रकृति फेरिँदै गएकाले ऐनले सबै अपराध र कारवाही समेट्न नसकेको प्रवक्ता उप्रेती बताउँछन्।

उता, नेपालको संविधान २०७२ को धारा १७ मा अभिव्यक्ति स्वतन्त्रता उल्लेख छ। यसमा इन्टरनेट प्रयोग अधिकारअनुसार कुनै पनि नागरिकले कुनै माध्यमबाट आफ्नो विचार, धारणा र अभिव्यक्ति दिन पाउने उल्लेख गरिएको छ। यही विचार अभिव्यक्ति अधिकारमाथि टेकेर अरूको मान, मर्यादामाथि अघात पुर्याउने, अश्लील भिडियो तथा तस्वीर बनाउने र पोस्ट गर्ने जस्ता समस्या फैलिँदै छन्।

इन्टरनेट प्रयोगबारे राम्ररी नबुझ्दा यस्ता समस्या आएका इन्टरनेट स्वतन्त्रता वकालत गर्ने प्रवेश सुवेदी बताउँछन्। ‘एकातिर स्वतन्त्रताको कुरा आउँछ, अर्कोतिर सुरक्षा र गोपनियताको,’ सुवेदीले भने, ‘यी दुईको सन्तुलन गर्न नजाने प्रयोगकर्ता समस्यामा पर्छन्।’

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो सर्वेले ३८ प्रतिशतसँग इन्टरनेट पहुँच भएको र ५० लाखभन्दा बढीले फेसबुक चलाउने देखाएको छ।

अधिवक्ता बाबुराम अर्यालका अनुसार १६ वर्ष उमेरदेखि मात्र चलाउन पाउने फेसबुकको नियम भए पनि ८–९ वर्षकाले नै चलाइरहेका छन्। ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकादेखि सबै उमेरका मान्छे साइबर अपराधको शिकार भइरहेका छन्,’ अर्यालले भने, ‘यसमा पनि धेरै सक्रिय युवा छन् र पीडित भने महिला नै हुन्छन्।’

‘मसँग धेरै युवायुवती आफूमाथि सामाजिक सञ्जालमा भएका दुर्व्यवहारका घटना लिएर परामर्श लिन आउँछन्,’ उनले भने, ‘अहिले सुरक्षा र गोपनियताको सवालमा चेतना नहुँदा यस्ता समस्या बढेको देखिन्छ।’

प्रेस स्वतन्तत्रा र इन्टरनेट अभिव्यक्ति वकालत गर्ने फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल इन्टरनेट सदुपयोग बाटोमा लैजान आवश्यकता भएको बताउँछन्।

‘नेपालमा इन्टरनेट मोह बढ्दै छ,’ दाहालले भने, ‘यसको नकरात्मक पक्षसँग डराएर अभिव्यक्ति स्वतन्त्रता नै बन्द वा दमन गर्ने होइन। सुरक्षा र गोपनियताबारे शिक्षा दिएर चेतना जगाउने प्रयास गर्नुपर्छ।’

इन्टरनेट स्वतन्त्रताको माध्यम भएकाले यसको प्रयोगमा उचित र नैतिक शिक्षा दिन जरुरी भएको उनको भनाइ छ। कानुन, परिवार र समाजबाट दण्ड दिने शैलीभन्दा शिक्षा दिएर नकरात्मक पक्ष कम गर्नुपर्नेमा उनी जोड दिन्छन्।

‘फेसबुक साइबर अपराधको सबभन्दा सजिलो माध्यम बनेको छ,’ दाहालले भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने होसियारीबारे ज्ञानको कमी, कानुनी अज्ञानता, प्रविधि दुरुपयोग, बदला भावना र प्रलोभनले अपराध बढाइरहेको छ।’

नेपाल प्रहरी केन्द्रीय अुनसन्धान ब्यूरोले साइबर अपराध नियन्त्रण गर्न बेलाबेला पम्प्लेट–पर्चा बाँड्ने गरेको छ। व्यूरोले साइबर अपराधबाट कसरी बच्ने भनेर दिएको सूचनामा पासवर्ड गोप्य राख्ने, काम सकिएपछि लग आउट गर्ने, व्यक्तिगत विवरण नराख्ने, आएका लिंकमाथि सजिलै विश्वास नगर्ने, बैंक कार्डका पासवर्ड निरन्तर अपडेट गर्ने, इमेल र मोबाइलमा आउने आकर्षक उपहारका प्रलोभनमा नपर्ने, आफ्नो नामको इन्टरनेट सेवा अरूलाई प्रयोग गर्ने नदिने जस्ता कुरा समावेश छन्।

सामाजिक सञ्जालको प्रयोगको सुरुआती दिनमै यस्तो जटिल अवस्था आएकाले दीर्घकालीन रूपमा आवश्यक कानुन निर्माण गर्ने र जनचेतनामा बढी जोड दिनुपर्ने विज्ञहरूले सुझाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.